प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आक्रामक अभिव्यक्ति सहितको धम्की दिएपछि अन्तर्राष्ट्रिय स्तरमा तनाव थप चुलिएको छ। ट्रम्पको विवादास्पद सामाजिक सञ्जाल पोस्टपछि विभिन्न देशमा रहेका इरानी दूतावासहरूले तीव्र प्रतिक्रिया जनाएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत इरानले रणनीतिक रूपमा महत्वपूर्ण जलमार्ग पुनः नखोले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए। उनले इरानका विद्युत् केन्द्र र पुलहरूलगायतका नागरिक पूर्वाधारमा आक्रमण गर्ने संकेत दिएका छन्।
उनले सामाजिक सञ्जालमा मंगलबार इरानका लागि ‘पावर प्लान्ट डे’ र ‘ब्रीज डे’ हुने लेखेका थिए । साथै, उनले कडा र अशोभनीय भाषा प्रयोग गर्दै इरानलाई जलमार्ग खोल्न चेतावनी दिएका थिए।
ट्रम्पको अभिव्यक्तिप्रति विश्वभर रहेका इरानी दूतावासहरूले तीव्र आलोचना गरेका छन् । थाइल्याण्डस्थित इरानी दूतावासले ट्रम्पलाई आफ्नो ‘भाषा सुधार्न’ सुझाव दिएको छ भने अष्ट्रियास्थित दूतावासले उनलाई ‘पत्थर युगको गुफावासी जस्तो व्यवहार गर्ने व्यक्ति’ भन्दै व्यंग्य गरेको छ।
भारतस्थित दूतावासले भनेको छ, ‘गालीगलौज गर्नु हार सहन नसक्ने बिग्रेका बालबालिकाको व्यवहार हो।’ साथै, फिनल्यान्डस्थित दूतावासले ट्रम्प ‘सामाजिक सञ्जालको शिष्टाचार र नैतिकताबारे अनभिज्ञ’ रहेको टिप्पणी गरेको छ।
यसैबीच, अन्य विभिन्न देशका इरानी दूतावासका दाबी गरिएका एक्स एकाउन्टहरूले पनि ट्रम्पविरुद्ध ट्रोलिङ अभियान चलाएका छन्। केही खाताहरू आधिकारिक (ग्रे टिक) भए पनि अन्यको प्रमाणिकता पुष्टि हुन सकेको छैन।
अमेरिका र इजरायलले इरानविरुद्ध करिब पाँच सातादेखि सैन्य कारबाही जारी राखेका छन्। यस क्रममा इरानका उच्च नेतृत्वलाई लक्षित आक्रमण तथा सैन्य पूर्वाधारमा ठूलो क्षति पुर्याइएको बताइएको छ।
तेहरानले स्टे्रट अफ होर्मुजका महत्वपूर्ण तेल ढुवानी मार्गहरू बन्द गरेपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। यो जलमार्ग विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक मानिन्छ।
हालको द्वन्द्व कहिले अन्त्य हुन्छ भन्ने स्पष्ट संकेत देखिएको छैन। यद्यपि राष्ट्रपति ट्रम्पले इरानी शासनसँग सम्भावित सम्झौता नजिक पुगेको संकेत दिएका छन्।