धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरकी संगम महतो पाँच वर्षको निरन्तर संघर्षबाट आफ्ना दाजु ओमप्रकाश महतो (दिलीप) का हत्यारालाई सजाय दिलाउन सफल भएकी थिइन्। तर दाजुलाई पहिलो पर्यावरण सहिद घोषणा गराएर थप दोषीलाई सजाय दिलाउने उनको संघर्षमा शनिबार बिराम लागेको छ।
काठमाडौंमा उपचारका क्रममा शनिबार संगमको मृत्यु भएसँगै दिलीप परिवारको हिम्मतको खम्बा पनि ढलेको छ।
२०७६ पुस २५ गते बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा दिलीपको हत्या भएको थियो। त्यो घटना सम्झिँदा अहिले पनि स्थानीय बासिन्दाको मन सिरिङ हुन्छ।
फलामको डन्डीले हानेर घाइते बनाइएका दिलीपलाई टिप्परले किचेर मारिएको थियो। वातावरण अभियन्ता दिलीपका हत्यारालाई कारबाहीको दायरामा ल्याउन पूर्वराष्ट्रपति डा. रामवरण यादवसम्मले माग गरेका थिए। दबाव बढ्दै गएपछि लालबाबु राउत नेतृत्वको तत्कालीन प्रदेश–२ सरकारले २०७६ पुस २८ मा मापदण्डविपरीत सञ्चालित क्रसर उद्योगहरू बन्द गराउने घोषणा गरेको थियो।
सोही सरकारले छोरा दिलीपलाई गुमाएका रामजीवन महतोलाई राहतस्वरूप पाँच लाख रूपैयाँ दिएको थियो।
घरनजिकैको औरही खोलामा बर्सेनि आउने बाढी र त्यसले मच्चाउने विध्वंसबाट गाउँसमाजलाई जोगाउन संघर्षरत थिए दिलीप। मेकानिकल इन्जिनियरिङमा स्नातक गरिरहेका उनी प्रकृति संरक्षणप्रति संवेदनशील थिए।
अनियन्त्रित दोहन र कानुनविपरीत सञ्चालित क्रसर उद्योगको मनोमानी रोकेर गाउँलाई सम्भावित प्राकृतिक विपद्बाट जोगाउन संगठित अभियान चलाएका थिए उनले। यसैकारण उनी खोला दोहन गर्ने र क्रसर माफियाको आँखामा कसिंगर बनेका थिए। ज्यान मार्ने धम्कीसमेतको पर्वाह नगरी प्रकृति संरक्षण अभियानलाई निरन्तरता दिएका दिलीपको हकी स्वाभावले खोला तथा क्रसर माफियाहरू अत्तालिएका थिए। क्रसर उद्योग माफियाले आफ्नो बाटो छेक्ने दिलीपलाई पन्छाउन उनको हत्या योजना बनाएको बताउने गाउँमा धेरै छन्।
माफियाकै तर्फबाट औरही खोलामा अवैध उत्खनन हुँदैछ भन्ने सूचना दिई बोलाउन लगाएर २०७६ पुस २५ गते बिहान ४ बजे दिलीपको हत्या गरिएको थियो। सूचना पाएसँगै औरही खोलामा भइरहेको अवैध दोहन रोक्न पुगेका उनलाई दोहनकारीले घेरा हालेर मारेका थिए।
बिडम्बना ! जुन क्रसर उद्योग र गैरकानुनी नदी दोहनलाई रोक्न खोज्दा दिलीप मारिए, त्यो क्रसर र अवैध उत्खनन अहिलेसम्म बन्द भएको छैन। औरही खोलाको डिलमा चुरियामाई बालुवा प्रशोधन उद्योग (क्रसर) अझै छ। औरही खोलामा उपकरण प्रयोग गरेर अवैध उत्खनन गर्ने काम पनि भइरहेको छ। ‘यो अवैध धन्दा चलिरहँदा यस्तो लाग्छ, राज्यसत्ता र शक्ति केन्द्रको हातबाट दिलीपको दिनहुँ हत्या भइरहेको छ,’ दिलीपकी बहिनी लक्ष्मीले भनिन्, ‘सरकारी तह इमानदार नहुँदाको अमिट पीडा हाम्रो परिवारले भोग्दै छ। दिलीपलाई न्याय दिलाउन राज्य उदासीन भएको देख्दा लाग्छ, राज्य सञ्चालनको चाबी धन हुने माफियाकै मुठीमा छ।’
दिलीपका बुवा रामजीवन भन्छन्, ‘न्याय माग्दा उल्टै हामीमाथि मुद्दा हालेर पीडा थपिदिए, खर्चको भारी बोकाइदिए, असुरक्षा बढाइदिए। अब त हामीलाई हिम्मत दिने छोरी संगम पनि रहिनन्। संगमको निधनपछि हाम्रो परिवारको खम्बा मात्र होइन, ओत लाग्ने घर नै ढलेको छ।’
हत्याको एक महिनापछि मुद्दा दर्ता
दिलीप हत्या घटनाको एक महिना अनुसन्धानपछि २०७६ माघ २२ गते जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भयो। अभियोगपत्रमा दिलीपलाई यातना दिई क्रूरतापूर्वक मारेको भन्दै सातजनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद सजाय माग गरियो। तर जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेले क्रसर उद्योग सञ्चालक विपीनकुमार महतो, उनका कर्मचारी मुनिन्द्र महतो र रञ्जितलाई मात्रै मुद्दाको फैसला नहुन्जेल थुनामा राख्न आदेश दिए। आरोपित रोशनकुमार, सत्यनारायण र शत्रुधन २५ हजार रूपैयाँ धरौटीमा छुटे।
एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका उद्योगका अर्का सञ्चालक विनोद महतोले साधारण तारेखमा बस्न २०७७ असोज २६ मा जिल्ला अदालत धनुषाबाटै अनुमति पाए। जिल्ला अदालतको यस्तो आदेशविरुद्ध पीडित पक्ष जनकपुर उच्च अदालत पुग्यो। जिल्लाले थुनामा राख्न भनेका तीनजनाले पनि साधारण तारेखमा बस्न पाउनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिए। उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रमेश ढकालले २०७७ पुस २ गते जिल्ला अदालतका सबै आदेशलाई सदर गरिदिए।
पेसी सरेको सर्यै
दिलीपको हत्यासम्बन्धी मुद्दामा धनुषा जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले सुनुवाइ सुरु गरे। जिल्ला अदालत धनुषाको अभिलेखमा उक्त मुद्दा २०७७ चैत ३१ गते पेसीमा चढेको थियो। तर सुनुवाइ नभइ स्थगित भयो। कारण थियो, न्यायाधीश बिदामा बस्नु। त्यसपछि मुद्दा २०७९ जेठ ९ गतेसम्म नौपटक पेसीमा चढ्यो। जसमा दुईपटक मात्रै सुनुवाइ भयो।
पहिलो पटक न्यायाधीश धु्रवराज कार्कीले साक्षी बुझ्ने आदेश गरेका थिए। दोस्रो पटक २०७८ फागुन १५ गते न्यायाधीश तीर्थराज केसीले साक्षी बुझ्ने आदेश गरेका थिए। मुद्दाको प्रक्रिया त्यहाँभन्दा अगाडि बढ्न सकेन। दिलीपको मनशायपूर्वक हत्यासम्बन्धी मुद्दा ६ पटक न्यायाधीश कार्कीको इजलासमा चढेको अभिलेखबाट देखिन्छ। जसमा एकपटक बार एकाइको पत्रले हटेको बाहेक इजलास नबस्दा र न्यायाधीश बिदामा बस्दा सुनवाइ नभएको देखिन्छ। २०७९ जेठ ९ गते न्यायाधीश भीष्मराज प्रसाईंको इजलासमा मुद्दाको पेसी चढ्यो। जसमा पक्षबाट स्थगित भएको देखिन्छ।
न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/८१) ले जिल्ला अदालतमा दर्ता भएका मुद्दा दुई वर्षमा टुंगो लगाउने लक्ष्य राखेको छ। अदालतले नै निर्धारण गरेको मितिमा सुनुवाइ भएको भए चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक मिथिला नगरपालिका–५ का विपीनकुमार महतो, उनका दाइ विनोद महतो, उद्योगमा कार्यरत मिथिला–९ का मुनिन्द्र महतो, महोत्तरी बर्दिबास नगरपालिका–२ का जितेन्द्रकुमार महतो, गणेशमान चारनाथ नगरपालिका–२ का सत्यनारायण महतो, सर्लाही लालबन्दी नगरपालिका–१७ का शत्रुधन महतो तथा दिलीपका साथी मिथिला–५ का रोशनकुमार यादवविरुद्धको मुद्दा २०७८ फागुनसम्म टुंगो लागिसकेको हुने थियो।
पीडित परिवारलाई सास्ती
प्रतिवादी विनोद महतोले २०७७ चैत २० गते जनकपुर उच्च अदालतमा दिलीपका बुवा रामजीवन, आमा चन्द्रकला, दुई बहिनी संगमकुमारी र लक्ष्मीलाई विपक्षी बनाएर मुद्दा दिए। उनले दिलीपका परिवारमाथि आफ्नो चुरियामाई बालुवा प्रशोधन उद्योगमा हस्तक्षेप गरेको अभियोग लगाएका थिए।
यो उद्योग घरेलु तथा साना उद्योग कार्यालय धनुषामा विनोदका भाइ विपीनका नाममा दर्ता छ। दिलीप हत्या अभियोगमा विपीन जेल परेका थिए भने विनोद फरार भएपछि उद्योग बन्द भएको थियो। मुद्दा दर्ता भएलगत्तै न्यायाधीश उज्वल शुक्लले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरिदिए। उनले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई २०७७ चैत ३१ गते बोलाए। दिलीप हत्याका आरोपितले हालेको मुद्दाले रामजीवनलाई आहत बनायो। ‘छोराको न्यायका लागि धाउने कि आफ्नो बचाउमा प्रमाण पेस गर्ने ?’ रामजीवनले भने, ‘उल्टै मुद्दा हालेर हामीलाई सास्ती दिए।’
निर्बाध क्रसर सञ्चालन
२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनबाट मिथिला नगरपालिकाको मेयरमा महेन्द्र महतो निर्वाचित भए। नगरपालिकामा नयाँ नेतृत्व आए पनि यसै पालिकाअन्तर्गतको औरही खोलाको अवस्था बेहाल छ। दर्जनौं एक्साभेटर र डोजरले खोला दोहन गरिरहेका छन्। खोला किनारमा क्रसर उद्योग निर्बाध रूपमा सञ्चालन भइरहेका छन्।
दिलीपको हत्यापछि गाउँका बासिन्दा डराएका छन्। उनीहरूले अवैध दोहन रोक्ने आँट जुटाउन सकिरहेका छैनन्। दिलीपको परिवारले न्याय पाएको छैन। प्रहरी प्रशासन र नगरपालिका अनियमित र अनियन्त्रित दोहनको दर्शक बनेका छन्। औरही खोलामा अनियन्त्रित उत्खनन र कानुनविपरीत सञ्चालित क्रसर उद्योगबारे नगरप्रमुख महतो भन्छन्, ‘गैरकानुनी काम रोक्ने जिम्मा प्रहरी प्रशासनको हो कि मेरो ?’
श्रृरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका कमल महतोसँग संगमको बिवाह भएको थियो। दोस्रो सन्तानलाई कात्तिक ५ गते जन्म दिने क्रममा अस्वस्थ्य बनेकी संगमको उपचारका क्रममा शनिबार मृत्यु भएको बहिनी लक्ष्मीले बताइन्। जनकपुरधामदेखि काठमाडौंसम्म चलेको उपचारका क्रममा नौ लाख रूपैयाँ खर्च भएको लक्ष्मीले बताइन्।
सम्पत्ति नै सकिए पनि छोरा दिलीपलाई न्याय दिलाउने लडाइँ बीचमै छाडेर घर बस्ने पक्षमा थिएनन् रामजीवन। उनलाई न्यायको लडाइँमा साथ र हिम्मत दिइरहेकी थिइन छोरी संगमले। उनले भने, ‘अब त मलाई आँट, हिम्मत र प्रेरणा दिने छोरी संगम नै रहिनन्। अब यो लडाइँ कसरी लड्नु ? अब सरकारलाई कसले झकझक्याउँछ। संगम हुँदा प्रतिवादीहरू पनि डराउँथे। अब त हाम्रो परिवार झन् असुरक्षित भयो।’ दिलीप रामजीवनका एक मात्र छोरा थिए। रामजीवनका तीन छोरी हुन्। दिलीपको हत्यापछि संगमले नै खम्बा बनेर परिवारलाई सम्हालेकी थिइन्। दिलीपलाई निसाफ दिलाउन उनले बहिनी लक्ष्मीलाई साथ लिएर लडाइँ लडिरहेकी थिइन्।
उच्च अदालतद्वारा जिल्लाको फैसला सदर
दिलीपको हत्या मुद्दामा उच्च अदालत जनकपुरले २०८० माघ २४ गते जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको थियो। न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासले जिल्लाकै फैसला सदर गरेको हो। १२ फागुन २०७८ मा जिल्ला अदालत धनुषाले दिलीप हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र मुख्य सहयोगी मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैद र पाँचपाँच लाख रूपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
यस्तै घटनामा मतियार बनेको आरोपमा जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र अढाइ लाख रूपैयाँ जरिवाना तोकिएको थियो। जिल्ला अदालते विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुधन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिइएको थियो। यो फैसलामा दिलीपको परिवारको चित भने बुझेको छैन।
दिलीपका आमबुबा चन्द्रकला र रामजीवनको सरकारलाई प्रश्न छ, ‘प्रकृतिको संरक्षण गर्न खोज्दा हाम्रो छोरालाई मारियो। यो पीडाले हामीलाई पोलेको छ, समाजलाई पोलेको छ तर सरकारलाई पोलेको छ कि छैन ?’