जतिबेला म बेलायत उड्ने तरखरमा थिएँ, त्यसबेला मेरो करियर उत्कर्षमा थियो । तीन वटा एल्बम सार्वजनिक भइसकेको थियो र त्यसका गीतहरु श्रोताले औधी मनपराएका थिए । ‘उत्सव’ शीर्षकको एल्बम भर्खर मात्र बजारमा आएको थियो ।
कन्दरा ब्यान्डको चर्चा चुलिएकै बेला म पारिवारिक कारणले बेलायत जाने निर्णयमा पुगेको थिएँ ।
विदेशमा जाने उत्साह थिएन । त्यहाँको वैभव र सुविधाले लोभ्याउने भन्दा बढी मलाई आफन्तसँग विछोडिएको पीडाले सताएको थियो । घर–परिवार, इष्टमित्र, संगीतका सहयात्री र देश नै छाड्नुपर्दा एक किसिमले म बिरत्तिएको थिएँ । सांगीतिक रमझममा मग्न मलाई बेग्लै शून्यताले सताउन थालेको थियो ।
किशोर चरण प्रवेश गर्दा नगर्दै म सांगीतिक माहौलमा मिसिइसकेको थिएँ । म गीत गाइरहेको थिएँ, कन्सर्ट गरिरहेको थिएँ । मेरो दायाँबायाँ संगीत भन्दा केही थिएन । मेरो मूल कर्म नै त्यही थियो ।
तर, विदेश पुगेपछि मेरो दिनचर्या बदलियो । मैले त्यहाँ शारीरिक काम गर्नुपथ्र्यो, जुन मैले कहिल्यै गरेको थिइनँ । काम गर्नुपर्छ भन्ने कुरालाई मैले मौन स्वीकृति दिइसकेको थिएँ ।
म काममा गएँ । मेरो पहिलो जागिर सेक्युरिटी गार्डको थियो ।
कस्तो नमिठो संयोग थियो, त्यो मेरो जीवनको । त्यहाँ भव्य कन्सर्ट हुँदै थियो । सोही कन्सर्टमा मेरो ड्युटी प¥यो । अक्सर स्टेजमा र स्पटलाइटमा उभिएको म एउटा ओझेल परेको ठाउँमा बसेर आफ्नो ड्युटी गर्न बाध्य थिएँ ।
त्यसक्षण मलाई हीनताबोधले बेस्सरी सतायो ।
त्यहाँ मैले मुस्किलले दुई महिना गुजारे । त्यहाँ काम गरिरहँदा म पलपल मरिरहें । मेरो अन्तरआत्मलाई लागिरहन्थ्यो, ‘म अर्कै कामको लागि जन्मिएको हुँ ।’
तर, म आफ्नो व्यथा अरुलाई सुनाउन सक्दिनथें । यसले मलाई भित्रभित्रै पोल्न थालेको थियो । त्यो पल नै मेरो मानसिक विचलनको पहिलो खुड्किलो हो जस्तो लाग्छ ।
म घर फर्कन चाहन्थें । तर, त्यो संभव थिएन । सात समुन्द्रपारि आएको छु । अनेक बाध्यता र जिम्मेवारीले थिचिएको छु । कसरी म चरा जस्तै भुर्र उडेर स्वच्छन्द आफ्नो गुँडमा पुग्न सक्छु ?
मनको बह पोख्ने साथी थिएन
हामी भन्ने गर्छौं, ‘मनको कुरा खुलस्त भन ।’
तर, मनमा गाँठो परेको कुरा भन्न त्यती सहज छैन । आफ्नो मनमा कति कुरा खेलिरहेको हुन्छ । कति गुनासा र पीडाहरु गुम्सिएको हुन्छ । त्यस्तो कुरा कसलाई भन्ने ? जब भन्छौं, केही भनिदिने हो कि ? नराम्रो सोच्ने हो कि ? भन्ने कुराले भयभित हुन्छौं ।
यसरी मनको कुरा मनमा कुण्ठित हुँदै जाने रहेछ । जब यो क्रम लामो समय चलिरहन्छ, तब त्यो बिस्फोट हुन खोज्छ । हो, यहीबेला हामी विचलित हुन पुग्छौं ।
सन् १९९४ देखि २००१ सम्म मेरो नेपालमा मेरो करियर एकदमै राम्रो थियो । कन्दरा ब्यान्डको विवेक श्रेष्ठ भनेर सेलिब्रेटीको रुपमा हेरिन्थ्यो । तर, जब बेलायत पुगे म सेलिब्रेटी रहिन । म आम मान्छे भइसकेको थिएँ । तर, हामी पुरानै ह्याङओभरमा हुँदा रहेछौं । त्यसैले सबैसँग सहज घुलमिल गर्न कठिन भयो ।
परदेशको माटो, वातावरण, र परिवेश नै फरक छ । कसैलाई केही भन्नुभन्दा पहिला आत्मियता अनुभव हुनुपर्छ । आत्मिय हुन सजिलो थिएन । झट्ट खुल्ने स्वभाव नभएकाले पनि म अलि टाढा थिएँ, सबैबाट ।
बेलायत गएको धेरै अवधि भएको थिएन । त्यसैले म कस्तो मनोदशाबाट गुज्रिरहेको छु भनेर सुनाउने कुरा पनि भएन । मलाई अहिले लाग्छ, त्यसबेला मेरो मनमा कस्तो आँधी चलेको थियो सो कुरा कसैलाई भन्न पाएको भए मानसिक विचलन सहन पर्दैनथ्यो होला ।
बिस्तारै सास फेर्न गाह्रो भयो
बाहिरबाट हेर्दा म ठीकठाक थिएँ । तर, भित्र भित्रै आत्मग्लानी एवं हीनताबोधले गल्दै थिएँ ।
यस्तो अवस्थामा कसैसँग बोल्न मन लाग्दैन । कतिपय कोठामा एक्लै बस्न रुचाउँछन्, ढोका थुनेर । बिस्तारै सास फेर्न कठिन हुन्छ । कहिले कहीँ कम्पन हुने, खलल पसिना आउने हुन्छ । र, प्यानिक अट्याक्ट पनि हुनसक्छ ।
मानसिक समस्याको कैयौं चरण हुन्छ । त्यहाँसम्म पुग्न मलाई सात बर्ष जति लाग्यो । आफूलाई के भइरहेको छ ? त्यो मेसो थिएन ।
सन् २००१ मा बेलायत पुगेको थिएँ र त्यो समस्या सुरु भइसेको थियो । तर, विस्तारै विस्तारै समस्या छिप्पिदै गएपछि बल्ल सन् २०१० मा स्वास्थ्य परीक्षण गराएँ ।
अरु सबै सामान्य थियो । तर, कता कता केही त गडबड छ भन्ने लाग्थ्यो । के गडबड छ ? पत्तो थिएन । चिकित्सकलाई मैले आफ्नो समस्या सुनाएपछि उनले भने, ‘यसका लागि औषधि होइन, परामर्श जरुरी हुन्छ ।’
त्यसपछि बल्ल मलाई के भएको भन्ने कुरा भेउ पाएँ ।
दिमागले ठीक छैन भन्यो, म ठीक भएको देखाइरहें
जब यस्तो समस्या हुन्छ, तब हामी आफूलाई ठीकठाक देखाउन यत्न गर्दारहेछौं । म राम्रै छु । केही भएको छैन भन्ने देखाउँदा रहेछौं । म सबैको अघिल्तिर ठीक देखिएँ । त्यही अनुरुप प्रस्तुत भएँ ।
तर, सबैलाई ढाँट्न सकिन्छ आफूलाई सकिंदैन । जब म एक्लो हुन्थें, त्यसबेला के लाग्थ्यो भने किन म बाहिर राम्रो देखिन खोज्दैछु । भित्र भित्रै त म ठीक छैन । म खुसी छैन ।
चिकित्सकले स्पष्ट भनिदिए, ‘तपाईंलाई डिप्रेसन छ ।’ हाम्रो पालामा यो शब्द त्यती प्रचलित थिएन । मैले आफ्नो व्यक्तित्वसँग धेरै सम्झौता गरेको रहेछु । आफ्नो परिवेशसँग धेरै सम्झौता गरेको रहेछ । तर, कहिलेसम्म यसरी नै बाँचिरहने ?
समय बित्दै जाँदा भित्रभित्रै तड्पिएर केही गर्न नसक्ने भइसकेको भन्ने लाग्यो, जुन मेरो लागि सबैभन्दा खतरनाक चरण थियो ।
त्यस चरणमा आत्मबल कम भइदिन्छ । मनमा डरले डेरा जमाउँछ । त्यसपछि व्यवहार परिवर्तन आउँछ । जाँगर हट्छ । केही गर्न मन लाग्दैन । काममा ढिलासुस्ती हुन्छ । खान रुची हुँदैन । उत्साह र उमंग हराउँछ । वेचैन र छटपटीले सताइरहन्छ । म यस्तै स्थितीबाट गुज्रिन थालेको थिएँ ।
मानसिक रुपले विक्षिप्त थिएँ, तर कसैलाई सुइँको थिएन
म मानसिक रुपले विक्षिप्त छु भनेर कसैले मेसो पाउने बाटो राखेको थिइनँ । किनभने मैले फरक मुकुन्डो तयार पारिसकेको रहेछु । यस्तो समस्या भएकाले त्यो मुकुन्डो कहिले पनि अरुको सामु प्रकट नहोस् भन्ने नै चाहन्छन् ।
मैले पनि वास्तविक जीवनमा नभएको मुकुन्डो नै देखाइरहें । घर, बालबच्चा सबै थियो । बेलाबखत गीत गाउथे, राम्रै व्यवहार प्रदर्शन गर्थें । बाहिरबाट हेर्दा एकदम ठिक चलिरहेको जस्तो देखिन्थ्यो ।
तर सबैलाई ठिकठाक देखाउँदा देखाउँदै आफू ठिक नभएको अनुभवले भित्रै डसिरहेको हुन्छ । कसैलाई मन भित्रको बेठिक अनुभव भएको सुनाउन मन मान्दैन । जुन सबैभन्दा खतरनाक समस्या हो ।
मानसिक अवस्था सन्तुलित नहुँदा भएको भन्दा नभएको कुरा देखाउने बानी हुन्छ । यसरी नभएको कुरा देखाउदा देखाउादै मान्छे थाक्छ । गल्छ । बिस्तारै देखाउन चाहेर पनि मनलाई ढाँट्न सकिदैन । यस्तोबेला आफैंलाई ‘के म ठीक छु’ भनेर प्रश्न गर्नुपर्ने हुन्छ । यसको जवाफमा ‘ठीक छैन’ भनेर सत्यको उद्घाटन गर्न पनि गाह्रो हुँदोरहेछ ।
‘इट्स ओके, नट टु बी ओके’
‘इट्स ओके, नट टु बी ओके ।’ यो ट्याग लाइन म भन्ने गर्छु । म ठिक छैन भन्नु सामान्य कुरा हो । सबै अवस्थामा आफूलाई ठीक छ भनेर देखाइरहनु पर्दैन । यदि मानसिक स्थिति ठीक नहुँदा हिम्मत जुटाएर म ठीक छैन भन्न सक्नुपर्छ ।
अहिले यति दुई वाक्य बोल्न नसक्दा मान्छेहरु मानसिक वेचैनीसँग जुधिरहेका छन् । बालबालिकादेखि युवापुस्तासम्म मानसिक समस्यामा छन् । ४ वर्षको बच्चाहरु भनिरहेका हुन्छन्, ‘मलाई दिक्क लाग्यो ।’
६, ७ कक्षामा पढ्ने बालबच्चाले आत्महत्या गरेको सुनिन्छ । यो भित्रभित्रै विकराल बन्दै गएको समस्या हो । समस्या कहाँ छ भने बाहिर सबैकुरा ठीकठाक देखाउने हाम्रो प्रवृत्तिमा । हामी आफ्नो कुरा भन्दैनौं । यतिबेला सबैभन्दा जरुरी हुन्छ, आपसी संवाद । हामी कसैसँग सम्बाद गर्न नै चाहँदैनौं ।
कल्पना गर्नुहोस् त आजभन्दा ३० वर्ष अगाडी पौडी खेल्ने, गुच्छा खेल्न जाने गरिन्थ्यो । घरमा कमै बस्ने वातावरण हुन्थ्यो । तर अहिले त्यो वातावरण छैन । कोठाभित्रै बसिरहनु पर्ने अवस्था छ । संसार हाम्रो हत्केलामा छ । घरभित्र सबै छन् तर एक्ला एक्लै ।
हामी एक्लो हुँदैछौं र मानसिक समस्याले सताउन थालेको छ । हामीलाई घुलमिल हुन, गफ गर्न, रमाइलो गर्न भन्दा कोठाभित्र एक्लै बस्न बढी मन लाग्न थालेको छ । यो राम्रो स्थिती होइन ।
मेरो शरीर पनि गल्दै गयो
समय वित्दै गए पछि मानसिक रुपले मात्र होइन, म शारीरिक रुपमा पनि गलें । सुरुमा कमजोर महसुस भइरह्यो । बिस्तारै प्यानिक अट्याक पनि आउन थाल्यो । प्यानिक अट्याक आउँदा सास फेर्न कठिन हुने, सबैसँग डर लाग्ने, ढल्छु जस्तो हुने, मर्छु जस्तो लाग्ने । यो समयमा रक्तचाप असामान्य हुन्छ ।
कतिपयलाई यो समयमा अत्यधिक निद्रा लाग्छ । कसैलाई पटक्कै निद्रा लाग्दैन । मैले यो समस्या भोगिरहँदा यो कुनै मनोसमस्या रहेछ भन्ने नै थाहा भएन । यस्तो कुनै समस्याको लक्षण हो ? यस्ता संकेतमा ध्यान दिनुपर्छ ? भन्ने ज्ञान नै भएन ।
मानसिक रुपमा विक्षिप्त भएका व्यक्तिलाई संसारमा सामान्य रुपमा लिने गर्छन ।
तर नेपालको हकमा भने सामान्य लिन मात्र होइन समस्यालाई बुझाउन पनि कठिन छ । तर, हामीकहाँ मानसिक समस्या भयो भन्दा पागल भएछ भन्ने गरिन्छ । मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई गिज्याउने, ढुंगाले हिर्काउने गरिन्छ । बहुला, ठिस, पागल भनेर सम्बोधन गरिन्छ । यो एकदमै गलत हो ।
जो व्यक्तिलाई पागल भनिरहेका छौं, उसको लागि हामी पागल हो । पागल भन्ने शब्द शब्दकोशबाट निकाल्नपर्छ । यसले कमजोर भएको व्यक्तिलाई झन कमजोर बनाउँछ ।
यही शब्द सम्बोधन गरेर हेप्छन भन्ने डरले पनि कतिपयले मनोसमस्या अनुभव गरे पनि बताउन सकिरहेका हुँदैनन् । यस्तो नमिठो अनुभव भन्न डराउँछन् । यस्तो मानसिकतालाई परिवर्तन गर्नु आवश्यक छ ।
यस्तो समस्या कसैलाई भएको छ भने सामान्यकरण गर्दिनुपर्छ । यो कुरा सामान्य हो । ज्वरो आएर औषधि खाएर ठिक हुन्छ भने जस्तै सामान्य हो भनेर जरै देखि बुझाउनु आवश्यक छ ।
‘अब म मरें’ भन्ने लाग्यो
मानसिक समस्या भएपछि तनाव बढ्छ । तनावको कारण शरीरमा अक्सिजनको मात्रा कम हुन्छ । मस्तिष्कमा राम्ररी अक्सिजन आपूर्ति हुँदैन । त्यसैले सास फेर्न गाह्रो हुन्छ । सास अड्किए जसतो हुन्छ ।
यस्तो अवस्थामा के लाग्थ्यो भने, अब म मरें ।
यो डर यति धेरै हुन्छ कि कसैगरी त्यसबाट उम्कन सकिदैन । पानी पिउँदा, हिँडडुल गर्दा पनि सन्चो हुँदैन । जसै गर्दा पनि सन्चो नभएपछि के लाग्छ भने बरु मर्नु नै ठीक छ । हेर्दा केही थाहा हुँदैन । कहाँ दुखेको पत्तो हुँदैन । तर, शरीर एकदमै बिरामी हुन्छ ।
डाँको छोडेर ऐना हेरेर रुन्थें
मेरो जीवनमा धेरै गडबड थियो । सास फेर्न गाह्रो हुन्थ्यो, बाँच्नै असहज हुन्थ्यो । मलाई के भइरहेको छ भनेर भन्दा अरुले राम्ररी बुझ्दैनथ्यो । त्यसपछि म ऐना हेरेर डाको छाडेर रुन्थे । जब रुन्थे, तब मलाई अलि हल्का महसुष हुन्थ्यो ।
ऐनासँग कुरा गर्दा सहज भएपछि मैले चिकित्सकलाई भेटें ।
चिकित्सकको अगाडि पुगेर म ‘एकदम गाह्रो भयो’ भन्दै डाँको छाडेर रोएँ । मैले भने ‘मलाई सास फेर्न गाह्रो भयो, मलाई बचाउनुहोस् ।’
चिकित्सकले शान्त गराउँदै दुई विकल्प दिए । एक, ‘मनोपरामर्शको लागि चिकित्सकलाई भेटेर अनुभव भइरहने कुरा पोख्नु ।’ दुई, ‘यो सहज हुँदैन भने अस्पतालमा टेलिकाउन्सलिङ छ त्यसमा सम्पर्क राख्नु ।’
अनि म नेपाल फर्किएँ
टेलिकाउन्सलिङको चारवटा कक्षा लिइसकेपछि म सामान्य हुँदै गएँ । मैले गुमाएको आत्मबललाई जगाउन केही किताबले पनि मद्दत गर्यो ।
केही हल्का भएपछि मैले मनमनै नेपाल फर्कने निर्णय गरें । ‘यसरी बसेर हुँदैन, केही बिग्रेको छैन । आज नगरे कहिले गर्ने ? म बाँच्नुपर्छ । त्यसका लाग नेपाल जानुपर्छ ।’ यस्तै सोचें । अनि परिवारलाई लन्डनमा छाडेर म नेपाल फर्किएँ ।
मनोसमस्याबाट गुज्रिरहँदा म कुलतमा फसिनँ । म अनुशासित व्यक्ति थिएँ । त्यो समयमा मलाई जीवित राख्ने एउटै कुरा थियो, त्यो हो संगीत । संगितमा निस्कने ध्वनीले मलाई मद्दत गरेको थियो । साधनालाई मैले कहिल्यै छोडेन ।
म नेपालमा आए पछि संगितमै लागे । यो अन्तरालमा आध्यात्मिकता के हो भन्ने प्रष्ट बुझाइदिने व्यक्तिसँग पनि संगत भयो । जसले पनि केही हदसम्म फाइदा गर्यो ।
सास फेरेकै गलत
हामीले सास फेर्छौं । दुख परेको, रोएको र सन्चो नभएको बेलामा छाती फुल्दो रहेछ । तर भखरै जन्मिएको अवस्थामा शिशुले सास फेर्दा पेट फुल्छ । उनीहरुले फेरेको सास दिमागसम्म पुग्छ । जसले अक्सिजनको मात्रा शरीरभर पुग्छ ।
यसो हेर्दा हामीले सास फेर्ने तरिका पनि गलत रहेछ । अहिले फेरेको प्रत्येक सास जर्बजस्तीको रहेछ ।
यो कुरा मैले आध्यात्मिक अभ्यासबाट बुझें । आध्यात्मिकमा लागेका मेरा साथीले मलाई सास फेर्न लगाए । मैले पाँचपटक लामो सास फेर्दा हल्का भएको अनुभव भयो ।
यसले पनि काम गरेको अनुभव भयो । मैले यसबारे खोज गरें । यो त परापुर्वकाल देखि गरिँदै आएको योगासनको भाग रहेछ भन्ने थाहा भयो । जसलाई प्राणयाम भनिँदो रहेछ ।
प्राणायामले जीवनलाई सहज बनायो
मैले प्राणायाम गर्न सुरु गरें । योगको यम र नियमको पालना गरे । यसले मेरो जीवनलाई सहज गरायो । मलाई सास फेर्न सजिलो भयो ।
जीवनशैली परिवर्तन भयो । आफुलाई समय दिन थालें । मैले एउटा गीत गाएको थिएँ, तीर्थ तामाङको एल्बमका लागि । त्यसको शब्द यसप्रकार थियो ः
‘म आफै धमिलो कहा थिएँ र, अरुलाई पखाल्दा आफै मैलिएछु
सबैको मन राखुभन्दा कहीं नअटाउने गरी फैलिएछु ।’
यो शब्द मलाई मिठो लाग्छ । यो यथार्थ पनि हो । यो गीतले भने झै मेरो घर, आफन्त, देश भन्दा भन्दै आपmनो लागि समय दिन बिर्सिएको रहेछु ।
आफूलाई माया गर्नु स्वार्थी हुनु होइन
आफ्नो लागि समय दिँदा हाम्रो समाजले स्वार्थी भन्छ । कस्तो एकलकाँटे भन्छ । साथीभाइसंग मिल्न नसक्ने भन्छ । यस्ता कुराले हामीलाई थप तनावग्रसत बनाउँछ ।
आफ्नो लागि समय दिनु भनेको स्वार्थी बन्नु होइन भन्ने सिकें । कसैले स्वार्थी ठान्छ भने उसलाई स्वार्थी होइन भनेर प्रस्टाउनु आवश्यक छैन ।
यी कुरा अनुभव गरे पछि मैले समय छुटटएर ४–५ घण्टा प्राणायाम, योग जस्ता विधि गर्छु । साँझ बाहिर निस्कँदिन । साथीभाइले ‘हिंड्दैन, ठुलो भयो’ भन्लान् । तर मेरो शरीरले नै त्यही मागेको हो । त्यो मैले आफू ठिक हुन समय लिएको हो ।
यदि कोही टाढा भएको अनुभव वा व्यवहारमा परिवर्तन भएको देख्दा तथानाम भनेर औंल्याउनुको सट्टा त ठिक छस् ? भनेर सोध्नुपर्छ ।
यी शब्द कसैको लागि ठुलो महत्व राख्छ । यस्तो बेलामा काम छैन, एक्लै छोडदियौंं भन्न हुँदैन । यस्तो भनेमा पीडित व्यक्तिले कहिले पनि आफुलाई लागेको कुरा सुनाउन सक्दैन ।
आफ्नो कुरा सुनिदिने व्यक्ति पहिल्याउन आवश्यक छ
‘सन्चै ?’ भनेर कसैले जवाफमा सुन्न खोजेकै छ भन्ने मनमा लागेको कुरा पोख्न सकिन्छ ।
त्यो परिवारको सदस्य वा साथी भाइ हुनसक्छ । भावना साट्न खालको वातावरण भए पछि मात्र यस्ता कुरा साट्न सकिन्छ । यस्तो वातावरण बनाउन आवश्यक छ ।
चिकित्सकले भनेको थियो, ‘खराब मनोदशा निकाल्न जीम गर्ने, व्यायम गर्ने, मन लागेको कुरा गर्ने, हिंडडुल गर्नै ।’ तर, मलाई यसले खास प्रभाव पारेन ।
तर जब म आध्यात्मिक चिन्तन गर्न थालें, धेरै कुरा मिल्दै र सहज हुँदै गयो । यम र नियमले सामाजिक आचरणमा रहन सिकायो । कतिबेला उठ्ने, कतिबेला खाने, कसरी बोल्ने, कस्ता संगत गर्ने ? जस्ता कुरा मेरा लागि फाइदाजनक भयो ।
हुन त सबैमा यो कुरा लागु हुन्छ भन्ने छैन । कसैलाई लामो यात्रामा जाँदा ठीक हुन्छ, कसैलाई व्यायाम गर्दा । कसैलाई चित्र कोरेर त कसैलाई फिल्म हेरेर पनि । तर, समग्रमा बुझ्नुपर्ने कुरा के भने आफूले आफैंलाई ख्याल राख्नुपर्छ । माया गर्नुपर्छ ।
अरुको लागि मात्र होइन आफ्नो लागि पनि बाँच्नुपर्छ ।
अनि आफ्नो माया लाग्छ
सन् २०१४मा नेपाल बस्न आउँदा अध्यात्मिकको ‘अ पनि थाहा थिएन । अध्यात्मिक र भगवान् फरक हो भन्ने थाहा भयो ।
आध्यात्मिक भनेको बलियो शक्ति रहेछ । यसले आत्मासँग चिन्न सिकाउँछ । आत्मलाई चिने पछि बल्ल आफ्नो माया लाग्छ । आफूलाई माया गरे पछि मात्र अरूलाई माया बाँड्न सकिने रहेछ । यसमा धर्म आउँदैन । जात आउँदैन । यो सबै पक्षबाट सन्तुलित छ । उहाँले बाटो देखाए पछि म लागे । पतान्जलीले निकाले बुक पढे । आध्यात्मको कुरा आउँदा म सुन्छु, पढ्छु। मैले पहिला नै थाहा पाउन सकेको भए भन्ने लाग्छ ।
आध्यात्मिक र धर्म एउटै होइन । आध्यात्मिक र धर्म एउटै होइन । आधुनिक युगमा अहिले र आउने पीडितलाई अध्यात्मलाई धर्मसँग जोड्न हुँदैन । अहिलेको बच्चालाई अध्यात्मसँग जोडिए भने उनीहरू जीवनमा भोगिरहेको पीडा कम हुँदै जान्छ ।
जीवनको लय
सानो उमेरमा कल्पना नगरेको ख्याति पाएँ । त्यसपछि एक्कासि विदेशमा भोगेको उतारचढाव, अन्धकार र नेपाल फर्किएपछिको रूपान्तरण । यी सबै नियालेर हेर्दा के लाग्छ भने, जतिसुकै जे भए पनि मानसिक रूपमा सन्तुलन हुनुपर्छ । त्यसपछि मात्र जीवन लयबद्ध भएर अघि बढ्छ ।
अर्को भनेको व्यक्तिगत रुपमा रूपान्तरण जरुरी छ । मैले गाउने गीतमा पनि यसको संकेत छ । पहिला म माया प्रेमको गीत गाउँथे । जीवनबारे बुझ्दै जाँदा अहिले सांसारिक कुराहरू समेटेको गीत निकालें ।
पछिल्लो समय नैराश्यता मात्र होइन, हिमाल पाहडको राम्रा कुरा राखेर गीत निकालें । अहिले हामी संगीतमा संगत हुनुपर्यो । साहित्य हुनुपर्यो । सोचाइमा पनि परिवर्तन हुनुप¥यो ।
अहिले म सन्तुलनमा छु जस्तो लाग्छ । म सन्तुलित भएर नै सबैलाई सन्तुलित बनाएर हिंड्न सक्छु जस्तो लाग्छ । अहिले ब्यान्डलाई पनि त्यही अनुसार लिएर हिंड्ने प्रयास गरेका छौं ।
(तिमी पारी, हङकङ पोखरा, लेककी हे माया, बिदेशिएर गइन्, तगारोमा रुमाल जस्ता अजम्बरी गीतहरुको थुप्रो लगाएको सांगीतिक समूह कन्दरा ब्यान्डका मूख्य भोकलिष्ट हुन्- विवेश श्रेष्ठ । उनै श्रेष्ठले अनलाइनखबरसँग मानिसक स्वास्थ्यबारे आफ्नो भोगाई, बुझाई विस्तारमा सुनाएका थिएँ । भुसको आगो जसरी भित्र भित्रै सल्कदै गएको मानसिक समस्याबारे खुलेर वहस, चर्चा गर्नु जरुरी भइसकेको छ । त्यही मेसोमा हामीले गायक विवेक श्रेष्ठसँग मानसिक स्वास्थ्यबारे कुराकानी गरेका हौं ।)