१८ वैशाख, काठमाडौं । पाटन नगरपालिका, बैतडीको आधारभूत तह (कक्षा ८) परीक्षामा ७ वटा विद्यालयको नतिजा शून्य आयो । ३५ विद्यालयका ६४६ जना विद्यार्थीले परीक्षा दिएका थिए, तर १३७ जना विद्यार्थी मात्र ९ कक्षामा पढ्न योग्य देखिएका छन् । नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेय भन्छन्, ‘३५ अंक ल्याउनैपर्ने व्यवस्था गर्दा नतिजा कमजोर देखियो ।’
७ वटा विद्यालयमा एक जनाले पनि परीक्षा पास गर्न सकेनन् । त्यसमध्ये एक हो, वडा नम्बर १ मेल्चोराका सिद्धेश्वर मावि । विद्यालयका १९ जना विद्यार्थीले परीक्षा दिएका थिए, कसैले पनि सबै विषयमा कम्तीमा ३५ अंक ल्याउन सकेनन् ।
अन्य कक्षाको नतिजा पनि चित्तबुझ्दो नआएपछि प्रधानाध्यापक प्रकाश लुहारले राजीनामा दिएका छन् । शैक्षिक गुणस्तर सुधार्न प्रयास गर्दागर्दै नतिजा नआएकाले राजीनामा दिएको लुहार बताउँछन् ।
‘शिक्षण सिकाई उकास्न अतिरिक्त कक्षा सञ्चालन लगायत गर्नसक्ने जत्ति सबै गरेका थियौं, तर नतिजामा नदेखिएपछि नैतिकताले प्रधानाध्यापक पदमा बसिरहन दिएन’, उनले भने ।
०००
नौबहिनी गाउँपालिका, प्युठानमा आधारभूत तह (कक्षा ८) परीक्षामा करिब ११ प्रतिशत विद्यार्थी मात्र उतीर्ण भए । पालिकाका १८ विद्यालयका अध्ययनरत ७४३ जना विद्यार्थीले परीक्षा दिएका थिए । तर पालिकाले सार्वजनिक गरेको नतिजा अनुसार जम्मा ८१ जना विद्यार्थी कक्षा ९ मा पढ्न योग्य भए । ३ वटा विद्यालयमा त अपग्रेड हुने विद्यार्थीको संख्या शून्य भयो ।
पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मेघराज बोहरा भन्छन् ‘यस पटकदेखि हरेक विषयमा ३५ अंक ल्याउनैपर्ने भएपछि यस्तो देखिएको नतिजा हो ।’
०००
ठोरी गाउँपालिका, पर्साको नतिजा पनि त्यस्तै कमजोर छ । कक्षा ८ को परीक्षा दिएका ३०३ विद्यार्थीमध्ये १०९ जना मात्र माथिल्लो कक्षामा अपग्रेड भएका छन् ।
पालिका आफैंले विद्यार्थीको शिक्षण सिकाइ मूल्यांकन गर्दा वास्तविक नतिजा आएको शिक्षा शाखा प्रमुख भुपालकुमार जोशी बताउँछन् । ‘यो नतिजाले विद्यार्थीको शिक्षण सिकाइ कस्तो छ भनेर स्पष्ट पारेको छ’ उनले अनलाइनखबरसँग भने, ‘यो नतिजाले सबै सरोकारवाला निकायलाई झकझक्याएको छ ।’
विद्यालयको नतिजा कमजोर देखिएपछि नेपाल राष्ट्रिय प्राविधिक माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशील अधिकारीले राजीनामा दिएका छन् ।
पालिकाले सार्वजनिक गरेको नतिजामा राष्ट्रिय प्राविधिक माविका ३७ परीक्षार्थीमध्ये १० जना मात्र उत्तीर्ण भएका छन् । नतिजा सार्वजनिक भएपछि सबैले अभिभावकलाई दोष देखाएपछि आफूले राजीनामा दिएको अधिकारी बताउँछन् ।
०००
घोडाघोडी नगरपालिका, कैलालीको पनि नतिजा कमजोर देखिएको छ । दुई हजार ३९ जना परीक्षार्थीमध्ये जम्मा ६४९ जना माथिल्लो कक्षामा अपग्रेड भएका छन् ।
पालिकाका शिक्षा उपसचिव खगेन्द्रबहादुर सिंहका अनुसार दुई विषयमा ३५ अंक नपुगेका विद्यार्थीहरुको संख्या ६७४ जना छ । ‘सबैबाट कमजोरी भएको छ ।
पालिकाबाट पनि प्रभावकारी अनुगमन तथा निरीक्षणमा कमजोरी भएको महशुस गरेका छौं’ उनले भने, ‘अब यो शैक्षिक सत्रमा कमजोरीहरु केलाएर योजना बनाउँछौं ।’
०००
पाटन, नौबहिनी, ठोरी र घोडाघोडी पालिकामा मात्र होइन, लेटर ग्रेडिङ प्रणालीले देशभरमै सामुदायिक विद्यालयको शिक्षण सिकाइ कति कमजोर छ भनेर उदाङ्गो बनाएको छ ।
सरकारले शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमसँगै लेटर ग्रेडिङ निर्देशिका– २०७८ लागू गरेको छ । निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिक परीक्षामा ३५ अंक ल्याउनैपर्छ । कुनै पनि विषयमा ३५ भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ र कुनै एक विषयमा मात्र एनजी भए माथिल्लो कक्षा पढ्न पाउने छैनन् ।
कक्षा ८ को पालिकास्तरीय र कक्षा १० को प्रदेशले गर्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म कक्षा १० को परीक्षा भने राष्ट्रिय बोर्डले सञ्चालन गरिरहेको छ । चैतमा भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता असार साउनमा आउनेछ । पालिकास्तरमा भएको कक्षा ८ को नतिजा भने आएको छ, जसले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निक्कै कमजोर देखिएको छ ।
विद्यालयले विद्यार्थी नै नपाउने अवस्था आएपछि कतिपय पालिकाले दुई विषयसम्म ३५ भन्दा कम ल्याउने विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षाको मौका दिएको छ ।
पाटन नगरपालिका, बैतडीले १० र ११ वैशाखमा ग्रेडवृद्धि परीक्षा लिएको थियो, जसमा २९८ विद्यार्थी सहभागी भए । उत्तर पुस्तिका परीक्षण भइरहेकाले नतिजा आउन केही दिन लाग्ने नगरपालिकाका अधिकारीहरु बताउँछन् । ।
नौबहिनी गाउँपालिकाले दुई विषयसम्म ३५ अंक नल्याएका विद्यार्थीहरुलाई ग्रेडवृद्धि परीक्षा दिने मौका दियो । ६ र ७ वैशाखमा भएको परीक्षामा ३१५ सहभागी भएका थिए, जसमध्ये २५२ जना माथिल्लो कक्षमा अध्ययनका लागि योग्य भएका छन् । पालिकाका शिक्षा शाखा प्रमुख मेघराज भन्छन् ‘कक्षा ९ मा अपग्रेड हुने विद्यार्थी नै नभएका विद्यालयले पनि विद्यार्थी पाएका छन् ।’
ठोरी गाउँपालिकाले दुई विषयसम्म ३५ भन्दा कम ल्याउने विद्यार्थीका लागि पालिकाले ग्रेडवृद्धि परीक्षाको सञ्चालन ग¥यो, जसमा सहभागी १२३ मध्ये ११५ जना उत्तीर्ण भए ।
कतिपय पालिकाले भने तीन विषयसम्म ३५ अंक ल्याउन नसकेका विद्यार्थीलाई स्वतः अपग्रेड गरेका छन् । त्यसमध्ये एक हो, सप्तरीको खडक नगरपालिका ।
पालिकाले तीन विषयसम्म लागेका विद्यार्थीलाई अपग्रेड गर्ने निर्णय गरेको छ । ‘१५ प्रतिशत पनि पास नहुने अवस्था आयो’ शिक्षा शाखा प्रमुख वीरेन्द्रकुमार यादवले भने, ‘ड्रप आउटको संख्या बढ्न नदिन तीन विषयसम्म लागेकालाई अपग्रेड गर्नुपर्छ भनेर नेतृत्वले भनेपछि निर्णय भएको हौ ।’ त्यसरी अपग्रेड गराउँदा करिब १० प्रतिशत विद्यार्थी माथिल्लो कक्षामा जान सकेनन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले पनि दुई विषयमा ‘ग्रेस माक्र्स’ दिएको छ । कक्षा ८ को परीक्षामा सहभागी ३१५ परीक्षार्थीमध्ये २४० जना अपग्रेड भएका छन् ।
शिक्षा शाखा प्रमुख राजन ढकाल भन्छन्, ‘कक्षा ८ मा कडाई गरेर फेल गराउँदा ड्रप आउट हुने जोखिम रहन्छ भन्ने गुनासो आएपछि हामीले यस्तो गरेका हौं ।’
इलाम नगरपालिका, इलामले दुई विषयसम्म ग्रेस माक्र्स दिएर विद्यार्थीलाई अपग्रेड गराएको छ । गत वर्षको तुलनामा सिकाई उपलब्धि केही सुधार भएकाले कुनै दुई विषयमा थोरै अंक नपुगेर अपग्रेड हुन नसकेकालाई ‘ग्रेस माक्र्स’ दिने निर्णय गरेको पालिकाकी शिक्षा शाखा प्रमुख राधिका घिमिरेले बताइन् ।
उनका अनुसार पालिकाभरका ९८६ विद्यार्थीमध्ये ९०० कक्षा ९ मा पढ्न योग्य भएका छन् ।
गजुरी नगरपालिका, धादिङले अंग्रेजी, विज्ञान, गणितमध्ये कुनै दुई विषयमा ३५ ल्याउन ५ अंकसम्म नपुगेका विद्यार्थीलाई ‘ग्रेस माक्र्स’ दिने निर्णय गरेको छ । त्यसो गर्दा ३९७ मध्ये २७९ जना विद्यार्थी उत्तीर्ण भए । शिक्षा शाखा अधिकृत सन्तोष पौडेल भन्छन्, ‘यो नतिजा चित्तबुझ्दो त होइन, तर सुधार चाहिँ हो ।’
नतिजा सधारोन्मुख मानेको शंखरापुर नगरपालिका, काठमाडौंले पनि दुई विषयलाई ‘ग्रेस माक्र्स’ दिएको छ । कक्षा ८ को परीक्षामा सहभागी पालिकाका २४९ जना परीक्षार्थीमध्ये १८३ जना माथिल्लो कक्षामा पुगेका छन् ।
पालिकामा सबभन्दा बढी गणित विषयमा विद्यार्थी कमजोर देखिएको शिक्षा शाखाकी शिक्षा अधिकृत प्रमिला पुडासैनीले जानकारी दिइन् ।उनले भनिन्, ‘विद्यार्थीको नतिजा विश्लेषण गरेर सुधारमा केन्द्रित हुने तयारी गरिरहेका छौं ।’
नतिजाले के देखाउँछ ?
विषयगत शिक्षकको अभाव, कोरोना महामारीको प्रभाव, नयाँ निर्देशिका लागू हुनु जस्ता कारण आधारभूत तहको नतिजा कमजोर आएको पालिकाहरुको निष्कर्ष छ ।
सार्वजनिक शिक्षा अध्येता राम गुरुङ भने पालिकाहरुको प्रतिकृयालाई ‘पोलिटिकल रेस्पोन्स’ रुपमा ब्याख्या गर्छन् । आफ्नो मातहतमा रहेको सार्वजनिक शिक्षा सुधार गर्न नसकेपछि स्थानीय जनप्रतिनिधिहरुले आलोचनाबाट बच्न यस्ता तर्क गरेको उनी बताउँछन् । भने, ‘अहिलेको नतिजाले मुख्यतः राजनीतिक पहुँचमा नियुक्त भएका शिक्षकहरुको योग्यता छरपष्ट बनायो ।’
केन्द्र सरकारले आवश्यक दरबन्दी तथा शिक्षक नदिए पनि पालिकाहरुले विभिन्न स्रोतबाट शिक्षक नियुक्त गरेर पठनपाठन गरिरहेका छन् । त्यसरी राखिएका अधिकांश शिक्षकहरु योग्यताको आधारमा भन्दा राजनीतिक पहुँचको आधारमा राखिएकाले उनीहरुले गुणस्तर शिक्षा दिन नसकेको उनको तर्क छ ।
लेटर ग्रेडिङ निर्देशिका लागू भएकाले पनि नतिजा कमजोर आएको भन्नु झुट भएको उनले बताए । ‘राम्रो पठनपाठन भएको विद्यालयका विद्यार्थीलाई ३५ ल्याउनु ठुलो होइन’ उनले भने, ‘यसो भन्नु विद्यार्थीलाई धोका त भयो नै, झुट पनि हो ।’
पालिका संवेदनशील भएर शिक्षकलाई तालिम दिने, जवाफदेही बनाउने, शिक्षणशैली सुधार गर्ने लगायतको काम नगरेसम्म सार्वजनिक शिक्षा सुधार नहुने उनी बताउँछन् ।