पुसको पारिलो घाममा आनन्दपूर्वक बसिरहेका थिए, डा. ओममूर्ति अनिल । उनी यति मनमग्न देखिन्थे, मानौं संसार ठप्प रोकिएको छ । न छटपटी, न थकान । न विस्मय, न उन्माद । घडीको काँटा झैं एकनासले चल्ने उनको दैनिकीमा कुनै हतारो थिएन ।
जबकि यी मुटुरोग विशेषज्ञकहाँ ‘अपोइन्टमेन्ट’ लिएर आउने बिरामीहरूको ताँती लाग्छ । दैनिक ६०-७० जना बिरामीको मुटु छाम्ने र उपयुक्त उपचार विधि पहिल्याउने काम नगरी त सुखै छैन । त्यसबाहेक उनको फोन, ह्वाट्सएपमा प्रश्नहरू आइरहन्छन्- ‘डाक्टरसा’ब, प्रेसर बढ्यो के गर्ने ?’ ‘मुटुको चाल अनियमित भयो के गरौं ?’, ‘मैले खाइरहेको औषधि बजारमा पाइएन अर्को कुन खाउँ ?’, ‘मलाई कोलेस्टोरलको समस्या छ माछा-मासु खाँदा हुन्छ ?’
यी यावत् प्रश्नहरूको उनी धैर्यपूर्वक जवाफ फर्काइरहेका हुन्छन् । यसरी बिरामी र अस्पतालको सेरोफेरोबाट बाँकी रहेको समय उनी के गर्छन् ? जगजाहेर छ, सामाजिक सञ्जालमा हाजिर हुन्छन् जहाँ उनी स्वस्थ आहार, विहार एवं विचारका कुराहरू गरिरहेका हुन्छन् ।
आफ्नै घरको भान्साबाट कुन खानेकुराले शरीरमा कस्तो प्रभाव पार्छ भनिरहेका हुन्छन् । आफ्नै अस्पतालको कक्षबाट हृदयरोग र त्यसबाट बच्ने काइदाहरू बताइरहेका हुन्छन् ।
सामाजिक सञ्जालमा यी मुटुरोग विशेषज्ञलाई जतिले अनुसरण गरिरहेका हुन्छन्, उत्ति नै आलोचना पनि । उनी किन सामाजिक सञ्जालमा भिडियो बनाउन हत्ते गर्छन् ? टिकटक–युट्युबबाट कति पैसा कमाउँछन् ? त्यो पैसा के गर्छन् ?
हामीले उनलाई यही जिज्ञासा राख्यौं । सुनेर केही क्षण मुस्कुराए । त्यसपछि उनले विस्तारमा यस्तो जवाफ फर्काए- ‘फेसबुकमा मलाई फलो, लाइक गर्नेहरू थुप्रै छन् । मैले पोस्ट गरेको भिडियोमा भ्युज पनि थुप्रै आउँछन् । यस्तोमा फेसबुकबाट मैले थुप्रै पैसा कमाउँछु भन्ने धेरैलाई लागेको छ । वास्तविकता त्यस्तो होइन ।’ वास्तविकता के हो त ?
स्वास्थ्य सचेतनाको नयाँ प्लाटफर्म
पहिले–पहिले मात्र होइन अहिले पनि ‘स्वास्थ्य सम्बन्धी जनचेतना’ फैलाउन भित्तामा पोस्टर, पम्प्लेट टाँस्ने गरिन्छ । तर यो कति प्रभावकारी छ ? रेडियो, पत्रपत्रिका, टेलिभिजनको विज्ञापनमा कति मान्छेको दृष्टि पुग्छ ? संभवतः यसको जवाफ उति सन्तोषजनक भेटिंदैन ।
किनभने जेन जी र जेन अल्फा जस्ता जल्दोबल्दो पुस्ता फेसबुक, टिकटकमा फन्को लगाइरहेका छन् । मिलिनियल्स मात्र होइन बेबी बुमर्श भनिने बुढापाका पनि यतैतिर स्थानान्तरण भएका छन् । यस्तो पृष्ठभूमिमा सामाजिक सञ्जाल नै सर्वव्यापी माध्यम बन्न सक्छ, कुनै पनि सन्देश प्रक्षेपणका लागि ।
डा. ओममूर्ति अनिलले सुनाए, ‘एउटा फेसबुक अकाउन्ट बनाएको थिएँ । त्यसैमा कहिलेकाहीं सचेतनामूलक सामग्री पोस्ट गर्थें । सुरुमा मान्छेहरूले यी सामग्री हेरेनन् । तर, सन् २०१४ मा मैले एउटा बृहत् मुटु शिविर गरेको थिएँ, जहाँ सोसल मिडियामा जोडिएका मान्छेहरू सहभागी भए । उनीहरूले फेसबुकमा मलाई पछ्याउन थाले । सन् २०१५ देखि फेसबुकमा भिडियो र लाइभ सुविधा आएपछि यो क्रम अरू बढ्यो । म कहिले भिडियोमा त कहिले लाइभमै आएर सचेतनामूलक सामग्रीहरू पोस्ट गर्न वा कुरा गर्न थालें ।’
चिकित्सा विज्ञानमा एउटा प्रचलित भनाइ छ- ‘बिरामी भएर औषधि उपचार गर्नुभन्दा उत्तम हो बिरामी नै नहुनु ।’ यसका लागि औषधि, उपचार, शल्यक्रिया भन्दा प्राथमिक हुन आउँछ स्वास्थ्य सम्बन्धी जनचेतना । कुन रोग किन लाग्छ ? कसरी लाग्छ ? लागेपछि के हुन्छ ? लाग्न नदिन के गर्ने ? यावत् कुरा जान्नु जरूरी हुन्छ ।
डा. ओममूर्ति भन्छन्, ‘स्वास्थ्य सम्बन्धी सामान्य भन्दा सामान्य जानकारी नहुँदा मान्छेहरू मृत्युको मुखमा पुग्ने गरेका छन् । सन् २०११ मा मनमोहन कार्डियक सेन्टरमा काम गर्दा कति बिरामी आउँथे, जो सामान्य गल्तीका कारण गम्भीर रोगका शिकार भएका थिए । उनीहरूमध्ये कतिको ज्यानै जान्थ्यो । हृदयघातका बिरामी घरमै बस्दा मृत्यु भएको जस्ता घटना देखेपछि मलाई यी विषयहरूमा औषधि उपचार भन्दा जनचेतना बढी आवश्यक छ भन्ने लाग्यो ।’
मुटुरोग अहिले भयावह बन्दैछ । उच्च रक्तचाप, कोलेस्टेरोल, अनियमित धड्कन जस्ता समस्याले धेरैलाई गाँज्न थालेको छ । यही कारण उनीहरू अस्पताल धाउनुपरेको छ । औषधि खानुपरेको छ । जबकि त्यस्ता समस्या आउनै नदिन के गर्ने भन्ने सामान्य हेक्का भइदिएको भए न अस्पताल धाउनुपथ्र्यो, न औषधि खानुपथ्र्यो । न पैसाको बर्बाद हुन्थ्यो, न समयको ।
वर्षौं लामो डाक्टरी पेशामा उनले के बोध गरे भने, स्वास्थ्य सचेतना समाजका लागि अत्यन्तै अपरिहार्य छ, खासगरी हाम्रो जस्तो परिवेशमा । किनभने शौचालय जान, हात धुन समेत सिकाउनुपर्ने समाज हो हाम्रो । यस्तो धरातलमा सामान्य स्वास्थ्य जानकारी नहुनु कुनै दुर्लभ कुरा भएन । यहाँ झाडापखालाबाट बच्न के गर्ने भन्नेदेखि हृदयलाई बचाउन कस्तो खानेकुुरा खानुपर्छ भन्नेसम्मको सचेतना जरूरी हुन्छ ।
‘त्यसैले म सोसल मिडियामा आएँ’ डा. ओममूर्तिले सुनाए, ‘पहिले चिकित्सकले जर्नल वा लेखहरू प्रकाशित गर्थे । तर अब जमाना फेरियो । मान्छेहरू सामाजिक सञ्जालमा एकत्रित भए । यही माध्यम नै सचेतना फैलाउनका लागि सबैभन्दा राम्रो प्लाटफर्म हो भन्ने मेरो बुझाइ छ ।’
सामाजिक सञ्जालले के गरिदियो भने, आफूले भन्न खोजेको र चाहेको कुरा निमेषभरमै राख्न सकियो- शब्द, फोटो, भिडियोबाट । छिटो अनि छरितो पनि । सहज अनि सुलभ पनि ।
शनिवारे विदामा फेसबुक लाइभ
‘फेसबुकमा लाइभ फिचर सुरु हुनासाथ मैले मदिरा र जाडोको बारेमा लाइभ गरेको थिएँ’ डा. ओममूर्ति भन्छन्, ‘त्यो भिडियो एकसाथ तीन–चार हजार जनाले हेरे । पछि मधुमेह हुनै नदिन के गर्ने भनी भिडियो बनाएँ । त्यसमा थुप्रै भ्युज आयो । त्यसपछि म प्रत्येक शनिवार फेसबुक लाइभमा आउन थालें ।’
जसै उनी सामाजिक सञ्जालमा सक्रिय भए त्यसै मार्फत मान्छेहरूले आ–आफ्नो स्वास्थ्य समस्या सुनाउन थाले । ‘त्यसपछि मैले विदाको समय सामाजिक सञ्जालमा दिन थालें’ उनी सुनाउँछन्, ‘घरपरिवारलाई दिनुपर्ने समयमा पनि आज लाइभमा के विषय बोल्ने होला भनी सोच्न थालें ।’
डा. ओममूर्ति अनिलले फेसबुकमा स्वास्थ्य सम्बन्धी भिडियोहरू राख्न त्यसबेला सुरु गरे, जतिबेला धेरैजसो डाक्टर सामाजिक सञ्जालमा खुलेर आएका थिएनन् । त्यसैले डा. ओममूर्तिका स्वास्थ्य सम्बन्धी भिडियो हेर्नेको संख्या ह्वात्तै बढ्यो ।
‘मैले यसरी सामाजिक सञ्जालबाट दिने स्वास्थ्य सुझावले कति मान्छे लाभान्वित भए ? त्यसको हिसाबकिताब त मसँग छैन’ उनी सुनाउँछन्, ‘तर कतिपयले मसँगको भेटमा सो सुझावको कारण आफ्नो स्वास्थ्य र पैसा जोगिएको बताउँथे । यो कुराले मलाई एउटै कुरा मिल्थ्यो, आत्मसन्तुष्टि ।’
भर्चुअल डाक्टर : कति भर, कति डर ?
फेसबुक–टिकटक कहीं पनि ‘स्वास्थ्य सुझाव’बारेका भिडियो हेर्दै जानुहोस्, एकपछि अर्को त्यस्तै सामग्रीहरू देखा पर्न थाल्छ । कसरी स्वस्थ रहने ? मिर्गौला खराब हुन नदिन के गर्ने ? चुरोटले कसरी फोक्सोलाई बिगार्छ ? लगायत के खाने, के नखाने, कति बजे सुत्ने, कति बजे उठ्ने, के रोग लाग्न नदिने, के गर्ने यावत् जिज्ञासा र जवाफ चुट्कीकै भरमा भेट्न सक्नुहुन्छ । तर के ती सुझावहरू पत्यारलाग्दो छन् ?
किनभने सामाजिक सञ्जालमा स्वास्थ्य सुझाव दिनेमध्ये अधिकांश चिकित्सक होइनन् । उनीहरू सम्बन्धित रोगका विशेषज्ञ होइनन् ।
जनस्वास्थ्य आफैंमा संवेदनशील विषय हो । यद्यपि हामीकहाँ सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्ने बलियो संयन्त्र छैन । यस्तो अवस्थामा ‘स्वास्थ्य सुझाव’ पनि बरमझियाको उही असली पेडा जस्तै भइदिन्छ, द्विविधा बनाउने ।
‘इन्टरनेटमा उपलब्ध सबै सामग्री सही र भरपर्दो स्रोतबाट आएको हुन्छ भन्ने छैन’ डा. ओममूर्ति भन्छन्, ‘त्यस्ता स्वास्थ्य सुझावले मान्छेलाई अलमल बनाउने मात्र होइन गलत उपचारको शिकार पनि बनाउन सक्छ ।’ उनका अनुसार सामाजिक सञ्जालमा उपलब्ध हुने स्वास्थ्य सुझावको स्रोत, सत्यता जाँच्नु जरूरी हुन्छ ।
‘स्वास्थ्य हितमा कसैले बोलिरहेका छन् भने उनले कुन स्रोत वा आधारमा त्यसो भन्दैछ ? के उनी विज्ञ हुन् ? उनले सो विषयमा कुनै खोज, अध्ययन गरेका छन् ? यी सबै कुरा थाहा पाउनुपर्छ’ उनी भन्छन्, ‘अन्धाधुन्द सामाजिक सञ्जालमा आउने स्वास्थ्य सुझावहरू अपनाउँदा स्वास्थ्य राम्रो हुने होइन अरू जोखिममा पर्न सक्छ ।’
कुनै व्यक्तिले स्वस्थ जीवन चाहने हो भने, आफ्नो रोगको उपचार खोज्ने हो भने, आफूलाई रोग लाग्नै नदिने हो भने त्यसका लागि सामाजिक सञ्जालको ‘सर्टकर्ट’ भिडियो हेरेर मात्र पुग्दैन । त्यसका लागि भिडियो सामग्रीको स्रोत बलियो हुनुपर्छ । साथसाथै आफ्नो शारीरिक अवस्था, जीवनशैली, खानपान, रोगको प्रकार पनि स्पष्ट हुनुपर्छ । तब मात्र सही परामर्श पाउन र त्यसलाई अपनाउन सकिन्छ ।
सामाजिक सञ्जालबाट कति कमाइ हुन्छ ?
यो आम चासोको प्रश्न हो । यस्तो प्रश्नहरूको थुप्रो लागेको छ, ओममूर्ति अनिलको भागमा पनि । जब उनी फेसबुक वा युट्युबमा देखापर्छन् तब ‘किन भाइरल हुन मन लागेको ?, पैसा कमाउन यतातिर लागेको ?, यत्तिको पैसा के गर्नुहुन्छ ?’ जस्ता प्रश्नहरूको ओइरो लाग्छ ।
यी प्रश्नहरूको जवाफमा उनी भन्छन्, ‘फेसबुकमा कुनै सामग्री हालेर मैले पैसा लिएको वा कमाएको छैन । भर्खरै मात्र युट्युब सुरु गरें । युट्युब सुरु किन गरें भने त्यसबाट विस्तृतमा बुझाउन सकिन्छ । किनभने स्वास्थ्यको कुरा केही मिनेट वा सेकेन्डमा गरेर पर्याप्त छैन । तीन महिनाअघि युट्युबमा मनिटाइज भएर पैसा आउन थाल्यो । त्यसरी आएको पैसा म आफ्नो व्यक्तिगत प्रयोजनका लागि पटक्कै खर्च गर्नेछैन, गरेको पनि छैन ।’
युट्युब मनिटाइज भएपछि उनले केही पैसा प्राप्त गरेका थिए । सो पैसा उनले अनाथ बालबालिकाका लागि खर्चिए । ‘सामाजिक सञ्जालबाट म जति पनि कमाउँछु त्यो सबै समाजसेवाकै लागि खर्चनेछु’ उनी सुनाउँछन्, ‘एक पैसा म राख्नेछैन ।’
त्यसो त आफ्नो आर्जनको केही हिस्सा सामाजिक सेवामा पनि लगाउनुपर्छ भन्ने उनलाई लाग्छ । त्यही कारण उनले डा. ओम फाउन्डेसन स्थापना गरेका छन् । त्यस मार्फत स्वास्थ्य, शिक्षाका क्षेत्रमा विभिन्न काम गरिरहेका छन् ।
कुराकानीको अन्त्यमा हामीले उनलाई अर्को प्रश्न ग¥यौं– ‘तपाईं स्वस्थ जीवनशैलीको सुझाव दिनुहुन्छ, सही खानपानबारे भिडियो बनाउनुहुन्छ, मुटुभन्दा मनको बढी कुरा गर्नुहुन्छ । के तपाईं स्वयम्को जीवनशैली त्यस्तै छ, जस्तो अरूलाई सुझाउनुहुन्छ ?’
उनले दार्शनिक शैलीमा भने, ‘दश वर्षअघि मैले सचेतना अभियान सुरु गर्दा मुटुरोग सबैभन्दा जटिल छ र यसको रोकथाम गर्नुपर्छ भनी बोल्थें । तर पछिल्लो समय के थाहा भयो भने मान्छेलाई मुटुरोग होइन मनरोग धेरै छ । मनरोग भनेको मानसिक रोग होइन, ईष्र्या, दम्भ, छल, झेल, भ्रम, अहम् हो । यसको लागि पहिले त मान्छेलाई मनकै उपचार जरूरी छ । त्यसैले म मनको कुरा गर्छु । अर्को कुरा, म जे कुरा गर्छु जीवनशैली पनि सोही अनुरूप अपनाउँछु । रक्सीले हृदयरोग लाग्छ भनेर भिडियो बनाउँदै राति राति रक्सी पिउने काम हुँदैन ।
तपाईं के सोच्नुहुन्छ, के बोल्नुहुन्छ र के गर्नुहुन्छ ? यी तीनै कुरामा समानता हुनुपर्छ । सोच्ने एउटा, भन्ने एउटा र गर्ने अर्कै असल मान्छेको गुण होइन । मैले जति पनि भिडियो बनाएको छु, जति पनि सुझाव दिएको छु त्यो मेरो जीवन भोगाइसँग सम्बन्धित हुन्छ । मैले जीवनमा जे कुरा आत्मसात् गरेको छु, त्यही भन्ने हो ।’
फोटो–भिडियो : शंकर गिरी