प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार
सामाजिक सञ्जाल प्लेटफर्मको अनियन्त्रित विस्तारले बालबालिका तथा किशोरकिशोरीहरूमा अभूतपूर्व मानसिक स्वास्थ्य संकट निम्त्याएको भन्दै यस क्षेत्रमा तत्काल विश्वव्यापी समन्वय आवश्यक रहेको किड्स राइट्स संस्थाले चेतावनी दिएको छ। बुधबार सार्वजनिक गरिएको संस्थाको वार्षिक प्रतिवेदनमा यो चेतावनी दिइएको हो।
रिपोर्टका अनुसार, १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक सातमध्ये एक जनाले कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भोगिरहेको छ। त्यस्तै, १५ देखि १९ वर्षका किशोरकिशोरीहरूमा आत्महत्याको दर प्रति एक लाखमा ६ जनासम्म पुगेको बताइएको छ।
आमस्टर्डममा आधारित यस संस्थाका अनुसार आत्महत्या अझै पनि कलङ्कको रूपमा हेरिने भएकाले वास्तविक तथ्याङ्क अझ उच्च हुन सक्ने सम्भावना छ। रिपोर्टले प्रस्तुत गरेको संख्या त केवल “शिखरको चुचुरो” मात्र भएको बताइएको छ।
“यस वर्षको रिपोर्ट एउटा स्पष्ट चेतावनी हो, जसलाई अब हामी बेवास्ता गर्न सक्दैनौँ,” किड्स राइट्सका अध्यक्ष मार्क डुलार्टले भने, “बालबालिकाको मानसिक स्वास्थ्य संकट चरम अवस्थामा पुगेको छ र सामाजिक सञ्जालको अव्यवस्थित विस्तारले यसलाई झन् गम्भीर बनाएको छ।”
रिपोर्टले इन्टरनेटको अत्यधिक प्रयोग र आत्महत्या प्रयासहरूबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै समस्याग्रस्त सामाजिक सञ्जाल प्रयोग बढिरहेको बताएको छ।
यद्यपि, समूहले पूर्ण प्रतिबन्ध समाधान नभएको र यसले बालबालिकाको नागरिक तथा राजनीतिक अधिकार उल्लङ्घन गर्ने चेतावनी दिएको छ।
अस्ट्रेलियाले हालै १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको भए पनि किड्स राइट्सले यस्तो निर्णय गम्भीर बहसको विषय भएको बताएको छ।
संस्थाले सामाजिक सञ्जालको प्रयोग, शिक्षा, र मानसिक स्वास्थ्य सेवा सुधारका लागि ‘व्यापक बाल अधिकार प्रभाव मूल्याङ्कन’ गर्न अन्तर्राष्ट्रिय प्रयासको माग गरेको छ।
“डिजिटल क्रान्तिले विश्वभरिका २ अर्ब २० करोड बालबालिकाको जीवनमा खतरा नल्याउने सुनिश्चित गर्न हामीले अब ठोस कदम चाल्नैपर्छ,” डुलार्टले भने, “अब आधा उपायले काम गर्दैन।”