सामाजिक सञ्जालको झरिलो-भरिलो कथामा बेलाबखत यसरी ट्वीस्ट आउँछ कि, त्यसमा एकोहोरिएका प्रयोगकर्तालाई रुनु न हाँस्नु हुन्छ । अनि हिजो जहाँ उनीहरु सद्भाव राख्थे, त्यसैमा गाली बर्साउन थाल्छन् । कसैलाई रातारात ‘आइडल’ बनाएका यही भर्चुअल जमात उसैगरी पत्तासाफ गर्न लागिपर्छन् ।
यति भूमिका बाँधेपछि तपाईंले अनुमान गर्नु नै भयो यो कथाको केन्द्रमा को-को छन् भनेर, खासगरी टिकटक प्रयोगकर्ता हुनुहुन्छ भने । निसन्देह यसको सेरोफेरोमा छन् आयुशसिंह ठकुरी र अलीजेह जमाली । दुबैको साझा चिनारी हो, टिकटकर । त्यही आलोकबाट उनीहरु ‘भाइरल’ भए ।
तर, अहिले स्थिती कसरी उल्टिएको छ भने टिकटकबाट उनीहरु भाग्नुपर्ने अवस्थामा आइपुगे । जबकि अलिजेहको एकाउन्टमा २२ लाख बढी फलोअर्स थिए भने आयुषको एकाउन्टमा १३ लाख । यो जोडी ‘लाइभ बस्दा’ लाखौं झुम्मिएका हुन्थे । यसरी नै उनीहरुले सानै उमेरमा चर्चा कमाए, पैसा पनि । गाडी किने, घर पनि । उद्यम थाले, समाजसेवा पनि । नाचे, गाए, रमाए ।
सबै ठीकठाक चल्दै थियो ।
अनायस उनीहरुको जिन्दगानीमा तेस्रो व्यक्तिको खोजी सुरु हुन्छ । अर्थात आयुषकी आमा नानुसिंह ठकुरी । आयुष–अलिजेह टिकटक लाइभमा बस्छन् र आमाको बारेमा केही दुखेसो पोख्छन् । वस्, यहीबाट सुरु हुन्छ एउटा महाभारत ।
आखिर सद्भाव र स्नेहको भाषा बद्लिन समय लाग्दैन । सो तुरुन्तै भनाभन, आरोप, घृणा र आक्रोसमा रुपान्तरण हुन्छ । त्यो कतिसम्म भद्दा र भारी हुनपुग्छ भने आयुश–अलिजेह एकाएक टिकटकबाट गायब हुनपुग्छन् ।
उनीहरु स्वयम्ले टिकटक एकाउन्ट ‘डिएक्टिभेट’ गरे वा उजुरीको आधारमा ‘प्रतिबन्धित’ भयो ? स्पष्ट हुन्न ।
यसबीचमा अलिजेह इन्स्टाग्राममा प्रस्तुत हुन्छिन् । यसो भन्दै, ‘हामीले आफ्नो टिकटक एकाउन्ट डिएक्टिभेट गरेका छौं । कुनै कारणबिना धेरै नकारात्मकता फैलिएको छ । म यहाँ परिवारसँग छु र म मानसिक शान्ति चाहन्छु ।’
………………….
अब अन्य तानाबानामा लाग्नुअघि आयुष–अलिजेहको एकसरो यात्रातर्फ लागौं ।
‘अबुई विदेसी …हेलो ।’ यही संवादबाट सुरु हुन्छ आयुष सिंह ठकुरी र अलिजेह जमालीको प्रेम सम्बन्ध । दुबईमा बसोबास गरिरहेकी पाकिस्तानी मुलकी टिकटकर अलिजेह र नेपाली किशोर आयुषलाई जोड्ने सूत्रधार बन्छ, टिकटक ।
अक्सर कालो बुर्काले अनुहार ढाकेर देखापर्ने अलिजेह अनि आयुष टिकटक लाइभमा बस्छन् र एकअर्कासँग ख्यालठ्टा गर्न थाल्छन् । फरक भूगोल, फरक भाषा, फरक संस्कृतिमा हुर्किएका यी युवा–युवतीको ठट्यौली कुराकानी धेरैका लागि रुचीकर बन्छ । उनीहरु आपसमा एक भए कति काइदा होला ? यही उत्सुकतासँगै दर्शकहरु टिकटक लाइभमा झुम्मिन्छन् ।
आखिरमा उनीहरु एकअर्कालाई प्रेम गर्न थालेको बताउँछन् र काठमाडौंमा भेट्ने उद्घोष गर्छन् । यसले टिकटकका दर्शकलाई थप हौस्याउँछ । उनीहरु त्यही दिनको प्रतिक्षा गर्न थाल्छन्, जुन दिन आयुष र अलिजेह एउटै फ्रेममा देखिनेछन् ।
त्यो दिन पनि आउँछ । गएको जेठ महिनाको दोस्रो साता दुबईबाट अलिजेह त्रिभूवन विमानस्थलमा ओर्लन्छन्, तीन जना बडीगार्डसहित । उनलाई स्वागत गर्न आयुष विमानस्थलमा उपस्थित हुन्छन् । टिकटकमा उनीहरुलाई नियमित हेरिरहेका दर्शकका लागि आयुष–अलिजेहको यो मिलन कुनै लभस्टोरी फिल्मको क्लाइमेक्स भन्दा कम रोमान्चक हुँदैन ।
यस भेटमा दुबैले म्युजिक भिडियो खेल्नेदेखि मुलुकको पर्यटकिय स्थल र संस्कृतिको उजागर गर्ने वाचा गर्छन् । यिनीहरुको टिकटक लाइभमा एकसाथ दुई लाख दर्शक झुम्मिन्छन् । उनीहरु अभिनित म्युजिक भिडियोले युट्युबमा एकै दिनभित्र लाखौं भ्युज पाउँछ । आयुष-अलिजेह जहाँ–जहाँ पुग्छन्, उनीहरुलाई हेर्ने र सेल्फी खिच्नेको भिड लाग्छ ।
अब यी दुईले दुबईमा पुगेर ‘इगेजमेन्ट’ गर्छन् ।
कालो बुर्काले अनुहार ढाकेकी अलिजेहलाई नेपाली टिकटक प्रयोगकर्ताहरुले स्नेहसाथ ‘बुहारी’ सम्बोधन गर्छन् । आयुषसँगको इंगेजमेन्टपछि उनले बुर्का खोलेर आफ्नो अनुहार सार्वजनिक गर्छिन् ।
यसबीचमा उनीहरु कहिले लताकपडा बोकेर दुर्गम गाउँमा पुग्छन्, कहिले पाठ्य सामाग्री बोकेर विद्यालय पुग्छन्, कहिले खानेकुरा लिएर बृद्धाश्रम पुग्छन्, कहिले आर्थिक सहयोग बोकेर अस्पताल पुग्छन् । यसरी ‘लाइभ बसेर’ कमाएकोमध्ये ५० लाख बढी विभिन्न क्षेत्रमा सहयोग दिएको बताउँछन् । नेपाली भाई–बुहारीको रुपमा सर्वत्र सद्भाव र माया कमाइरहेका उनीहरुले आफ्नो छुटै उद्यम सुरु गर्छन्, पहिरनको ।
त्यसपछि उनीहरुले आफ्ना प्रशंसकलाई थप चकित तुल्याउँदै एक आलिशान घर देखाउँछन् र सो घर आफूहरुले खरिद गरेको बताउँछन् । २१ बर्षे युवाले गरेको यस्तो प्रगतिमा सबैजना उमंगित हुन्छन् । यद्यपि यही खुसी बाढेको धेरै समय बित्न नपाई उनको जीवन विवाद र आलोचनको भुँमरीमा फस्छ ।
…………..
घर खरिद गरेपछि आयुष–अलिजेह टिकटक लाइभमा आउँछन् । भन्छन्, ‘म २१ बर्ष उमेरको मान्छे । धेरै कुरा भोगेर, गरेर यहाँसम्म आइपुगेको छु ।’ यसक्षण उनी खुसी भन्दा बढी आफ्ना दुःखहरु सुनाउन थाल्छन् । र त्यो दुखेसो आमाप्रति लक्षित हुन्छ । आमाले सानैमा छाडेर गएको र आफ्नो पूख्र्यौली सम्पति पनि खाइदिएको बताउँछन् ।
अब टिकटक प्रयोगकर्ताहरु आयुषकी आमातर्फ केन्द्रित हुन्छन्, जो छोराको आरोपबारे खण्डन गरिरहेकी हुन्छिन् । उनी भन्छिन्, ‘ल ठीक छ म भागेर हिँडे रे, तिम्रो अंशको सम्पति पनि बेचेर खाएँ रे त्यसमा तिमी कानुनी लडाँई लड्न सक्छौं ।’ तर छोरोको जन्मदिनमा समेत आफूले भेट्न खोज्दा नपाएको भन्दै उनले ‘६ महिनाको टुहुरो छोरोलाई कसरी हुर्काएँ’ भनी बेलिबिस्तार लगाउँछिन् ।
अब टिकटक प्रयोगकर्ताहरु आयुषमाथि खनिन्छन् र आमाप्रति सद्भाव पोख्न थाल्छन् । ‘पुगिसरी भएपछि आमालाई गाली गर्नुहुन्न । जो भएपनि, जे भएपनि आमा भनेको आमै हो’ भन्दै प्रयोगकर्ताहरु आमाको पक्षमा उभिन्छन् । कुरा यतिमै टुंगिदैन । आयुष–अलिजेहको अहंम बढेको ठानी टिकटकमा ‘अनफलो’ गर्ने लहर चल्छ । यो क्रम त्यही तिब्रताका साथ चल्छ, जसरी आयुष–अलिजेहलाई ‘फलो’ गर्नेहरु ह्वात्तै बढेका थिए ।
यहाँ आइपुगेपछि फेरी आयुष केही नरम हुन्छन् र उनकी आमा पनि । दुबै आपसमा मिलेको जस्तो देखिन्छ । टिकटक प्रयोगकर्तालाई के लाग्छ भने, त्यसअघि यिनीहरुले जे जति गरे त्यो सबै नाटक थियो । र त्यो नाटक आयुषकी आमालाई घर बनाइदिनका लागि थियो ।’
अघिसम्म आयुषलाई सम्झाउने र आमाप्रति सद्भाव राख्ने प्रयोगकर्ताहरु दुबैलाई खिसिट्युरी गर्न थाल्छन् । तब आयुषकी आमा भन्छिन्, ‘मेरो छोरो सानै छ । उसले भन्ने खोजेको कुराहरु राम्ररी भन्न सकेनन् होलान् । उनले टिकटक लाइभमा बोलेको स–सानो फुटेज हेरेकै भरमा मैले उनलाई नराम्रो भनें । त्यो गलत थियो ।’
उनी थप्छिन्, ‘मलाई साहनुभूति दिएर मेरो छोरोहरुलाई हार्दिक श्रद्धाञ्जली भन्नेहरुको माया मलाई चाहिएको छैन । छोरो तिमी डगमगाउनुपर्दैन । तिम्री आमा तिम्रो साथमा हुनेछ ।’
न रुनु, न हाँस्नुको दोधारे स्थितीमा पुग्छन् टिकटक प्रयोगकर्ताहरु । अब कसलाई के भन्ने ? अघिसम्म आयुषकी आमाको पक्षमा भावुक भई टिकटक बनाउनेहरुले सो भिडियो ‘प्राइभेट’ गर्न थाल्छन् । ठीक यही बेला अलिजेह दुबई जान्छिन् र जाँदाजाँदै उनले भिडियो सार्वजनिक गर्दै भन्छिन्, ‘नेपालको टिकटक आयुष र अलिजेहकै कारण चलेको छ । आयुष अलिजेहको निहुँमा सबैजना भिडियो बनाउन तम्सिएका छन् । अंकल, आन्टी, केटाकेटी….।’ उनले तेस्रो लिंगीलाई अपमानजनक भाषा बोलेर गाली गर्छन् र ती सबैको भान्सा आयुष–अलिजेहकै विषयमा भिडियो बनाएर चलेको दावी गर्छिन् ।
यसले आगोमा घिउ थप्ने काम गर्छ । अब देश–विदेशमा बसेका टिकटक प्रयोगकर्ताको पारो तात्छ । उनीहरु अलिजेहलाई मनपरी गाली गर्न थाल्छन् । खिसी गर्न थाल्छन् । र, हिजोसम्म ‘बुहारी’ भन्दै माया गर्नेहरु ‘अन्तर्राष्ट्रिय बुहारी’ भन्दै उडाउन थाल्छन् ।
र, यो उपक्रम चलिरहन्छ । चलिरहेको छ ।
…………….
रातारात चर्चा । रातारात भाइरल । रातारात पैसा । रातारात चिनापर्ची । रातारात प्रेम । रातारात झगडा । रातारात सत्रुता ।
सामाजिक सञ्जालले आफूसँगै काखी च्यापेर हुर्काएको प्रवृत्ति हो यो । अर्थात छोटो–छरितो, छिटो–मीठो । यहाँ धैर्यता गायब हुन्छ । हरेक कुरा यसरी हुन्छ कि मानौं यो दुनियाँ हावाको बेग जस्तै वेतोडले दौडने बुलेट ट्रेन हो । र, यहाँ सबै हतारमा छन् । कसैलाई केही पर्खने, बुझ्ने, सुन्ने, मनन वा मन्थन गर्ने फुर्सद छैन ।
टिकटकसँगै जन्मिएका पुस्तालाई सम्बोधन गर्ने एउटा संज्ञा छ, जेन अल्फा । सन् २०११ देखि २०२४ को समयावधीमा जन्मिएकाहरु यस पुस्तामा पर्छन् । टिकटक जस्ता डिजिटल सामाग्रीको घर्षणसँगै यो पुस्ताको मनोविज्ञान र व्यवहार निर्माण भएको छ ।
जेन अल्फालाई कुनै कुरा हेर्न वा जान्नका लागि एकै पल काफी छ । हरेक सेकेन्ड वा मिनेटमा नयाँ–नयाँ कुरा भेटिए\बद्लिए जसरी उनीहरुको मनस्थिती पनि हतारमा र बद्लिइरहने हुन्छ । टिकटक, रिल्स, सर्टस्को व्यापकता यसैको उपज हुन् ।
जेन अल्फाको यही आनुवंशिक चरित्र जेन–जी र मिलेनियल्समा यसकारण सर्दैछ कि, उनीहरु टिकटक जस्ता प्लेटफर्ममा प्रवेश गरिसकेका छन् । र, त्यसैमा एकोहोरिन थालेका छन् । चाँडो नतिजा, चर्को प्रतिक्रिया । छिटो उपलब्धी, छोटो गन्तव्य । अस्थीर र अधैर्य ।
यही मनोविज्ञानले गर्ने हिसाब–किताबको योगफल हुन् आयुष-अलिजेह ।