सानो उमेरमै यौन सम्पर्क : अध्ययन गर्नुपर्ने एउटा सामाजिक प्रश्न

सानो उमेरमै यौन सम्पर्क : अध्ययन गर्नुपर्ने एउटा सामाजिक प्रश्न


किशोर–किशोरी उमेर सबैभन्दा चुनौतीपूर्ण अवस्था हो । विश्व स्वास्थ्य संगठनका अनुसार किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेर समूहलाई जनाउँछ । यस समयमा मानसिकसँगै शारीरिक विकास भइरहेको हुन्छ ।

यसबेला बाल्यकाल र वयस्कको बीचको समयमा हुने भएकाले आफूमा हुने परिवर्तनलाई कसरी सहज रूपमा लिने, बुझ्न भन्न गाह्रो हुन्छ । किशोर–किशोरी समयमा यौन, यौनिकताको पनि विकास हुन्छ । कुन कुरा सही–गलत हो ? आफूमा आएको यौनको संवेग कसरी नियन्त्रण गर्ने ? भन्ने उनीहरूलाई चुनौती हुन्छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेको देखाएको छ । त्यसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा छ । कर्णालीमा २१ प्रतिशत र मधेश प्रदेशमा २० प्रतिशत यो उमेरका किशोरी गर्भवती हुने गरेका छन् ।

बालविवाहको तथ्यांक पनि डरलाग्दो छ । ३ प्रतिशत किशोरीहरू र १ प्रतिशत हाराहारी किशोरले १५ वर्षको उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । १५ वर्ष नपुग्दै वा १५ वर्ष उमेर हाराहारीमा २ प्रतिशत किशोर र किशोरीले यौनसम्पर्क गरिसक्ने सर्वेक्षणले देखाएको छ ।

बालविवाह र कलिलै उमेरमा गर्भवती हुने संख्या लक्ष्य अनुरूप घटाउन सकिएको छैन । विद्यालय अध्ययन गर्ने किशोर–किशोरीलाई मध्यनजर गर्दै सरकारले बृहत् यौनिकता शिक्षा लागू गरेको छ । तर पछिल्लो समय यस विषयलाई ऐच्छिक बनाउँदा यौन शिक्षा लिनबाट किशोरकिशोरी वञ्चित भएका छन् ।

विद्यालयका किशोर–किशोरी लक्षित यस प्रकारका शिक्षा, सूचना र जानकारीले उनीहरूको समग्र शिक्षा सिकाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । यौन र यौनिकताका विषयमा सही निर्णय लिन, प्रजनन् स्वास्थ्यका बारेमा ज्ञान प्राप्त गर्न र सामाजिक समस्या समाधान गर्न पनि त्यस्तो शिक्षाले सहयोग पुग्नेथियो ।

यस्तो शिक्षाले यौनिक जीवनलाई स्वस्थकर बनाउन, एचआईभी, यौन संक्रमण, अनिच्छित गर्भधारण, हिंसायुक्त यौनिक व्यवहार तथा यौनिक दुव्र्यवहार घटाउन सहयोग गर्छ । यस्तै कम उमेरमा विवाह हुन नदिन तथा सन्तान नजन्माउन, जन्मान्तर कम गर्न, व्यवस्थित परिवार योजना बनाउन, परिवार नियोजनका साधनको प्रयोग र पहुँच बढाउन पनि मद्दत गर्नेछ ।

बृहत् यौनिकता शिक्षा लागू भइरहँदा केही हदसम्म न्यूनीकरणको प्रयास गरेको थियो । तर यस विषयलाई ऐच्छिक बनाएपछि हाम्रो प्राथमिकता कता गयो भन्न सकिएन । प्रभावकारी शिक्षाको अभावमा धेरै असरहरू देखिन्छन् । किशोरी अवस्थामा गर्भवती हुँदा बच्चा र आमाको मृत्युदर बढी हुन्छ । बच्चाहरू पनि समय नपुगेर कम तौलको जन्मिने, शारीरिक, मानसिक विकास हुने सम्भावना कम हुन्छ ।

किशोरी उमेरमा बिहे हुँदा उनको जीवन नै अस्तव्यस्त हुन्छ । अध्ययनलाई निरन्तरता दिन सक्दिनन् । बच्चा जन्माएर घरमै बस्नुपर्ने बाध्यताले श्रीमान् वा परिवारकै भरमा बाँच्नुपर्ने हुन्छ । अध्ययनले पनि यस्ता किशोरीमाथि श्रीमान्बाट यौन शोषण भइरहने र घरपरिवारबाट श्रम शोषण उच्च हुने देखाएको छ ।

हरेक विषयमा अरूमाथि निर्भर हुनुपर्ने भएपछि किशोरीले आफ्नो प्रजनन् स्वास्थ्य, सन्तान नजन्माउन वा बालबालिकाप्रति गरिने निर्णयका लागि स्वतन्त्र हुँदिनन् । जसका कारण सन्तानको जीवनमा पनि नकारात्मक असर पारिरहेको हुन्छ ।

सधैं नै किशोरकिशोरीलाई सही परामर्शको खाँचो हुन्छ । उनीहरूले खोजेको सूचना र चाहेको जानकारी हामीले दिनसकेका छैनौं ।

हामीले २० वर्ष नपुगी बिहे गर्न नहुने कानुन त निर्माण गर्‍यौं, तर यसको पालना गर्ने वातावरण किन भइरहेको छैन भनेर मसिनो गरी कारण खोज्न सकेनौं । बिहेवारी २० पारि भन्न थालेको पनि वर्षौं भइसक्यो । तर अहिलेसम्म पनि ठूलो संख्यामा बालविवाह भइरहेको छ र किशोरीहरू गर्भवती भइरहेका छन् भन्ने तथ्यांकले देखाउँछ ।

अहिले यो विषय सामाजिक प्रश्नको रूपमा उब्जिएको छ । किशोर–किशोरी किन चाँडै बिहे गर्ने निर्णयमा पुग्छन् वा समाजबाटै यसमा किन प्रोत्साहन मिलिरहेको छ भनेर खोज्ने बेला भइसकेको छ । यस विषयलाई हामीले समयमै सम्बोधन नगर्ने हो भने किशोरी झन् पीडामा पर्दै जान्छन् ।

किशोरी उमेरमै जन्माएका बच्चाको स्थानीय तहले जन्मदर्ता नगरेका गुनासो आजभोलि धेरै सुनिंदै आएको छ । जन्मिसकेको बच्चाको अस्तित्व त स्वीकार नगर्ने भन्ने हुँदैन होला । हामी कहाँ चुकिरहेका छौं, त्यसको खोजी स्थानीय तवरबाट गर्नुपर्ने देखिन्छ ।

कानुनले एक हदसम्म बालविवाहलाई निरुत्साहित गरेको छ । तर प्रेम, भागी, अनौपचारिक विवाह त भइरहेका छन् । विवाह नै नभइकन पनि गर्भवती, गर्भपतन गराउने किशोरीको संख्या झन् बढ्दो छ । यसलाई सामाजिक प्रश्नको रूपमा लिएर कारण पत्ता लगाउने कोसिसमा जुट्नुपर्छ । मेरो विचारमा यस विषयमा दण्ड दिने भन्दा पनि किशोरीलाई सहयोगको खाँचो छ । यो अवस्था आउन नदिन हामीले आफ्नो दायित्व पूरा नगरेको स्पष्ट छ ।

विद्यालय तहमा किशोरीलाई यौनिकताको बारेमा सही सूचनाको अभाव भइरहेको छ । किशोरी समयमा हुने, शारीरिक, मानसिक विकासको बारेमा बुझाउने, सानै उमेरमा यौन सम्पर्क हुँदा हुने असर, सुरक्षित यौन सम्पर्क कसरी गर्ने, आवश्यकता परेमा स्वास्थ्य संस्थामा कसरी सेवा लिने ? यस्ता विषयमा न्यून काम भएको छ ।

सधैं नै किशोरकिशोरीलाई सही परामर्शको खाँचो हुन्छ । उनीहरूले खोजेको सूचना र चाहेको जानकारी हामीले दिनसकेका छैनौं । विद्यालयमा शिक्षकले बुझाउन सकेका छैनन् । घरपरिवार, समाजमा यौनलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरिन्छ । यसका कारणले किशोरकिशोरीले खुलेर घरपरिवारका सदस्य र साथीभाइलाई आफ्ना जिज्ञासाहरू भन्न डराउँछन् ।

कर्णाली, मधेश लगायत प्रदेशका कतिपय ठाउँमा छिट्टै छोरीको विवाह नगर्दा भागेर विवाह हुने हो कि ? यसो हुँदा भोलि कुलको इज्जत जान्छ कि भन्दै प्रतिष्ठा जोगाउने हिसाबले पनि बालविवाह गरिदिने चलन छ ।

बालविवाहको सांस्कृतिक पाटो पनि उत्तिकै बलियो छ । विशेषगरी डोम, मुसहर, चमार समुदायमा १२–१३ वर्ष नपुग्दै विवाह गरिदिने चलन अझैसम्म छ । यसरी समाजको ठूलो हिस्साले नै बालविवाहलाई प्रोत्साहन, संरक्षण गरिरहेको अवस्थामा कानुन मात्रै बनाएर यो रोक्न सकिंदैन । यो अवस्था कायमै रहने हो भने सन् २०३० सम्म प्रतिहजार किशोरीको प्रजनन् दर ३० झार्ने लक्ष्य पूरा गर्न नसकिने प्रष्ट छ ।

कहाँ भयो कमजोरी ?

समुदायस्तरमा स्वास्थ्य सेवा क्रमशः कमजोर बन्दै गएको छ । पहिला–पहिला समुदायमा काम गर्ने सामुदायिक स्वास्थ्य कार्यकर्ता (मातृशिशु कार्यकर्ता, ग्रामीण स्वास्थ्य कार्यकर्ता) भन्ने पद नै हुन्थ्यो । उहाँहरूको काम महिनामा २० दिन गाउँघरमा गएर बालबालिकालाई खोप दिने, परिवार नियोजनको साधन बाँड्ने, जीवनजल, भिटामिन ‘ए’ खुवाउने लगायतको कार्यतालिका हुन्थ्यो । अहिले उहाँहरूको बढुवा गरेर अनमी, अहेब बनाइयो ।

त्यसपछि उहाँहरू पनि फिल्डमा जाने नभएर स्वास्थ्य संस्थामा बस्न थाल्नुभयो । अहिले हामीलाई समुदायमा परिचालन हुने स्वास्थ्यकर्मीको अभाव छ । ५२ हजारको हाराहारी महिला स्वयंसेविका हुनुहुन्छ । तर, क्रमशः उहाँहरूको प्रभावकारितामा प्रश्न उठ्दैछ । विशेष गरेर शहरी क्षेत्रमा एकदमै चुनौतीपूर्ण अवस्था छ । शहरी क्षेत्रमा कसैले पनि महिला स्वयंसेविकाको अनुहार देखेको हुँदैन ।

समुदायस्तरसम्म स्वास्थ्यको बारेमा सेवा दिन नसक्दा थप चुनौती थपिएका छन् । किशोर–किशोरी सबैभन्दा बढी समय विद्यालय र साथीहरूसँग बिताउँछन् । किशोरीको समस्या समाधान गर्न विभिन्न प्रयास पनि नभएका होइनन् । तिनले खासै नतिजा दिएनन् ।

जस्तो कि विद्यालयमा ‘साथी शिक्षा’ भनेर ८ देखि १० कक्षाका विद्यार्थीलाई तालिम दिने र त्यसपछि उहाँहरूले अन्य साथीलाई सिकाउने कार्यक्रम गरियो । साथ–साथै जनसंख्या तथा स्वास्थ्य पढाउने शिक्षकलाई पनि तालिम दिइयो । त्यो कार्यक्रमले एक हदसम्म राम्रो नतिजा पनि ल्याएको थियो । तर त्यसलाई दिगो बनाउन सकिएन ।

अहिले विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालनमा छ । तर देशव्यापी रूपमा यो कार्यक्रमलाई अझै विस्तार गर्न सकिएको छैन । स्वास्थ्य संस्थामा पनि किशोर–किशोरी मैत्री सेवा दिने भनेर अभियान पनि सञ्चालन भयो । तर यसलाई पनि राम्रो हिसाबले सञ्चालन गर्न सकिएको छैन ।

अझै पनि किशोर–किशोरीले यौन सेवा लिन जाँदा स्वास्थ्यकर्मीले हेर्ने नजर पनि फरक छ । त्यसैले उनीहरूले नजिकैको स्वास्थ्य संस्थामा सेवा लिन अप्ठ्यारो मान्छन् । देश संघीयतामा गइसकेपछि यस सम्बन्धमा जुन हिसाबले नियमित रूपमा प्रयास हुनुपर्ने हो, हुनसकेको छैन ।

हामीलाई किशोर–किशोरीसम्म पुग्न पहुँचको चुनौती छ । समुदाय स्तरमै सहज रूपमा शिक्षा, सेवा दिने जनशक्ति छैन । यदि छ भने पनि नातागोता, चिनजानको हुने भएकाले उनीहरूले सहज रूपमा परामर्श लिन चाहँदैनन् ।

समुदायस्तरमा किन किशोरी अवस्थामा नै विवाह भइरहेको छ ? उनीहरू किन कम उमेरमै गर्भवती भइरहेका छन् ? भन्ने कारण पत्ता लगाएर स्थानीय सरकारले त्यसमा केही कार्यक्रम ल्याउन जरूरी छ । सांस्कृतिक, आर्थिक, सामाजिक परिवेश फरक–फरक हुनसक्छन् । त्यसलाई मूल्यांकन गर्दै स्थानीय सरकारले प्राथमिकता राख्दै व्यावहारिक रूपमा न्यूनीकरण गर्ने कार्यक्रम ल्याउन जरूरी देखिन्छ ।

(स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. लालसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित ।)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School