विश्वमा सहकारीलाई प्रवर्द्धन गर्न सन् १८९५ मा स्थापित अन्तर्राष्ट्र्रिय सहकारी गठबन्धनले २०८१ मंसिर १० देखि १५ (नोभेम्बर २५–३०, २०२४) सम्म भारतको राजधानी नयाँ दिल्लीमा ‘वैश्विक सहकारी सम्मेलन (ग्लोबल को–अपरेटिभ कन्फरेन्स) २०२४’ आयोजना गरेको थियो।
मंसिर १० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका सो सम्मेलनको शुभारम्भ सभामा भुटानका प्रधानमन्त्री, फिजिका उपप्रधानमन्त्री, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय सहकारी गठबन्धनका प्रतिनिधि र भारतका सहकारी मन्त्रीले सहकारीको औचित्यमाथि प्रकाश पारेका थिए।
यसैगरी वैश्विक सहकारी सम्मेलनमा सहकारीका विविध पक्षमाथि गहनतम छलफल हुनुका साथै संस्थागत बैठक, कार्यशाला, अन्तर्राष्ट्रिय सहकारी गठबन्धन सञ्चालक समितिको वैठक, साधारणसभालगायतका विभिन्न कार्यक्रम सम्पन्न गरिएका थिए। वैश्विक सहकारी सम्मेलनको उद्घाटनसँगै अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ आरम्भ भएको छ जसको नारा ‘सहकारीले राम्रो संसार निर्माण गर्छ’ भन्ने छ।
सहकारीको महत्त्वलाई मनन गरेर राष्ट्रसंघले सन् २०१२ लाई पनि अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा मनाएको थियो भने सहकारीले आर्थिक तथा सामाजिक विकासमा खेल्ने भूमिकालाई मध्यनजर गरेर हरेक वर्ष जुलाइको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय सहकारी दिनका रूपमा मनाउने गरिन्छ। यसैगरी संयुक्त राज्य अमेरिकाले सन् १९६४ देखि अक्टोबरलाई सहकारी महिनाको रूपमा मनाउने गरेको छ भने नेपालमा चैत २० लाई सहकारी दिवसका रूपमा मनाउने गरिन्छ।
सहकारीको महत्त्व
असमानता, जलवायु तथा द्वन्द्व जस्ता विश्वव्यापी चुनौतीहरूको सामना गर्न सहकारी प्रभावकारी हुने भएकाले वैश्विक सहकारी सम्मेलन २०२४ ले ‘सहकारीले सबैका लागि समृद्धि ल्याउँछ’ भन्ने नारा अपनाएको थियो। यस सम्मेलनमा सहकारीको महŒवमाथि प्रकाश पार्नुका साथै विश्वमा दिगो विकास हांसिल गर्नका लागि सहकारी आन्दोलनलाई अगाडि बढाउँदै जानुपर्ने कुरामा जोड दिइएको थियो।
हाल विश्वभर करिब ३० लाख सहकारी संस्था छन् जसमा विश्वको कुल जनसंख्याको १२ प्रतिशत मानिस आबद्घ छन्। विश्वभर सहकारीले करिब २८ करोड श्रमिकलाई रोजगारी प्रदान गरेको छ जुन विश्वमा रोजगारी प्राप्त जनसंख्याकोे १० प्रतिशत जति हो। विश्वका ३०० ठूला सहकारीले मात्र २० खर्ब अमेरिकी डलर बराबरको कारोबार गरिरहेका छन् जसबाट यसले अर्थतन्त्रमा खेलेको भूमिका स्पष्ट हुन्छ।
भारतमा भारतीय किसान उर्वर सहकारी र अमूलजस्ता विश्व प्रसिद्ध सहकारीलगायतका आठ लाख जति सहकारी सस्ंथा छन् जसमा करिब २९ करोड सदस्य छन्। यसको अर्थ हरेक पाँच भारतीयमा एकजना सहकारीमा आवद्ध भएका पाइएको छ र तिनीहरूमा ६० प्रतिशतभन्दा बढी महिला छन्।
अन्तर्राष्ट्रिय सहकारी वर्षमा भारतले सहकारी नीति ल्याउने, सहकारी विश्वविद्यालय स्थापना गर्ने, सहकारीलाई हरेक गाउँ तथा कृषकसम्म पुर्याउने नीति अपनाएको छ। अर्कोतर्फ नेपालमा करिब ३१ हजार सहकारी संस्थामा करिव ८४ लाख सदस्य आबद्घ भएका र यसले ९४ हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको अनुमान छ।
वैश्विक सहकारी सम्मेलनको उद्घाटन सत्रमा विभिन्न वक्ताले सहकारीको आर्थिक महत्त्वभन्दा मानवकेन्द्रित मूल्य तथा मान्यता झनै बढी महत्त्वपूर्ण भएको कुरामाथि प्रकाश पारेका थिए। मुनाफाभन्दा पनि उच्च सामाजिक मूल्य र मान्यतामा आधारित सहकारी राम्रो संसार निर्माण गर्न सहायक हुने कुरामा सबैको एकमत थियो। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सफलतामा सहकारीको भूमिकामाथि प्रकाश पार्दै दिगो र समावेशी भविष्य निर्माण गर्न सहकारीको सहयोग र साझा स्वामित्व सम्बन्धी भावना कोसेढुंगा सावित हुने कुरामाथि जोड दिएका थिए।
सहकारीको विकासमा पु¥याएको योगदानको कदरस्वरूप यस वर्षको राचडेल पायनियर्स अवार्ड भारतका डा. उदयशंकर अवस्थीलाई प्रदान गरिएको थियो। त्यस सन्दर्भमा अवस्थीले भारतको विकासका लागि सहकारीको महत्त्वमाथि प्रकाश पार्नुका साथै सहकारीलाई विश्वका कुनाकुनासम्म पुर्याएर वर्तमान विखण्डित संसारको स्वरूप परिवर्तन गर्न सकिने संभावना व्यक्त गरेका थिए।
अजेन्डा र सरोकारवाला
सम्मेलनको सन्दर्भमा तय गरिएको नयाँ दिल्ली अजेन्डा चार प्रमुख स्तम्भहरूमाथि केन्द्रित थियो। सहकारी पहिचानलाई पुनः पुष्टि गर्न सहकारीका मूल्य र सिद्धान्त पालना गर्नुपर्छ, सहकारी शिक्षामा लगानी गर्नुपर्छ र सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्छ। यसैगरी सहकारीलाई सशक्त बनाउन र तिनीहरूले विश्व अर्थतन्त्रमा खेल्न सक्ने भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने नीति निर्माण गर्नुपर्छ।
समावेशी नेतृत्व विकास गर्ने र महिला, युवा र अल्पसंख्यकहरूलाई नेतृत्व गर्न सशक्तीकरण गर्नुपर्छ भने उपयुक्त प्रविधि तथा वित्तमा पहुँच पु¥याउनुका साथै जलवायु न्यूनीकरण र अनुकूलनसम्बन्धी समाधानहरूको माध्यमले सहकारीबाट दिगो भविष्य निर्माण गर्नुपर्छ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा सहकारीले खेल्न सक्ने महत्त्वपूर्ण भूमिकालाई मध्यनजर गरेर नयाँ दिल्ली अजेन्डाले समाजका विभिन्न वर्गले सहकारीको विकासमा योगदान दिनुपर्ने कुरामा जोड दिएको थियो। यस सन्दर्भमा सहकारी संस्थाहरू, समुदाय, नागरिक समाज, निजी क्षेत्र, विचार निर्माणकर्ताहरू, सरकार र बहुपक्षीय संस्थाहरूलमई सहकारीका सात सरोकारवाला समूहका रूपमा पहिचान गरेर तिनीहरूले सहकारीको विकासमा खेल्न सक्ने भूमिका प्रष्ट्याइएको थियो। उदाहरणका लागि सहकारी संस्थाहरूले शिक्षा, अन्वेषण तथा सहकार्यमा लगानी गर्नुपर्छ। समुदायले सहकारीलाई समर्थन गर्नुपर्छ र सहकारीमैत्री नीतिहरूको वकालत गर्नुपर्छ।
त्यसैगरी नागरिक समाजले सहकारीका फाइदाबारे चेतना जगाउनुपर्छ र सामाजिक तथा वातावरणीय साझेदारीमार्फत सहकार्य गर्नुपर्दछ। निजी क्षेत्रले सहकारीमा लगानी गर्नुपर्छ, तिनीहरूसँग साझेदारी गर्नुपर्छ र सहकारी मूल्यहरूलाई प्रवद्र्घन गर्नुपर्छ। समाजमा विचार निर्माण गर्नेहरूले सहकारीबाट सिर्जना हुने सकारात्मक प्रभावमाथि प्रकाश पार्नुपर्छ र सहकारीबारे व्यक्त गरिने नकारात्मक धारणाहरूको प्रतिवाद गर्नुपर्छ।
सरकारले सहकारीसम्बन्धी अनुकूल नीतिहरू निर्माण गर्नुपर्छ, सहकारीलाई प्रमुख साझेदारका रूपमा लिनुपर्छ र सहकारी शिक्षालाई मूलधारको रूपमा अगाडि सार्नुपर्छ। र, बहुपक्षीय संस्थाहरूले सहकारीको विकासलाई सहयोग गर्नुपर्दछ र अन्तर्राष्ट्रिय सहयोगलाई प्रवद्र्घन गर्नुपर्छ।
निष्कर्ष
विश्वको आठ अर्बभन्दा केही बढी जनसंख्यामा झण्डै एक अर्ब जनसंख्या कुनै न कुनै रूपमा सहकारीमा आबद्ध छ भने सहकारीका माध्यमले असमानता, जलवायु तथा द्वन्द्व जस्ता विश्वव्यापी चुनौतीहरूको सामना गरेर दिगो विकास हासिल गर्न सकिने मान्यता विश्वमा बढ्दो छ।
सहकारीले दिगो विकास कायम गर्न खेल्न सक्ने भूमिकालाई मध्यनजर गरेर राष्ट्रसंघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा मनाउने निधो गरेको हो र त्यसको आरम्भ हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न वैश्विक सहकारी सम्मेलनबाट भैसकेको छ।
यस क्रममा सहकारीका मूल्य, मान्यता तथा सिद्धान्तअनुसार सहकारी अभियान अगाडि बढाउनेसम्बन्धी संकल्पहरू व्यक्त हुन सुरु भैसकका छन् र सहकारीलाई आर्थिक विकास गर्ने माध्यम मात्र नभै सामाजिक, सांस्कृतिक तथा नैतिक विकास हुने कुरामा पनि विश्वास गरिएको छ। यसैगरी सहकारीलाई राम्रो भविष्य निर्माण गर्ने विश्वव्यापी जनआन्दोलनका रूपमा स्वीकार गरिएको छ।
मुनाफाभन्दा पनि मानवता तथा नैतिकतालाई बढी महत्त्व दिने सहकारीका मूल्य, मान्यता तथा सिद्धान्तअनुसार नेपालमा पनि सहकारीको विकास गरेर सहकारीका सदस्य तथा समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको संकल्प गर्नुपर्छ। सर्वसाधारणले गाँस काटेर सहकारीमा जम्मा गरेको रकम केही बचतमाराले यसको मर्म विपरित व्यक्तिगत स्वार्थ पूर्ति गर्न प्रयोग गरेकाले सर्वसाधारण विचल्लीमा परेका छन्।
सहकारीका मूल्य, मान्यता, सिद्धान्त तथा कानुनको ठाडो उल्लंघन गर्ने डाँकाहरूलाई तिनीहरूले भविष्यमा यस किसिमको बदमासी गर्न सोच्न पनि नसक्ने गरी कडा कारवाही गर्नुपर्छ र तिनीहरू र तिनीहरूका परिवारका नाममा रहको सम्पत्ति जफत तथा बिक्री गरेर सहकारीपीडितको रकम फिर्ता गर्नुपर्छ।
अर्कोतर्फ सहकारीको मूल्य, मान्यता तथा सिद्धान्तअनुसार सुसञ्चालन गर्ने सहकारीकर्मीहरूलाई विभिन्न किसिमले सहयोग र सम्मान गर्नुपर्दछ र त्यस दिशातर्फ थप प्रेरित गरेर राचडेल पायनियर्स जस्तो अन्तर्राष्ट्रिय अवार्डले सम्मानित हुन सक्ने वातावरण सिर्जना गर्नुपर्छ।
यसैगरी सहकारीसम्बन्धी नीति, कानून, प्रक्रिया तथा संस्थागत व्यवस्थामा सुधार गरेर सहकारीको सिद्धान्त तथा अन्तर्राष्ट्रिय असल अभ्यास अपनाइ नेपाल सहकारीलाई विश्वमै नमुनाका रूपमा लागु गर्ने मुलुकको रूपमा चिनाउने प्रयास गर्नुपर्छ।
प्रकाशित: २० मंसिर २०८१ ०६:२० बिहीबार