काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंमा सम्पन्न भएको दुईदिने पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा जारी भएको १६ बुँदे घोषणापत्र पूर्ण रूपले कार्यान्व्यनमा ल्याउन जोड दिएको छ । गत मंगलबार सम्पन्न भएको सो सम्मेलनमा ‘आन्तरिक रोजगार प्रवर्धन दशक’ लक्षित रणनीति बनाइँदै १६ बुँदे काठमाडौं घोषणापत्र तयार गरिएको श्रम मन्त्रालयले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विभिन्न रोजगारदाता संघ–संस्थाहरू, ट्रेड युनियन र अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी सम्मेलनले काठमाडौं घोषणापत्र जारी थियो । श्रम मन्त्रालयद्वारा आयोजित सो सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दुईदिने सम्मेलनमा मर्यादित रोजगारी सिर्जना गर्न र उद्यमशीलताको विकासका लागि नीतिगत सुझाव प्राप्त भएको बताए । उनले यो सम्मेलन निकै उपलब्धिमूलक र फलदायी भएको दाबी गरे ।
यस सम्मेलनमा जारी भएको घोषणापत्र पूर्ण रूपले कार्यान्वयनमा ल्याउन मन्त्रालयमातहतका सबै निकाएलाई निर्देशन भएको जानकारी गराउँदै मन्त्री भण्डारीले भने, ‘यो सम्मेलनमा सहभागी निजी क्षेत्रका रोजगारदाता संस्थाहरू आन्तरिक रोजगार प्रवर्धन र सामाजिक सुरक्षा योजना कार्यान्वयनमा थप जिम्मेवार भएका छन् । यसलाई हामीले उपलब्धिमूलक काम ठानेका छौं ।’
उनले यस सम्मेलनमा सहभागीबाहेक सबै उद्योग÷प्रतिष्ठानका श्रमिकलाई सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउन अब सरकारले अनिवार्य एवं बाध्यात्मक अवस्था सिर्जना गरेर भए पनि सामाजिक सुरक्षा योजना पूर्ण रूपले कार्यान्वयनमा ल्याउने बताए ।
सो सम्मेलनमा झन्डै ५ सयभन्दा बढी सरोकारवालाहरूलाई सहभागी गराई सम्पन्न गरेको श्रम मन्त्रालयले ‘आन्तरिक रोजगार प्रवर्धन दशक’ सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउने तयारी छ । नेपालमा आन्तरिक रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले गत सोमबार र मंगलबार काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ आयोजना गरिएको थियो ।
सामाजिक सुरक्षा कोषको रकमलाई उच्च प्रतिफलयुक्त लगानीका माध्यमबाट राष्ट्रिय पुँजी निर्माण, विकास र परिचालन गरी श्रमिकको कल्याण अभिवृद्धि गरिने लक्ष्य प्राप्तिमा पनि सरकारले विशेष जोड दिनेछ । जसका लागि सबै उद्योग–प्रतिष्ठानका श्रमिकलाई सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउन अब सरकारले अनिवार्य एवं बाध्यात्मक अवस्था सिर्जना गरेर भए पनि सामाजिक सुरक्षा योजना पूर्ण रूपले कार्यान्वयनमा ल्याउनेछ ।
श्रम तथा रोजगार मन्त्रालयले सो सम्मेलनले यस्तो रणनीति बनाउने गरी घोषणापत्र जारी गरेको जनाएको छ । सम्मेलन समापनको क्रममा जारी भएको विभिन्न १६ बुँदे घोषणापत्रमा आन्तरिक रोजगारी सिर्जना तीव्रता दिन घोषित आन्तरिक रोजगार प्रवर्धन दशकलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ ।
यसैगरी, रोजगार प्रवर्धन दशक कार्यान्वयन गर्न आवश्यक नीतिगत र प्रविधिगत परिमार्जन गरिनेसमेत सो घोषणापत्रमा समावेश गरिएको छ । आन्तरिक रोजगार प्रवर्धन दशकका क्रियाकलाप आगामी आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमा समावेश गरी कार्यान्वयन गर्दै लगिने मन्त्रालयको तयारी छ ।
सरकारी क्षेत्रको सहजीकरण र निजी क्षेत्रको नेतृत्वमा तुलनात्मक लाभका नवीनतम एवं उदीयमान क्षेत्रमा लगानी अभिवृद्धि गरी आन्तरिक रोजगारी प्रवर्धन गरिनेसमेत मन्त्रालयले जनाएको छ ।
श्रम बजारको मागका आधारमा सीपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निजी क्षेत्रका रोजगारदातासँग समन्वय एवं सहकार्य गरिने छ । यसैगरी, स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रको सुदृढीकरण र प्रविधिको अधिकतम प्रयोग गरी सम्बन्धित रोजगारदाता र श्रमिकका लागि साझा सूचना केन्द्रका रूपमा दिगो हुनेगरी विकास गरिने मन्त्रालयले जनाएको छ ।
औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै सामाजिक सुरक्षा सुनिश्चिततासहित पेन्सनेबल समाज निर्माण गरिने एजेन्डा पनि सो घोषणापत्रमा समावेश गरिएको छ । सामाजिक सुरक्षा कोषको रकमलाई उच्च प्रतिफलयुक्त लगानीका माध्यमबाट राष्ट्रिय पुँजी निर्माण, विकास र परिचालन गरी श्रमिकको कल्याण अभिवृद्धि गरिने लक्ष्य प्राप्तिमा पनि सरकारले विशेष जोड दिनेछ ।
यसैगरी, श्रम आप्रवासन व्यवस्थापन तथा पुनः एकीकरणका लागि ‘श्रमिकबाट उद्यमी’ बनाउन वित्तीय व्यवस्थापन परिचालनसमेत गरी राष्ट्रिय कार्यक्रम सञ्चालन गरिने लक्ष्य लिएको श्रम मन्त्रालयले यस घोषणापत्रलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनका लागि वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सीपको प्रमाणीकरण गरी उनीहरूले आर्जन गरेको सीप, पुँजी र अनुभवलाई उत्पादनशील कार्यमा उपयोग गरी उद्यमशीलता विस्तार गर्ने लक्ष्य राखिएको जनाएको छ ।
त्यसैगरी, ‘सूचना प्रविधि र आन्तरिक रोजगारी, युवाहरूका लागि नयाँ अवसरहरूको तयारी’ भन्ने उदेस्यसाथ सूचना प्रविधि र स्टार्टअप कार्यक्रम लागू गरिनेछ । प्राविधिक शैक्षिक संस्था तथा प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमार्फत श्रम बजारको माग र आपूर्तिबीचको खाडल पूरा गर्ने लक्ष्य मन्त्रालयको छ । यसले निजी क्षेत्रलाई आन्तरिक रोजगानी र व्यवस्थापनमा थप दबाबमा पारेको छ ।
मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले अब सरकार यो घोषणापत्र पूर्ण रूपले कार्यान्वयनमा ल्याउने तयारीमा जुट्ने जानकारी गराए । श्रम तथा रोजगार सम्मेलनमा विभिन्न १० वटा संस्थासँग आवश्यक तालिम र आपसी सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनले अब सम्झौता भएका संस्थाहरूसँग सहकार्यको काम धमाधम अघि बढ्ने जानकारी दिए ।
नेपाली दूतावासहरूद्वारा कामदारलाई मोबाइल बैंकिङ ठगीबाट जोगिन आह्वान
खाडीका दुई मुलुक यूएई र साउदी अरेबियास्थित नेपाली दूतावासहरूले हाल बढ्दो मोबाइल बैंकिङ स्क्यामहरू (ठगी)बाट जोगिन नेपाली कामदारलाई सचेत गराएका छन् । वैदेशिक रोजगारीका लागि रोजगारदाता मुलुक पुगेका नेपाली कामदारको खाता दुरुपयोग गर्न सक्ने खतरा औंल्याउँदै राजदूतावासहरूले आफ्ना नागरिकलाई यस्तो सचेत गराएको हो ।
दूतावासले पछिल्ला दिनमा साउदी अरेबियाका केही दूरसचार कम्पनीका प्रतिज्ञा–पत्रहरूका प्रावधान कार्यान्वयनका नाममा विभिन्न प्रकारका ठगी भइरहेको र कतिपय नेपाली आफूले लिँदै नलिएको दायित्वको झमेला र कानुनी कारबाहीमा पर्दै आएको बताएको छ ।
साउदी अरेबियास्थित नेपाली राजदूतावासले अब्सोर खाताको जानकारी सुरक्षित राख्न भन्दै आफ्नो अब्सोर खाताको वानटाइम पासवर्ड (ओटीपी) कसैलाई नदिन आग्रह गरेको छ । सो खाता अपडेट वा पासवर्ड परिवर्तन गर्न अरूलाई नलगाउन र कोही सहयोग गर्छु भन्दै आएमा सहयोग नलिन, रोजगारदाता एवं स्पोनसर, कम्पनीको ह्युमन रिसोर्स म्यानेजरलाई समेत आफ्नो फोन प्रयोग गर्न नदिन, अनलाइन सपिङ र अन्य कारोबारमा सावधानी अपनाउनसमेत राजदूतावासले आग्रह गरेको छ ।
यसैगरी, राजदूतावासले ठगीपूर्ण प्रतिज्ञापत्रको सिकार भएको भए तत्कालै दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । त्यस्तै, राजदूतावासले नचिनेको अज्ञात कल रिसिभ नगर्न, आफ्नो व्यक्तिगत विवरण र जानकारी सुरक्षित राख्न तथा नयाँ मोबाइल खरिद गर्दासमेत व्यक्तिगत विवरण सार्वजनिक हुने खतरा रहने भन्दै सचेत गराएको जनाएको छ ।
राजदूतावासले यूएईमा कार्यरत तथा बसोबास गर्ने नेपाली कामदारलाई बैंकिङ कारोबारका अतिरिक्त दैनिक जीवनमा कानुन, नियम र सामाजिक मर्यादाको पूर्ण पालना गर्न आग्रह गरेको छ । अत्यधिक मदिरा सेवन, आवासीय नियम उल्लंघन तथा दुव्र्यवहारका कारण नेपाली निष्कासन (डिपोर्ट) हुने घटना बढ्दै गएको भन्दै राजदूतावासले सचेत रहन र कुनै समस्या वा उजुरी परेमा सम्बन्धित निकायमार्फत उचित प्रक्रिया अपनाएर समाधान खोज्न सुझाव दिएको छ । साथै, इमिरेट्स आईडी र आवश्यक कानुनी कागजात सधैं साथमा राख्न पनि राजदूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।
(Visited 16 times, 1 visits today)