सम्बन्ध

सम्बन्ध


सरकारी वकिलको कार्यालय, झापाअगाडि म लिचीको फेदमा बसिरहेकी छु।

हातमा केही कागजपत्र छन्। क्रमशः जिल्ला अदालतमा सेवाग्राहीहरूको भिड बढ्दै छ। जति भिड बढ्दै जान्छ, उति नै म एक्लिँदै जान्छु। मलाई समय अगाडि बढेको पटक्कै मन पर्दैन तर समय मेरो मन पर्नु र मन नपर्नुले न रोकिन्थ्यो न छेकिन्थ्यो।

हातमा बोकेका कागजात हेर्छु। ती कागज मेरा खुसी थिए तर मैले थाहै नपाई ती कागजहरू आँसुमा छपक्कै भिजिसकेका रहेछन् सम्हाल्नै नसक्ने गरी।

उसले मसँग अबको बाँकी जीवनयात्रा सहज रूपले अगाडि बढाउन नसक्ने बताएपछि मैले धेरै कर गर्न सकिनँ। ऊभित्रको ऊ नै नभएपछि, माया र विश्वास नरहेपछि सँगै हुनुको कुनै अर्थ थिएन। माया गरेकी थिएँ। उसको खुसी मसँग छुट्नुमा थियो भने उसकै खुसीका खातिर अबदेखि उसलाई स्वतन्त्र छोडिदिने निर्णय गरेपछि आज सम्बन्ध-विच्छेदको हाम्रो मुद्दाको फैसला हुँदै थियो। आँखाले उसलाई नै खोजिरहेको थियोे अब त उसको र मेरो कुनै सम्बन्ध बाँकी रहने छैन।

अदालतको अन्तिम फैसला हुनुअघि मेरै भएको उसलाई एकपटक हेर्न चाहन्थें, आँखाबाट बरर आँसुका डल्ला खसे।  

‘मुना’

फरक्क फर्केर हेरेँ, ऊ अलिकति हाँसिरहेको थियो।

‘भन’ मैले आँसु पुछ्दै भनेँ।

‘तिमी छोराछोरीलाई लिएर गाउँको या बिर्तामोडको एक घरमा बस। त्यसो गर्दा तिमीलाई पनि राम्रो हुन्छ, मलाई पनि,’ उसले कति सजिलोसँग भन्यो।

‘तेरो सम्पत्ति हो र ? तँलाई अलिकति पनि लाज लाग्दैन नालायक ? तँ जहाँसुकै जा, जे सुकै गर तर म बाँचुन्जेल फुटेको कौडी दिन्नँ बुझिस् ? बुहारीसँग डिभोर्स मागेको होइन ? डिभोर्स ले अनि जा, गतिछाडा !’ एक्कासि ससुरा बालाई मेरापछि उभिनुभएको देखेपछि म झसंग भएँ। यसो फर्केर हेरेँ, सासुआमा पनि आँसु पुछ्दै उभिइरहनुभएको रहेछ।

मलाई थाहा थिएन, उसले कुन खुसीका लागि आमा र बुबालाई रुवाइरहेको थियो ?

‘तँलाई म फुटेको कौडी दिन्न पहाडको पुख्र्यौली सम्पत्तिमा जति तेरो हक लाग्छ त्यति मात्रै पाउँछस्,’ ससुराबा फेरि कड्किनुभयो।

‘मलाई केही चाहिँदैन,’ ऊ फनक्क फन्केर हिँड्यो।

‘तँलाई दिनुभन्दा बरू दान गरेर मर्छु !’

‘बुबा नरिसाउनुस्, छोडिदिनुस्,’ मैले भनेँ।

‘यस्तो कुपुत्र जन्मिनुभन्दा बरु मेरो कोख बाँझै भएको भए मलाई पछुतो हुने थिएन,’ सासूआमाले आँखा पुछ्दै भन्नुभयो।

जिल्ला अदालतदेखि निस्किएर म अलमलमा परेँ। कता जाऊँ ? के गरुँ ? जस्तो भयो।

खुब रुन मन थियोे तर रुन सकिनँ। साथमा बुढाबुढी हुनुभएका सासूससुरा हुनुहुन्थ्यो। आफ्ना छोराबुहारीको सम्बन्धविच्छेदको साक्षी बसेर आँखा पुछ्दै मेरो पछि पछि लाग्नुभएको थियो उहाँहरू। सबै हारेर म निःशब्द थिएँ।

कस्तो रिँगटा लागेजस्तै भयो।

‘ल हिँड पानी खान,’ सासूआमाले मेरो हात समातेर भन्नुभयो।

चाउरी परिसकेको उहाँको हातको सहारा खोज्नुपर्ने म कति विवश रहेछु, आज मलाई महसुुस भयो। छेउमा देवर उभिइरहनुभएको थियो।

मैले आजदेखि विवेकलाई मेरो बन्धनदेखि मुक्त गरिदिएकी थिएँ। अब कानुनी रूपमा हामी एकअर्कादेखि छुट्टिइसकेका थियौं। परिवार, आफन्त सबै साथमा थिए तर ऊ थिएन। म भित्रभित्रै टुटिसकेकी थिएँ।  

‘यस्तो कुपुत्र कसैको नहोस्,’ ससुराबुबाले टाउकोबाट टोपी झिकेर हातमा टकटक्याउँदै भन्नुभयो।

‘बुबा, ऊ खुसी होस्,’ मैले भनेँ।

‘परिवारदेखि छुट्टिएर, दुनिया हँसाएर कस्तो खुसी मिल्छ ?’

म चुपचाप छु। सासूआमा रुँदै हुनुहुन्थ्यो। हामी सबै केही बोल्न सकिरहेका थिएनौं, चन्द्रगढीदेखि अमिलो मन लिएर फर्कियौं। बाटोभरि म केही बोल्न सकिनँ, शब्द पनि केही थिएन।

०००

‘विवेक कहाँ गएका थियौ ?’

‘सिन्धुली। साथीहरूसँग घुम्न,’ उसले मेरो आँखामा नहेरी भन्यो।

‘मलाई त भनेनौ पनि ! बाबुको स्कुलमा प्यारेन्स मिटिङ थियो। म घरको काममा व्यस्त थिएँ।’

‘अब सबैको जिम्मा मैले लिएर हिँड्नुपर्ने ? आफूले सक्ने काम त तिमीले पनि गर्दा हुन्छ त ? जहिल्यै किचकिच गरेको छ !’ एक्कासी विवेक रिसाउँदै बोल्यो। मैले हत्तपत्त कोठाको ढोका बन्द गरेँ।

‘तिमी किन रिसाएको ? सोधेको मात्रै हो। आजकाल तिमी किन खालि झगडा मात्र गर्न खोज्छौ ? पसलतिर, घरतिर तिम्रो ध्यान छैन। नानीहरूलाई पनि वास्ता गर्दैनौ। खालि झगडा मात्रै गर्न खोजिरहन्छौ ?’

‘मलाई कसैको वास्ता छैन,’ ऊ फन्केर हिँड्यो। ज‍ोडले ठेलेकाले ढोका ढ्याम्म ग¥यो। म झसंग भएँ। मन खङ्ग्रंग भयो। अब बिस्तारै उसका बारेमा सुनेका कुराहरू सत्य हुन् कि जस्तो लाग्न थाल्यो। हातगोडा थाकेजस्तै लाग्यो।

झ्यालबाट विवेक गाडी स्टार्ट गरेर गएको हेरिरहेँ।

‘विवेक कहाँ गएको रे मुना ?’ सासूआमाको प्रश्नले म झसंग भएँ।

‘केही भनेन आमा।’  

‘म केही दिनदेखि विचार गरिरहेछु। तिमीहरूलाई के भएको छ ? बुबाले हिजो भन्दै हुनुहुन्थ्यो।’

‘खै आमा ?’ म केही बोल्न सकिनँ।

‘केही ठिक लागेको छैन। सबै सम्हाल्ने कोसिस गर है। भताभुंग भएपछि गाह्रो हुन्छ,’ सासूआमा फरक्क फर्केर फूलबारीतर्फ लाग्नुभयो। म चिसो भएँ, आखिर बाहिरको हल्ला घरभित्रसम्म आइपुगेछ।

हाम्रो सम्बन्धमा आगो सल्किसकेको थियो। विवेक घर नआएको पनि धेरै दिन भइसकेको थियो। मैले उसका साथीहरू सबैलाई सोधेकी थिएँ, कसैलाई थाहा थिएन।

जीवनमा समय र परिस्थितिले अनेक रङ फेरिरहेको थियो। के गर्ने ? कसो गर्ने ? सोच्नै सकिरहेकी थिइनँ। मेरो र विवेकको सम्बन्ध डुब्न लागेको नौका भइसकेको थियो। छोराछोरी न्यास्रो मानेका थिए, छोराछोरी मसँग भन्दा पनि बाबासँग धेरै खेल्थे, जिस्कन्थे। 

मप्रति जस्तो व्यवहार गरे पनि छोराछोरीप्रति चिसो व्यवहार नगरिदियोस् जस्तो लाग्थ्यो तर मलाई मात्रै लागेर के गर्नु ? विवेकलाई छोराछोरीको पनि माया लाग्न छोडिसकेको थियो। साँझमा बाबा पर्खिरहने छोराछोरी बिस्तारै त्यो समयमा टिभी र मोबाइल, ल्यापटपमा भुलिन प्रयासरत थिए।

हामीमा भएको चिसो सम्बन्धको सिरेटोले छोराछोरीलाई छोइसकेको थियो। उनीहरूले पनि महसुस गरिसकेका थिए कि अब यसैमा अभ्यस्त हुन थालिसकेका थिए। मैले मात्रै ओढाएको स्नेहको बर्कोमा लुटपुटिन्थे।

छोरा त बुझ्ने भइसकेको थियो, छोरी अलि सानै थिइन्। बेला बेला बाबाको खोजी गर्थिन्। खाना खाने समयमा एकपटक सोध्ने गर्थिन्। आजदेखि उनले पनि सोध्न छोडिन्, मनमा बेग्लै पीडाले छोयो।

‘मामु, बाबा खै ?’ छोरीले सोध्दा पीडाले छुन्थ्यो भने नसोधी दिँदा अर्कै पीडा हुने रहेछ। यी पीडाका पनि रूपहरू अनेक रहेछन्।

घरमा छुट्टै किसिमको उदासीनता थियो। ससुरा बुबा र आमा निराश हुनुहुन्थ्यो। म उहाँहरूकी मन परेकी बुहारी, विवेक र मेरो चिना जुराएर मागी विवाह भएको थियो। हामी खुसी थियौं। घर, माइती सबैतिर राम्रो थियो। १४ वर्षको सहयात्रामा विवेक र मेराबिच कहिल्यै नराम्रो भएन। म घर सम्हाल्थें, विवेक सहकारी व्यवस्थापक थियो। घरमा अभाव केही कुराको थिएन।

विस्तारै विवेकको व्यवहार फेरिँदै गयो। मप्रति मन भरिँदै गयो। ऊ प्रायःजसो बिर्तामोडतिरै बस्न थाल्यो, म शनिश्चरे घरमा। कार्य व्यस्तता होलाजस्तो लाग्थ्यो तर बिस्तारै थाहा हुँदै गयो, उसको त व्यवहार मात्रै होइन, मन पनि फेरिँदै गइरहेको रहेछ।

‘भाउजू, दाइको त मनिता (सहकारीकी कर्मचारी)सँग अलि बेग्लै सम्बन्ध छ रे ! कुरा के हो ?’ एक साँझ देवरले भन्नुभएपछि मलाई आकाशले थिचेझैं भएको थियो। मलाई पनि अलि अलि शंका त थियो मनिताको बारम्बार आइरहने फोनले। मैले पटकपटक सोध्दा अफिसको काम हो भनेर विवेकले जवाफ दिएको थियो। उसले मोबाइल, ल्यापटप सबैमा पर्सनल लक लगाएको थियो।

मैले सोधिरहें, उसले टारिरह्यो।

एक साँझ बिर्तामोड घरमा ताला लगाएर बुबा आउनुभएछ। एकछिनपछि विवेक पनि घर आइपुग्यो। छोराछोरी खुसी भएर गाडीको ढोका खोल्न पुगेका थिए।

‘मलाई डिस्टर्ब नगर’ भन्दै हप्काएपछि छोराछोरी रुन थाले, म किचनबाट त्यो दृश्य हेरिरहेकी थिएँ। नमिठो लाग्यो। रुँदै गरेका छोराछोरी त्यत्तिकै छोडेर विवेक रिसले कराउँदै म भएको ठाउँमा आएर झगडा गर्न थाल्यो।

‘मेरो खुसी देख्न सकिनस् ? मलाई किन शान्तिले बाँच्न दिन्नस् ?’ डाइनिङ टेबलमा भएको गिलास रिसले फुटाइदियो। म छक्क परें उसको त्यो उग्ररूप देखेर।

‘हैन के भएको छ तिमीलाई ? किन झगडा गर्न आएको ? मैले के गरें ?’ मलाई पनि झनक्क रिस उठ्यो।

‘घरको चाबी किन लिएर आइस् ?’

‘कुन चाबी ?’

‘बुबालाई उक्साएर पठाइस् होइन ? घरमा ताला लाउन ?’

‘मलाई केही थाहा छैन।’

‘बढी जान्ने न हो, मलाई थाहा छैन !’

‘के थाहा छ तिमीलाई ? मैले बुबालाई केही भनेको छैन।’

‘तँलाई थाहा नभएर कसलाई हुन्छ ?’ भनी नसक्दै विवेकले गालामा थप्पड हान्न भ्याइसकेछ। उसको मुक्काले मेरो ओठमा चोट लागेर रगत बग्न थालेपछि नानीहरू चिच्याउँदै रुन थाले।

‘बाबा, मामुलाई किन पिट्नुभएको ?’ छोराले मलाई छेक्दै सोधेपछि विवेक झन् रिसले बहुलायो।

‘अब छोरालाई पनि भड्काइस् होइन मेरो बारेमा ?’  

मलाई शरीरमा लागेको चोटले भन्दा मनमा लागेको चोटले धेरै दुखायो।

घरको होहल्ला सुनेर पल्लो घरमा हुनुभएका ससुरा बुबा र सासु आमा दौडँदै आइपुग्नुभएछ। एकैछिन सबै छक्क पर्नुभयो।

‘बुहारीलाई किन हात उठाइस् ए नालायक ?’ बुबाले विवेकलाई सोध्नुभयो।

‘बुबा, घरमा ताला किन लगाएको भनेर मामुलाई पिट्नुभएको बाबाले,’ सानी छोरीले रुँदै भनिन्।

‘मेरो घरमा मैले ताला लगाएँ त मेरो मर्जी। बुहारीलाई किन हात लाउँछस् ? मसँग कुरा गर।’  

‘म बसेको थाहा थिएन र बुबा ?’ विवेकले भन्यो।

‘घर, परिवार, स्वास्नी, छोराछोरी यहाँ छन्। त्यहाँ बस्ने तेरो कारण के ?’

‘मलाई शान्ति चाहिएको छ।’

‘यहाँ घरमा कस्तो अशान्ति छ ? तँलाई कस्तो शान्ति चाहिएको हो ? तँलाई थाहा छ ? तेरो १२ वर्षको छोरा र नौ वर्षकी छोरी छ। कुन शान्तिमा रमाउँदैछस् ?’

‘म यहाँ योसँग बस्न सक्दिनँ !’ विवेकले मलाई देखाउँदै भन्यो।

‘तेरो जिम्मेवारी छैन घरपरिवारप्रति ? नाक नकटा, परिवार धानेर बस्।’

‘भनें त बुबा, म तपाईंकी बुहारीसँग बस्न सक्दिनँ।’  

विवेकको जवाफले म चिसो भएँ। मेरो नाम नै उच्चारण गर्न नमिल्ने गरी कसरी उसको मनमा मप्रति घृणा जाग्यो ?

‘यो रातदिनको तमासा देखाएर नबस् मेरा आँखा अगाडि। सक्छस् घरपरिवार सम्हालेर बस्। सक्दैनस् भने जहाँ जान मन लाग्छ जा !’ ससुरा बुबा रिसाउँदै हुनुहुन्थ्यो। छोराछोरी रुँदै थिएँ। सासुआमा सारीको फेरोले आँखा पुछ्दै हुनुहुन्थ्यो।

‘मेरो अंश दिनुस् बुबा म जान्छु।’

‘तँलाई लाज लाग्दैन, बुढा भएका बाबुसँग अंश माग्न ? कमाएर, जमाएर राख्ने बेलामा भएको सहकारी डुबाएर सकिस्, अहिले मसँग अंश माग्छस् ? तँलाई म फुटेको कौडी नि दिन्न बुझिस्।’

बुबाको कुराले झन् उग्र भयो विवेक। सबैलाई मार्छु भन्दै कोठाबाट खुकुरी लिएर आयो।

‘यो सबैको कारण र मेरो जिन्दगी बर्बाद पार्ने तँ नै होस्’ भनेर खुकुरी उजाएर मतिर आउँदै थियो। ससुरा बुबाले छेक्नुभयो। विवेकले बुबालाई हुत्याएकाले घरको भित्तामा ठोक्किनु भएपछि टाउकोमा चोट लागेर बुबा रगताम्मे भएर ढल्नुभयो। सासुआमा कराउँदै रुन थाल्नुभयो। छरछिमेकीहरू भेला भए, चोकतिरबाट देवर पनि दौडँदै आइपुग्नुभएछ।

देवरले दुईचार थप्पड लगाएर हातबाट खुकुरी खोसिदिनुभयो।

‘तँ दाजुमाथि हात उठाउने ?’ विवेक निहुँ खोजिरहेको थियो।

‘तँ निस्केर गइहाल्’ सासुआमा रुँदै विवेकलाई ठेल्दै हुनुहुन्थ्यो।

छिमेकीहरूले बुबालाई उठाएर पानी छम्कँदै थिए। मैले घाउ सफा गरिदिएँ। घाउ त सानै रहेछ तर बुबा एकदमै दुःखी र स्तब्ध हुनुहुन्थ्यो। नबोली भित्तामा अढेस लगाएर टोलाइरहनुभयो।

विवेकलाई उसका साथीहरू आएर लिएर गइसकेका थिए। छोराछोरी हजुरबुबाको छेउमा बसेर रोइरहेका थिए। सासूआमा पनि रुँदै हुनुहुन्थ्यो। छरछिमेकी कोही सान्त्वना दिँदै थिए, कोही चुपचाप बसिरहेका थिए। आधा रातसम्म घरमा छरछिमेकी र आफन्तहरू बसिरहेका थिए।

दिनहरू बित्दै गए। विवेकले घर छ‍ोडेको पनि एक महिना भइसकेको थियो। बुबाको निधारको घाउ निको भइसकेको थियो तर खत भने रहिरहने छ।

‘थापा काजीलाई त रक्सी खाएर जेठो छोराले कुट्यो अरे !’ मान्छेहरूका घर घरमा चर्चा चलिरहेको थियोे।

‘विवेक अफिसकै केटीसँग बसेको छ रे !’ घरसम्म हल्ला आइपुग्थ्यो।

म शून्य शून्य थिएँ। छोराछोरी निराश थिए। बुबाआमा उदास हुनुहुन्थ्यो। देवरको क्यानडा जाने प्रोसेस चलिरहेको थियो।  

ममाथि परेको बज्रपात मैले नै सामना गर्नुपर्नेछ, मनलाई बाँधेँ। जिन्दगी त चलाउनैपर्छ र चल्दैछ पनि। म आफ्नो बेडरुममा पसेपछि बल्ल विवेकको तितो व्यवहारको झल्को लाग्थ्यो।

डाइनिङ टेबलमा सबैभन्दा बढी झल्को लाग्छ मलाई उसको। विवेकलाई तात्तातो खाना मन पथ्र्यो, हिजोआज कस्तो खाँदै होला ? नमिठो लाग्छ, तातो भातको गास निल्ने बेलामा। कतिपटक मलाई मनले गाली गर्छ, सम्झाउँछ बिर्सी भनेर तर सक्दिनँ याद आइहाल्छ।

छोराछोरी टोलाउँछन्। जस्तै भए पनि बाबुको काखजस्तो अरूको काख कहाँ हुन्छ र ? जिन्दगी सम्झौता रहेछ। मैले पनि वर्तमानसँग सम्झौता गर्ने भनेर मन दह्रो बनाएँ।

साँझ परेपछि छोराको बाटो हेरेर टोलाउने सासूआमाको आँखा देख्दा आफैंलाई छटपटी लाग्छ। यी छोरा मान्छेको मन कति कठोर हुनेरहेछ। मलाई नसम्झे पनि आफ्नी आमालाई सम्झेर एक कल फोन गरिदिए हुन्थ्यो भन्ने लागिरहन्छ।

नभन्दै एकदिन विवेकले आमालाई कल गरेर फेरि मसँग कुनै हालतमा बस्न नसक्ने र आफू मनितासँग बसिरहेको भनेछ। सासूआमाले गहभरि आँसु पारेर सबै कुरा मलाई सुनाउनुभयो।

आफ्नो लोग्ने खुसी बनाउन नसक्ने आइमाईको दर्जा पाइसकेकी थिएँ मैले समाजमा। अब उसले अरूतिर नै बसाइँ सरिसकेपछि मैले पर्खिरहनुको कुनै कारण थिएन।

रिस, गाली, दुव्र्यवहार सबै सहिरहेको यो आत्माले परस्त्रीको बनिसकेको विवेकलाई अब आफ्नो मानेन। एकपटक त नमिठो लाग्यो तर पनि मन बाँधेर उसलाई स्वतन्त्रता दिने फैसला गरेँ।

‘तिमीमाथि अन्याय भएको छ। उसलाई घरेलुु हिंसाको मुद्दा हालेर जेलमा सडाइदेऊ न बरु।’  

‘डिभोर्स चैं नदिनु है। फेरि पछि बिजोग होला तिम्रो।’  

‘सम्पत्ति माग, आफ्नो गरिखाऊ।’

सरसल्लाह सबैले दिइरहेका थिए तर मैले ऊसँग लिनु केही थिएन। उसैलाई हारिसकेकी थिएँ भने मुद्दा हालेर उसको सम्पत्ति जित्नु नै के थियोे र ?

‘यो घर तेरै हो, सम्पत्ति तेरै हो, हामी नि तेरै हो, सम्हालेर बस्,’ ससुराबुबाको बोली कानमा सधैंभरि गुन्जिरहन्थ्यो।

परिवारबाहेक मेरो विकल्प केही भए पो थपक्क छोडेर हिँड्नु ? छोडेर जानेहरूको पो विकल्प हुन्छ र जान्छन्।

‘पछि त्यो केटीलाई बिहे गरेर यही घरमा ल्याउँछ अनि चाख्छेस्’ भन्ने धेरै थिए।

‘ठिकै छ नि। उनीहरूको भाग्य उनीहरूसँगै, मेरो भाग्य मैसँग,’ म हाँसेर जवाफ दिन सक्ने भइसकेकी थिएँ। घरसल्लाहले नै हामीले छुट्टिने निर्णय लिएका थियौं। अब हामी कानुनी रूपमा विधिवत छुट्टियौं। गाउँ, समाज, आफ्नाहरू, देवीदेवता साक्षी राखेर एक भएका हामी वकिल र न्यायाधीशका अगाडि हस्ताक्षर गरेर आआफ्नो बाटो लागेका थियौं।

०००

अदालतबाट घर आएर खुब रोएँ। घर रातको मसानघाटझैं सुनसान थियो।

बिस्तारै हाम्रो बेडरुममा पसें। नमिठो लाग्यो। मैले सबै थोक गुमाएर सबै थोक पाएको कोठा। हिक्क हिक्क छुट्यो। भित्तामा भएका हाम्रा तस्बिर सबै झिकेर पोको पारें। विवेकका बाँकी रहेका केही कपडा र ती तस्बिर एउटा सुटकेसमा हालेर एक कुनामा राखिदिएँ। लाग्यो, अब यी सब चिज मेरो चितामा जल्ने दिन मात्रै खोजिनेछ।

म एक्लै भएँ त्यो कोठामा। कोठाको शून्यताले एक दिन मलाई निल्नेछ जस्तै लाग्यो। दराज खोलें, उसले बिहेमा दिएको लगनपोतेलाई हातमा लिएँ। साह्रै नमिठो लाग्यो। प्रत्येक दानामा मेरो विश्वास र आशा गाँसिएको त्यो लगनपोते मेरै घाँटीको फन्दाजस्तो लाग्यो। फेरि झट्ट माया पनि लाग्यो। त्यही पोतेले मलाई जुन र घामजस्ता छोराछोरीकी आमाको दर्जा पनि त दिएको छ।

विवेकसँग जोडिएका ती निर्जीव चिजहरूप्रति वितृष्णा लाग्यो। सबैलाई पोको पारेर अब कहिल्यै नखोल्ने गरी दराजमा ताला लगाइदिएँ। अब म कसैकी श्रीमती नभई आमा मात्रै थिएँ, छ‍ोरी, बुहारी मात्रै भएँ।

समय बित्दै गयो, म बाँच्दै गएँ। मेरा दुई आँखाका नानीजस्ता छोराछोरीलाई हेर्छु, चित्त बुझाउँछु।

बुढाबुढी हुनुभएका सासूससुरा हेर्छु, मन बुझाउँछु। बेलाबखत झल्को लाग्छ विवेकको, आँगनमा कसैले गाडीको हर्न बजाउँदा कुदेर गएर हेर्ने बानी हटाउनै सकिनँ।

‘काठमाडौंमा विवेकलाई भेटेको थिएँ, हड्डीछाला मात्रै भएको रहेछ बिचरा’ कानमा बताससँगै खबर आइपुग्थ्यो कहिलेकाहीं तर ऊ घर आएन।

‘कुन मुख लिएर जानु ?’ भन्थ्यो रे। उसको पनि त घर हो, आउँदा भइहाल्थ्यो। म पो उसको जीवनमा कतै थिइनँ। छोराछोरीको बुबा ऊ बुबाआमाको छोरा थियो। मलाई ऊ घर आउनु नआउनुमा कुनै आपत्ति र चासो थिएन।

धेरैपछि आज घरको माहोल छुट्टै थियो। दुई वर्षपछि देवर क्यानडाबाट आउनुभएको थियो। छोराछोरीको भुइँमा खुट्टै थिएन। बुबाआमा पनि खुसी हुनुहुन्थ्यो। वरपरका आफन्तहरू भेला भएका थिए।

आधारातमा घरको काम सिध्याएर म कोठामा पसेकी मात्रै के थिएँ, गेटमा बेल बज्यो। यसो झ्याल खोलेर हेरेँ। चिनेजस्तै आवाज  

आयो– ‘मुना’

मन ढक्क फुल्यो।

छोराछोरी काकासँगै सुतिसकेका थिए।

‘मुना, जा जा, यति राति कसले घन्टी बजाउँदैछ ? म उठ्न सकिनँ,’ सासूआमाले भन्नुभयो।

डराउँदै यसो घरको मूल ढोका खोलेर हेर्छु, सपनाजस्तो लाग्यो।

‘मुना !’

गेटमा अडेस लगाएर सकिनसकी मलाई बोलाउने उही विवेक थियो।

प्रकाशित: २९ वैशाख २०८१ ०८:३५ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School