समुन्द्रले आफूसँग अथाह जल भएको भन्दै सगरमाथालाई पानीविहीन ठानिरहेको छ। उचाइँमा छु भन्ने ज्ञान पाएको सगरमाथाले आफ्नो उचाइँको कहिल्यै अहंता देखाएन। त्यसैले त ऊ निरन्तर आफ्नो थाप्लोमा भएको हिउँ पग्लाएर निरन्तर समुन्द्रमा पठाइरहेको छ।
लाखौँ मानिसलाई प्यास बुझाएको र हजारौँ रोपनी जग्गा सिंचित गरेको सगरमाथाको जल पोषिलो छ, अनाज उत्पादन र प्राणीको प्राण रक्षाका लागि। बाढीमा बग्दै गएको मल, माटो र कहिलेकाहीं अनाजका बोट समुन्द्रसम्म पुग्छन्। यसरी समुन्द्र पुगेको पानी कति नुन बनेर प्राणीलाई पोषक तत्त्व प्रदान गर्छ। कति पुनः मेघ भएर बर्सिन्छ।
पानीको आफ्नै परिवेश हुन्छ। हिमालमा हिउँ हुन्छ। अलि तल झर्दा बरफ बन्छ। अझै तल झर्दा पानी र समुन्द्रमा पुग्दा नुनमा परिणत हुन्छ। सगरमाथाले समुन्द्रलाई पानीको चक्र बताउने चाहना राखे पनि ऊ चुपचाप रहन्छ। तर मनमनै भन्छ म सानो खहरे हुँदा कस्तो चर्को आवाज गर्छु। गहिरा नदी बन्दा स्वरहीन र समुन्द्र पुग्दा शान्त हुन्छु। शालीन भाव प्रकट गर्न र उसले खोजेको उत्तर यत्ति हो।
समुन्द्र भन्छ, “मैले बादल बनाएर जल नबर्षाउने हो भने तँ केही गर्न सक्दैनस्। तेरो चक्र बनाउने म नै हुँ।”
होला चक्र बनाउने तँ तर तैले नेपाललाई चिनाउन आफ्नै भूगोल बनाउन सकिस् त? सगरमाथाको प्रश्न छ। विश्वका अग्ला हिमालको सूचीमा रहेको सगरमाथालाई संसारले चिनेको छ नेपालको भनेर।
सगरमाथाले शीर बनेर छहारी दिएको समुन्द्रलाई आक्रोसको आगोले पोलेर होला तेरो सबै फोहोर मैले बोक्नु पर्ने अनि तँ मेरो शीर भनेर धाक दिन्छस् भनेरप्रति प्रश्न सोध्यो। चिसो हावा पानीमा बाँचिरहेको सगरमाथाले रिसलाई अझै माइनसमा नै राखेको छ। समुन्द्र भने किनारमा रहेको बालुवाको रापले जल्न थालिसकेको छ।
वल्लो किनाराले पल्लो किनारालाई कहिल्यै नदेखेको समुन्द्रमा माछा, कछुवा, अक्टोपस, समुन्द्री घोडा र पेन्गुइनको वासस्थान पनि हो। समुन्द्रको यो बढ्दो अहमता देखेर यी आजित हुँदै गएका छन्। र उनीहरूले समुन्द्रलाई प्रश्न गरेको छन् सगरमाथाले आफ्नो शीरले आफू अडिएको धरातल र धरातलले आफ्नो शीर देख्छ। माथिबाट हिउँ खस्यो भने तलको भागले थेग्छ। तँ समुन्द्र यति निर्दयी छस् कि आफ्नो किनारालाई आफैं काट्छस्। हामीलाई पाखा लगाउँछस्। तँसँग संवेदना छ?
सगरमाथाको उचाइ नापिएको छ। के तेरो गहिराइ तलाई थाहा छ? जति सगरमाथाले देशको नाम बचाएको छ त्यति तैंले प्राणीको जीवन बचाएको छस्? समुन्द्रमा रहेका जीवहरूले एकपछि अर्को प्रश्न गरेपछि समुन्द्र उत्तर खोज्न थालेको छ।
ऊ समुन्द्र बन्दा पहिले कस्तो थियो, आफ्नो अस्तित्वको खोज गर्न आँटेको जस्तो देखिन्छ। सगरमाथाले पाएको परिचयसँग मेरो गहिराइ कम हो कि भन्ने भान परेर होला वरपर फालिएका मछुवारेका जाल र फ्याकिएका रित्ता क्यानलाई हेरिरहेको छ। उता सगरमाथा भने केही थाहा नपाएझैं ध्यानमा मग्न योगी जस्तै मुद्रामा छ।
ज्ञानीलाई यो संवादले धेरै विषय दिन्छ। तर प्रतिशोधको भाव बोकेर वर्षा पर्खिरहेको समुन्द्रले विनाशको योजना बुनिरहेको छ। र त भयङ्कर खण्डवृष्टि गरिरहेको छ आफ्नो मनको मैलो पखाल्ने योजना सहित। उसललाई म के गर्दैछु भन्ने थाहा छैन। यो बारेमा जानकारी लिन उसले गंगटाको सल्लाह लिनुपर्ने हो। तर किनाराभन्दा पर पुगेको गंगटाहरू पानीको बहाव नघटेसम्म फर्केर यहाँ आउने छैनन्। समुन्द्र आफै उनीहरु भएको स्थानसम्म जान सक्दैन।
सगरमाथाले नदीमा बग्ने पानीको बहाव कम गराउनका लागि पानी जमाउन थालेको छ। यसरी पानी बग्दै जाने हो भने धेरै विनाश हुन सक्छ भन्ने बुझेको सगरमाथाले आफ्नो आसपासका क्षेत्रमा हिउँलाई नबग्नु भन्ने कर्फु आदेश गरेको छ र भनेको छ हामी बग्न नरोकिने हो भने धेरैको विचल्ली हुन्छ। हामीलाई हाम्रो सामथ्र्य के हो भन्ने थाहा। समुन्द्रलाई देखाउन जरुरी छैन।
अहिले संचय गरेर राखेको हिउँ सुक्खा यामका लागि बिस्तारै बगाउनुपर्छ र फेरि पनि प्राण रक्षा गर्नुपर्छ। अहिले नबगाएर राखेको हिउँ भोलि बगाउँदा त्यो अमृत बराबर हुन्छ। सगरमाथाको यो वाणीको झार, बुटा, पाखा, पखेरा सबैले सम्मान गरे र आफूले थाम्न सक्ने जति हिउँलाई आफ्नो वशमा राखे। जति वर्षा गर्दा पनि सगरमाथाले पानीको बहाव नबढाएको देखेर समुन्द्रले सगरमाथातर्फ हेर्न आँटेको थियो तर एक छाल हिलो सहितको पानीले उसको शरीर चुलुम्म डुबाइदियो।
अघिसम्म एक योगी सगरमाथामा अहिले लाखौँ योगी देखिए। ज्ञान प्राप्त गर्न तल्लिन भएका योगी जस्तै हिउँ संचयमा लागेका। सबैको एउटै प्रार्थना छ एकताको बल। सबैको एउटै माग छ विभेदको अन्त्य। आफ्नो किनारा ढाकेर रुखको घाँटी दवाउन लागेको समुन्द्र अहिले आफ्नै पूर्ववतः स्थानमा पुगेको छ। अझै उसलाई थाहा छैन शक्ति र विवेकको भेद।
घाँटी न्याकिनबाट बचेका रुखहरू पूरा कुरुप देखिए। कसैका डाली भाँचिए। कसैले फालिएका बोतलको माला लगाए। कुनै एक अर्कामा अँगाले हालेर अडिए। कुनै फोहोरले जेलिएर म को हुँ भनेजस्तो आफैलाई नियालिरहेका छन्। यो दृष्य देखेर कछुवाले आफ्नो कवचको प्रशंसा गर्यो। गंगटाले अमेय शक्तिको। बिस्तारै हावा चल्न थाल्यो। ढल्लान ढल्लान जस्ता देखिएका रुखले अघि बोकेको फोहोर बिस्तारै फाल्न थाले। हावाको झोकाले झरेका सबै फोहोरलाई समुन्द्रमा मिसायो।
हिउँमा पुरिएर शान्त बसेको सगरमाथालाई हावाको सुइँयाले बिउँझायो। मस्त निद्रामा रहेको जस्तै झस्किएर उठ्दा थोरै हलचल भयो। यो हलचल देखेर वरपर रहेका बोट विरुवा पनि ब्यूँझिए। ज्ब उनीहरू जागा भए, समुन्द्रको शान्त रूप देखेर भ्रम हो वा यर्थाथ बुझ्न सकेनन्। सगरमाथाले घटनाको बिस्तार सुनाएपछि आफैले आफैलाई अंकमाल गरे अघि लडेर एक अर्काको सहारा लिएका समुन्द्रका रुख जस्तै। यो एउटा स्मृति थियो।
अघिको खण्ड वृष्टिलाई रोकेर समुन्द्रले बादललाई बोलायो र भन्यो-बिस्तारै जानु, आवश्यकतामा वर्षनु, चर्को घाम लागे शीतल प्रदान गर्नु। गंगटाहरू मरेका गड्यौला टिप्नका लागि अघि लिएको आश्रय छोडर किनारामा फर्किए। सबै भिन्न थियो पहिलेभन्दा। समुन्द्रको नुनिलो पानी कम नुनिलो भएको थियो। सुक्खा किनारा भिजेको थियो। सहज तरिकाले अडिएका रुखले आकृति परिवर्तन गरेका थिए।
बुढो मछुवारेको साथमा केही अल्लारे मछुवारे आए। किनारामा रहेका सबै माछालाई टिपिरहेको समयमा बुढो मछुवारेले केही इशारा गर्यो। आफू भने भुइँमा छालले बगाएर ल्याएको एउटा नरिवलको पात टिपेर ठिटाहरूको माझमा घुस्यो। उनीहरू माछा टिप्न छोडेर बुढाको कुरामा ध्यान दिए। बुढाले पानीको लहरको राम्रो सन्देश छैन। सबै भाग भन्यो। बुढाको इशारा सुन्नेबित्तिकै सबै पाखा लागे। उता समुन्द्रमा भने ठुलो सुनामी आएर आफैलाई खल्बल्याइरहेको थियो।
वर्षा ऋतुको समय सकिएपछि फेरि सगरमाथाले उसैगरी हिउँलाई, बरफ, पानी बनाएर समुन्द्रमा पठायो। सगरमाथाको यो सौम्यपन देखेर समुन्द्रले आफ्नो औकात संझियो। र ठुलो स्वरमा सबै जीवलाई सुनायो– गर्व गर्ने कुरामा गर्व गर्नुपर्छ, मन जित्नलाई मन चाहिन्छ। उसको यो आह्वान सबैले सुने तर बुझ्न भने कछुवा, गंगटा र सगरमाथाले मात्र बुझे।
गुप्तवास बसेको भालु सिनोको खोजीमा निस्कियो।
प्रकाशित: ११ असार २०८१ १०:१६ मंगलबार