सुरु गरौं तीन वटा प्रसंगबाट ।
पहिलो, मैले एकदिन मेरी विदेश बस्ने छोरीलाई भनें, ‘अब म र तिम्री आमालाई तिमीहरूले पाल्ने हो, हाम्रो सबै खर्च मेरा छोराछोरीहरूले बेहोर्ने हो । मलाई छोराछोरीको कमाइमा रजाइँ गर्ने इच्छा छ !’
छोरीले भनिन्, ‘बाबा पचास वर्षको उमेरमा काम गर्न सक्दै र छँदाखाँदाको काम छाडेर छोराछोरीको कमाइ खान कहाँ पाइन्छ र ? फेरि हजुरको सम्पन्न आर्थिक अवस्थाले पनि हाम्रो कमाइ खानुपर्ने त छैन नि ! जुन दिन आमा–बाको उमेर ढल्कन्छ वा अशक्त हुन्छन् वा आर्थिक स्थिति कमजोर हुन्छ, त्यो दिन हामी हेर्छौं । बाबा पीर गर्नु पर्दैन ।’ मन अमिलो भयो ।
दोस्रो, एकदिन मेरो अति आदरणीय एक जना समाजका अत्यन्त प्रतिष्ठित दाइ साथीले फोन गरेर भन्नुभो, ‘राजुजी म ६ हप्ताको लागि अमेरिका जाँदैछु, आएपछि कफी पिउँला है !’
मैले मेरो स्वभाव अनुसार जाने स्थान र रुट सोधें, कता कता रुट नमिले जस्तो लागेर जिज्ञासा राखें । उहाँले भन्नुभो, ‘राजुजी उताबाट बच्चाहरूले पठाउने टिकट हो, जस्तो आयो त्यस्तै प्रयोग गर्नुपर्छ ।’ मन झसंग भयो ।
तेस्रो, एकबिहानै मोबाइलमा मेरी छोरीको म्यासेज आयो, ‘बाबा मेरो ग्रीन कार्ड आयो ।’ मैले ठम्याउन सकिनँ, म खुशी हुने कि दुःखी ? मलाई अझै थाहा छैन त्यो बिहान मेरो आँखाबाट झरेका आँशु खुशीका थिए कि दुःखका ? मन तरंगित भयो ।
यी एकाध उदाहरण मात्रै हुन् । नेपाली समाजमा अचेल हरेकजसो परिवारका कोही न कोही सदस्य देश बाहिर छन्- पढाइको लागि वा रोजगारीको लागि । सबैजसो परिवारको कथा र व्यथा करीब करीब उस्तै छ । हामीले नेपालमा सन्तान जन्माउने, हुर्काउने र पढाउने विदेशीका लागि जस्तो भएको छ ।
सायद त्यही भएर होला आफ्ना दुवै छोरा विदेश गएका मेरा एक जना अनन्य मित्र सधैं भन्छन्, ‘हामी ह्याचरी उद्यमी जस्ता भएका छौं, चल्ला कोरल्यो पठायो ।’
समाजशास्त्रीहरूले यो अवस्थाको चित्रण गर्ने तरिका आफ्नै होला, तर दुई जना सन्तान पढ्न विदेश गएर उतै बसेका र यदाकदा केही वर्षको अन्तरालमा नेपाल आउने बाबुको रूपमा मैले यसलाई आफू हुर्केको र बुझेको समाज भन्दा भयावह पाएको छु र भोग्दैछु ।
मेरा र म जस्तै अरू बा-आमाको आफ्ना सन्तानबाट गरिने अपेक्षा म बुझ्थें । मेरो र उहाँहरूको सोचाइ सन्तान बढुन्, पढुन्, काम गरुन्, सम्पन्न हुन्, नाति-नातिना खेलाउन पाइयोस् र आफू मरेर जाँदा घरको ढोका बन्द नहोस् भन्ने थियो । हाम्रो यो सोचाइमा कहींकतै खोट थिएन ।
तर विगत ३० वर्षमा नेपालमा समयले यसरी कोल्टे फेर्यो कि सन्तानबाट आमा-बाले गर्न सक्ने अपेक्षामा ठूलो परिवर्तन आयो । बढ्ने, पढ्ने, काम गर्ने, सम्पन्न हुनेसम्म त ठिकै थियो तर नाति-नातिना खेलाउने र आफू मर्दा घरको ढोका बन्द नहुने चाहिं अब कल्पना भन्दा बाहिरको कुरा भयो ।
भयो के त ? सन्तान विदेशमा, नाति-नातिना उतै जन्मन्छन्, तीन चार वर्षमा भेट हुन्छ । पहिलो, बच्चाहरूले हजुरबा हजुरआमा चिन्दैनन् र चिने पनि त्यहाँ संवाद हुन्न किनकि त्यहाँ भाषा मिल्दैन । र यदाकदा भाषा मिले पनि भाव मिल्दैन । भाषा र भाव नमिलेको माया र संवाद कस्तो होला ? नातिनातिनासँग कुरा गर्दा ‘बुवा दर्शन’ को सट्टा ‘हाइ’ सुन्नुपर्छ र त्यसलाई सहज रूपमा लिनुपर्छ ।
म सोच्छु मेरो बच्चा मसँगै बसोस्, पुराना कुरा गरोस्, मसँगै टोल र गल्ली घुमोस्, सबैलाई भेटोस् । घरकै मकै भटमास र टोलको कुराउनी, गुदपाकमा रमाओस् । अष्ट्रेलियाको उलवर्थको चकलेट भन्दा हाम्रो दतात्रेयको पुष्टकारी के कम छ र ?
दुई वर्षअघि झण्डै चार वर्षकी मेरी नातिनी नेपाल आउँदा मेरी ८१ वर्षीया आमासँग उनको भेट भयो । तर त्यहाँ संवाद भएन । बोल्न सक्ने कुरा थिएन किनकि भाषा फरक थियो । दुवैले एकअर्कालाई हेर्ने बाहेक अरू केही हुन नसकेको म सम्झन्छु । यदि मेरी नातिनी नेपालमै जन्मेकी र हुर्कंदै गरेकी भए सायद आफ्नो अधिकांश समय आमा, आमा, आमा भन्दै मेरी आमासँगै हुन्थिन् ।
पहिले पहिले बिरामी आमा-बा कुरेर छोराछोरी बस्थे भने अचेल आमा-बाका मरेका लासले बरफमा बसेर तीन फिलिंगो आगोको लागि सन्तानको आगमन कुर्छन् । यो हो हाम्रो आजको समाज वा हामीले विगत ३० वर्षमा बनाएको समाज ।
उच्च र राम्रो शिक्षाको लागि हामीले हाम्रा सन्तानलाई देशका राम्रा र महँगा विद्यालयमा भर्ना गर्यौं । तर हामीलाई त्यो बेलामा हेक्का भएन कि हामी विदेशीका लागि उच्चस्तरीय जनशक्ति तयार पार्दैछौं । छोराछोरी विदेश जान खोज्नु अन्यथा हैन तर फर्केर आउन नसक्नु भने हाम्रो पुस्ताले हाम्रो देशमाथि गरेको बलात् पाप हो । यो पापको ठूलो हिस्सा देशका राजनीतिक दल र नेताहरूले लिनुपर्छ र बाँकी हामी अरू सबैले ।
बच्चाहरू विदेश जान्छन्, पढ्छन्, पढाइ सक्छन्, काम खोज्छन् र काम गर्न थाल्छन् । यहाँसम्म त ठिकै छ । तर पढाइ सकेर काम सुरु गरेको भोलिपल्टबाट आफू बसेको देशको स्थायी बसोबास अनुमतिपत्र वा नागरिकताको लागि दौडन्छन् । उनीहरू नेपाल फर्कन चाहन्नन् र एकाध बाहेक अरू फर्कंदैनन् । न उनीहरूको शरीर फर्कन्छ न मन ।
जब कुनै चाडबाड, बिहे वा मृत्युको बेलामा उनीहरू आउँछन्, उनीहरू पहिले भन्दा फरक आउँछन् । हाम्रा र उनीहरूका खुशी र दुःख फरक भइसकेका हुन्छन्, खाना र स्वाद फरक भइसकेको हुन्छ । आफू जन्मेको, हुर्केको, बढेको स्थानले कमै मात्र असर गर्छ । मठ-मन्दिर गए पनि ठिकै नगए पनि ठिकै बन्छ, बरु विदेशी पर्यटकले जस्तै बसन्तपुर र ठमेल उनीहरूको रोजाइमा पर्छ ।
अधिकांश शब्दको जवाफ, के भो त ! नाइँ वा थाहा छैनमा गएर टुंगिन्छ । न लामो वार्ता मन पर्छ न ठाकठुक । न गुन्द्रुक मन पर्छ न मुलाको अचार । केही मन पर्छ भने मःम मन पर्छ ।
केही वर्षको अन्तरालमा आउँदा सुटकेश भरी ल्याएका लुगा, जुत्ता, चश्मा, चकलेट र आइफोनमा उनीहरू हाम्रा लागि माया र सद्भाव देख्छन् । तर आमा-बा ?
म सोच्छु मेरो बच्चा मसँगै बसोस्, पुराना कुरा गरोस्, मसँगै टोल र गल्ली घुमोस्, सबैलाई भेटोस् । घरकै मकै भटमास र टोलको कुराउनी, गुदपाकमा रमाओस् । अष्ट्रेलियाको उलवर्थको चकलेट भन्दा हाम्रो दतात्रेयको पुष्टकारी के कम छ र ? तर त्यस्तो हुन्न है ! उनीहरू हाम्रा अधिकांश कुरामा कुनै प्रतिक्रिया दिंदैनन्, न सामाजिक न व्यावहारिक न राजनीतिक !
उनीहरूले ल्याएका सबै सामान हामीले उनीहरूकै अगाडि प्रयोग नगरे उनीहरूको अपमान हुन्छ रे, तर आमा–बाले उनीहरूका लागि महिनौं लगाएर सन्तान आउने खुशीमा बुनेको, बनाएको वा किनेका कपडा, जुत्ता अनि हाम्रा मौलिक खानेकुरा ? ओ…. नो…. !
दुःख गरेर कमाएको र बचाएको घर, बारीका पाटा र खेतका गरा अब के गर्ने ? बेचौं पैसाको आवश्यकता छैन, राखौं किन र कसका लागि ? पैतृक सम्पत्तिको माया मेरो पुस्तामा आएर सकिने हो ? यो समाजको गतिशीलता हो कि परिवर्तन ?
यसो ओली, देउवा, बालेन वा प्रचण्डका कुरा गर्न खोज्यो त्यो कुरा अघि बढ्नुभन्दा पहिला उनीहरूलाई निद्रा लाग्छ तर डोनाल्ड ट्रम्प र एन्थोनी अल्बानिजका कुराले समय बितेको थाहा हुन्न, जुन हामीले नबुझे पनि सुनेर टाउको हल्लाउनुपर्छ ।
हाम्रो समाजमा के हुँदैछ अब उनीहरूको चासोको विषय रहेन । जमिन बाँझो छ कि खेती गरिंदैछ त्यो सोध्ने र त्यहाँ जाने समय उनीहरूमा छैन । आफ्नै बारीमा भएको अम्बा र हलुवाबेद उनीहरूलाई बेस्वादे भए, उनीहरूको स्वाद थप्न आइपुगे कुनै स्वाद नभएका बजारका एभोकाडो ।
आफूसँगै पढेका साथी कुन स्टेट वा कुन देशमा छन् र उनीहरूका आमा बा जिउँदै छन् कि छैनन् भन्ने कुरा फेसबुकले बताएकै छ । अरूको ‘छु’ मतलब !
यो पटक मेरी छोरी नेपाल आउँदा मैले सोधें, ‘तिम्रा साथी भेट्नु छैन ?’ उनले भनिन्, ‘बाबा मेरा युलियन्सका ३५ जना साथीमध्ये दुईजना नेपालमा, ११ जना अरू देशमा र बाँकी २२ जना हामी अमेरिकामा छौं । उतै भेट हुन्छ नि !’
हामीले गाउँ रित्तिएका समाचार धेरै लेख्यौं र पढ्यौं, तर शहर रित्तिएको देखेनौं अथवा लेखेनौं । गाउँका मानिस त कतिपय शहर छिरे तर शहरका ?
अब म र मेरा समकक्षीहरूको उमेर ढल्कँदैछ । छोराछोरी विदेश गएर उतै रमाएका हामी नेपालका पहिलो पुस्ता हौं । सबै सन्तान विदेश जाने बाबुआमाको बुढेसकाल नेपालमा अब कति भयावह होला, म कल्पना गर्न थालेको छु । न खाएको पच्छ, न लगाएको सुहाउँछ, यो उमेरमा आफूसँग सन्तान नहुँदाको पीडा के होला ? अझ बिरामी पर्दा ? अनि त्योभन्दा पनि भयावह त श्रीमान् श्रीमती दुवै एकैपटक मर्ने त हैन । दुईमध्ये एकको मृत्युपछि अर्कोको हालत के होला ? सम्झँदा पनि कहाली लाग्छ ।
६ महिना अघि अष्ट्रेलिया जाँदा पहिले नेपालमा सँगै बैंकमा काम गरेको र अचेल उतै बस्ने एउटा साथी भन्दैथियो, ‘दाइ, काठमाडौंमा बुढाबुढीको हेरचार गर्ने नर्सिङ स्टाफ चाहिए म यताबाट व्यवस्था गर्छु है ! मैले यता बस्ने सबै नेपालीलाई भनेको छु र मेरो व्यवसाय राम्रो छ ।’
समाज यस्तो भएछ । हाम्रा लागि हेरचाह गर्ने मान्छेको व्यवसाय अमेरिका र अष्ट्रेलियामा चल्छ, किनकि पैसा तिर्ने निर्णय गर्नेहरू उतै छन् । व्यवसाय त उपभोक्ताले भन्दा पैसा खर्च गर्नेले चलाउने न हो !
दुःख गरेर कमाएको र बचाएको घर, बारीका पाटा र खेतका गरा अब के गर्ने ? बेचौं पैसाको आवश्यकता छैन, राखौं किन र कसका लागि ? पैतृक सम्पत्तिको माया मेरो पुस्तामा आएर सकिने हो ? यो समाजको गतिशीलता हो कि परिवर्तन ?
सायद त्यही भएर होला आफ्ना दुवै छोरा विदेश गएका मेरा एक जना अनन्य मित्र सधैं भन्छन्, ‘हामी ह्याचरी उद्यमी जस्ता भएका छौं, चल्ला कोरल्यो पठायो ।’
(नेपाल पूर्व बैंकर हुन् ।)