चैतको पहिलो साता (२०८१ चैत्र १–३) मा मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१ सम्पन्न भयो। नेपाल र नेपालबाहिर रहेका आमनेपाली भाषाभाषी र संस्कृतिप्रेमीहरू उपस्थित भएर आफ्नो सभ्यता, संस्कृति र कलाबारे चिन्तनमनन गरिएको यो सम्मिलन ऐतिहासिक र सभ्यता जगेर्नाको कोशेढुंगाका रूपमा प्रस्तुत भयो।
हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भूखण्डमा बसोबास गर्ने विभिन्न भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात गरिएको एउटा ठुलो महोत्सव नेपालमा दोस्रो पटक आयोजना भयो। यहाँका विविध जातजाति तथा समुदायबिच सांस्कृतिक आदानप्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञानपरम्परासम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संरक्षण, संवर्धन र प्रवर्धन गर्ने, बहुभाषिक एवम् बहुसांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाई हिमवत्खण्डका संस्कृति र सभ्यताप्रति गौरवको भावना जगाउने, सामाजिक एकता र सद्भावलाई भावनात्मक र व्यावहारिक रूपमै सुदृढ तुल्याउँदै जाने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ आयोजना गरिएको थियो।
सम्मिलनमा मुलुकका सातवटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बंगाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल आदि), चीन, बंगलादेश, म्यानमार, भुटान, थाइल्यान्डबाट नेपाली लोकसंस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो। यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘हिमवत्खण्ड, यसको महिमा र लोकसंस्कृति’का सम्बन्धमा प्रवचन भएको थियो।
प्राडा चूडामणि बन्धुद्वारा हिमवत्खण्डमा नेपाली भाषाको अवस्था, डा. रमेश ढुंगेलद्वारा हिमवत्खण्डको संस्कृति र विश्वव्यापीकरण एवम् डा. भेषराज अधिकारीद्वारा हिमवत्खण्डको नेपाली खानपान संस्कृतिसम्बन्धी विचार प्रस्तुत भएका थिए।
त्यसैगरी सम्मिलनमा सात प्रदेशका विद्वान्हरूको सहभागिता मात्र रहेन, उनीहरूले गहन कार्यपत्र प्रस्तुत गरे। डा. राजकुमार क्षेत्रीले ‘भारतको उत्तर बंगालको नेपाली लोकसंस्कृति’, डा. टेकबहादुर क्षत्रीले ‘भारतको सिक्किमको नेपाली लोकसंस्कृति’, भवानी अधिकारीले ‘भारत मणिपुरको नेपाली लोकसंस्कृति’ डा. खगेन शर्माले ‘भारतको असमको नेपाली लोकसंस्कृति’, डा. टेकनारायण उपाध्यायले ‘भारतको मेघालयको नेपाली लोकसंस्कृति’, डा. भूपेन्द्र अधिकारीले ‘भारतको उत्तर–पश्चिमाञ्चल क्षेत्रको नेपाली लोकसंस्कृति’, तैं तैं धितालले ‘म्यानमारको नेपाली लोकसंस्कृति’, रमेश खड्काले ‘थाइल्यान्डको नेपाली लोकसंस्कृति’, डिल्ली अधिकारीले ‘भुटानको नेपाली लोकसंस्कृति’, मनोजबहादुर गोर्खाले ‘बंगलादेशको नेपाली लोकसंस्कृति र लक्ष्मी निरौलाले ‘चीन (तिब्बत)को नेपाली लोकसंस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
सभ्यताको केन्द्रस्थल
सभ्यता एवं ज्ञानको आदिभूमि नेपाल हिमवत्खण्डको केन्द्रस्थल मानिन्छ। नेपालमै सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको थियो। यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौं नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको थियो।
हिमवत्खण्डअन्तर्गत नै सप्तगण्डकीमा काश्यप ऋषि, पुलस्त्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र), मिथिलामा तत्त्वज्ञानी राजा जनक, याज्ञवल्क्य, गार्गीजस्ता दार्शनिक र वाल्मीकि, व्यास, कालीदास प्रवृत्ति महान् कविहरूको जन्म भयो। यहीं नै मुनि नामका ऋषि र किरातहरूका ऋषि आकुनीले ख्याति कमाएको पाइन्छ।
वैदिक वाङ्मयमा विविध दर्शनहरूको आविष्कारले यस क्षेत्रलाई सिञ्चित गर्न सकेकाले नै हिमवत्खण्ड र यसअन्तर्गत पर्ने नेपाललाई मानव सभ्यताको उद्गम र विश्वसभ्यताको ज्येष्ठभूमि मानिएको हो। यसै पावन भूमिमा गौतमबुद्धको जन्म भयो र विश्वभर बुद्धत्वको प्रकाश प्रसारित भएको हो।
तीन दिने हिमवत्खण्ड कला, साहित्य र संस्कृति सम्मिलन–२०८१ मा प्राध्यापक डा. माधवप्रसाद पोखरेलले स्कन्द पुराणको माहेश्वर खण्डलाई उधृत सभ्यताको केन्द्रस्थल रहेको स्पष्ट पारेका हुन्।
‘वायु पुराणमा हिमवत्खण्डको विस्तारबारे वर्णन गरिएको छ। जसमा पश्चिम हिमालय अर्थात् निषध पर्वत, मध्य हिमालय अर्थात् हिमवान् (हिमवत् पर्वत), मध्यपूर्वी हिमालय अर्थात् हेमकुट (कञ्चनजंगा) पर्वत, पूर्वी हिमालय अर्थात् नील (नीलाचल) पर्वत र मेरु अर्थात् कैलाश पर्वत (स्वेनचाङ, सातौं शताब्दी) रहेको पाइन्छ,’ हिमवत्खण्डको गरिमा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले भने।
हिमवत्खण्डको विद्वत् सभामा बोल्दै प्राध्यापक डा. चूडामणि बन्धुले नेपाली भाषा सुरुमा खस प्राकृत भएको बताए। उनले त्यसपछि क्रमशः अप्रभंश हुँदै प्राचीन, मध्य र आधुनिक नेपाली हुँदै विकसित भएको तर्क गरे। ‘बाइसे र चौबिसे राज्यहरू हुँदा नेपाली भाषा फैलिएको थियो, जतिबेला ती राज्यहरूमा त्यहीका सरकारी कामका भाषा प्रयोग हुन्थे,’ बन्धुले भने, ‘त्यसपछि पृथ्वीनारायण शाहले टुक्रेराज्यहरूलाई एकीकरण गरी विशाल नेपाल बनाए। त्यससँगै नेपाली भाषाले आफ्नै स्वरूप लियो र काम गर्न थाल्यो।’
सुगौली सन्धिलगत्तै अंग्रेजी भाषीसँग सम्पर्क र सम्बन्ध बढ्दा नेपाली भाषाले पनि फैलने अवसर पाएको उनको दाबी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रमको आयोजना गरी हिमवत्खण्ड सम्मिलनका पाहुनालाई स्वागत गर्ने क्रममा पनि हिमवत्खण्ड मानव सभ्यताको केन्द्रविन्दु भएको बताए।
मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रिय स्तरको सम्मिलनको दोस्रो शृङ्खला आयोजना भएकोमा खुसी लागेको भन्दै प्रधानमन्त्री ओलीले पनि मौलिक संस्कृति नै नेपालीको जग हो। हिमवत् भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादुर्भाव भएको बताए।
सगरमाथादेखि एक करोड दस लाख वर्षअघिको दन्तावशेषसम्म
सम्मिलनमा सातवटै प्रश्रवण क्षेत्रको सभ्यता, संस्कृति र कलाको विषयमा चर्चा गरिएको थियो। प्रा. डा. जीवेन्द्रदेव गिरीदेखि डा. भक्त राईसम्मले आफ्नो प्रस्तुति दिएका थिए। प्रश्रवण क्षेत्रको प्रस्तुतिमा डा. राईले कोशी प्रनेपालको सुदूरपूर्वमा पर्ने कोशी प्रदेश विविधताले भरिएको उल्लेख गरेका थिए । संसारको सबैभन्दा अग्लो हिमचुचुरो सगरमाथादेखि समुन्द्र सतहभन्दा पनि होचो भूभाग केचनकवल यस प्रदेशमा पर्छ।
‘सांस्कृतिक वैभवताको हिसाबले पनि अनेकौं प्रकारका जातजाति र ती जातजातिमा प्रचलित सांस्कृतिक, धार्मिक विविधता छ। समग्रमा भौगोलिक, जैविक, सांस्कृतिक, प्राकृतिक आदि विविधतापूर्ण प्रदेशको रूपमा कोशी प्रदेशलाई लिन सकिन्छ,’ राईले आफ्नो कार्यपत्रमार्फत भनेका थिए। हिमालयको सबैभन्दा तल्लो श्रेणी चुरे शृङ्खलाको पादप्रदेशमा कोशीदेखि पश्चिम, नारायणी (पौराणिक ग्रन्थहरूमा सदानिरा, गण्डकी)देखि पूर्व र दक्षिणमा गंगासम्मको भूभागलाई विदेह जनपद र यसको राजधानी मिथिला भनिएको अर्को कार्यपत्र उल्लेख छ।
‘मिथिलाको राजनीतिक अस्तित्व प्राचीनकालमा नै समाप्त भए पनि अनेक आरोह–अवरोह, बजारवाद र उपभोक्तावादी अपसंस्कृतिबिच, यसको सांस्कृतिक अस्तित्व, प्रतिष्ठा र गर्व विशिष्ट लोकसंस्कृतिको रूपमा यस क्षेत्रको लोकजीवनमा अहिलेसम्म प्रतिबिम्बित हुने गरेको छ। यसको संरक्षण आवश्यक छ।’
लोकधर्म, लोकसाहित्य र लोककला (गीत, संगीत, गाथा र प्रदर्शनकला), तीनवटा प्रवर्गमा विभाजित कार्यपत्रमा लोकसंस्कृति गाउँदेखि नगरसम्म फैलिएको जनसामान्य (लोक, जनता)को संस्कृति उल्लेख छ।
‘लोकसंस्कृति विविध धर्म, संस्कृति र समुदायको ऐतिहासिक सहचार्य, अन्तसंघर्ष र अन्तर्समन्वयबाट विकसित विशिष्ट सहिष्णु जीवनशैली, मनोविज्ञान र संवेदनाहरूको समुच्य हो,’ मधेस प्रश्रवण क्षेत्रबाट ‘मिथिलाको लोकसंस्कृति’मा रोशन जनकपुरी लेख्छन्– ‘समुदाय विशेषको लोकगाथा, लोकगीत र लोकजीवनका अभिव्यक्तिहरूमा लोकसंस्कृति अभिव्यक्त हुने गर्छ।’
स्कन्धपुराणको केदारखण्डमा हिमवत्खण्डका पाँच खण्डको नाम लिँदा नेपालको नाम अग्रस्थानमा लिइएको सन्दर्भ प्रस्तुत गर्दै प्रा. डा. कपिल लामिछानेले लेखेका छन्, ‘कनकमुनि, क्रकुच्छन्द, बुद्धभद्र, कपिलमुनि, भृगु, पाणिनि, माण्डव्य, शृंगी, गौतमबुद्ध आदि ऋषिमुनि र साधकहरूको तपश्चर्या र साधनाभूमि हो लुम्बिनी। एक करोड १० लाख वर्षअघिको आदिमानव रामापिथेकसको पुरातात्त्विक दन्तावशेष पाइएको स्थान यही भूमि हो।’
लुम्बिनी प्रदेशको सुदीर्घ गौरवमय परम्पराबाट विकसित भएको आजसम्म मान्छेलाई मान्छे बनाउने यो लोकसंस्कृति यता आएर खस्कँदो र लोपोन्मुख हुन पुगेको देखिएको छ। प्रायः सबै जातजाति र भाषाभाषीका मौखिक अभिव्यक्ति, प्रदर्शनकारी कला, विभिन्न हस्तकला, सिप, विधि, प्रविधि चित्र, मूर्ति, मन्दिर, भाँडावर्तन बनाउने कला यथेष्ट मात्रामा हस्तान्तरित हुन नसकेको हुनाले लोप हुने अवस्थामा पुगेको डा. लामिछानेको निष्कर्ष रहेको छ।
आधुनिकीकरणले राष्ट्रकै सम्पत्ति गुम्दै गएको पनि विश्लेषण गरिएको छ। ५० जातजातिको बसोबास रहेको गण्डकी प्रदेशमा आआफ्नै मौलिक संस्कार र संस्कृतिहरू छन्। विभिन्न जातजाति र धर्मसंस्कृतिका मानिस बसोबास रहेको यस प्रदेशका बस्तीहरूमा मौलिक नेपाली लोकसाहित्य र लोकसंस्कृतिको भण्डार रहेको डा. तुलसीराम खनालले आफ्नो कार्यपत्रमा लेखेका छन्।
‘हातमा सिप र रोजगार नहुँदा अनि कमजोर आर्थिक अवस्था भएकाले यहाँका अधिकांश जातिलाई आफ्नो भेषभूषा, भाषा र संस्कृति जोगाउन गाह्रो भएको छ। यो देशका हरेक जातजातिको भेषभूषा, भाषा, संस्कृति, राष्ट्रकै सम्पत्ति हुन्, त्यसलाई जोगाउने काम राज्यको हो। कुनै पनि जातिले आफ्नो भेषभूषा, संस्कृति, परम्परा गुमाउनु देशको सम्पत्ति घट्नु हो। अर्कातर्फ, आधुनिकीकरणसँगै पुरानो जीवनशैली हराउँदै जानु पनि उत्तिकै स्वाभाविक हो। राज्यले यी दुवैलाई सन्तुलनमा राख्नुपर्छ,’ उनले आफ्नो कार्यपत्रमा लेखेका छन्।
हिमवत्खण्ड संसारकै गौरव
हिमवत्खण्डको केन्द्रस्थलमा रहेको नेपालमा विश्वकै सर्वोच्च शिखर सगरमाथासहित विश्वप्रसिद्ध हिमशृङ्खलाहरू अवस्थित छन्। यो खण्ड नेपाल मात्र होइन, संसारकै गौरवको विषय हो। गौरवशाली यो भूखण्ड भारोपेली तथा भोट बर्मेली भाषाको आधारक्षेत्र हो, जहाँ विभिन्न भाषा, सभ्यता र संस्कृतिको उन्नयन, आपसी सद्भाव र सांस्कृतिक एवं मौलिक सिर्जनशील पक्षको महिमा सम्मिलनमा प्रस्तुत भएको छ।
हिमवत्खण्डका समस्त सांस्कृतिक वैभवप्रति गर्व गर्ने वातावरण यसमा बनेको छ। यस खण्डको प्रकृति, संस्कृति तथा मानवीय मूल्यको सम्प्रसार पनि सम्मिलनमा भएको छ। हिमवत्खण्डको यस भेगमा वैदिक तथा बौद्ध वाङ्मय मात्र होइन, ज्योतिषविज्ञान, योग अनि आयुर्वेदलगायतका प्राच्य विज्ञान र अपार सांस्कृतिक ज्ञानपरम्परा तथा वैभव छ। ज्ञान तथा चेतनाका ती महिमाशाली पूर्वपरम्पराप्रति गौरवबोध गर्न पनि सम्मिलनले भूमिका खेलेको छ।
प्राचीनकालमा नेपाल अहिलेभन्दा ठुलो भूभागमा फैलिएको इतिहास छ। ‘पूर्वमा ‘कामरूप (आसाम) र पश्चिममा कर्कपुर कुमाउँ र गडवालबिचको देशलाई ‘नेपाल’ भनी वर्णन गरिएको छ,’ भनी विक्रमादित्यका छोरा समुद्र गुप्तको प्रयागस्थित अभिलेखमा पाइन्छ।
हिमवत्खण्ड अर्थात् विशाल तपोभूमि एवं ज्ञानभूमि यहाँबाटै प्रसिद्ध ऋषिमहर्षिहरूले ज्ञानको आविष्कार गरेको सन्दर्भ पुस्तकहरूमा उल्लेख छ। जसले धर्मशास्त्र, नीतिशास्त्र, राज्यशासनका अनेक विषय र विधिविधान सिर्जना गरेका थिए।
यसरी हिमवत्खण्डलाई प्राज्ञिक परम्पराबाट समृद्ध बनाएको तथ्य हामीसामु छ। त्यही हिमवत्खण्डका प्राचीन सभ्यता, सांस्कृतिक, सामाजिक, भौगोलिकलगायतका विविध आयामबारे खोज–अन्वेषण, अध्ययन–अनुसन्धान तथा संरक्षण, संवर्धन र प्रवर्धन गर्न सम्मिलन सेतु बनेको छ। हिमवत्खण्डका मौलिक तथा रैथाने संस्कृति, ज्ञानपरम्परा, तन्त्र–मन्त्र, कला–साहित्य, रीतिरिवाज, शिल्पकला, भेषभूषा, खानपान, मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धन गर्न पनि सम्मिलनले पुनर्जागरण ल्याउने अपेक्षा आयोजकको छ।
के हो हिमवत्खण्ड?
हिमवत्खण्ड भन्नाले पश्चिममा सिन्धु नदीदेखि पूर्वमा ब्रह्मपुत्र नदीसम्म फैलिएको र उत्तरमा मानसरोवर अर्थात् कैलाश पर्वतसम्म फैलिएको हिमश्रृङ्खला र त्यसको काखमा अवस्थित पर्वतीय खण्ड तथा समतल भूभागलाई नै हिमवत्खण्डको नामले चिन्न सकिन्छ। विश्वमा सभ्यताको विकास यसै हिमवत्खण्डबाट भएको हो भन्दा अत्युक्ति हुँदैन।
नेपाल देश यसै हिमवत्खण्डको बिच भागमा रहेको छ। देश सानो भए पनि यसको आफ्नै पहिचान र विशेषता छ। यस भूमिमा कश्यप, वशिष्ठ, जैमिनि, पुलस्त्य, विश्वामित्र, वेदव्यास, कपिलमुनि, याज्ञवलक्य, अष्ठावक्र, गार्गी लगायतका महर्षिहरूको जन्म भएको र यसै भूमिका गुफा तथा शान्त स्थानहरूमा बसेर ऋषि महर्षिहरूले ध्यान, योग, प्राणायामका माध्यमद्वारा विश्वस्तरमै ज्ञानको ज्योति फैलाएको कुरा सर्वविदितै छ। त्यसैले नेपाललाई हिमवत्खण्डको केन्द्रस्थल, पौरस्त्य ज्ञान र सभ्यताको उद्गम स्थल तथा सांस्कृतिक दृष्टिले पनि सुसम्पन्न भूमिका रूपमा लिन सकिन्छ।
वेदका रचयिता वेदव्यास तथा प्राचीन ग्रन्थ तथा व्याकरणका रचयिता पाणिनिको जन्म पनि यसै भूमिमा भएको र वेद, पुराणलगायतका प्राचीन ग्रन्थहरूको लेखन पनि यसै भूमिमा भएको हो भन्दा नेपालको गौरव माथि उठेको आभास हुन्छ। एकैछिन भए पनि राजनीतिक सीमालाई बिर्सिएर हिमवत्खण्डलाई मूल स्थल बनाई यस हिमवत्खण्डमा उद्भव भएका मानवसभ्यता, कला, साहित्य, सांस्कृतिक वैभव तथा भाषाभाषीहरूको पहिचान गर्ने, खोजी गर्ने, अध्ययन–अनुसन्धान गर्ने, संरक्षण र संवर्धन गर्नुका साथै पश्चिममा सिन्धु नदीदेखि पूर्वमा ब्रह्मपुत्रसम्म तथा उत्तरमा मानसरोवरसम्म फैलिएर रहेका कलाकार, साहित्यकार, संगीतकार, संस्कृतिविद्हरूलाई एकै ठाउँमा भेला पारी हिमवत्खण्डको साहित्य, कला, संस्कृतिप्रति गौरवको भावना जागृत गराउने र सामाजिक एकता एवं सद्भावलाई भावनात्मक र व्यावहारिक रूपमै सुदृढ बनाउँदै जाने मूल उद्देश्यसाथ यस सम्मिलनको आयोजना गरिएको आयोजकहरूले जनाएका छन्।
यस सम्मिलनबाट यस क्षेत्रको साहित्य, कला, संस्कृति, परम्परागत ज्ञानको खोजी, विमर्श, संरक्षण, संवर्धन तथा प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस अभियानले नयाँ प्रविधि तथा ज्ञानमा मात्र रमाइरहेका अनि हाम्रो मौलिक सभ्यता तथा संस्कृतिप्रति खासै चासो नराख्ने युवा पुस्तालाई समेत यस हिमवत्खण्डको महत्त्व, महिमा तथा यसले गरेका उपलब्धिबारे जानकारी गराई उनीहरूलाई यस अभियानमा आकर्षित गराउन प्रयत्न गर्नु पनि यस सम्मिलनको अर्को उद्देश्य हो।
यस सम्मिलनमा नेपालका साथै भारतका नेपालीभाषी क्षेत्र सिक्किम, दार्जिलिङ, आसाम, मणिपुर, मेघालय, उत्तराञ्चल लगायत चीन (तिब्बत), बंलादेश, म्यानमार, भुटान, थाइल्यान्डलगायतका मुलुकमा बसोबास गर्ने नेपाली संस्कृतिविद्, साहित्यकार, कलाकार, संगीतकारहरूको सहभागिता रहेको थियो।
उक्त सम्मिलनमा हिमवत्खण्डमा बसोबास गर्ने नेपाली जातिका परम्परागत मौलिक संस्कृति झल्किने सांस्कृतिक झाँकी, वाद्यवादन, गीत–संगीत, शिल्पकला, ललितकला, वेशभूषा, गरगहना, खानपान, आदिको प्रदर्शनी तथा सांस्कृतिक सम्पदा विषयक प्राज्ञिक विमर्शसमेत गरिएको थियो।
थोरै प्रतिष्ठानका बारेमा
नेपाल प्रज्ञाप्रतिष्ठान कानमा तेल हालेर बसेको छ। राज्यको तर्फबाट गर्नुपर्ने यस्ता कार्य एक निजीस्तरबाट सञ्चालित प्रतिष्ठानले गरिरहेको छ। जननेता मदन भण्डारीले नेपालको राजनीति, साहित्य र कलाको क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै उनकै नामबाट २०६७ सालमा स्थापना भएको मदन भण्डारी कला–साहित्य प्रतिष्ठान मदन भण्डारी फाउन्डेसनको आश्रिक संस्थाले ऐतिहासिक कार्यको थालनी गरेको हो।
स्थापनापश्चात् यस प्रतिष्ठानले नेपाली साहित्य, कला, संगीत, संस्कृति आदि क्षेत्रमा विभिन्न तरिकाले काम गर्दै आइरहेको छ। समय समयमा गरिने साहित्यिक कार्यक्रम, अन्तरक्रिया, साहित्यिक तथा सांस्कृतिक महोत्सवलगायत ‘शार्दूल’ प्रकाशन यस प्रतिष्ठानले गरेका मुख्य उपलब्धि हुन्।
यस प्रतिष्ठानद्वारा प्रकाशन हुँदै आइरहेको ‘शार्दूल’ शीर्षकको साहित्यिक पत्रिकामा साहित्यिक रचनाका साथै मदन भण्डारी कला साहित्य प्रतिष्ठानको वैचारिक अवधारणा स्पष्ट हुनेखाले आलेखहरूसमेत प्रकाशन हुँदै आइरहेका छन्।
यस प्रतिष्ठानको आयोजनामा २०७५ साल असार २९, ३० र ३१ गते २०५ औं भानुजयन्तीका अवसरमा हिमवत्खण्ड कला–साहित्य सम्मिलन–२०७५ सम्पन्न भएको थियो। उक्त सम्मिलनमा नेपालभित्र र बाहिरबाट साहित्यकार, कलाकार, संगीतकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उक्त सम्मिलनमा कविगोष्ठी, सांस्कृतिक कार्यक्रम, विभिन्न विषयका कार्यपत्र लेखन तथा प्रस्तुति, सम्मिलनको घोषणा पत्र तथा स्मारिका प्रकाशन गर्ने काम पनि भएका थिए। यसकै निरन्तरता स्वरूप चैत्र १–३ (मार्च १४–१६) मा काठामाडौंमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१ सम्पन्न भएको हो।
प्रकाशित: ९ चैत्र २०८१ ०६:३० शनिबार