माधव नेपालले तीन वर्षअघि नेकपा एमालेसँग छुटेर नेकपा एकीकृत समाजवादी खोले, र त्यसको अध्यक्ष बने । तत्कालीन मालेका एक संस्थापक हुँदै एमालेको महासचिवका रुपमा १५ वर्ष नेतृत्व गरेका उनी त्यसै दलमार्फत् प्रधानमन्त्री समेत बने । असार १६ मा हुने दसौं महाधिवेशनमार्फत उनी फेरि नेतृत्वमा दोहोरिने ताकमा छन् । नेपालले बिहीबार अनलाइनखबरका सुदर्शन खतिवडा र बसन्त बस्नेतसँग यो अन्तर्वार्तामा नेतृत्व, आगामी बाटो लगायत विषयमा सोधिएका प्रश्नको जवाफ दिएका छन् ।
तपाईं नेतृत्वको नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिइरहेको छ । कस्तो छ नयाँ पार्टीको महाधिवेशन तयारी ?
हामीले विद्रोह गरेर बनाएकोले नयाँ पार्टी नै भन्नुपर्यो । नेकपा एमालेबाट विद्रोह गरेर गठन गरेकोले यो कम्युनिस्ट आन्दोलनकै निरन्तरता हो । यो पार्टी बनाउनुपर्ने एउटा बाध्यता भयो र निर्माण गरेका हौं । यो काम हामीले नगरेको भए राज्यका त्यतिबेलाका गलत कामलाई स्वीकार गरेको र संविधानलाई मिच्ने कुरालाई साथ वा प्रोत्साहन दिएको हुन्थ्यो ।
पार्टी विधिसंगत ढंगले र राज्य सञ्चालनमा पनि संविधानसम्मत ढंगले हुनुपर्छ भन्ने कुरामा हामीले अडान लियौं र त्यो कुरा पार्टीभित्र उठायौं । त्यसको निम्ति निरन्तर मिहिनेत गर्यौं, पटक-पटक सुधार्ने कोसिस र पहल पनि गर्यौं । तर तत्कालीन नेतृत्व केपी ओलीमा अहंकार भयो ।
जनताले त्यत्रो विश्वास गरेर दिएको मत र सिट, झण्डै दुई तिहाइको बहुमतको अवस्थाको सदुपयोग गर्न सक्नुभएन । सबैको ज्ञान, बुद्धि र अनुभवलाई प्रयोग नै गर्न चाहनुभएन । सबैसँग सामूहिक सल्लाह गरेर चल्ने तरिका उहाँले अवलम्बन नै गर्नुभएन । उहाँमा व्यक्तिवादी प्रवृत्ति बढ्यो । ती सबै कारणले गर्दा पनि हामीले नयाँ पार्टी बनायौं ।
यो दुई तीन वर्षमा नयाँ पार्टी निर्माणको औचित्य सावित हुने गरी तपाईंहरूले काम गर्नुभयो त ?
हामीले मैले माथि भनेको पृष्ठभूमिमा नयाँ पार्टी बनायौं । राष्ट्रिय राजनीतिमा यसको आफ्नै महत्व र भूमिका छ । सबैले यो भूमिकालाई स्वीकार गरिरहेको अवस्था पनि छ । हामीले देशैभरि संगठन विस्तार गरेका छौं ।
७७ वटै जिल्ला, ६०० भन्दा बढी पालिका र हजारौं वडाहरूमा पार्टी कमिटी बनेका छन् । यसले कम्युनिस्ट आन्दोलनको निम्ति योग्य र सक्षम कार्यकर्ताहरू निर्माण गरिरहेको छ । जनताका निम्ति र हितमा काम गर्ने योद्धाहरू पैदा गरिरहेका छौं ।
अहिले महाधिवेशनको सम्मुखमा आउँदा एकीकृत समाजवादीभित्र जबज चाहिन्छ/चाहिंदैन, अगाडि बढेर समाजवादी क्रान्ति पो ल्याउनुपर्छ भन्ने बहसहरू पनि चलिरहेको देखिन्छ । पार्टी नेतृत्वका रूपमा यी विचारहरूलाई कसरी अगाडि लिएर जाँदै हुनुहुन्छ ?
यी विचार हामीले नै पार्टी बनाउने बेलामै ल्याएको हो । यो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी राखेको हामीले नै हो । कसैले दाबी गरे जस्तो त्यसमा कुनै सत्यता छैन । उनीहरूलाई थाहा थिएन । जानकारी पनि थिएन कि हामीले गरेको हो ।
दोस्रो, यो पार्टीको समाजवादी क्रान्तिको कार्यक्रम सम्बन्धी मान्यतालाई पनि त्यही बेलामा दस्तावेजीकरण गरेका छौं । पार्टी गठन गर्ने बेलाको घोषणापत्र अहिले पनि छापिएको छ, हेर्दा हुन्छ । अर्थात् यो विचार ल्याउने अरु कोही होइन, हामी हौं । बरु अरु अरुको त्यो बेलामा अत्तोपत्तो थिएन या उनीहरूले भूमिका खेल्ने अवस्था पनि थिएन । ढुलमुल ढुलमुल गरिरहेका थिए । हामी दृढताका साथ अगाडि बढिरहेका थियौं । त्यसैले समाजवादी क्रान्तिको कार्यक्रम चाहिन्छ भनेर सुरुदेखि हामीले भनेका हौं ।
उसोभए जनताको बहुदलीय जनवादबाट तपाईंहरू अब अगाडि बढ्नुभयो ?
जबज जनवादी क्रान्तिको कालमा हामीले अगाडि सारेको कार्यक्रम हो । त्यसका दुइटा पक्ष छन्- जनताको बहुदलीय जनवाद किन भन्नुपर्यो ? पुष्पलालको नयाँ जनवादको कार्यक्रम भने पुगिहाल्थ्यो । त्यसैले काम चलिरहेकै थियो । उस्तै उस्तै उही मात्रै हो भने त पुष्पलालको कार्यक्रम भने भइहाल्थ्यो । किन ? जबजमा केही नयाँ पक्षहरू थिए, बहुदलीय प्रतिस्पर्धाको बाटोमा अगाडि बढ्ने र विपक्षी पार्टीहरूको अस्तित्व र अल्पमतको आवश्यकता या भूमिकालाई पनि स्वीकार गर्नुपर्छ । बहुमतको सरकार, अल्पमतको विपक्षलाई सहज रूपमा लिनुपर्छ । कम्युनिष्ट पार्टीले अधिनायकवादी नभएर लोकतान्त्रिक चरित्र अवलम्बन गर्नुपर्छ ।
जबजको जनवादी क्रान्तिका कार्यक्रम बाहेक तीनवटा अर्का महत्वपूर्ण पक्ष थिए- पहिलो, बहुदलीय प्रतिस्पर्धामा विश्वास गर्ने, दोस्रो- लोकतन्त्रीकरणको मान्यतालाई अवलम्बन गर्ने, तेस्रो- प्रतिस्पर्धामा उत्रने क्रममा पहलकदमी लिने, त्यसको निम्ति सबै हिसाबले आफ्नो श्रेष्ठता सावित गर्न मिहिनेत र अगुवाइ गर्ने । यी नेपाली राजनीतिको सन्दर्भमा नयाँ विचार थिए ।
यी विचार नेपाली समाजको अहिलेको विश्व परिस्थितिको अध्ययन र अनुभवको आधारमा आए । जब समाजवादी विश्व ढल्न थाल्यो, समाजवादी सोभियत संघ समाप्त हुने स्थिति बन्यो, प्रतिक्रियावादी र विरोधी शक्तिहरूले अब समाजवादको युग खत्तम भयो भनेर खुब प्रचार गरे । कतिपय मानिसमा त निराशा पनि पैदा भयो ।
एमाले र एकीकृत समाजवादी उस्तै–उस्तै देखिने चुनौतीलाई यो महाधिवेशनमा कसरी लिएर जानुहुन्छ ?
आठौं र नवौं महाधिवेशनले गलत लाइन पास गर्यो, त्यहींबाट गल्ती भयो । आठौं महाधिवेशनमा गलत लाइन पास भएर सिंगो पार्टी पंक्तिलाई गलत दिशामा लैजाने काम भयो, त्यो एउटा गम्भीर गल्ती भएको थियो ।
बुटवल र काठमाडौं महाधिवेशनलाई संकेत गर्नुभयो । त्यो गल्ती कसले गर्यो ?
त्यो चाहिं म यसै भनिहाल्दिनँ ।
यसलाई थप प्रष्ट बनाऔं । बुटवलको आठौं महाधिवेशनबाट झलनाथ खनाल र काठमाडौंको नवौं महाधिवेशनबाट केपी ओली नेतृत्वमा आउनुभएको होइन ?
जनताको बहुदलीय जनवादलाई त्यतिबेला मार्गदर्शक सिद्धान्तको रूपमा ल्याइयो । जबकि हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद नै हो र त्यही हुनुपर्दथ्यो । हो, जबजले मार्क्सवाद-लेनिनवादका कतिपय पक्षहरू नेपालको सन्दर्भमा अघि बढाउनका लागि भूमिका खेल्यो ।
जनकपुरको सातौं महाधिवेशनबाट महासचिव चुनिंदासम्म जबज एमालेको मार्गनिर्देशक सिद्धान्त भइसकेको थिएन ।
झलनाथलाई पार्टी अध्यक्ष बनाएको आठौं र ओलीलाई अध्यक्ष बनाएको नवौं महाधिवेशनले मार्गनिर्देशक सिद्धान्त बनाउने गल्ती गर्यो भन्न खोज्नुभएको ?
यसको स्वामित्व र जिम्मेवारी उहाँहरूले लिनुपर्छ । र त्यतिबेला गल्ती भयो भनेर सबैसमक्ष आत्मालोचना गर्नुपर्दछ । किनभने मार्गदर्शक सिद्धान्त त्यतिबेला पनि भन्नुहुँदैनथ्यो । आज त भन्ने कुरै भएन । हामीले जबजलाई लोकतन्त्रीकरण, पहलकदमी, नेतृत्व, प्रतिस्पर्धाको राजनीतिलाई अवलम्बन गर्ने र बहुदलीयतालाई स्वीकार गर्ने हिसाबले अगाडि सारेको हो । किनभने त्यतिखेर संसारको कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टी सर्वहारावर्गको अधिनायकत्वको नाममा अधिनायकवादको पक्षमा छ, निरंकुश ढंगले एकदलीय तानाशाही धारमा चलिरहेको छ भन्ने आरोप थियो ।
हामीले भन्यौं- नेपालको राजनीतिमा राजाले म हुँ राष्ट्रियताको प्रतीक भनेर नारा दिने गरे । हामीले राजा होइन, हामी हौं भनिरहेका थियौं । किनकि ००७ सालको क्रान्तिताका दिल्लीमा गरिएको सम्झौताको विरोध गरेर आवाज बुलन्द गर्ने काम कम्युनिस्ट पार्टीले गरेको थियो ।
दोस्रो, निरंकुश राणा शासनलाई ढालेर प्रजातन्त्र ल्याउने कामको अगुवाइ गर्दै पनि आयौं । प्रजातन्त्रको मसिहा कांग्रेसलाई मान्ने गरिएको थियो । हामीले कांग्रेस मसिहा होइन, वास्तविक लोकतन्त्रको प्रवक्ता, सम्बल, खम्बा त कम्युनिस्ट पार्टी हो ।
जबज भनेको कालातीत भइसक्यो । जबज भनेको थोत्रो लुगा हो भन्ने हो भने त्यतिबेलाको सबैभन्दा रिफाइन्ड (परिष्कृत) लुगा त त्यही थियो नि ! आजको परिष्कृत लुगा समाजवादी क्रान्तिको कार्यक्रम हो भने त्यतिबेलाको त जबज नै हो ।
किनकि यो जनतालाई अधिकार दिलाउँदै देशको मालिक बनाउन जनताको इतिहास निर्माण गर्ने भूमिकालाई प्रष्ट पार्नका निम्ति उजागर गर्नका निम्ति भूमिका खेल्ने भएको हुनाले कांग्रेस पार्टीभन्दा लोकतान्त्रिक पार्टी अरु कुनै छैन भन्ने कुरालाई हामीले चिर्दै आएका छौं ।
तेस्रो, जनजीविका, न्याय र समानताको सवाललाई बुलन्द गर्ने र जनताको पक्षपोषण गर्ने कम्युनिस्ट पार्टी नै हो भन्दै आयौं । पुष्पलालले पनि राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको झण्डा बोक्दै आउनुभयो ।
अहिले तपाईंहरूको मार्गदर्शक सिद्धान्त के हो त ?
मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हो । हामी क्रान्तिकारी र सर्वहारा वर्गीय दृष्टिकोण अँगाल्छौं । उदार लोकतन्त्रवादी विचार हाम्रो होइन । वैज्ञानिक समाजवादको विचार हो । हामी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा विश्वास गर्छौं । मार्क्सवादका तीनवटा महत्वपूर्ण संघटक अंगहरूमा विश्वास गर्छौं ।
जबजलाई मार्गदर्शक सिद्धान्त नभएर एउटा कार्यक्रमको रूपमा मात्र व्याख्या गर्नुभयो । जबजलाई अद्यावधिक वा विस्थापन गर्ने नयाँ कार्यक्रम विकास गरेका छौं भन्न खोज्नुभएको हो ?
विस्थापन नै गर्नुपरेन । हामी नयाँ चरणमा आइपुगेका छौं । हिजो अर्धसामन्ती, अर्धऔपनिवेशिक चरणमा जनवादी क्रान्तिको कार्यक्रमको आवश्यकता पर्थ्यो । अहिले हामी पूँजीवादी चरणमा आइसकेका छौं जहाँ समाजवादी क्रान्तिको कार्यक्रमको आवश्यकता पर्छ ।
जबजलाई नै कार्यान्वयन गरेर नयाँ चरण अर्थात् अहिलेको अभिभारा पूरा गर्न सकिन्न ?
किनभने समाज नै नयाँ उचाइमा पुगिसकेकोले कार्यक्रम पनि नयाँ उचाइमा हुनुपर्यो । तर जबज भनेको कालातीत भइसक्यो । जबज भनेको थोत्रो लुगा हो भन्ने हो भने त्यतिबेलाको सबैभन्दा रिफाइन्ड (परिष्कृत) लुगा त त्यही थियो नि ! आजको परिष्कृत लुगा समाजवादी क्रान्तिको कार्यक्रम हो भने त्यतिबेलाको त जबज नै हो ।
जबज र तपाईंले भनिरहनुभएको समाजवादी क्रान्तिको कार्यक्रमलाई तुलना गरिदिनुस् न !
जबज भनेको जनवादी क्रान्ति कालको कार्यक्रम थियो । अब त हामी फड्को मारिसक्यौं नि ! किनभने समाज नै परिवर्तन भइसक्यो । अहिले पूँजीवादी चरणमा प्रवेश गरेका छौं । हिजो हामी अर्धसामन्ती अर्धऔपनिवेशिक चरणमा थियौं ।
क्रान्तिकालपछि जन्मेको नयाँ पुस्ताले तपाईंका अर्धऔपनिवेशिक, अर्धसामन्ती, पूँजीवादी, समाजवादी लगायत भाषा बुझ्नै छोडिसक्यो नि ?
म अर्को भाषामा भन्छु । यो थाहा पाउनु पर्यो कि समाजमा जमिनदार भएको शासन व्यवस्थालाई सामन्ती व्यवस्था भनिन्छ । जमिनदार भनेको जग्गाको मालिक र मोही हुने चलन हो । समाज आदिम साम्यवाद, दास समाज (दास र मालिक थिए, ग्रीसको त्यत्रो विद्रोह भयो र त्यसपछि मात्र त्यो समाज सामन्ती समाजमा प्रवेश गर्यो । फ्रान्सेली राज्य क्रान्ति भयो, सामन्तवादका विरुद्धमा पूँजीवादी क्रान्ति भयो । त्यसपछि सामन्तवादको युद्ध समाप्त भयो) ।
यी विश्वका सन्दर्भमा थाहा हुनुपर्यो । पूँजीवादी देशहरू विकास हुन थाले । पहिले पहिले के थिए ? पहिले मातृसत्तात्मक समाज थियो । जो आमा हुन्थ्यो उही नै त्यसको अगुवा हुने गर्दथ्यो । इतिहासको सृष्टि कसरी भयो, इतिहास कसरी अगाडि बढ्यो भनेर नयाँ पुस्ताले पढ्नुपर्यो नि ! नपढी कसरी थाहा हुन्छ ?
तपाई ५० वर्षअघिदेखि कुनै न कुनै रूपमा नेतृत्वमा हुनुहुन्छ । त्यतिखेर पनि यस्तै कुरा भन्नुहुन्थ्यो । अहिले पनि यस्तै कुरा भन्नुहुन्छ । कहिलेसम्म यही भनिराख्नुहुन्छ ?
पृथ्वी गोलो छ त जहिले पनि भनिराख्नु परेन र ? गतिको नियमलाई त कसैले पनि बिर्सन सक्दैन । इतिहासको ज्ञान हुनुपर्यो नि ! मेरो बाजे यस्तो थियो भनेर थाहा त पाउनुपर्यो नि !
यति लामो समयसम्म नेतृत्व गर्दागर्दा थाक्नुभएको छैन ? यसलाई बिसाइदिऊँ अब भन्ने लागेको छैन ?
अब त नयाँ पुस्ताहरू आउनुपर्छ । स्वाभाविक रूपमा हामीले सधैं बस्ने पनि होइन । हामीले त लोकतान्त्रिक विधि पनि अपनाएका हौं । एउटै व्यक्ति सधैंभरि बस्ने कुराको पक्षमा हामी छैनौं । मरुन्जेलसम्म पनि कुर्सी ओगटेर बस्ने पक्षमा म त छैन ।
पुस्तान्तरण हुँदैछ त यसपालि महाधिवेशनमा ?
अहिले पुस्तान्तरण हुने कुनै सम्भावना देख्दिनँ । नयाँ पुस्ताले विद्रोहको अगुवाइ गर्न सकेन । पुरानै पुस्ताले गर्नुपर्ने स्थिति बन्यो ।
एमालेसँगको विद्रोहको कुरा गर्नुभएको ?
![‘सबैले तपाईंको विकल्प छैन भनिरहेका छन्’ ‘सबैले तपाईंको विकल्प छैन भनिरहेका छन्’](https://www.onlinekhabar.com/wp-content/uploads/2024/06/Madhav-Kumar-Nepal-7.jpg)
घनश्याम भुसाल वा अरु कोही नेता आएर अहिले तत्काल नेतृत्वमा दाबा गर्ने स्थिति छैन ?
दाबा गर्न त पाइहालिन्छ नि ! कुन ठूलो कुरा भयो र ? लोकतान्त्रिक विधिमा जाने भनिसकेपछि ज-जसलाई मन लागेको छ, १०-१५ जना जतिलाई इच्छा लागेको छ, प्रतिस्पर्धामा सबै आउन सक्ने भए । पार्टी सदस्यले के भन्छन् ? हामी लोकतन्त्रीकरणको कुरा गर्ने अनि पार्टीका सदस्य र कार्यकर्ताले भनेको र निर्णय गरेको कुरालाई नमान्ने कुरा त हुँदैन ।
झण्डै तीन दशक बढी कुनै न कुनै हिसाबले पार्टीको मुख्य भूमिकामै रहनुभयो । प्रधानमन्त्री पनि बन्नुभयो । अझै पनि मेरै नेतृत्वको अपरिहार्यता छ भनिराख्नुभएको छ । सर्वसम्मत नहुने अवस्थामा नयाँ पुस्तासँग नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा गर्न पनि तयार हुनुहुन्छ ?
विद्रोह गर्दा कहाँ थियौं हामी ? २०३२ सालमा कोअर्डिनेसन केन्द्रको विद्रोह गर्दा अगुवाइ सीपी मैनाली र मैले गर्यौं । पहिलो नेता त सीपी मैनालीलाई मान्नुपर्यो । आफ्नो ठाउँको नेता म पनि हुँ । दुई जनाको संयुक्त प्रयत्नबाट मात्रै अगाडि बढेको हो । जम्मा २३ वर्षको उमेरमा आँट गरेको हुँ । कसको थियो आँट ? कसले गर्यो आँट ?
आँट गर्ने दुवैजना अहिले किन अलि परपर देखिनुभएको त ?
सीपी मैनालीको पछि गएर अलिकति हुँदैन अहिले भन्ने थियो । उहाँ मोरङ संगठनको हो, झापा संगठनको होइन । विद्रोह गरेर अगाडि बढ्ने झापा संगठन हो । सबैको आआफ्नो भूमिकालाई त स्वीकार गर्नुपर्यो नि ! त्यतिबेला विद्रोहको अगुवाइ गर्ने त मोहनचन्द्र अधिकारी हुन् । त्यो त मान्नुपर्यो नि ! केपी ओलीको पनि भूमिका रहेकै हो । होइन भनेर भन्न पाइन्छ !
झलनाथ खनालको के भूमिका थियो त्यतिबेला ?
उहाँ पनि कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य हुनुहुन्थ्यो । कोकेको केन्द्रीय सदस्य हुनुभयो भने म त्यसको पोलिटब्यूरो सदस्य भएँ ।
त्यसको ७ वर्षपछि उहाँ पार्टीको महासचिव हुनुभयो । तपाईंहरू सबैले उहाँलाई साथ दिनुभयो ?
साथ दिनुभयो होइन, मैले ल्याएको हो । मलाई त्यो भूमिकामा सीपी मैनालीले प्रस्ताव गर्नुभएको थियो । दोस्रो वरीयतामा मै थिएँ ।
तपाईंले किन लिनुभएन त्यो जिम्मेवारी ?
त्यतिखेर हामी काउछो भन्थ्यौं त्यो पदलाई । यो पद लियो कि हैरान हैरान हैरान हुने । अनि मैले जीवराज आश्रितलाई ‘तपाईं बन्नुस्’ भनेर प्रस्ताव लिएर गएँ । ‘अहँ हुँदैन, म बन्दिनँ’ भन्नुभयो । मदन भण्डारीलाई पनि प्रस्ताव गरें । उहाँले पनि मान्नुभएन ।
नेत्रलाल अभागी आएर गम्भीर भएर, ‘कमरेड यो पार्टीलाई बचाउनुस्, तपाईंले नै बचाउन सक्नुहुन्छ’ भनेर मलाई भन्न आउनुभयो । ‘बन्छ, बन्छ, चिन्ता नगर्नुस्, मैले तयारी गरिसकेको छु’ भनें । किनभने मैले झलनाथलाई तपाईं महासचिव बन्नुपर्छ भनिसकेको थिएँ ।
कस्तो समय थियो त्यो महासचिव पद लिन पनि कोही तयार नहुने ?
जीवराजले पनि मलाई भन्ने । मदन भण्डारीले पनि मलाई भन्ने । भएकामध्ये झलनाथलाई गरौं भनेर मैले भनें । वामदेव गौतमले मान्दै मान्नुभएन । ‘हुँदैन, झलनाथ जस्तो मानिसलाई’ भनेर उहाँले विरोध गर्नुभयो । मैले भनें, ‘कोही पनि भएन भने के हुन्छ ? ‘
अवस्था कस्तो भइसकेको थियो भने कमिटीको बैठक बस्यो, सीपी मैनालीले माइन्युट फाल्दिए । कोके नेकपा माले भइसकेको थियो । सीपीलाई गुटवादी भन्ने आरोपले पोलिरहेको थियो । आरोप लगाउने केपी ओली र राधाकृष्ण मैनाली । सीपी अलि रिएक्टिभ मान्छे, मलाई यो आरोपबाट मुक्त नगरेसम्म म यो पदमा बस्दै बस्दिनँ भने । जहिले पनि कचकच गरिरहने । बैठक बस्यो कि म छोडें भनिहाल्ने । अहिले त के हो र ! म त यस्ता कति धेरै भोगेर आएको मान्छे । यसलाई कुनै ठूलो कुरा ठान्दिनँ ।
अनि मलाई याद छ, नेत्रलाल अभागी आएर गम्भीर भएर, ‘कमरेड यो पार्टीलाई बचाउनुस्, तपाईंले नै बचाउन सक्नुहुन्छ’ भनेर मलाई भन्न आउनुभयो । ‘बन्छ, बन्छ, चिन्ता नगर्नुस्, मैले तयारी गरिसकेको छु’ भनें । किनभने मैले झलनाथलाई तपाईं महासचिव बन्नुपर्छ भनिसकेको थिएँ । झलनाथले एक्कै पटकमा हुन्छ भनिहाल्नुभयो । अरु कोही मान्नुभएको थिएन ।
उहाँले सजिलै मान्नुभएछ !
हो, मानिहाल्नुभयो । त्यसपछि बैठकमा महासचिव चुन्नेबेला गल्ती के भयो भने सीपी मैनाली आफैं हट्छु भन्ने मान्छेलाई हट्न दिइएन, राजीनामा दिएर जानुपर्नेमा, मदन भण्डारी पनि अलि बढी तात्नुभयो । कारबाही गर्नुपर्छ भन्ने कुरामा जानुभयो ।
कारबाही चाहिं किन नि ?
कारबाहीको कारण थियो । जेलमा उहाँले एउटा चिठी पठाइदिनुभयो । त्यतिबेला निर्णय जेलमा चिठी पठाउनु खतरा हुन्छ, कुनै पनि प्रहरीले चिठी फेला पार्यो भने सबै सूचना थाहा पाउँछ भन्ने थियो । त्यतिबेला चीनको भ्रमणका लागि सबै व्यवस्था मैले गरेको थिएँ । तब न म दाबाका साथ भन्छु ।
सीपी मैनाली र ईश्वर पोखरेल पहिलो पटक २०३७ सालमा चीन गए । त्यसपछि दोस्रो टोली, २०३८ सालमा म, जीवराज आश्रित र अमृत बोहरा गयौं । त्यो चिठीमा हामी चीन गएको भनेर लेख्नुभयो ।
भूमिगतकालमा ! गोपनीयता भंग गरेको भनेर उहाँ (सीपी मैनाली)लाई कारबाही गर्यौं । त्यसले उहाँलाई अहिलेसम्म पोलिरहेको छ । मैले त्यतिबेला पनि कारबाही नगरौं भनेको थिएँ ।
उतिबेलै तपाईंले झलनाथ खनाललाई प्रस्ताव गरेर महासचिव बनाउनुभएको रहेछ । अब उहाँले यसपालि तपाईंलाई गुन तिर्नुपर्छ भन्ने त होइन नि ?
त्यो त थाहा छैन ।
नेकपाकालमा केपी ओलीलाई कारबाही गर्नेबेला प्रचण्ड र तपाईं अध्यक्ष हुनुभएको थियो । त्यतिबेला तपाईंलाई झलनाथले अध्यक्षमा प्रस्ताव गर्नुभएको थियो, होइन र ?
बुझ्नुपर्यो नि त ! हामी त्यतिबेला विद्रोह गरेर आएको बेला थियो (लामो हाँसो) के गर्नु त !
त्यो बुझ्ने परिस्थिति फेरि छ त ?
थाहा छैन । तपाईंले आफैं बुझ्नुपर्छ । मैले त कुरा गरेको छैन । बरु अरु अरुले आफ्नो आफ्नो ढंगले पहल गरिरहनुभएको छ । एउटा समूह (पार्टी पदाधिकारीहरूको) नै आएको थियो । उनीहरूले अहिले विवाद गर्नुहुँदैन, तपाईं सर्वसम्मत अध्यक्ष हुनुपर्छ, त्यसको विकल्प छैन, महासचिवमा घनश्याम भुसाललाई ल्याउनुपर्छ भनेर मलाई भनेका थिए ।
अनि त्यो समूहले झलनाथ खनालको व्यवस्थापनको बारेमा के प्रस्ताव ल्यायो ?
त्यो त के ठूलो कुरा भयो र ? व्यवस्थापन छँदैछ नि ।
अहिलेजस्तै सम्मानित नेता भएर बस्ने भन्नुभएको ?
अरु के हुन्छ त ? एउटा पार्टीमा (हाँस्दै) ।
तर उहाँले एउटा अन्तर्वार्तामा भन्नुभएको सुनेको थिएँ । मेरो नाममा समझदारी हुन्छ भने अध्यक्ष माधव नेपालले भन्नुभएको जस्तै समझदारीबाटै महाधिवेशनबाट नेतृत्व टुङ्गिन्छ, होइन भने चुनाव हुन्छ भनेर !
ठिक छ त । त्यसलाई मैले अन्यथा रूपमा लिन्नँ । प्रतिस्पर्धामा म लड्दै आएको मानिस हुँ । विश्वास गर्दै आएको हुँ । प्रतिस्पर्धाको राजनीतिको वकालत गर्ने मदन भण्डारीपछि मै हुँ । मदन भण्डारीपछि बहुदलीय जनवादको व्यापक रूपमा पक्षपोषण गर्ने मानिस मै हुँ ।
झलनाथले एउटै मानिस अध्यक्ष भइराख्छु भन्नु सामन्ती वा राजतन्त्रकालीन कुरा भयो भन्दै हुनुहुन्थ्यो नि !
त्यही त, कतिचोटि भएको छु र ? भर्खरै त महाधिवेशन पहिलोचोटि हुँदैछ ।
अघि तपाईंले नयाँ पुस्तालाई गम्भीर आरोप लगाउनुभयो । यिनीहरूले विद्रोह नै गरेनन् भनेर ?
किन नगर्नु । नयाँ पुस्ताले पनि गर्यो । उनीहरूले साथ नदिएको भए मैले कसरी गर्न सक्थें र ?
तर अगुवाइ गर्न सकेन भन्नुभएको ?
गरेनन् नि त । सही कुरा त हो नि !
तर एउटा सफल नेतृत्व त्यो होला जसले पिरामेडिकल्ली विद्रोहको चेतना सहितको सक्षम नेतृत्वको विकास गर्न सक्छ । त्यस्तो नयाँ पुस्ता जन्माउन सक्नुभएन कि जन्मनै दिनुभएन ?
धैर्य त राख्नुपर्यो नि । आँट पनि हुनुपर्यो ।
तपाईंहरू नेतृत्वदायी भूमिकामा हुनुभएको पाँच दशक बढी भइसक्यो । २३ वर्षमै मैले विद्रोह गरें भन्नुभयो । अहिले ७१ वर्षमा दौडिरहँदा पनि नेतृत्वमा दाबी गरिरहनुभएको छ ?
के गर्नुहुन्छ त ? अहिले ७५ वर्षमा भारतका नरेन्द्र मोदी छँदैछन् । उता अमेरिकामा जो बाइडेन ८० नाघेकै छन् । चीनमा सी जिनपिङ ७६-७७ वर्षको उमेरमा पुगिसके । नयाँ पुस्ता भनेको हो ? कुन कुन देशको उदाहरण चाहियो संसारको ? अरु पनि चाहियो उदाहरण ?
एमालेमै रहँदाखेरि ७० वर्षको उमेरहद तपाईंहरूले नै तोक्नुभएको हो नि, अमेरिका र चीनले हो र ?
पछि त्यो पारलाग्दैन भन्ने भयो होला । हामीले हटाएको त होइन । कार्यकर्ताले नै हटाए होलान् ।
एमालेले हटायो भन्दैमा तपाईंहरूले पनि हटाइहाल्नुपर्छ त ?
खोइ, त्यसको आवश्यकता महसुस भयो होला । आवश्यकता महसुस भएर न होला । किनभने उमेर केही पनि हुँदैन, क्रान्तिकारी चेत र स्पिरिट हुनुपर्छ । क्रान्तिकारी चरित्र हुनुपर्छ । मैले भन्ने गरेको छु- क्रान्तिकारी चेत केही पनि छैन । खट्दा पनि खट्दैन । भ्रष्टाचारमा मुछिन्छ । लोभलालचमा फस्छ ।
जनताको सेवा होइन, ठग्ने काम गर्छ । अनि युवा भनेर हुन्छ ? आम रूपमा मैले भन्न खोजेको । उमेर हुँदैन । उसको समग्र पक्षको (मूल्याङ्कन) को आधारमा हुन्छ । पार्टीमा युवाहरूलाई प्रोत्साहन गरिरहेका छौं । आइरहेका छन् । केन्द्रीय कमिटीमा, नेतृत्वमा हामीले राम्रा युवाहरूलाई लगेका छौं । तर युवाको नाममा, कामै नलाग्ने युवाहरू पनि छन् कतिपय । साँझ परेपछि रक्सीको घैंटोमा आफ्नो टाउको घोप्टो पार्छन् । त्यसलाई म मन पराउँछु ? युवा संघको नेता भनेको छ ! कार्यकर्ता भएका छन् । अनि राम्रो आचरण देखाउनु परेन ?
नयाँ पुस्ताको त मज्जाले आलोचना गर्नुभयो । तपाईंहरूको पुस्ता पनि सत्ताकै लुछाचुडी र भागबन्डामा व्यस्त र मस्त देखिन्छन् । पार्टी फुटिरहेका छन् । जनताका एजेन्डा अलपत्र छन् । फुटेर बनेको पार्टीमा पनि फेरि उस्तै पदकेन्द्रित विवाद छन् । हुँदाहुँदा जनता दिक्क भएर हिजो राजालाई गलत भनेको दल पनि उस्तै रहेछन् भन्न थालिसके नि ?
मैले उहिलेका विवादका कुरा सुनाइनँ ? विवादबाट नआत्तिनुस् । यो संसारमा बाँच्नुछ भने विवादको बीचमा बाँच्नुस् । विवाद नै हुनुहुँदैन भन्ने हो भने यो संसार छोडेर हिंड्नुस् । समाजमा द्वन्द्व हुन्छ । द्वन्द्व प्रकृतिको नियम हो । यसबाट कोही पनि मुक्त हुनसक्दैन ।
पार्टीहरू झगडामा अस्तव्यस्त भइरहँदा जनताका मुद्दा अलपत्र परेका छन् । आम रूपमा निराशा र आक्रोश बढिरहेको छ नि ?
जनताको एजेन्डामा विवाद हुनुपर्छ । निजी कुराहरूमा विवाद गर्नुहुँदैन ।
अहिले धेरै राजनीतिक विवाद निजी कुरामै देखिन्छन् ? पद, प्रतिष्ठा, भागबन्डा लगायत ?
त्यस्तो छ भने त्यो पनि ठिक होइन । जनताको, राष्ट्रको एजेन्डामा, जनताको पीरमर्कामा, राष्ट्रको हितमाथि कुठाराघात गर्ने स्थितिमा विवाद हुन्छ, गर्नुपर्छ ।
तपाईं त दलहरूको शीर्ष नेतृत्वको बैठकमा सहभागी भइरहनुहुन्छ । सिंहदबार र बालुवाटार लगायत ठाउँमा हुने यस्ता बैठकमा जनताको समस्या बारे कहाँ छलफल हुन्छ र ? केवल भागबन्डा र स्वार्थको राजनीतिमै अल्मलिनुहुन्छ भन्ने आरोप छ नि ?
जनताका कुराहरू हुँदैहुँदैनन् भन्ने होइन । जति हुनुपर्ने हो, त्यति नभएको हुनाले त्यो गरियोस् भन्ने कुराको मैले माग गर्दै आइरहेको छु । जनताको सँगै हाम्रो पार्टीको पनि मुद्दा हुन्छन् । कोशी प्रदेशमा अहिले सरकारमा आउने कुरा चलिरहेको छ । एजेन्डा त हामीले नै उठाउनुपर्यो ।
त्यसैगरी सुदूरपश्चिममा मन्त्रिमण्डलले पूर्ण आकार लिने कुरामा समस्या भइरहेको थियो । हामीले उठाएर नै त्यो कुरा मिल्यो । मधेश प्रदेशमा हामी एउटा गठबन्धनमा थियौं, त्यो पनि एजेन्डा नै थियो । हामी सरकारमा भएकोले बजेटकै एजेन्डा होला । नीति कार्यक्रमको बेला त्यसैको कुरा होला । बजेटमा बजेटका एजेन्डा होलान् । एजेन्डा त सबैका हुनसक्छन् । कहीं अन्याय र अव्यवस्था भइरहेछ भने नेता भएकोले ती कुरा पनि उठाउनै पर्यो ।
प्रदेशका सरकार गठनमा एमालेसँग सहजै कुरा मिल्न सकेको त देखिएन नि ?
अहिले समस्या छैन । सुदूरपश्चिममा मन्त्रिमण्डलले पूर्णता पाइसक्यो ।
एमालेसँग सद्भाव विकास हुँदै जान्छ त ?
होस् भन्ने चाहना छ ।
हालसालै जसपा नेपाल विभाजन भएपछि अब एकीकृत समाजवादी विभाजन गर्ने प्रयास भइरहेको छ भन्नुभएको थियो । हामी निशानामा छौं भन्नुभयो । कुनै तथ्य प्रमाणकै आधारमा बोल्नुभएको त होला नि ?
तपाईंहरू (आमसञ्चारमाध्यम) ले दिएको सूचनाको आधारमै होला । पत्रपत्रिकाले दिएको सूचनाकै आधारमा हो नि ।
साँच्चै फुटाउन प्रयास गरिरहेका छन् कि छैनन् त ?
कतिपय व्यक्तिमा विचलनको कुरा सुनिएको हो । हो होइन भन्ने बारेमा हामीले बैठक पनि बोलायौं । सबै एकताबद्ध भएर अगाडि बढ्ने कुरामा सबैले प्रतिबद्धता व्यक्त गरे ।
त्यसो भए, हाललाई पार्टी फुट्दैन ?
फुट्दैन ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटा अन्तर्वार्तामा पद बाहिर पुगेपछि आफ्नो अनुभव र क्षमता समाजको हितमा उपयोग गर्ने वातावरण नै रहेनछ भन्दै हुनुहुन्थ्यो । नेपालमा पदका लागि मरिहत्ते गर्ने प्रचलन पदमुक्त भएपछि समाजले स्पेस र महत्व नदिने संस्कृति भएर हो ?
पटक-पटक नेतृत्वमा दोहोरिने कुरा त एउटा समयसम्म हो । कतिपयले नगरे पनि हुने हुन्छ । संसारमा त्यस्तो नगरेको पनि देखिन्छ । किन गर्छन् त्यो पनि प्रश्न छ । किनभने एउटा सीमासम्म त ठिकै हो । सीमाभन्दा बढी जानुहुँदैन । कतिपय अशक्त हुँदासम्म पनि छोड्दैनन् । यस्तो अभ्यास गलत नै हो ।
मलेसियामा महाथिर आउन आवश्यक थिएन । बेइज्जत मात्रै भयो । उनको आफ्नै छवि बिगारे । तगडा हुँदासम्म त ठिकै हो । होइन भने किन बन्नुपर्यो ? त्यो देशले, त्यहाँका जनताले किन स्वीकार गरेका होलान् ? भन्ने लाग्छ ।
एमालेसँग विद्रोह नगरेको भए दास बनेर बस्नुपर्थ्यो पनि भन्नुभयो । कहिलेकाहीं एक्लै बसेर सोच्दा पार्टी विभाजन ठिकै थियो भन्ने लाग्छ ?
ठिक थियो । विभाजन गर्नु अतिआवश्यक थियो । त्यतिबेला हामीले विभाजन गरेको भन्दा पनि पार्टीबाट हामीलाई निकाल्दिएका हुन् । हामी १४ जनालाई सांसदबाट निकालिसकेका थिए ।
हामीले विभाजन गर्यौं भन्नुभन्दा पनि हामीलाई निष्काशन गरिसकेपछि पनि हामी बाध्य भयौं । हाम्रो त्यो बाध्यता थियो । र सँगसँगै संविधान जोगाउन, बचाउनका लागि आवश्यकता पनि थियो ।
अहिले तपाईंको मन एकातिर, तन अर्कोतिर छ पनि भन्ने गरिन्छ । सत्ता गठबन्धनमा तन भए पनि मन प्रतिपक्षी गठबन्धनतिरै छ भन्ने छ । अब मन र तन सँगै बनाउनुभएको हो ?
अहिलेको स्थिति हेर्दा मिलेरै जाऔं भन्ने हाम्रो प्रधानमन्त्री प्रचण्डको भनाइ छ । अब उहाँहरूले नै हाम्रो आवश्यकता महसुस गर्नुभएन भने हामी किनारा लागेर बस्ने कुरा आउँदैन । हाम्रो नेचर पनि त्यस्तो छैन ।
चुनौतीको सामना गर्ने हो । चुनौतीबाट डराउने पनि बानी छैन । सकिंदैन भन्ने निराशाको सोच पनि छैन । कस्ता कस्तालाई त तह लगाइयो भन्ने आत्मविश्वास पनि छ ।
तर प्रचण्डलाई तह लगाउन चाहिं सक्नुभएन । बरु उहाँले तपाईंहरूलाई एउटा साइजमा राखिरहेको देखियो नि ?
त्यो चिज चाहिं बरु भन्न सकिन्छ । उहाँको आफ्नै विशेषता छ । त्यसबारे मैले धेरै नभनौं होला ।
यो विशेषताबाट लाभान्वित हुन पनि सकिन्थ्यो । विगतमा एमालेलाई उहाँले प्रधानमन्त्री बनाउनु पनि भएको छ । एमालेले पनि उहाँलाई बनाइदिएको छ । अहिले त एकीकृत समाजवादीलाई उपयोग गरिरहेको जस्तो देखिन्छ नि ?
म पदको लागि मरिहत्ते गर्ने मान्छे होइन । पदका लागि किन मरिहत्ते गर्नु ? त्यो भइदिएको भए त म पहिले पनि बार्गेनिङ गर्थें होला नि ? शेरबहादुरजी भएकै बेला पनि गर्न सकिन्थ्यो होला नि ? त्यसैले प्रधानमन्त्रीको पद मुख्य कुरा होइन, मुख्य कुरा त जनतालाई दिने डेलिभरी हो । यसलाई नै केन्द्रविन्दुमा राख्नुपर्छ र सबै पार्टीलाई उचित मान र सम्मान गर्नुपर्छ ।
एमालेबाट फुटेर नयाँ पार्टी बने पनि तपाईं दशौं महाधिवेशन गर्दै हुनुहुन्छ । आठौं र नवौंमा जुन गल्ती भयो भन्नुभयो, त्यसलाई सच्याउनुहुन्छ ?
त्यसबारे हामी सामूहिक समीक्षा गरौंला ।
पाँच महिनाअघि अनलाइनखबरसँगको कुराकानीमा रिल्याक्स गर्न पाए हुन्थ्यो, भीडभाड भयो । संस्मरण लेखेर बस्न पाए हुन्थ्यो भन्नुभएको थियो । तपाईंले कुनै त्याग परित्याग गर्ने क्रममा कुनै पात्रलाई नेतृत्व छाड्ने र आफू संरक्षक भएर वा संस्मरण लेखेर बस्ने चाहना पूरा गर्ने माध्यम यो महाधिवेशनलाई बनाउने सम्भावना कति छ ?
(हाँसो) सिंगै पार्टी पंक्तिले त्यो भनिदिए हुन्थ्यो । सबैले तपाईंको विकल्प छैन भनिरहेका छन् । तपाईंले यस्तो कुरा गर्दै नगर्नुस् भन्छन् मलाई । छोड्ने र आराम गर्ने कुरा गर्दै नगर्नुस् भन्छन् । अहिले हाम्रो बिजोग हुन्छ, तपाईंले नै यस्तो कुरा गरिसकेपछि त अरु कसरी होला ? अगुवाइ तपाईंले नै गर्नुपर्छ । अरु साथीहरूले पनि सहयोग गर्नुपर्छ भन्नुहुन्छ ।
तपाईं नै अध्यक्ष हुने भए अरु कुन नेता के पदमा रहन्छन् त ?
म अहिले कुनै पनि व्यक्तिबारे केही पनि भन्दिनँ । म आफ्नो चाहना पनि भन्दिनँ । व्यक्तिको चाहना र रुचि के छ, त्यसमा भर पर्छ । कसैको अध्यक्ष हुने चाहना छ भने कार्यकर्ताले मन पराउँछन् भने भइहाल्छ । कार्यकर्ताले नै मन पराएनन् भने स्वीकार्नुपर्छ ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर