सन् २०२९ भित्रै चन्द्रमामा मानव पुर्‍याउने नासाको लक्ष्य, चीनसँगको प्रतिस्पर्धाले बढायो दबाब



प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार

सन् २०२९ भित्रै चन्द्रमामा मानव पुर्‍याउने नासाको लक्ष्य, चीनसँगको प्रतिस्पर्धाले बढायो दबाब

अमेरिकी अन्तरिक्ष संस्था नासाले रोबोटिक अवतरण यान, उफ्रिने ड्रोन तथा विभिन्न सवारी साधनहरूको विवरण सार्वजनिक गरेको छ। नासाले चन्द्रमामा स्थायी आधार केन्द्र (मुन बेस) निर्माण गर्ने योजनाअन्तर्गत त्यहाँ पठाइने सवारी साधनहरूको विवरण सार्वजनिक गरेको हो।

अमेजनका संस्थापक जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनसहित विभिन्न निजी कम्पनीहरूलाई ती उपकरण निर्माणको जिम्मा दिइएको छ।

अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिनुअघि अर्थात् सन् २०२९ भित्रै पुनः अमेरिकी नागरिकलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखेको छ। नासा चन्द्रमामा मानव पठाउने होडमा चीनसँग प्रतिस्पर्धा गरिरहेको छ। त्यसैले यस नयाँ अन्तरिक्ष दौडमा आफूलाई अगाडि देखाउन नासामाथि दबाब बढेको हो।

चीनले पनि सन् २०३० भित्र चन्द्रमामा मानव अवतरण गराउने योजना तीव्र रूपमा अघि बढाइरहेको छ। भर्खरै सोमबार मात्र चीनले शेन्जोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गर्दै अन्तरिक्ष यात्रीहरूको टोलीलाई तियानगोङ अन्तरिक्ष केन्द्रतर्फ पठाएको छ।

यसअघि मार्चमा नासाले चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा आणविक तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने स्थायी आधार केन्द्र निर्माण गर्न २० बिलियन (२० अर्ब) डलरको कार्यक्रम घोषणा गरेको थियो। उक्त केन्द्र सन् २०३२ सम्ममा तयार गर्ने लक्ष्य राखिएको छ।

नासाका प्रशासक जारेड आइज्याकम्यानले अब अमेरिकाले “चन्द्रमालाई फेरि कहिल्यै नछोड्ने” दाबी गरेका छन्। चन्द्रमामा आधार केन्द्र स्थापना भएपछि वैज्ञानिक अनुसन्धान गर्न, मूल्यवान् स्रोतहरूको उत्खनन गर्न तथा मङ्गल ग्रहसम्मको यात्रा तय गर्न सहज हुने विश्वास गरिएको छ।

तर, अधिकांश विज्ञहरूले नासाले तय गरेको यो समयसीमा अवास्तविक भएको टिप्पणी गरेका छन्। अप्रिलमा आर्टेमिस–२ अभियानमार्फत चार अन्तरिक्ष यात्रीलाई चन्द्रमाको परिक्रमा गराउन नासा सफल भए पनि केही वैज्ञानिकहरूले अबको चरणमा मानवलाई चन्द्रमामा अवतरण गराउने पहिलो देश चीन हुन सक्ने अनुमान गरेका छन्।

ओपन युनिभर्सिटीका चन्द्र वैज्ञानिक डा. सिमियन बार्बरले नासाले मानव अवतरण यान निर्माणमा प्राविधिक समस्याहरू भोगिरहेको उल्लेख गर्दै चीन पहिले चन्द्रमामा पुग्न सक्ने सम्भावना औंल्याएका छन्।

नासाको “इग्निसन मुन बेस” कार्यक्रम तीन चरणमा अघि बढाइनेछ। मानव पठाउनुअघि नासाले चन्द्रमाको कठिन भूभागको अध्ययन तथा नक्साङ्कन गर्न रोबोटिक अवतरण यान र उफ्रिने ड्रोन पठाउने योजना बनाएको छ। त्यसपछि अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा यात्रा गराउन तथा सञ्चार र वैज्ञानिक उपकरण ओसारपसार गर्न सक्ने सवारी साधनहरू पठाइनेछ। नासाले ब्लु ओरिजिन, इन्ट्युटिभ मेशिन्स र एस्ट्रोबोटिक कम्पनीलाई ती उपकरण निर्माणको जिम्मा दिइसकेको जनाएको छ।

ब्लु ओरिजिनको “एन्ड्युरेन्स” नामक चन्द्र अवतरण यानमा अत्यन्त सटीक अवतरण गर्न सक्ने तथा स्वचालित रूपमा सञ्चालन र नियन्त्रण हुन सक्ने क्षमता रहने नासाले जनाएको छ। नासाका कार्यक्रम प्रमुख कार्लोस गार्सिया–गालानका अनुसार सन् २०२९ सम्म रोबोटिक अनुसन्धान जारी रहनेछ। यस अवधिमा २५ वटा प्रक्षेपणमार्फत करिब चार मेट्रिक टन सामग्री चन्द्रमामा पुर्‍याउने लक्ष्य राखिएको छ।

त्यसपछि नासाले चन्द्रमामा आणविक तथा सौर्य ऊर्जा केन्द्र स्थापना गर्ने योजना बनाएको छ, जसमा आणविक विखण्डन (Fission) रिएक्टरसमेत रहनेछन्। सन् २०३२ सम्ममा चन्द्रमामा मानिस बस्न सक्ने अर्ध-स्थायी आवास निर्माण गर्ने लक्ष्य नासाले लिएको छ।

यी सवारी साधनको प्रयोगबाट अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको चट्टानी सतहमा लामो दूरीको यात्रा गर्न सक्नेछन्। चन्द्रमाको दक्षिणी ध्रुव विशेष महत्त्वपूर्ण मानिनुको कारण त्यहाँ जमेको बरफ (पानी) लाई भविष्यमा पिउनका लागि वा अक्सिजन र इन्धन उत्पादनका लागि प्रयोग गर्न सकिने विश्वास गरिएको छ।





Source link

Leave a Comment