नेपाल तुलनात्मक रूपमा शान्त छ तर इजरायल अशान्त हुँदै गर्दा पनि नेपाली युवा त्यहाँ रहेर काम गरिरहेका छन्। विदेशीलाई पनि आफ्ना नागरिकसरह सेवासुविधा दिने नीतिका कारण पनि इजरायल धेरै नेपालीका निम्ति आकर्षक गन्तव्य बनेको छ।
१९ वर्ष शिक्षण पेसामा रमाएका बागलुङका ४१ वर्षीय चित्रबहादुर कार्की यतिखेर इजरायलमा कार्यरत छन्। सुरुमा उनलाई विदेश जान मन थिएन। अचानक घरव्यवहारले उनलाई बिदेसिन बाध्य बनायो। ‘मेरो बिदेसिने सोच कहिल्यै थिएन,’ इजरायलबाटै चित्रबहादुरले नागरिकसँग भने, ‘लामो समय शिक्षण पेसामा आबद्ध थिएँ, बिस्तारै व्यवहारले थिच्दै गएपछि बिदेसिन बाध्य भएँ। एकै पटक इजरायल जान पहल गरेको ठ्याक्कै भयो पनि।’
हमास युद्ध सुरु भएदेखि अवरुद्ध हुन पुगेको इजरायली ‘स्याहार क्षेत्र’ अर्थात् केयरसेन्टरका रूपमा काम गर्न थालेको चित्रबहादुरको साढे दुई वर्ष भएको छ। केयरगिभरका रूपमा इजरायल पुगेका कामदारले घरमा भएका एक जनालाई मात्रै स्याहार गर्ने हो भने उनले केयरसेन्टर ५/६ जनालाई हेरचाह गर्नुपर्ने हुन्छ।
इजरायलमा सबै सेवा सुविधा प्रशस्त भए पनि केयरसेन्टरमा काम गर्न भने त्यति सजिलो छैन। ‘घरमा काम गर्दा एक जनालाई मात्रै हेर्नुपर्छ भने केयरसेन्टरमा धेरैलाई हेर्नुपर्ने अवस्थाले ढाडको समस्या आउन थालेको छ,’ उनले भने, ‘केयरसेन्टरमा ५/६ जनालाई स्याहार गर्दा, बोकेर बाहिर ल्याउने, नुहाइदिने, पुनः कोठा तथा कुर्सीमा राखिदिने गर्दा हामीलाई चाहिँ धेरै गाह्रो हुने रहेछ।’
केयरगिभरमा पूरै समय घरमा बिताउनुपर्छ भने केयरसेन्टरमा समयावधि हुनुका साथै पाँच मिनेट मात्रै बढी काम गर्दा ‘ओभर टाइम’ गणना हुने राम्रो पक्ष रहेको चित्रबहादुरले बताए। मासिक दुई लाख ५० हजार रूपैयाँ बचाउने चित्रबहादुरले सबै आम्दानी नेपाल पठाएसँगै पारिवारिक आर्थिक अवस्था धेरै सुध्रिएको बताउँछन्।
‘इजरायल आउनुभन्दा पहिले धेरै ऋणले थिचेको थियो। यहाँ आएपछि सबै ऋणलाई डाँडा कटाएको छु। बच्चाहरूलाई राम्रो शिक्षा दिएसँगै केही टुक्रो जमिन पनि जोडेको छु। परिवारसँग टाढा छु भन्ने हो। आर्थिक पक्ष सबल भएपछि परिवार पनि चिन्तामा छैनन्। त्यसैमा म पनि खुसी छु,’ चित्रबहादुरले भने।
तर इजरायलमा कमाएको रेमिटेन्स अवैधानिक च्यानल हुन्डीमार्फत पठाउने विकृति बढ्दो रहेकोमा उनले चिन्ता व्यक्त गरे। यहाँ थुप्रै रेमिटेन्स कम्पनी सक्रिय छन्। त्यसका बाबजुद हुन्डी प्रयोग मौलाउँदै गएकोमा उनी दुःख व्यक्त गर्छन्।
हमास युद्धमा कतिपय नेपालीले ज्यान गुमाए, कतिपय अझै बन्धक हुँदै गर्दा आफू बसेको क्षेत्र भने ९० प्रतिशत सुरक्षित रहेको चित्रबहादुरले बताए। ‘हामी बसेको ठाउँ धेरै सुरक्षित छ। रातभरि सुत्ने र दिनभरि केयरसेन्टरभित्रै काम गर्ने हो,’ उनले भने, ‘पाँच वर्ष तीन महिनाका लागि इजरायल आएको हुँ, अब यो अवधि सकेर स्वदेश फर्किने तयारीमा छु।’
स्वदेश फर्किएर पुनः शिक्षण पेसामै आबद्ध हुने संकल्पसँगै छोराछोरीलाई उच्च शिक्षा दिएर नेपालमै केही गराउने उनको सोच रहेको बताए। देशमा राम्रो नेतृत्वकर्ता नआउँदा नातावाद, कृपावादसँगै भ्रष्टाचारले देश बिग्रिएको उनी बताउँछन्। इजरायल बसेर देशको चिन्ताले सताएसँगै नेपाल धेरै पछाडि परेको दुःख चित्रबहादुरले गरे।
नेपालको कृषिमा रमाउन नसकेर इजरायलको कृषि क्षेत्रमा रमाइरहेका कास्कीस्थित पोखराका ३३ वर्षीय ईश्वर तिवारी पनि एक हुन्। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत साना किसान लघुवित्त वित्तीय संस्थाबाट २०१४ मै इजरायलको कृषि क्षेत्रका लागि गएका थिए। तर, उनी इजरायलमा २२ महिना बसेर स्वदेश आएसँगै कृषि पेसातिर फर्के।
नेपालको कृषिमा मेहनत गर्दाको पसिना मूल्यहीन भएको उनको तितो अनुभव छ। इजरायलबाट फर्किएका ईश्वरले स्वदेशमा कृषिमा मात्रै नभई वस्तुभाउसँगै कुखुरा फार्म पनि खोलेका थिए। तर, उनको लगातारको मेहनतले राम्रो आम्दानी नभएपछि दिग्दार हुँदै पुनः गत वर्ष इजरायल लागे।
ईश्वरको मेहनतलाई नेपाली भूमिले साथ नदिँदा इजरायली भूमिले भने साथसँगै सम्मान, तन, मन र धन दिएको बताउँछन्। उनको मेहनतको कदर इजरायलमा भएको छ। त्यसैले उनले नेपाली भूमिमा पसिना चुहाउनुभन्दा विदेशी भूमिमा पसिना चुहाउँदाको परिणाम मिठो भएको बताए।
‘आफ्नै देशमा दुःख गर्ने रहर कसलाई नहोला र ? दुःखअनुसारको फल नपाएरै प्रायः सबै बिदेसिएका हुन्,’ सन् २०२४ मा इजरायल पुगेका ईश्वरले भने, ‘ऋण लिएर कृषितिर लागेको थिएँ। लगानी धेरै, आम्दानी कम र खर्च धेरै भएपछि दिक्क लाग्यो। त्यसैले पुरानै कम्पनीमा सम्पर्क गरेर यहाँ आएको हुँ। परिवारलाई छोडेर विदेश आउनु रहर होइन, बाध्यता हो।’
इजरायलमा ईश्वरले काम गर्ने क्षेत्रमा नेपालकै जस्तो हावापानी छैन। तर, पनि त्यहाँको सरकारले माटो राम्रो नभएसँगै सिँचाइ कम हुँदा पनि राम्रो व्यवस्थापन गरेर धेरै उत्पादन गरेको उनको अनुभव छ। तर, नेपालमा केही गर्छु भन्नेलाई सरकारले प्रोत्साहनलगायत कुनै पनि अनुदान नदिने उनको पीडा छ।
हरेक देशमा सरकारबाट जनताले साथ र सहयोग पाइरहेका हुन्छन्। तर, आफ्नो देशमा आफैंले गरेको उत्पादित वस्तुको पनि कुनै कदर नभएको उनको गुनासो छ। ‘इजरायलमा कृषिमै काम गर्ने श्रमिकको ठुलो सम्मान छ।
केही गर्छु भन्ने कृषकलाई सरकारले माथि उकास्ने गर्छ,’ उनले भने, ‘विदेशी श्रमिकलाई नै उनीहरूको हेर्ने दृष्टिकोणमा उच्च सम्मान छ। काम गर्ने क्रममा किन ढिला भइस् भनेर प्रश्न आउनुको साटो केही समस्या परेर ढिला भएको हो भन्छन्। हाम्रो अनुहार हेरेरै आज सन्चो छैन हो भन्छन्।’
आफ्नो काम आफैंले गर्नुपर्छ भन्ने भावना बोकेको इजरायलमा मासिक दुई लाख रूपैयाँ हाराहारीमा कमाइरहेका ईश्वरको ऋण घट्दै गएको छ। हिजो चिन्ताले भरिएका उनका आँखामा खुसीको रेखा देख्न सकिन्छ। ‘हिजो नेपालमा बस्दा ऋणले थिचिएसँगै धेरै पीडा थियो।
आज विदेशमा हुँदा त्यो ऋण घट्दै गएको छ। त्यति मात्रै नभई आमाबुबाको औषधोपचार, छोराछोरीको गुणस्तरीय शिक्षा र पत्नीको चोलो फेर्न सक्ने भएको छु,’ पुनः इजरायल पुगेका ईश्वरले नागरिकसँग खुसी साट्दै भने।
उनका अनुसार नेपाल सरकारले इजरायलका लागि जसरी केयरगिभर क्षेत्रमा आउने कामदारलाई ‘जी टु जी’मार्फत श्रम स्वीकृति दिएर पठाउने गरेको छ, त्यसरी नै अन्य क्षेत्रमा जाने नेपाली कामदारलाई पनि श्रम स्वीकृति गराउन जरुरी छ।
‘केयरगिभरमा आउने कामदारलाई जस्तै वैधानिक तवरले कृषि तथा अन्य क्षेत्रमा आउने कामदारलाई पनि श्रम स्वीकृति दिएर पठाउनुपर्छ। श्रम स्वीकृति नगरी आएका अन्य क्षेत्रका कामदारलाई पनि बिदामा नेपाल आउन रहर हुन्छ। यदि बिदामा स्वदेश आएको खण्डमा पुनः इजरायल फर्किन धेरै गाह्रो हुन्छ,’ उनले भने।
हामीले नेपाललाई विदेशी भूमिमा पसिना चुहाएर रेमिटेन्स पठाएका छौं। नेपाल सरकारले पनि हामीलाई श्रम स्वीकृति गराएर विदेश पठाउन सकेमा धेरै युवा इजरायल भूमिका लागि लाभान्वित हुने र अन्य बाटो हुँदै इजरायल आउन नपर्ने ईश्वरको गुनासो छ।
वैदेशिक रोजगारीका क्रममा ओखलढुंगाकी नितु खतिवडाले पनि इजरायलमा १८ वर्ष बिताउँदै छिन्। सन् २००६ मा इजरायल पुगेकी उनी त्यहाँको माया र सम्मानले गर्दा उतै काम गरिरहेकी छिन्। उनी बिदेसिनुभन्दा पहिले ट्राभल एजेन्सीमा काम गर्थिन्। उनले काम धेरै भए पनि आम्दानी कम भएपछि बिदेसिएको बताइन्।
‘इजरायल आउनुभन्दा पहिले ट्राभल कम्पनीमा काम गर्थें। त्यहाँ काम धेरै दाम कम थियो। त्यही पनि ट्राभल एजेन्सीहरू त्यस्तो राम्रो चलेका थिएनन्,’ इजरायलको केयरगिभरमा रमाएकी नितुले सामाजिक सञ्जालमार्फत भनिन्, ‘विदेश जाने सोचले तीन वर्षको छोरा छोडेर इजरायल आइपुगेँ। अहिले धेरै राम्रो छ।’
वैदेशिक रोजगारीका लागि इजरायल पुगेकी उनले नेपालमा रेमिटेन्स पठाएसँगै घरजग्गा जाडेको सुनाउँछिन्। उनका अनुसार इजरायल नारीका लागि झन् राम्रो छ। यहाँ नारीको इज्जत गरिन्छ। मान्छे अस्ट्रेलिया, अमेरिका र क्यानडा भन्छन्। तर, इजरायलमा त्यो भन्दा राम्रो सेवा, सुविधा र तलब रहेको नितु बताउँछिन्।
‘यहाँको राम्रो पक्ष भनेकै श्रमिकलाई सुरक्षासँगै सम्मानका साथ व्यवहार गर्छन्। कामको हिसाबमा दुई चार मिनेट बढी काम गरे त्यसको पनि हिसाबकिताब हुन्छ,’ उनले भनिन्, ‘यहाँ श्रमिकको पक्षमा बोल्ने हटलाइन, काभलावेद जस्ता थुप्रै सामाजिक संस्था छन्। जसले श्रमिकको हकहितका लागि लड्ने गर्छन्।’
इजरायलका मान्छे कानुनदेखि धेरै सावधान हुने गरेका छन्। श्रमिक तथा अन्य कुनै व्यक्तिमाथि अन्याय गर्दैनन्। हरेक श्रमिकका पक्षमा सामाजिक संस्था मात्रै नभई यहाँका व्यक्ति, प्रहरी र अदालतसमेत पीडितका पक्षमा उभिएर न्याय दिने प्रावधान छ। जसले गर्दा विदेशी भूमिमा आनन्दसाथ काम गर्न सकिने देश नै इजरायल हो भन्ने अनुभव नितुले सुनाइन्।
वैदेशिक रोजगार विभागका अनुसार यही माघको अन्तिम सातादेखि आगामी फागुनको पहिलो साताभित्रमा पहिलो पंक्तिका नेपाली श्रमिक इजरायल ‘केयरगिभर’मा जान पाउने भएका छन्। इजरायल जान तयारीमा रहेका एक हजारले तालिम लिई रहेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए।
‘मागको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म तालिम लिएका एक हजार जना इजरायल जान सक्नेछन्,’ उनले भने, ‘इजरायलको रोजगारदाताबाट हाल २४ जनाको मात्रै सम्झौता पत्र आएको छ। तिनीहरूलाई करार सम्झौता गरेर पठाउनुपर्नेछ।’
वैदेशिक रोजगारीले दुःख मात्रै दिएको छैन, नेपालका धेरै घरपरिवारमा आमूल परिर्वतन ल्याएको पनि छ। दुःखलाई लिएर बिदेसिएका व्यक्तिले पूरै परिवार, समाज र देशलाई सुख दिएका छन्।
प्रकाशित: १९ माघ २०८१ ०८:०५ शनिबार