सत्तासँग हारे मुख्यमन्त्री पाण्डे, मनाङेले जिते


५ चैत, पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे एकीकृत समाजवादी छाडेको भोलिपल्ट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् ।

१४ वैशाखमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री पाण्डेले लामो समय मनाङेलाई मन्त्री बनाउनुपर्ने दबाब अस्वीकार गर्दै आएका थिए । २९ वैशाखमा मन्त्रिपरिषद विस्तार गर्दा पाण्डेले शीर्ष नेताहरुको पनि कुरा नसुनेर मनाङेलाई मन्त्री बनाएनन् । मन्त्री नबनाएको भनेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै आलोचना गर्दा समेत मुख्यमन्त्री पाण्डेले टारेका गिए ।

२१ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई छोडेर एमालेसँग नयाँ गठबन्धन गरेपछि भने मुख्यमन्त्री पाण्डेको सरकार नै संकटमा पर्‍यो ।

२२ गते माओवादीका भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जाली, सामाजिक विकास मन्त्री सुशीला सिम्खडालाई बर्खास्त गरेका उनी सत्ता टिकाउने जोडघटाउमा लागे ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री पाण्डेकै दल कांग्रेसकै २७ सांसद छन्, थप चार सांसद जुटाउने हो भने पाण्डेलाई बहुमत पुग्छ भने एक सांसद मात्र आफूतिर तान्ने हो भने एमाले–माओवादीलाई बहुमत जुटाउन नदिन सकिन्छ ।

पाण्डेले त्यसका लागि उपयुक्त पात्र देखे, मनाङे । स्वतन्त्र चुनाव जितेका उनी मन्त्री बन्ने लोभमा मंसिर २०७९ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा सहितले मनाङे एकीकृत समाजवादीको सदस्य भएको सभामुखले प्रदेशसभालाई जानकारी नगराएको र कहीँ कतै सूचना टाँस पनि नभएकाले मनाङेले सचिवालयमा जानकारी गराए उनी स्वतन्त्र हैसियतमा रहने तर्क मुख्यमन्त्री पाण्डेसामू पेश गरे ।

त्यसपछि पाण्डेले मनाङेसँग छलफल गरे । मन्त्री बन्न जुनसुकै कदम चाल्न पनि तयार मनाङले आइतबार नै एकीकृत समाजवादी त्यागेको सूचना प्रदेशसभा सचिवालयमा दिए । अनि मुख्यमन्त्री पाण्डेले विगतको आफ्नै अडान विपरीत विवादित छविका मनाङलाई सोमबार भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिए ।

सत्ताको खेलमा जितिरहने मनाङे

कुनै समय गुण्डा नाइके भनेर चिनिएका मनाङले २०७४ मा पनि गण्डकी प्रदेशसभा सदस्य थिए । मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उठेर एमालेको समर्थनमा चुनाव जितेका उनी ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्धा ब्यँुतिएपछि सपथ नलिई कारागार चलान भए ।

नयाँ फौजदारी संहिताले जेल नबसी मुद्दा लड्न पाउने सुविधा दिएपछि सर्वोच्चको आदेशमा पुस ६ गते कारागर मुक्त भए, नेकपा प्रवेश गर्ने गरी प्रदेशसभा सुरु भएको १४ महिनापछि सपथ लिए ।

तर एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै मनाङेले आफू स्वतन्त्र सांसद मात्र भएको दाबी गरेनन्, तीन पटक मन्त्री भए ।

सुरुमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता जोगाउन मनाङेलाई खेलकुदमन्त्री बनाए । राष्ट्रिय जनमोर्चाले साथ नदिएका कारण गुरुङ सरकार नटिक्ने देखेपछि मनाङे नयाँ गठबन्धन बनाउने प्रयासमा रहेका कांग्रेस–माओवादीतिर लागे र कृष्णचन्द्र नेपाली पोखरेल सरकारमा खेलकुदमन्त्री भए ।

४ मंसिर २०७९ को प्रदेशसभा निर्वाचनमा निर्विरोध निर्वाचित भएका उनी एकीकृत समाजवादी प्रवेश गर्दा पनि मन्त्री हुन सकेका थिएनन् ।
तर सरकार बनाउने र भत्काउने खेल सुरु भएलगत्तै फेरि मनाङे मन्त्री बन्न सफल भएका छन् । सोमबार नै प्रदेश प्रमुखसमक्ष शपथ लिएका उनले अब चार वर्ष राजनीति गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रदेशलाई मध्यावधिमा जान नदिने भन्दै उनले भने, ‘एक वर्षसम्म फुटबल खेलेर हिँडिरहेको थिएँ । हिजो चाहिँ के जोस आयो ४ वर्ष मैले पनि राजनीति गर्नुपर्छ ।’

मुख्यमन्त्री पाण्डेसँग अझै छैन बहुुमत

मनाङेलाई मन्त्री बनाएपनि मुख्यमन्त्री पाण्डेसँग २८ मत पुगेको छ, जुन प्रदेशसभामा बहुमतका लागि अझै ३ मत अपुग हो ।

मुख्यमन्त्री पाण्डेले दुई प्रदेश सांसद रहेको राप्रपालाई पनि फकाइरहेका छन् । राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले भने सरकारमा नजाने, तर अवस्था हेरेर समर्थन गर्नसक्ने बताएका छन् ।

साथै माओवादी केन्द्रको चुनाव चिह्न लिएर जितोक नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले पनि साथ दिने संकेत गरेकाले मुख्यमन्त्री पाण्डे बहुमत पुग्नेमा आशावादी छन् ।

नेसपाको एउटा समूह माओवादीसँग एकतामा जाँदा पनि देवकोटा, डा. बाबुराम भट्टराई पक्षमै छन् । उनका अनुसार पार्टीले नेपाल समाजवादी पार्टीकै पहिचान कायम राख्ने र प्रदेशको समन्वयमा सरकारमा जाने–नजाने निर्णय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ । सत्ता टिकाउने प्रयासमा रहेका मुख्यमन्त्री पाण्डे भन्छन्, ‘हेर्दै जानुहोला, के हुन्छ ?’





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School