सडक पूर्वाधारमा सुधार अपरिहार्य


नेपालका सडकहरू यातायातका माध्यम मात्र रहेनन्, यी जीवन र मृत्युको अनपेक्षित बाजीको थलोजस्ता भएका छन्। दैनिकजसो समाचारमा आउने सडक दुर्घटनाका तथ्यांक र तिनका कारणहरूले हाम्रो सडक सुरक्षा प्रणालीको चरम असफलतालाई छर्लंग पार्छन्। हामी अक्सर दुर्घटनाको दोष चालकको लापरबाही, तीव्र गति वा यान्त्रिक गडबडीलाई दिएर अनि सबैतिर समान किसिमको र उच्च जरिवाना तोकेर उम्किन खोज्छौं तर के हाम्रा सडक आफैंमा सुरक्षित छन् ? सडकमा गुड्ने सवारीसाधन र पैदलयात्रीलाई सही मार्गनिर्देशन गर्ने न्यूनतम पूर्वाधारको अवस्था कस्तो छ त?

‘सडकमा सावधानी’ केवल चालक मात्र होइन, सडक बनाउने र यातायात सञ्चालनको अनुमति दिने निकायहरू झन् बढी सावधान र जिम्मेवार हुनुपर्ने बेला आइसकेको छ। यसै सन्दर्भमा हाम्रा सडकका मूलभूत समस्या र तिनका सुधारका पाटाहरूलाई यहाँ केलाउने प्रयास गरिएको छ।

सहरी सडकमा ट्राफिक संकेतको दुर्गति

हाम्रा सहरी सडकहरू, विशेष गरी काठमाडौं उपत्यका र प्रमुख सहरहरूका सडकमा गुड्दा ट्राफिक संकेतहरूको अवस्था टिठलाग्दो देखिन्छ। कतिपय मुख्य चोकहरूमा राखिएका ट्राफिक बत्तीहरू सबै चालकले सजिलै देख्ने गरी राखिएका छैनन्, तीमध्ये धेरै कि त बल्दैनन् वा अनियमित किसिमले बल्छन्। संकेत पाउनका लागि राखिएका डिजिटल बोर्डहरू उपलब्ध छैनन्। कतिपय ठाउँमा त सडक संकेतका बोर्डहरूलाई व्यापारिक विज्ञापन वा धुलोको पत्रले छोपेको हुन्छ। दिशा देखाउने बोर्डहरू पनि मापदण्ड पुर्‍याएर बनाइएका छैनन्। स्थापित ट्राफिक संकेतहरू कमसल वा अस्थायी खालका भएकाले भाँचिएका वा उप्किएका छन्। चोकहरूमा गोलघुम्तीको ठुलो महत्त्व हुन्छ तर उपलब्ध छैनन्। गुडिरहेको चालकले कुन लेनबाट कता जाने भन्ने कुरा टाढैबाट स्पष्ट देखिने गरी संकेत पाउनु उसको अधिकार हो तर तिनको अभावमा चालकहरू अलमलमा रहन्छन् भने परिस्थितअनुकूल लेन बदल्न खोज्दा दुर्घटनाको जोखिम बढेको छ। प्रविधिको युगमा पनि चालकले आफ्नो वाहनलाई रोक्न वा सही लेनमा चलाउन ट्राफिक प्रहरीको हातको इसारा पर्खनुपर्ने बाध्यता रहनु हाम्रा सहरी सडकका ट्राफिक संकेतहरूको दुर्गतिको जीवन्त प्रमाण हो। अर्कातर्फ सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूका लागि बस वा मिनिबसले रोक्ने, चढाउने र ओराल्ने निश्चित बस  वा मिनिबस बिसौनीको व्यापक अभाव छ। यसले सहरी सडक यातायातमा सबैलाई अस्तव्यस्त बनाएको छ।

आगन्तुक वा पर्यटक चालकहरूका समस्या

स्थानीय चालकहरूलाई कुन सडक कहाँ जान्छ वा कहाँ खाल्डो छ भन्ने कुरा दैनिक आवतजावतका कारण कण्ठस्थ हुन सक्छ तर देशको राजधानी भएकाले यहाँ देशका सबै जिल्लालगायत छिमेकी देशबाट पनि सवारीसाधन आउँछन्। बाहिरी जिल्ला वा नयाँ ठाउँबाट आएका ‘आगन्तुक चालक’हरूका लागि सडक पूर्ण रूपमा अपरिचित हुन्छ। यस्ता चालकका लागि सडकमा कोरिएका जेब्रा क्रसिङ, लेन मार्किङलगायत  ‘अधिकतम गति सीमा सुरु र अन्त’, ‘दायाँ मोड’, ‘बायाँ मोड’ वा यात्रु चढाउने वा ओराल्ने बिसौनीजस्ता संकेतहरू नै आँखाहरू हुन्। रात्रिकालीन समयमा वा कुहिरो लागेको बेला सडक मार्किङ र चमक दिने संकेतको महत्त्व झन् बढी हुन्छ। कतिपय सडकको बाहिरी किनारामा राखिएका डिलिनएटर पोस्टहरूमा चम्किने रिफ्लेक्टर नभएमा र सडकमा स्पष्ट मार्किङ वा संकेत छैनन् भने आगन्तुक चालकले भेउ पाउँदैनन्, जसले गर्दा अगाडि वा पछाडिबाट आउने सवारीसाधन ठोक्किने सम्भावना उच्च रहन्छ। सडक सुरक्षित हुनुको अर्थ अपरिचित चालकले पनि बिनाअलमल र बिनाडर सहजै यात्रा गर्न सक्ने व्यवस्था पनि हो।

उपत्यकाबाहिरको अनुमान

काठमाडौं उपत्यका देशको राजधानी मात्र होइन, स्रोत, साधन र प्रविधिको केन्द्र पनि हो। जब देशको मुटु मानिने उपत्यकाभित्रकै मुख्य सडकमा लेन मार्किङ मेटिएका छन्, ट्राफिक बत्ती अलपत्र छन्, जेब्रा क्रसिङ गायब छन् र बस बिसौनी सुनिश्चित छैनन् भने उपत्यकाबाहिरका सडकको अवस्था कस्तो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ ? राजधानीकै सडकहरू नियमित मर्मत हुँदैन भने बझाङ, रोल्पा वा दुर्गम पहाडी तथा राजमार्गहरूमा सडक सतहको अवस्था कस्तो होला ? त्यहाँ राखिएका सडक सुरक्षाका संकेतहरूको हालत के होला ? उपत्यकाको यस्तो चित्रले समग्र देशकै सडक पूर्वाधारको उपेक्षित अवस्थालाई प्रतिविम्बित गर्छ।

सडक विभाग र सडकसम्बन्धी निकायको कर्तव्यहीनता

सडक दुर्घटना हुनासाथ चालकलाई कठघरामा उभ्याइन्छ तर सडक सुरक्षा व्यवस्थापनको दुरावस्थाका कारण भएका दुर्घटना र मृत्युको जिम्मेवारी कसले लिने ? सडक विभाग, नगरपालिका र सडक पूर्वाधार हेर्ने अन्य निकायहरू ऐतिहासिक रूपले आफ्नो न्यूनतम कर्तव्यबाट विमुख देखिन्छन्। एक पटक सडकको निर्माण सम्पन्न भएपछि त्यसको नियमित मर्मतसम्भार गर्नु, मेटिएका मार्किङ फेरि कोर्नु र भत्केका संकेत फेर्नु यी निकायको नियमित दायित्व हो। तर, बजेटको अभावलगायत विभिन्न बहाना देखाउँदै वा एकले अर्को निकायलाई दोषारोपण गर्दै पन्छिने प्रवृत्ति व्यापक छ।

सडक खन्ने, ढल वा पानीको पाइप हाल्ने, बिजुलीको तार भूमिगत गर्ने नाममा सडक भत्काइन्छ तर त्यसपछि सडकलाई पुरानै अवस्थामा फर्काउन र आवश्यक सुरक्षा संकेत राख्न कसैले चासो दिँदैन। सडक फराकिलो बनाइएको ठाउँमा रूख वा विद्युत् खम्बाहरू सारिएको हुँदैन। यो सरकारी निकायहरूको चरम उदासीनता, कर्तव्यहीनता र समन्वय अभावको पराकाष्ठा हो।

सडकमा अधिकतम गति सीमा निर्धारणका त्रुटिहरू

हाम्रा सडकहरूमा गति सीमा निर्धारण गर्ने प्रक्रिया वैज्ञानिक र व्यावहारिक देखिँदैन। कतिपय फराकिला र आधुनिक सडकमा पनि अव्यावहारिक रूपमा गति सीमा तोकिएको हुन्छ, जसले गर्दा सवारीको सहज प्रवाह अवरुद्ध हुन्छ। अर्कातर्फ साँघुरा, घुम्ती र बजार क्षेत्र भएका जोखिमपूर्ण सडकहरूमा स्पष्ट गति सीमा तोकिएको वा सचेत गराउने बोर्डहरू राखिएको पाइँदैन। गति सीमा निर्धारण गर्दा सडकको चौडाइ, भौगोलिक बनावट, सडकछेउको बस्ती, पैदलयात्रीको घनत्व र सवारीको चापलाई ध्यानमा राखेर वैज्ञानिक अध्ययन गरिनुपर्छ। बिनाअध्ययन हचुवाका भरमा राखिएका गतिका संकेतहरूले चालकमा अन्योल मात्र पैदा गर्दैनन्, बरु दुर्घटना बढाउन मद्दत पु¥याउँछन्।

मुख्य सडकमा प्रवेश

हाम्रो सडक संस्कृति र इन्जिनियरिङको अर्को ठुलो कमजोरी भनेको सहायक सडकबाट मुख्य सडकमा प्रवेश गर्ने सवारीसाधनहरूको व्यवस्थापन हो। कुनै गल्ली वा शाखा सडकबाट निस्केका सवारीसाधन मुख्य सडकको ट्राफिक प्रवाहलाई पूरै अवरुद्ध गर्दै सिधै अर्कातर्फको लेन पार गर्न दिने संरचना बनाइएको छ। मुख्य सडकमा तीव्र गतिमा गुडिरहेका सवारीसाधनलाई यसरी अचानक बिच सडकमै रोकिन बाध्य पार्दा गम्भीर दुर्घटना हुने गरेका छन् भने ट्राफिक जामलाई बढावा दिइएको छ। सहायक सडकबाट मुख्य सडकमा आउँदा निश्चित दुरीसम्म आफ्नै लेनमा गुड्न दिने वा उपयुक्त चोकमार्फत मात्र मोड्न पाउने व्यवस्था हुनुपर्छ। पूरै सडक अवरुद्ध गरेर जथाभावी लेन काट्न दिने हालको प्रवृत्ति तत्काल रोकिनु आवश्यक छ।

एकतर्फी बाटो प्रवर्धन

सहरी क्षेत्रको ट्राफिक जाम र दुर्घटना कम गर्ने एउटा उत्कृष्ट र कम खर्चिलो उपाय भनेको एकतर्फी बाटोको उचित प्रवर्धन र व्यवस्थापन हो। साँघुरा र धेरै चोक भएका भित्री सडकलाई एकतर्फी बनाउँदा यसप्रकार सकारात्मक प्रभाव देखिन्छन्: 

–विपरीत दिशाबाट आउने सवारीसाधन नहुँदा सवारी प्रवाह सहज ढंगले हुने र जाम कम हुन्छ साथै सबै गाडी निरन्तर एकै दिशामा गुड्न पाउँछन्।

–चोकहरूमा सवारीसाधन एकापसमा ठोक्किने सम्भावना आधाभन्दा बढीले घट्छ र दुर्घटनामा कमी आउँछ।

–पैदलयात्रीले सडक पार गर्दा केवल एकातर्फ मात्र हेरेर सुरक्षित रूपमा बाटो काट्न सक्छन् र पैदलयात्रीको सुरक्षामा उल्लेख्य सुधार हुन्छ।

–एकतर्फी सडकको एकातर्फ व्यवस्थित रूपमा सवारी पार्किङको ठाउँ निकाल्न सकिन्छ, जसले सडक सञ्चालनमा बाधा पुर्‍याउँदैन। यसबाट पार्किङ व्यवस्थापनमा टेवा पुग्छ।

सडक सुरक्षा केवल एउटा नारा मात्र होइन, यो मानव जीवन रक्षाको गम्भीर विषय हो। चालकलाई मात्र दोष दिएर वा जरिवाना तिराएर सडक सुरक्षित हुन सक्दैन। जबसम्म सडक विभाग र सम्बन्धित निकायहरूले आफ्नो निन्द्राबाट ब्युँझिएर सडकका ट्राफिक संकेत, सडक मार्किङ, वैज्ञानिक गति सीमा र सुरक्षित चोकहरूको निर्माणमा ध्यान दिँदैनन्, तबसम्म हाम्रा सडकहरू मृत्युका धराप बनिरहनेछन्।

सडकमा सावधान रहनका लागि राज्यले पूर्वाधार सुरक्षित बनाइदिनु पहिलो सर्त हो। उपर्युक्त कार्यहरू गर्दा रोजगारी सिर्जना पनि हुने भएकाले वर्तमान भूराजनीतिक अनिश्चितताको समयमा देशको अर्थतन्त्रलाई पनि टेवा पुग्नेछ। आशा गरौं, सरोकारवाला निकायहरूको ध्यान यस गम्भीर मुद्दातर्फ चाँडै जानेछ।

प्रकाशित: २९ असार २०८३ १०:५७ सोमबार





Source link

Leave a Comment