सामान्यतया महामारी भन्नेबित्तिकै कुनै रोगव्याधिको प्रकोप लामो समयसम्म रहिरहेको अवस्थालाई बुझिन्छ । यस अवधिमा धेरै जनधनको क्षति बेहोर्नुपर्ने हुन सक्छ । यस समयमा सबैभन्दा डरलाग्दो पक्ष धेरै मानिसको अकालमै अकल्पनीय मृत्यु हुने देखिन्छ । केही समयपछि यस्ता महामारी सेलाउँदै जान्छन् । त्यसपछि जनजीवन पुनः सामान्य अवस्थामा फर्किन्छ । भर्खरै बेहोरेको कोरोना महामारीलाई उदाहरणको रूपमा लिन सकिन्छ । तथापि, मुलुकमा वर्षौंदेखि यस्तो एउटा महामारी चलिरहेको छ जुन हराउने त परको कुरा दिनप्रतिदिन बढ्दै गएको छ । यो महामारीले हजारौं मानिसको ज्यान लिइसकेको छ । कतिपय अंगभंग भएर बसेका छन् । धेरैको परिवार उजाडिएको छ । कतिले अभिभावक गुमाएका छन् भने कतिले सन्तान । यसलाई सडक दुर्घटनाको महामारीका नामले चिन्ने गरिएको छ ।
केही समयअघि काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखु–नगरकोट सडकखण्डमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो भने अन्य ३० भन्दा बढी घाइते भए । यो प्रतिनिधि उदाहरण मात्र हो । ठूला सवारी दुर्घटना तथा ठूलो धनजनको क्षति भएका समाचारले प्राथमिकता पाए पनि साना दुर्घटना भने बाहिर खासै चर्चामा आउँदैनन् ।
नेपाल प्रहरीले उपलब्ध गराएको विवरणअनुसार विगत १० वर्षमा नेपालमा साना र ठूला गरेर झन्डै २ लाख ६० हजार दुर्घटना भएका छन् । यो अवधिमा विभिन्नखाले सडक दुर्घनामा परेर २४ हजार ९५ जनाले ज्यान गुमाएका छन् । यो संख्या दसवर्षे जनयुद्धका समयमा ज्यान गुमाउनेको संख्याभन्दा बढी हो । एक दशकमा सडक दुर्घनामा ज्यान गुमाउनेको संख्यालाई दैनिक औसतमा रूपान्तरण गर्ने हो भने प्रतिदिन ७ जनाबराबर हुन्छ । गत आवमा मात्र सडक दुर्घटनामा परेर २ हजार ३ सय ६९ जनाको ज्यान गएको बताइएको छ । यसरी ज्यान गुमाउनेमा वयस्क पुरुषको संख्या अत्यधिक रहेको जनाइएको छ । सडक दुर्घटनामा ज्यान जानेमा आर्थिक रूपमा सक्रिय पुरुषको संख्या ७७ प्रतिशत देखिएको छ । यसैगरी विगत १० वर्षमा सडक दुर्घटनामा ५० हजारभन्दा बढी गम्भीर घाइते भएको प्रहरीको विवरणले देखाएको छ । यसरी ज्यान गुमाउने र घाइते हुने अधिकांश दुईपांग्रे सवारीचालक रहेको बताइएको छ ।
एक ठाउँबाट अर्को ठाउँमा पुग्न छिटोछरितो एवं सजिलोका हिसाबले मोटरसाइकल र स्कुटरजस्ता दुईपांग्रे सवारीसाधनहरूले आकर्षित गरेका छन् । विशेषगरी, किशोरकिशोरीले यी सवारीसाधनहरूलाई बढी रुचाएको देखिन्छ । उनीहरू कामविशेषले भन्दा पनि मनोरञ्जन तथा देखासिखीको प्रभावले यसप्रति बढी आकर्षित भएको पाइन्छ । भर्खर १६–१७ वर्ष उमेर पुगेका युवायुवतीहरूले दुईपांग्रे सवारीसाधन प्रयोग गर्दा होसियारी नअपनाएका कारण दुर्घटना बढेको धेरैको बुझाइ छ । सवारीसाधन चलाउँदा निम्नतम सुरक्षाका मापदण्डसमेत पालना नगरेका कारण जनधनको ठूलो क्षति भएको देखिन्छ । ट्राफिकको आँखा छली बिनाहेलमेट ड्राइभिङ गर्ने, मादकपदार्थ सेवन गर्ने, सवारीसाधनको अवस्थामा हेलचेक्य्राइँ गर्ने, असुरक्षित तरिकाले ड्राइभिङ प्रतिस्पर्धा गर्ने, फोनको प्रयोग तथा ट्राफिक नियम नमान्ने र परिवारको अधीनभन्दा बाहिर जानुजस्ता कारणले दुईपांग्रे सवारीसाधनमा धेरै किशोरकिशोरीको ज्यानसमेत गुमाएका छन् भने कति अंगभंग भएर बस्न बाध्य भएका देखिन्छन् ।
विश्वभर नै दुईपांग्रे सवारी चलाउनुलाई ‘जोखिमपूर्ण ड्राइभिङ’ भनेर सम्बोधन गर्ने गरेको देखिन्छ । सबै मुलुकमा धेरै दुर्घटनमा पर्ने र बढी जोखिम हुने सवारीका रूपमा दुईपांग्रे नै पर्ने गरेको छ । कसैले यसलाई दुईपांग्रेमा अडिएर ड्राइभिङ गर्नुपर्ने भएकाले चारपांग्रेको तुलनामा २ सय प्रतिशतले बढी जोखिमको यात्रा हो पनि भन्ने गरेका छन् । सडकमा आफू मात्रै दुर्घटना पर्नेभन्दा पनि अन्य सवारीलाई समेत दुईपांग्रेले जोखिम बढाएको पाइन्छ । नेपालमा पनि सबैभन्दा बढी दुर्घटनमा दुईपांग्रेकै कारण हुने गरेको छ ।
दुर्घटनासम्बन्धी नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा सडक दुर्घटनामा हुने कुल मृत्यु वा घाइतेमध्ये सबैभन्दा बढी ६८ प्रतिशत मोटरसाइकल दुर्घटनाका छन् । मोटरसाइकल दुर्घटनाबाट पैदलयात्रीले समेत अनाहकमा ज्यान गुमाइरहेको उल्लेख छ । सडक दुर्घटनामा मृत्यु वा घाइते हुनेमा मोटरसाइकल तथा स्कुटर दुर्घटनाले १२ प्रतिशत, बस र तीनपांग्रे टेम्पोले ४÷४ प्रतिशत, कार र ट्रकले ३÷३ प्रतिशत, अरू सवारीले १ प्रतिशत र पैदलयात्री ५ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ । यसैगरी १५ देखि २४ वर्ष उमेर समूहका प्रति १ लाख जनसंख्यामध्ये १ हजार ६ सय ५९ जनाको सडक दुर्घटनामा मृत्यु वा घाइते हुने गरेको समेत जनाइएको छ । यसबाट दुईपांग्रे सवारीसाधनको जोखिम’bout सहजै अनुमान लगाउन सकिन्छ ।
नेपाल तुलनात्मक रूपमा अधिक सडक दुर्घटना हुने मुलुकमा परेको विभिन्न प्रतिवेदनले बताएका छन् । गत वर्ष पुसमा सरकारलाई बुझाइएको यातायात क्षेत्र सुधारसम्बन्धी एउटा प्रतिवेदनअनुसार दस जनामा एक जनासँग मात्र सवारीसाधन भएको नेपालजस्तो मुलुकमा विद्यमान सवारी दुर्घटनाबाट भएको मृत्युको तथ्यांक असाध्यै धेरै सवारीसाधन भएका अस्ट्रेलिया, संयुक्त अधिराज्य र नेदरल्यान्ड्सको भन्दा तुलनात्मक हिसाबले निकै बढी रहेको बताएको छ । नेपालमा हुने सवारीसाधनको दुर्घटना र त्यसको मृत्यु हेर्दा यो एउटा नसर्ने रोगको महामारीजस्तै भएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । यस्ता दुर्घटनाबाट पुग्ने बहुआयामिक क्षति’bout नजरअन्दाज गर्न नमिल्ले बताइन्छ । एक अध्ययनले निम्न र मध्यम आय भएका मुलुकले सडक दुर्घटनाको कारण कुल गार्हस्थ्य उत्पादनको करिब पाँच प्रतिशतको क्षति बेहोर्नुपरिरहेको अनुमान गरेको छ ।
यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले नेपालमा दुर्घटना हुने मुख्य पाँच कारण बताएको छ । जसमा मानवीय, यान्त्रिक, सडक, सडक प्रयोगकर्ता र मौसम परेका छन् । मानवीय कारणमा चालकको ज्ञान सीप र क्षमता, शारीरिक र मानसिक अवस्था, पैदलयात्रुको सजगताजस्ता विषय समावेश छन् । यस्तै, यान्त्रिकमा सवारीसाधनको अवस्था र भारवहन क्षमता, सवारीको गति परेका छन् भने सडक र यसको प्रयोगकर्तामा सडकको भौतिक अवस्था, संकेत र बारहरू, सडकको अन्य प्रयोग, चौपायाको उपस्थिति र मानिससँग सडकको अन्तरक्रिया र मौसममा दृश्यावलोकनको अवस्था, उज्यालो, अँध्यारो, पानी परेको वा नपरेको, कुहिरो लागेको, नलागेको, बाढीपहिरोलगायत पनि दुर्घटनाका कारणमा पर्ने प्रतिवेदनमा उल्लेख छ । यसबाहेक दुईपांग्रे सवारीसाधनको हकमा भने सवारीचालक अनुमतिपत्रलाई समेत दुर्घटनाको कारक तत्वका रुपमा हेर्ने गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारीचालक अनुमतिपत्र पाउन मोटरसाइकल तथा स्कुटरजस्ता दुईपांग्रे सवारीसाधनका लागि १६ वर्ष तोकिएको छ । ऐनमा मझौला तथा साना सवारीका निम्ति १८ वर्ष र ठूला सवारीसाधन लागि २१ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ । अपरिपक्व उमेरमै दुईपांग्रे सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने गरेकाले समेत दुर्घटनामा वृद्धि भएको धेरैको बुझाइ छ । कुल सडक दुर्घटनामा ४० देखि ५० प्रतिशत मृत्यु तीव्र गतिकै कारण हुने गरेको बताइएको छ । मोटरसाइकलको चाप उच्च रहने राजधानीका तीन जिल्लामा दिनको पाँचदेखि २० मोटरसाइकल वा स्कुटर दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । कम उमेरका दुईपांग्रे सवारीचालक दुर्घटनाको उच्च जोखिममा रहने गरेका देखिन्छन् ।
नेपालमा दर्ता भएका कुल सवारी साधनमा ८० प्रतिशत सवारीसाधन दुईपाङ्ग्रे छन् र यसका प्रयोगकर्ता सुरक्षाका मामलामा कमजोर देखिएका छन् । यसैकारण यसको समाधानका उपाय खोज्नुपर्ने आवश्यकता देखिएको छ । सर्वप्रथम दुईपांग्रे सवारीसाधनका लागि आवश्यक सवारीचालक अनुमतिपत्रको उमेरहदमा फेरबदल गर्नुपर्ने देखिन्छ । १६ वर्षमै सवारीचालक अनुमतिपत्र दिँदा चालक शारीरिक एवं मानसिक रूपले परिपक्व भैनसकेको देखिन्छ । उमेरहद बढाउँदा केही हदसम्म समस्याको न्यूनीकरण हुन सक्छ । यसैगरी अन्य ठूला एवं मझौला सवारीसाधनका चालकसमेत जिम्मेवार बन्नुपर्ने देखिन्छ । दुर्घटनाका मुख्य कारणमा मादकपदार्थ, लागूपदार्थ सेवन, राजमार्गमा तीव्र गति, चालक अनुमतिपत्रबिनै सवारी चलाउने, जथाभावी ओभरटेक, ट्राफिक नियमको उल्लंघन, मोबाइल फोनको प्रयोग, यात्रुको अत्यधिक चापलगायत छन् । ट्राफिक नियम, सवारी सुरक्षाका मापदण्ड आफु, आफ्नो परिवार र समग्र सबैको हितका लागि बनेका हुन् भन्ने हेक्का राखी सवारीसाधनको प्रयोग गरेमा मात्र सुरक्षित तरिकाले गन्तव्यमा पुग्न सकिने देखिन्छ र सडक दुर्घटनाको विद्यमान महामारीलाई हटाउन मद्दत पुग्नेछ ।
(Visited 6 times, 1 visits today)