प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार
विश्वकै सर्वोच्च शिखर सगरमाथाले यस वर्षको वसन्तकालीन आरोहण सिजनमा नयाँ इतिहास रचिरहेको छ । बुधबार मात्र एकै दिन २५० भन्दा बढी आरोहीले चुचुरोमा पाइला टेक्दै सगरमाथा दुर्लभ र कीर्तिमय क्षणको साक्षी बनेको हो ।
पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अनुसार यस वर्षको आरोहण सिजन सफल र उत्साहजनक देखिएको छ । अनुकूल मौसम, प्रभावकारी मार्ग व्यवस्थापन तथा आरोही, शेर्पा गाइड र सहयोगी टोलीबीचको समन्वयका कारण आरोहण गतिविधि व्यवस्थित रूपमा अघि बढिरहेको सङ्घले जनाएको छ ।

“सुरक्षित आरोहण, सफल अभियान तथा जिम्मेवार पर्वतीय पर्यटन प्रवर्द्धनका लागि हामी सबै एकजुट भएर अगाडि बढिरहेका छौं,” पर्वतारोहण सञ्चालक सङ्घ नेपालका महासचिव ऋषि राम भण्डारीले भने ।
यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि कैयौं नेपालीले अनुमति लिएका छन् । मे १३ मा बाटो खोल्ने तथा डोरी टाँग्ने टोलीले सफलतापूर्वक मार्ग निर्माण सम्पन्न गरेपछि चुचुरोतर्फको यात्रा थप तीव्र बनेको हो ।

यो वर्षको सिजन आरोहण मात्र नभई कीर्तिमानको सिजनका रूपमा पनि देखिएको छ । कामिरिता शेर्पाले विश्वमै सबैभन्दा धेरै ३२ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान फेरि तोडेका छन् । महिलातर्फ लाक्पा शेर्पाले ११ पटक सफल आरोहण गर्दै नयाँ इतिहास बनाएकी छन् भने पूर्णिमा श्रेष्ठले ६ पटक सगरमाथा चढ्दै अर्को उल्लेखनीय उपलब्धि थपेकी छन् ।
यस्तै, १८ वर्षीय एक अष्ट्रेलियाली युवा आरोहीले पनि सफलतापूर्वक सगरमाथा आरोहण गर्दै युवा पुस्तामाझ प्रेरणाको सन्देश दिएका छन् ।
“यो नेपालको पर्वतीय पर्यटन क्षेत्रका लागि अत्यन्त गौरवपूर्ण, उत्साहजनक र खुशीको क्षण हो,” महासचिव भण्डारीले भने, “यस उपलब्धिले नेपालको हिमाल, पर्यटन र साहसिक क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई अझ उचाइमा पुर्याएको छ ।”

समुद्री सतहबाट ८ हजार ८४८.८६ मिटर उचाइमा रहेको सगरमाथा आरोहणका लागि वसन्त ऋतु (विशेषगरी मार्चदेखि मेसम्मको अवधि) सबैभन्दा उपयुक्त र लोकप्रिय मानिन्छ । यही सिजनका लागि यो वर्षको वसन्त ऋतुमा हालसम्म (सन् २०२६ को मार्च १ देखि मे १५ सम्म) ५५ देशका ४ सय ९४ जनाले सगरमाथा आरोहण अनुमति लिइसकेका छन् ।
