कामिरिता शेर्पा
विश्वको सबैभन्दा उच्च शिखर सगरमाथा आरोहण जोकोहीका लागि सहज विषय होइन। यो जोखिम र चुनौतीले भरिएको यात्रा हो। यसका लागि अदम्य साहस, आत्मविश्वास, हिमाल चढ्ने सीप र कला आवश्यक पर्छ।
त्यही साहस र बहादुरीको उपनाम बनेका छन्, ५५ वर्षीय कामिरिता शेर्पा। उनले यो शिखरमाथि ३० पटक विजय हासिल गरिसकेका छन्। यो लेख तयार पार्ने बेलासम्म ३१औँ आरोहणको क्रममा आधार शिविर पुगिसकेका छन्।
धेरैपटक सगरमाथाको आरोहण गर्ने विश्व कीर्तिमान राखेका आरोही कामिरिताको यो प्रयास सफल भएसँगै उनले यसअघिको आफ्नै कीर्तिमान तोड्ने छन्। त्यसो त, उनले यसअघि पनि पटक–पटक आफँैले राखेको रेकर्ड तोड्दै आएका छन्। उनी आफँैसँग प्रतिस्पर्धा गरिरहेका छन्।
आफ्नो यो आरोहणको सिलसिलालाई कुनै कीर्तिमानको भोक नभै नियमित कार्य र पेसा भएको बताउने उनले भविष्यमा पनि कति पटक तोडने छन्, अहिल्यै भन्न कठिन छ। ५५ वर्षका उनी सन् १९९४ देखि यो यात्रामा निरन्तर लागिरहेका छन्। उनका पिता आरोहण गाइड रहेकाले उनी १२ वर्षको कलिलै उमेरदेखि हिमाल आरोहणसँग जोडिएका थिए। उनको त्यही हुटहुटी र निरन्तरताले सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही बनेका हुन्। यसपटक उनी, सेभेन समिट ट्रेक्स प्रालिमार्फत भारतीय सेनाको टोलीलाई लिएर सगरमाथा आरोहणमा जान लागेका हुन्।
‘एभरेस्ट म्यान’ नामले चिनिने शेर्पाले पहिलोपटक सन् १९९४ को मे १३ मा सगरमाथा चुमेका थिए। सगरमाथा मात्र होइन, उनको नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान पनि छ।
शेर्पा सगरमाथाको आधार क्षेत्रमा रहेको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेका बासिन्दा हुन्। त्यही थामेमा गत वर्ष दुई वटा हिमताल फुटेर वितण्डा मच्चिएको थियो। थामेका कैयन् घर बाढीले पुरेको थियो। हुन पनि, जलवायु परिवर्तनका कारण भएको तापमान वृद्धिले नेपालका हिमाल र पर्वतीय क्षेत्र सबैभन्दा धेरै प्रभावित छन्। हिमनदीहरू पग्लने क्रममा तीव्रता आएको छ। हिमताल बिष्फोटको जोखिम उत्तिकै बढेको छ। हिउँ पहिरो र बाढीको जोखिम निरन्तर बढेको छ। विगत कैयन् दशकदेखि सगरमाथासँग परिचित रहेका शेर्पा यो विषयमा लगातार चिन्ता व्यक्त गर्दै आएका छन्।
सन् १९५३ मे २९ तारिखमा दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा पहिलोपटक आरोहण गरेयता हालसम्म ८ हजार भन्दा बढी आरोहीले सगरमाथ चुमेका छन्। योे कठिन यात्रामा सयौँले ज्यानसमेत गुमाएका छन्।
३१औँ पटकको यात्राका लागि त्यसतर्फ जानुअघि उनले आफ्नो जीवनको प्रवाह नगरी जोखिमपूर्ण सगरमाथा यात्रा गर्ने आरोहीलाई सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने बताएका छन्। सँगसँगै, आरोहीको ठूलो संख्याका कारण सगरमाथा क्षेत्रमा भैरहेको फोहोर संकलनका लागि बजेट र जनशक्ति व्यवस्था गर्न पनि सगरमाथाको आधार क्षेत्रमा रहेका शेर्पाले नागरिकमार्फत सुझाए।
लाक्पा शेर्पा
१० पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पामा आधारित नेटफ्ल्क्सि डकुमेन्ट्रीमा उनलाई पहाडकी रानी अर्थात ‘क्विन अफ दी माउन्टेन’ को संज्ञा दिइएको छ। ‘माउन्टेन क्विन, द समिट्स अफ लाक्पा शेर्पा’ नामक उक्त डकुमेन्ट्री बेलायती फिल्म निर्माता लुसी वाकरले बनाएकी हुन्। उक्त डकुमेन्ट्रीमा नेपाली सब टाइटलसमेत छ। लाक्पाको ठूलो प्रयासपछि यो सम्भव भएको हो।
त्यसो त, उमेरले ५० वर्ष पुगेकी शेर्पाले किशोर अवस्थादेखि नै भरिया भएर विभिन्न हिमालको आरोहण सुरु गरेकी थिइन्। जीवनको विभिन्न कालखण्डमा गरिबी र अभावसँग जुधेकी उनी संखुवासभामा जन्मिएकी हुन्।
सगरमाथा आरोहण गरेर सकुशल फर्कने पहिलोे नेपाली महिलामा उनी पर्छिन्। उनले सगरमाथाको पहिलो सफल आरोहण सन् २००० मा गरेकी हुन्। त्यसको ९ वर्षअघि अर्थात सन् १९९३ मा पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेकी थिइन् तर उनको शिखरबाट फर्किने क्रममा निधन भएको थियो। सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिलाको उपाधि भने पासाङल्हामु शेर्पाले हासिल गरेकी छिन्। सन् २००० को आरोहण गर्ने क्रममा लाक्पा समावेश रहेको आरोहण समूहमध्ये उनी एक्लैले मात्र आरोहण गर्न सफल भएकी थिइन्।
हाल अमेरिकाको वेस्ट हार्टफोर्डमा बस्दै आएकी उनले धेरैपटक सगरमाथा आरोहण गर्ने महिलाको सूचीमा आफैँले राखेको रेकर्ड पटक पटक तोडेकी छिन्। सन् २०२२ मा ९ पटकको आरोहण कीर्तिमान तोड्दै लाक्पा १०औँ पटक सगरमाथाको आरोहण गर्न सफल भएकी छिन्। लाक्पाले पछिल्लो आरोहणका क्रममा अमेरिकी आरोहीसहितको टोलीलाई गाइडको भूमिकासमेत निर्वाह गरेकी थिइन्। लाक्पा
सन् २०१६ मा बिबिसीका तर्फबाट विश्वभरका १०० जना प्रभावशाली प्रेरणादायी महिलाका रूपमा ‘बिबिसी १०० ओमन’ को सूचीमा परेकी थिइन्। सन् २००३ मा उनका भाइ, बहिनी र उनी गरेर तीनजना एकसाथ सगरमाथा चढेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राखेका थिए। त्यसपछि उनका अन्य रेकर्ड थपिँदै गए। शेर्पाले हालसम्म दुईपटक नेपालतर्फबाट र आठ पटक तिब्बततर्फको बाटोबाट सगरमाथा आरोहण गरेकी छन्।
उनले अमेरिकामा बस्ने तर रोमानियामा जन्मेका आरोही जर्ज डिमारेस्कुसँग बिहे गरिन् र तिनै पतिसँग ५ पटकसम्म सगरमाथा आरोहण गरिन्। बिहेपछि उनी अमेरिका बसाइँ सरिन्। सन् २००१ मा बिहे गरेकी उनको २०१५ मा सम्बन्ध विच्छेद भएको थियो। उनका १ छोरा र २ छोरी छन्।
त्यसो त, उनका आफ्नै बाबु आमाले पनि उनको आरोहणका लागि खास प्रोत्साहन गरेका होइनन्। हिमाल आरोहण गरेमा कहिल्यै बिहे नहुने भनेर आफ्नी आमाले भनेको प्रसंग उनी बारम्बार स्मरण गर्छिन्। हिमाल आरोहणले उनी पुरुष जस्तो बन्ने र कसैले बिहे गर्न नचाहने आमाको तर्क रहेको उनले केही वर्षअघि बिबिसीलाई बताएकी थिइन्।
अहिले भने उनी आफ्ना छोरा र छोरीसँग सगरमाथा आरोहण गर्न चाहन्छिन्। हिमाल आरोहणलाई आफ्नो रुचि बताउने उनी निरन्तर आरोहण जारी राख्ने बताउँछिन्।
‘हिमालले मलाई खुसी र आनन्द दिने गरेको छ। हिमाल आरोहणका लागि म कहिले हार खाने छैन। म जवान महिलाहरू हार नखाऊन् र त्यो मजस्ता आरोहीबाट सिकून् भन्ने चाहन्छु,’ उनले बिबिसीसँग भनेकी छिन्।
नेटफ्ल्क्सिको डकुमेन्ट्रीको सुरुमा उनले भनेकी छिन्– म दिउँसो र राति जतिबेला सपना देख्छु, म सुन्दर पहाड देख्छु, म जब पहाड उक्लन्छु, म ठूलो र झन् ठूलो भएको महसुस गर्छु जब तल झर्छु त्यतिबेला मुसो जस्तो भएको महसुस गर्छु। ‘म सगरमाथालाई आफ्नै आमा जस्तो आदर गर्छु,’ उनले सो डकुमेन्ट्रीमा भनेकी छिन्।
नागरिकसँगको छोटो कुराकानीमा उनले यो वर्षको मे महिनामा सगरमाथा आरोहरण गर्ने तयारी भैरहेको बताइन्। यो आरोहण सफल भएमा उनी सगरमाथाको चुचुरोमा ११औँ पटक पुग्ने महिला आरोही हुनेछिन्।
‘म सानैदेखि स्पोर्टी टाइपकी थिएँ। त्यही भएर म केटाले गर्ने काम केटीले पनि गर्न सक्छन् भन्ने ठान्थेँ,’ उनले भनिन्। अब कतिपटक आरोहण गर्ने विचार छ भन्ने प्रश्नमा ५० वर्षीया उनले भनिन्, ‘अब छोराछोरी हुर्किसके। जिउले साथ दियो भने ८२ वर्षसम्म म चढ्न चाहन्छु।’
उसो भए कामिरिताले राखेको रेकर्ड तोड्ने विचार हो भन्ने प्रश्नमा उनको जवाफ थियो– केटाले गर्ने काम केटीले पनि गर्न सक्छन् भन्ने म प्रमाणित गर्न चाहन्छु। लाक्पा आफूलाई हिमालको डाक्टर बताउँछिन्, ‘मलाई कतिबेला हिउँ पहिरो आउँछ, मौसम कसरी विकसित हुन्छ भन्ने कुराको राम्रो ज्ञान छ। जसरी हाम्रा पूर्वजले आकास हेरेर मौसम कस्तो हुन्छ भन्न सक्थे, मैले पनि त्यो सिकेकी छु।’
उनी सगरमाथा क्षेत्रमा हिजोआज सरसफाइ गर्ने अभियान चलिरहेको बताउँछिन्। ‘सगरमाथामा धेरै फोहोर भयो भनिन्छ, त्यस्तो छैन। अहिले आरोहीमा चेतना बढेको छ। उनीहरूले त्यतिसारो फोहोर गर्र्दैनन्। बरु काठमाडौँमा गरिने फोहोर राम्रोसम्म व्यवस्थापन नगर्दा यो सगरमाथा पुगेको उनी ठान्छिन्।
जीवनमा केही गर्न मनैदेखि इच्छाशक्ति चाहिने उनको धारणा छ। ‘मुखले भनेर मात्र हँुदैन, कुनै पनि काम गर्न मनदेखि चाहना हुनुपर्दछ, त्यसो हुन सकेमा जुनसुकै काम पनि सहज हुन्छ। त्यो चाहे केटा होस् या केटी, दुवैमा लागु हुन्छ,’ उनको भनाइ छ।
प्रकाशित: १३ वैशाख २०८२ १३:२५ शनिबार