२७ साउन, काठमाडौं । सिन्धुपाल्चोक खाडीचौरमा उनको घर छेउबाट सुनकोसी बग्छ । बाल्यकाल त्यही सुनकोसी किनार वरिपरि नै बित्यो । नदीको सुसाइमै सुमधुर लोरी सुनेर मस्त निदाउने उनले त्यसैको बहाब हेरेर जीवन गतिशील बनाउन सिके भने खोँच हेरेर संघर्ष । र, त, यतिन्जेलसम्म उनी नदी किनार छेउछाउ छन् ।
तर सुनकोसी होइन, घरभन्दा धेरै टाढा कालीगण्डकीको । पर्वत कुश्मा नगरपालिका–५ मा संसारकै दोस्रो अग्लो ‘बन्जी जम्प’ सञ्चालन गरेर पर्वतमात्र होइन, नेपाललाई नै विश्वमाझ चिनाइरहेका छन् राजु कार्की ।
राजुले खोलेको बन्जी जम्प अहिले यस्तो ‘विश्वस्तरीय ब्रान्ड’ बनेको छ, जुन पछिल्लो केही वर्षदेखि संसारभरिका साहसिक पर्यटकको उत्कृष्ट गन्तव्य बनेको छ भन्दा अतिशयोक्ति नहोला ।
राजुको बन्जी कालीगण्डकी नदीमाथि ५ सय २० मिटर लम्बाइ र २ सय २८ मिटर उचाइमा बनेको छ । पर्वत र बागलुङ छुने गरी कालीगण्डकी माथि राजुले चार वर्षअघि साहसिक गतिविधि गर्न मिल्ने गरी सञ्चालनमा ल्याएको ‘द क्लिफ’ बिस्तारै साहसिक पर्यटन गन्तव्यमा कुश्माकै ‘कोशेढुंगा’ बन्यो ।
अहिले पोखरा पुग्ने स्वदेशी हुन् या विदेशी, अधिकांशको योजनामा पर्न थालेको छ– द क्लिफ बन्जी ।
बन्जीबाट सुरु भएको द क्लिफ विश्वकै अग्लो स्विङ, विश्वकै दोस्रो अग्लो बन्जी, विश्वकै अग्लो र लामो स्काई साइक्लिङ, विश्वकै अग्लो स्काई क्याफेमात्र नभई रिसोर्ट, नेपालकै पहिलो स्काई सर्फिङ, स्काई चियर, क्रेजी ब्रिज, वाल क्लाइम्बिङ लगायतमा विस्तार भइसकेको छ ।
१५ करोड रुपैयाँबाट सुरु भएको द क्लिफमा साहसिक गतिविधि विस्तार भएसँगै अहिले लगानी ६० करोड नाघिसकेको छ । त्यहाँ अहिले १ सय ७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
केही नयाँ व्यवसाय गर्ने ‘महत्त्वाकांक्षी’ सपना पछ्याउँदै सुनकोसीबाट कालीगण्डकी पुगेका राजुले त्यहाँ सञ्चालन गरेको द क्लिफ मार्फत पूरा गरिरहेका छन् ।
पर्यटकको रुचि र रोजाइ अनुसार राजुले बर्सेनि नयाँ–नयाँ गतिविधि थपिरहेका छन् । ‘पछि बिस्तारै हाम्रो योजना र महत्त्वाकांक्षा पनि बढ्दै गयो । सँगसँगै लगानी पनि थपिँदै जान थाल्यो । आधी पुल राखेर बन्जी जम्प मात्रै गराउने भन्ने थियो,’ राजु सम्झिन्छन्, ‘तर, पछिपछि कामले काम सिकाउँदै गयो । अरूअरू पनि गतिविधि थप्दै जान थाल्यौं । लगानी पनि बढ्दै गयो ।’
कुश्मामा साहसिक गतिविधि सञ्चालन हुने गरी चलाइरहेको द क्लिफ स्वदेशमै केही गर्छु र गर्न सकिन्छ भन्ने युवाका लागि एउटा पाठशाला बन्न सक्छ । मुस्ताङदेखि हुर्किंदै आएको कालीगण्डकीले छुट्याएको दुई जिल्ला (पर्वत र बागलुङ) जोड्ने गरी द क्लिफले निर्माण गरेको पुलले भूगोलमात्रै होइन, साहसिक पर्यटनमा रुचि राख्नेलाई पनि जोड्ने काम गरेको छ ।
कुश्मा नगरपालिका–५ का अध्यक्ष रामहरि शर्माका अनुसार सिन्धुपाल्चोकका युवाले पर्वत आएर लगानी गर्दा कुश्मा नै साहसिक पर्यटनको ‘हब’ बन्न ठूलो भूमिका खेलेको छ । कार्कीको समूहले गरेको ठूलो लगानीले समग्र कुश्माको ‘ब्रान्डिङ’ मा अतुलनीय सघाउ पुगिरहेको छ ।
‘उहाँहरू आएर यत्रो ठूलो लगानी गर्नुभएको छ । यो लगानी उठ्न अझै केही वर्ष लाग्छ । यो बनेको पूर्वाधार कुश्माकै लागि हो,’ द क्लिफ रहेको वडाका अध्यक्ष शर्मा भन्छन्, ‘उहाँहरूले यहाँ आएर लगानी गरिदिँदा हामीलाई पनि घाटा छैन, नाफा नै छ । बन्जी भन्ने बित्तिकै कुश्मा र कुश्मा भन्ने बित्तिकै बन्जी जम्प भन्ने भएको छ ।’
यो त्यही पर्वत हो, जुन पोखरा–मुस्ताङ गरिरहने पर्यटक हेरेर बस्न विवश थियो । पोखरादेखि नजिकै र मुस्ताङ जाने बाटैमा पर्ने भए पनि पर्वत आफैंमा पर्यटकीय रूपमा सुक्खा थियो । अब कुश्माको परिचय पनि ‘साहसिक पर्यटन गन्तव्य’ का रूपमा विकास हुँदैछ ।
पर्वत र बागलुङमात्रै यस्ता जिल्ला हुन्, जो त्यहाँ रहेका झोलुङ्गे पुल हेर्न मात्रै पोखरा लगायत आसपासबाट थुप्रै पर्यटक पुग्छन् । पोखरादेखि ५७ किलोमिटर दुरीमा रहेको यो क्षेत्रले यसअघि पर्यटकीय फाइदा लिन सकिरहेको थिएन ।
तर, राजुको बन्जी जम्प लगायत साहसिक पर्यटनमा भएको लगानीले पर्यटक संख्या ह्वात्तै बढाएको वडाध्यक्ष शर्मा सुनाउँछन् । ‘पहिले मान्छेहरू आउने–जाने भइरहन्थ्यो । तर अहिले यहाँ बन्जी खुलेपछि बजार चलायमान हुन थाल्यो । गतिविधि धेरै बढ्यो,’ उनी थप्छन् ।
खुलेको चार वर्षमै कालीगण्डकी माथिको बन्जी जम्प यति लोकप्रिय भयो कि अहिले पनि द क्लिफले ‘अफसिजन’ भन्दै बिदा बस्नुपरेको छैन । माछापुच्छ्रे, धौलागिरि र मुनि कालीगण्डकी नियाल्दै उचाइबाट बन्जी जम्प गर्न तीन–चार दिन पालो पर्खेर बस्नुपर्ने अवस्था छ ।
‘सुनकोसी टु कालीगण्डकी’
सुनकोसी छाल सँगसँगै पौडी खेल्दाखेल्दै, गहिराइमा ‘डाइभ’ हान्दाहान्दै राजुलाई प्रकृतिसँग विछट्टै प्रेम बस्यो । पछि नजिकैको भोटेकोसीमा विदेशीले ‘द लास्ट रिसोर्ट’ नामक बन्जी खोलेपछि त्यसमै काम गर्न थाले ।
द लास्ट रिसोर्ट बन्जी जम्पमा सुरुमा ‘ट्रेनी’ भएर छिरेका राजु पछि त्यहीँ जागिरे भएका थिए । त्यहाँ बन्जी इन्स्ट्रक्टरका रूपमा सात वर्ष बिताए । त्यही बेला पहिलो पटक पर्वतका केही युवाले भोटेकोसी पुगेर आफ्नो ठाउँमा पनि बन्जी जम्पको सम्भावना रहेको सुनाएका थिए ।
‘त्यतिबेला पर्वतका केही साथी पनि लबिङ गर्न आउनुभएको थियो । हाम्रो ठाउँमा पनि एउटा लामो पुल बन्दैछ, नयाँ केही गर्न सकिन्छ कि तपाईंहरू आएर एकपटक हेरिदिनू न भन्नुभएको थियो,’ राजु नोस्टाल्जिक हुन्छन्, ‘केही कारण त्यहाँ बन्जी जम्प भएन । किनकि त्यो पब्लिक पुल थियो ।’
त्यसको केही वर्षपछि राजु थप अवसर खोज्दै युरोप हान्निए । यो सन् २०११ को कुरा हो । तर, फ्रान्सको आइफेल टावर नजिक पुगेर पनि उनको सन्तुष्टिको उचाइ अग्लिएन । उनी सुनकोसीतिरै, भोटेकोसीतिरै अल्झिरहे ।
संयोगवश भोटेकोसीमा बन्जीसहितको रिसोर्टमा सँगै काम गरेका युरोपेली साथीहरूसँग पनि जोडिए । ‘म पनि उनीहरूसँगै जोडिएर एक वर्षजति रिसर्चकै काम गर्छु भनेँ,’ राजु भन्छन्, ‘त्यतिबेला उनीहरूले एडभेन्चर र नयाँ टेक्नोलोजीमा के–के काम गर्छन् भनेर रिसर्च गर्ने काम गरेँ ।’
उनीहरूले विभिन्न ठाउँमा चलाइरहेको प्रोजेक्ट देखेपछि नेपालमै पनि गर्न सकिने सोच आएको उनी बताउँछन् ।
‘उनीहरूले गरेको काममा टुरिस्ट होमिएको देखेपछि के छ र यस्तो होमिनुपर्ने भन्ने एकप्रकारको जेलसी फिल हुन्थ्यो । त्यसबेला आफ्नै ठाउँमा नयाँ केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो,’ उनी भन्छन् ।
विदेशीसँगको संगतमा काम, प्रकृति र प्रविधि देखेपछि राजु तीन वर्षमै नेपाल फर्किए । सन् २०१४ मा नेपाल आएपछि त्यही वर्ष कुश्मा लागे । द लास्ट रिसोर्टमा काम गर्दाताका पर्वतका युवा आएर ‘हाम्रो ठाउँमा पनि यस्तै ठाउँ छ’ भनेको उनले भुलेका थिएनन् ।
बागलुङ र पर्वत जोड्ने गरी सरकारले पहिले नै त्यहाँ पुल बनाएको थियो । विदेशमा धेरै सार्वजनिक ठाउँ पनि कानुन बमोजिम व्यावसायिक रूपमा प्रयोग भइरहेको देखेका थिए । सम्भावना खोज्दै सुनकोसीदेखि कालीगण्डकी पुगेका राजुले सोचेका थिए, ‘सार्वजनिक पुलमा पनि अरूलाई असर नपर्ने गरी बन्जी व्यवसाय चलाउँछु । सरकाले पनि आम्दानी गर्छ, मैले पनि गर्छु ।’
तर, राजुको सोचाइ गलत थियो । दुई वर्षसम्म रुमल्लिए । कहिले कहाँ, कहिले कहाँ धाउँदा धाउँदा हत्तु हैरान भइसकेका थिए । सोचेको कुनै काम नबन्दा बीचमा बेकारको क्षेत्रमा हात हालेछु भनेर हतोत्साही पनि नभएका होइनन् । तर, हार मानेनन् । त्यही आत्मविश्वास नै सफलताको बलियो टेको बन्यो ।
‘युरोप, जापान लगायत ठाउँमा सार्वजनिक ठाउँमै नयाँ तरिकाले कुनै डिस्टर्ब नहुने गरी आफूले पनि व्यवसाय चलाइरहेको देखेरै त्यहाँ (कुश्मा) पुगेको थिएँ,’ राजु सुनाउँछन्, ‘तर, सायद मेरो भिजन नौलो थियो वा तौरतरिका मिलेन, त्यसले काम गरेन । त्यही पीडाले आजको द क्लिफ जन्मिएको हो ।’
दुई वर्षसम्मको हन्डरले कुश्मा र बलेवा दुवै भागमा जग्गा किनेर आफ्नै पुल बनाउन कार्की कस्सिए । ‘बरु आफ्नै लगानीमा खोल्छु, दुई वर्ष यसै पनि खेर गयो, अब खेर फाल्दिनँ,’ उनी सुनाउँछन्, ‘जति पैसा लागे पनि लागोस्, बरु अरू पार्टनर राख्छु । तर, आफ्नै बनाउँछु भनेर कस्सिएँ । त्यहीँबाट मानसिकता बदलियो ।’
द क्लिफ खुलेपछि नै कुश्माले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउन थालेको राजुको भनाइ छ । कुनै बेला कुश्मामा लामो पुल हेर्न जानेको भीड लागे पनि पर्यटकहरू गुणस्तरीय सेवाको अभावमा त्यहाँ बास नबसी पोखरा नै फर्किने गरेका थिए ।
‘पोखरा एकदमै ब्लुम थियो, मुस्ताङ त्यस्तै छ । तर, त्यसैको बीचको भागमा पर्ने कुश्मा भने पछाडि थियो । नयाँ पुल बनेको छ हेर्न जाऔं भन्नेमात्रै थियो,’ राजु भन्छन्, ‘तर, अहिले द क्लिफले गर्दा कुश्मा एडभेन्चर हब हो है भनेर विकास गर्न सक्यौं भन्ने लाग्छ ।’
‘कालीगण्डकी संरक्षण अभियान’ सँगै कुश्मामै शताब्दी घर (हेरिटेज होम) चलाइरहेका अभियन्ता आरके अदिप्त गिरी पनि कार्कीले कुश्मालाई साहसिक पर्यटन गन्तव्यका रूपमा पुनर्जागरण गराएको बताउँछन् ।
‘दर्जनौं सम्भावना हुँदाहुँदै कुश्मा केही ओझेलमा थियो । तर, यहाँ बन्जी आएपछि सुस्ताएको कुश्माको पर्यटन क्षेत्र नै गुल्जार बन्न थालेको छ,’ गिरी भन्छन्, ‘कुश्माको पर्यटनले आङ तन्काउन पाएको छ । यो हाम्रा लागि ठूलो उपलब्धि हो ।’
द क्लिफमा पर्यटक चाप बढेसँगै छायामा रहेका धौलागिरि क्षेत्रका थुप्रै पर्यटन गन्तव्य प्रचारप्रसार गर्ने मौका पनि मिलेको गिरीको मत छ । तर, व्यक्तिले गरिरहेको प्रयासमा स्थानीय, प्रदेश सरकारले पनि भरथेग गर्नुपर्ने उनी सुनाउँछन् ।
भिडियो : शंकर गिरी र आर्यन धिमाल, तस्वीरहरू : द क्लिफ