काठमाडौं। दशैं सुरु भइसक्यो, काम विशेषले घरबाहिर रहेकाहरू पनि धमाधम गाउँ फर्किरहेका बेला खोटाङका राजन पौडेल रोजगारीका लागि विदेश हिंड्नुपर्यो । मंगलबार यूएई उड्नुअघि उनले विमानस्थलबाटै भिडियो कल गरेर श्रीमतीलाई भने, ‘आबुधाबी एअरपोर्ट पुगेपछि मात्रै कल गर्छु है !’ संगीता र छोरीहरूले उनलाई भिडियो कलबाटै बाई-बाई गरे ।
‘छुट्टी सकियो, यहाँ बसेर मात्रै के गर्ने ?’ राजन निर्धक्कसँग भन्छन्, ‘विदेशमा भए पनि त्यहाँ साथीभाइ जम्मा भएर रमाइलो गरिहालिन्छ, घरमा दिनमा २–४ पटक सबैसँग भिडियो कल भइहाल्छ, चिन्ता छैन !’
उनले आफूले अधिकांश दशैं विदेशमा मनाएको र दशैंका टीकाका बेला म्यासेन्जरमा कल गरेर परिवारको टीका थापेको हेर्ने गरेको अनुभव सुनाए । घरमा दशैंको टीका लगाउँदै गर्दा आफू पनि भिडियो कल मार्फत सँगै जोडिएर परिवारलाई खल्लो महसुस हुन नदिएको उनको भनाइ छ ।
‘पोहोर त आमालाई भिडियो कलमै ल टीका लगाइदिनुस् भनें, आमाले मोबाइलको स्क्रिनकै टीका र जमरा टाँसेर रमाइलो गरिदिनुभयो’ उनले भने, ‘आजको जमानामा सँगै नभए पनि मोबाइल फोनबाट भएजत्तिकै रमाइलो गर्न पाइन्छ ।’
हुन पनि बाध्यताले विदेश उड्दा पनि परदेशीहरूलाई घरसँग जोडिन प्रविधिले सघाइरहेकै छ । भौतिक रूपमा टाढा भए पनि दैनिक फोन र भिडियो कलले संवाद र सम्पर्कमा घरपरिवार, साथीभाइ, छरछिमेक र आफन्तहरू जोडिरहन्छ ।
बहराइनमा रहेका चितवनका मधुराम ठकुरीलाई विदेशमा बसे पनि घरमा दैनिक २-४ पटक कुरा नगरी चित्तै बुझ्दैन । उनी बिहान उठ्नासाथ मुख धोएर घरमा भिडियो कलमा गफिन्छन् । दैनिक रूपमा गाउँघरमा भएका घटनादेखि घरायसी कामकाजको सबै कुरा सुन्छन् ।
‘घरमा कुरा गरेपछि दिन सुरु हुन्छ, कुनै दिन भैंसीले दूध दिएन भने पनि हामीलाई आज घरमा कुँडे खाली छ भन्ने थाहा हुन्छ’ उनी भन्छन्, ‘कुन दिन धान काट्ने÷नकाट्ने भन्ने कुरा पनि मैले मौसमको समाचार सुनेर घरमा यस्तो छ है भनिदिन्छु ।’
प्रविधिले सञ्चार र सम्पर्कमा जोड्दा देश र विदेशका विभिन्न कुनामा पुगेकाहरूलाई एकै ठाउँमा ल्याउँदैछ। अध्ययन सिलसिला र अवसरको खोजीमा विदेश रहेकाहरू र घरपरिवारका मान्छेबीचको नियमित अडियो/भिडियो संवाद दैनिकी नै बनिसकेको छ । यसले दुवैतर्फ एकअर्काको सूचना मात्रै आदानप्रदान भइरहेको छैन, परिवारलाई आत्मीय रूपमा जोड्न सघाइरहेको छ ।
काठमाडौंको एक निजी बैंकमा काम गर्ने सलिना थापालाई बिहान चिया पिउँदै र राति खाना खाएपछि आमाले भिडियो कल गर्छिन् । यो उनको र परिवारको नियमित ‘रुटिन’ हो । कुनै दिन आमाले फोन नगरे उनी आफैं लगाउँछिन् ।
‘कहिलेकाहीं म्यासेन्जरमा फोन उठेन वा इन्टरनेटका कारण लागेन भने आमाले फोन (मोबाइल नेटवर्क) मै भए पनि कल गर्छिन् । ‘राति कुनै दिन फोन उठाइनँ भने घरबेटीलाई फोन जान्छ’ उनी ठट्टा गर्दै भन्छिन्, ‘मेरो आमालाई मसँग कुरा नगरी खाएकै पच्दैन !’
काठमाडौं बसेर पनि सलिनाले धनकुटाबाटै आमाको अद्भुत प्रेम अनुभव गर्न पाएकी छिन् । आफूलाई रुघा लागेको दिन आमाले एक बोलीमै थाहा पाउने भन्दै उनले प्रविधिको प्रयोगबाट हुने संवाद पनि साथै भए सरहको हुने गरेको बताइन् ।
‘म थोरै मात्रै बिरामी छु भने त दिउँसो पनि तीन पटक फोन आउँछ, यो खाऊ, त्यो नखाऊ, यो गर, त्यो नगर भन्ने कुरा गरिरहनुहुन्छ’ उनले भनिन्, ‘मिल्ने भए आमाले मोबाइलबाटै मेथी पड्काएको तोरीको तेल लगाइदिनुहुन्थ्यो होला !’
पढाइको सिलसिलामा काठमाडौं बसिरहेका गोरखाका सन्तुराम दराई घरपरिवार र आफन्तसँग दैनिक केही घण्टा नै भिडियो कलमा बिताउँछन् । उनका अनुसार बेलुकीको समयमा एक घण्टा त उनी भाइलाई गणितको कक्षा नै लिन्छन् । ‘भाइको म्याथ अलि कमजोर छ, उसलाई कन्फ्युज भएको कुरा भिडियोमा नै सोध्छ’ उनले भने, ‘उसले प्रश्न खिचेर पठाउँछ, मैले पेपरमा बुझ्ने गरी हल गरेर देखाइदिन्छु ।’
पर्वतका गोपाल विक कामका लागि कुवेतमा छन्, तर अहिले उनी घरको नियमित काममा संलग्न छन् भन्दा अत्युक्ति हुँदैन । किनभने अहिले उनको परिवारले उनीसँग सल्लाह नगरी कुनै काम नै गर्न खोज्दैनन् ।
‘गाईवस्तुको नत्थी फेर्नु पर्यो भने पनि मैले नै गाउँका जान्ने मान्छेलाई भनेर पठाउनुपर्छ’ उनी भन्छन्, ‘घरमा नानी (छोरी) बिरामी भइन् भने पनि मसँग कुरा नगरी मेडिकल पु¥याउँदैनन् ।’ उनका अनुसार घरमा आवश्यक कतिपय सामान आफूले नै अनलाइन अर्डर गरेर घर पठाइदिने समेत गरेका छन् ।
मकवानपुरबाट सरकारी जागिर खान इलाम पुगेका श्याम बोलखे प्रविधिले परिवार मात्रै नभएर पुराना साथीभाइहरूसँग पनि जोडिरहेको बताउँछन् । ‘अहिले हाम्रो स्कुलमा पूर्वविद्यार्थीको ठूलो ग्रुप छ, हाम्रो विद्यालयबाट २०६१ को एसएलसी दिनेहरूको म्यासेन्जर ग्रुप छ’ उनी भन्छन्, ‘त्यहाँ साथीहरू कुरा गर्छौं, विद्यालयका पुराना दिन सम्झन्छौं, सबै आ–आफ्ना व्यवहारमा भए पनि हालखबर सजिलै थाहा पाउँछौं ।’ गाउँमा के भइरहेको छ भन्ने थाहा पाउन यस्तो ग्रुप उपयोगी भएको उनको भनाइ छ ।
हाल कोरियामा बस्दै आएकी सुनसरीकी सजना राई आमालाई नियमित रूपमा खाने औषधिको बारेमा भिडियो कल गरेर बताउँछिन् । सबै दाजुभाइ जागिरे भएकाले आमाको स्वास्थ्यबारे उनले नैै चासो राखेर दिनदिनै कुन औषधि कुन समयमा खाने भनेर बताइदिने गरेकी छिन् । ‘काममा हुँदा पनि घरमा आमा बिरामी भएकाले मन उतै हुन्छ’ उनी भन्छिन्, ‘कामबाट फुर्सद भयो कि भिडियो कल गरिहाल्छु ।’
घरकी छोरी, सासूआमा, हेटौंडा र काठमाडौंमा रहेका दिदीहरूसँग भिडियो कल मार्फत नियमित हालखबर बुझिरहेको उनले बताइन् । ‘सुनसरीमा छोरीसँग त नियमित कुरा गर्छु, उसले होमवर्क गरी कि गरिनँ भनेर चेक गर्छु, गरेको रहेनछ भने यहींबाटै सिकाइदिन्छु, कसैलाई हेरिदिन भन्छु’, उनले भनिन् ।
कतारमा काम गरिरहेका उदयपुरको चौदण्डीगढी–५ का सन्तोष चौधरीको गाउँमा अहिले धमाधम घर बनिरहेको छ । घरका लागि चाहिने सिमेन्ट, डण्डी लगायतका सामान उनी कतारबाटै श्रीमतीलाई कहाँबाट कसरी ल्याउने भनेर सुझाइरहन्छन् ।
‘म कतारमा भए पनि घरको सामान जुटाउन सोधखोज गर्छु, अनि घरमा बताइदिन्छु’ उनी भन्छन्, ‘आजकल भिडियो कलमै सबैजसो मान्छे भेटिन्छन्, घरपरिवार, गाउँमा कुरा गर्दा मूड फ्रेस हुन्छ ।’
काठमाडौं–९ सिनामंगलका बद्रीप्रसाद गौतमले अष्ट्रेलियामा रहेका छोरा–बुहारीसँग भिडियो कल गर्न छिमेकीसँग सिकिसकेका छन् । साक्षर मात्रै रहेका उनलाई यति थाहा छ, म्यासेन्जर खोलेर छेउको क्यामरा भएको ठाउँमा छोएपछि फोन जान्छ । ‘मैले मोबाइलबाट भिडियो कल गर्न सिकेदेखि मन लागेका बेला नाति–नातिनासँग कुरा गर्न पाएको छु’, उनी भन्छन् ।
टाढा छन्, टाढा छैनन्
सूचनाप्रविधिको प्रयोगले अहिले घर छाडेर आप्रवासन (स्वदेश–विदेश) मा रहेकाहरूलाई टाढाको बन्न दिने अवस्था नै छैन । प्रविधि मार्फत हुने यस्ता सम्पर्क र संवादहरूलाई सस्तो प्रविधिले झन् प्रोत्साहन गरेको छ ।
यो सुविधा प्रयोग गर्दा हामी विगत बिर्सन पुग्छौं । कुनैबेला शहरमा बसेकाले आकाशवाणी प्रविधि मार्फत घरमा सःशुल्क सन्देश पठाउन सक्थे । शुल्क कम लागोस् भनेर विभिन्न सन्देशहरू संक्षिप्त रूपमा पठाइन्थ्यो । आकाशवाणीपछि ल्यान्डलाइन फोन प्रविधिले एक समय घर बाहिर बाँचिरहेकाहरूलाई ठूलो सहयोग पु¥यायो ।
कुनै समय यस्तो पनि थियो कि काठमाडौंमा बसेकाहरूले रेडियो नेपालको ‘फोन इन’ कार्यक्रम मार्फत घरपरिवारलाई सन्देश रेकर्ड गराउँथे । जुन तोकिएका बारमा रेडियोले बजाएर घरसम्म पु¥याउन सघाउँथ्यो ।
तर, अहिले युग बदलियो । वायरलेस फोन, सीडीएमए हुँदै मोबाइल र इन्टरनेटसम्म आइपुग्दा धेरै कुरा बदलिए । अहिले फोन र इन्टरनेट सेवा सर्वसुलभ मात्रै हैन, सबैको अनिवार्य आधारभूत आवश्यकता बनेको छ । व्यक्तिगत, पारिवारिक तथा समाजका सूचनाहरू लिन मान्छेहरू अडियो र भिडियो कलसँगै च्याटिङसम्मका विकल्पहरूमा निर्भर छन् ।
यसले नेपालमा अद्यावधिक रहेको सूचनाप्रविधिका माध्यमहरूको विस्तारमा पनि सघाएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिले टेलिफोन प्रयोगकर्ता (वितरित र प्रचलित सिमकार्ड) को संख्या ३ करोड ६२ लाख २६ हजार नाघेको छ ।
यस्तै इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोड ४० लाख २८ हजारभन्दा बढी छ । तार मार्फतको इन्टरनेट जडान गर्ने परिवारको संख्या नै २८ लाख ४ हजार माथि छ । मोबाइल ब्रोडब्यान्डका प्रयोगकर्ता ३ करोड ११ लाख छन् । फोरजीकै प्रयोगकर्ता २ करोड २२ लाख नाघेका छन् ।
मोबाइल र इन्टरनेटको प्रयोग गर्नेहरूको संख्याले नै सूचना प्रविधिको प्रयोगको अवस्थालाई जनाउँछ । अहिले सशुल्क फोनको सट्टा इन्टरनेट प्रयोगकर्ताले ह्वाट्सएप, म्यासेन्जर, भाइबर, इमो जस्ता ओभर दि टप (ओटीटी) एप निःशुल्क प्रयोग गरिरहेका छन् । नेपालमा बढ्दै गएको इन्टरनेट प्रयोगकर्ताको संख्याका कारण ओटीटीमा आधारित सेवाहरूको संख्या बढ्दै गएको छ ।
शहरी र शहरोन्मुख बस्तीहरूमा तार सहितको इन्टरनेट पुगेकाले अहिले धेरैलाई विगतमा जस्तो सशुल्क भ्वाइस कल नै गर्नुपर्ने बाध्यता छैन । यस्ता इन्टरनेट नपुगेका गाउँघरमा मोबाइल कम्पनीका डेटा प्याकेज किनेर भए पनि ओटीटीबाटै कल गर्ने प्रचलन बढ्दो छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेल राम्रो अवसरका लागि आप्रवासी हुने, औसतभन्दा राम्रो आय गर्ने र उनीहरूको क्रयशक्तिले सूचनाप्रविधिमा सहजै पहुँच निर्माण गर्ने चक्रले अहिलेको अवस्था आएको बताउँछन् ।
‘मोबाइलमा अद्यावधिक प्रविधि सहितको डिभाइस कसैको हातमा पुगेपछि उसले नयाँ सुविधा प्रयोग गर्न पाउँछ, अहिले नेपालमा चलेको निःशुल्क भिडियो कलसम्मको सुविधा त्यसकै देन हो’ उनी भन्छन्, ‘सामाजिक सञ्जालको व्यापकताले पनि यसलाई प्रवद्र्धन गर्यो ।’
नेपालीहरूले मोबाइलमा बिताउने स्क्रिन टाइम विकसित देशको तुलनामा धेरै भएको भन्दै उनले अघि भने, ‘मोबाइल र सामाजिक सञ्जालको सदुपयोग मार्फत घर, परिवार र समाजसँग जोडिराख्ने काम हुँदा हामी खुशी नै हुनुपर्छ, तर यसका कारण पारिवारिक र सामाजिक सम्बन्धहरूमा पर्न सक्ने समस्याबारे पनि सचेत हुुनुपर्छ ।’