श्री पोखरेलको लघुकथाकृति हो ‘श्रीधर’ र म त्यही ‘श्रीधर’ भित्र खोजिरहेको छु श्री। श्री अर्थात् कुनै गाड्धन, कुनै गौरवयुक्त खजाना, कुनै सकारात्मकता, कुनै गुणवत्ता, कुनै सम्पन्नता, कुनै रूपमा पूर्णता, कान्ति, दीप्ति, वा शोभा। अर्थात् जीवनको सुन्दर सजावट। यानेशृङ्गार पेटार। श्री धारण गरेको – श्रीधर। अर्थात् म त्यही श्रीधरभित्रका श्रीको परख गर्ने जमर्को गर्दैछु। श्रीको यात्रा गर्दैछु। यो यात्रा नितान्त निजात्मक दृष्टि हो।
पहिलो कुरो त यो श्रीयात्रा शुरू गर्नु मेरा लागि भिरको चिन्डो हो। सर्जक पोखरेल र म उमेरका हिसाबले झन्डै तुरिया हौँ। दुई पोखरेल भएकाले पोखरेलीय परागको प्रभाव आलेखभित्र पर्याे भने म आश्चर्य मान्दिनँ। यद्यपि नेपालको इटहरीलाई मुकाम बनाएका सर्जक श्री पोखरेलको व्यक्तिगत अन्तर्यबारे म भलीभाँती परिचित छैन। साहित्यले जोरिदिएको साइनोका फलैँचामा मात्र बस्नुपर्ने मेरो बाध्यकारी अवस्था हो।
लेखक प्रकाशक आफैँ रहेका सर्जक श्री पोखरेलले २०८१ सालमा प्रकाशन गरिएको लघुकथाकृति ‘श्रीधर’ मा ६५ लघुकथा सङ्कलित छन्। एकपदीय शीर्षक ५९ छन् भने पदावलीमा रहेका शीर्षक ६ ओटा छन्।
रूपविधानका आधारमा हेर्दा प्राय: सबै लघुकथा धेरथोर लघुकथाको बान्कीमा लेखिएका छन्। अर्थात् सरसर्ती हेर्दा शीर्षक, उठान, विकास, उत्कर्ष तथा समापन पक्षमा सजग छन् लघुकथा। यही आलेखका सीमाभित्र मिहीन गवेषण भने असम्भव हो।
लघुकथाकार पोखरेलले आफू वरिपरिबाट कथावस्तु टिपेका छन्। यो कुरा स्वाभाविक पनि हो। स्थानीयताको दृष्टिदोष असान्दर्भिक पनि होइन। त्यसैले कृतिका अधिकांश लघुकथा पारिवारिक, सामाजिक, राजनीतिक र धार्मिक वृत्तमा घुमेका छन्।
पूर्वीय समाजका परम्परागत मान्यतालाई मानक बनाएर विषय प्रस्तुत भएका छन्। यसो भएकाले उनका लघुकथामा रक्सीप्रतिको निगेटिभिटी झल्केको छ। नगरवधुका बाध्यता छन्। पुरुषप्रधान सोच छ। उनको कलम महिला हिंसा (रक्तबीज २३) का विरुद्ध तथा सामाजिक अन्धविश्वासमाथि प्रहार (निरुत्तर ६०) गर्न अग्रसर छ। कृतिभित्र सर्जक पोखरेल धार्मिक अन्धविश्वासमाथि पनि जाइलाग्छन् (प्रायश्चित्त ६१)। कठोर ढुङ्गामा कोमल फूल चढाएर ऐश्वर्य माग्छ मान्छे।
पोखरेलको दृष्टि नेपालको राजनीतिक सङ्गति/असङ्गतिमा पनि परेको छ। वर्तमान नेपालले हरेक क्षेत्रमा भोगिरहेको नकारात्मक सोचको छाया कृतिमाथि पर्नु अस्वाभाविक होइन। उनका लघुकथामा जब राजनीतिक विषयको उठान हुन्छ, यही नकारात्मकता प्रस्तुत हुन्छ। के साँच्चि कथानकले भनेझैँ गणतन्त्र काम नलागेको हो? के भोट हालेका मान्छेको सबै व्यक्तिगत कुरा नेताले पूरा गर्नुपर्छ? यो प्रश्न उनका लघुकथाका कथ्यमा उठाउन सकिन्छ।
राजनीतिमा लागेका नेताको भ्रष्टाचारी चरित्रमाथि जाइलाग्नु उनको लघुकथाको विषय भएको छ। किनकि वर्तमान नेपालको प्रधान विसङ्गति भनेकै राजनीतिक तवरमा गरिने विधिसम्मत/असम्मत भ्रष्टाचार नै हो। यो कुरा उठाएर उनले न्याय गरेको छ। वर्तमान परिप्रेक्ष्यमा राष्ट्रियता कमजोर भएको यथार्थ पनि उनका लघुकथामा छन्। राष्टियताको चर्को नारा दिने मान्छे डिभीको लाइनमा छ (राष्ट्रियता २५)।
यसरी कथात्मकताका आधारमा हेर्दा उनको लघुकथाकृति ‘श्रीधर’ भित्र पारिवारिक, शैक्षिक, सामाजिक र राजनीतिक श्रीहरू समावेश छन्।
‘श्रीधर’ भित्र धेरै सुन्दर र पृथक विशेषता लिएर उभिएका छन् श्री पोखरेल। प्राय: सबै लघुकथाको प्रमुख पात्रका रूपमा श्रीधर आफैँ उपस्थित छन्। लघुकथाको पात्रमा आफ्नै नाम प्रयोग गर्ने शैली देखिन्छ। यद्यपि ती श्रीधर पात्र भने एकै व्यक्ति होइन। अलगअलग श्रीधरहरू छन् कृतिका पात्रका रूपमा।
लघुकथा विनिर्माणको सवालमा उनी स्वैरकल्पनाको प्रयोग गर्छन्। उनका लघुकथामा रुख, विरुवा, लौरा, ढुङ्गा आदि बोलेका छन्। मानवेत्तर पात्रका सहायताले कथानक विनिर्माण गर्ने उनको शैलीगत विशेषता बनेको छ। स्वैरकल्पना भन्नु जादू देखाउनु जस्तै हो। रुमाल चरा बन्नु जस्तै मानवेत्तर पात्रले मानवीकरण भएर बोल्नु स्वैरकल्पना हो।
यसरी स्वैरकल्पनाको प्रयोग गर्दै उनका लघुकथा अघि बढेका छन्। उनका कथानकका विशेषता विपर्यास, गरिबी, दुःख, पीडा, रुवाइका लप्कामा पीडित छन्। पात्रसँग लाउने लुगा छैन। चिथ्रा पनि छैन तर वर्तमानको गरिबीमाथि उभिएर हेर्दा गरिबीको अवस्था र परिभाषा पनि फरक छ।
प्रश्न उठ्छ, वर्तमान युगमा के लघुकथाले बयान गरे जस्तै गरिबी छ त?, म भन्छु निसन्देह छैन। श्रमको मोल बढेको छ। आधारभूत कपडाको मोल घटेको छ। अचेल टालेका लुगा लगाउने गरिब गाउँमा देखिन छाडेका छन्।
श्री पोखरेल नेपालको शैक्षिक विसङ्गतिमाथि पनि बोल्न खोज्छन्। गमलामा धान रोपेर धान दिवस मनाउने राजनीतिक विसङ्गतिमाथि प्रहार गर्छन् (औपचारिकता ४२)। कुखुराको भालेपोथीका विम्बमा यौन राग अभिव्यक्त गर्छन् (ठूलीको भाले ५०)। भ्रष्टाचारीमाथि व्यङ्ग्य कस्छन् (अपमान ६२)। समाजमा देखिएका पुस्तान्तरणका समस्या उजागर गर्छन्। अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सत्ता हस्तान्तरण गर्नुपर्ने उपाय सुझाउँछन् (उपाय ६७)।
यी कुराका आधारबाट हेर्दा लघुकथाकार श्री पोखरेल समाजमा अग्रगम्य रुचाउँछन्। परिवर्तनको चाहना राख्छन्। यो निकै सुन्दर पक्ष हो लघुकथाको।
भाषाको सन्दर्भमा हेरियो भने सरल र सरस शब्दको चयन भएको छ। पूर्वीय स्थानीयता प्रतिध्वनित भएको छ। भाषामा अप्ठेरो छैन। उखानको प्रयोगले सुन्दर बनेको छ कृति। सम्प्रेष्य उनको कृतिको विशेषता भएको छ।
सर्जकले भन्न खोजेको कुरा प्रष्ट छ। जहाँसम्म अङ्ग्रेजी लगायत अन्य भाषाको प्रयोगको कुरा छ, त्यसमा प्रष्ट हुन जरुरी छ कि पात्र, परिवेश कस्तो छ? पात्रले कुन भाषा वा शैलीले बोल्छ सोही कुरा आख्यानमा लेखिनु न्याय हुन्छ।
समग्रमा भन्ने हो भने कृति ‘श्रीधर’ ले रूपविधान, कथ्यविधान, पात्रविधान, द्वन्द्वविधान र प्रयोजनविधानका मर्म आत्मसात् गरेको छ। यो कुरा नै कृतिभित्रको श्री हो।
कृतिका लघुकथाको स्तर मापन गर्ने हो भने विविध नतिजा आउन सक्छ। त्यसो त स्तरीयताको जेनिथ पनि कल्पना हो। अप्राप्य हो। प्राप्य यात्रा जीवनको खोज हो। लघुकथाको कथावस्तु प्रक्षेपणलाई विचार गर्दा केही तलमाथि पर्ने कुरा सर्जकले अन्यथा मान्न पनि हुन्न। किनभने सर्जकको रचना गर्भ वा अर्थ प्रयोजनमा समीक्षकीय दृष्टि नपुग्न पनि सक्छ। मान्छेपिच्छे नजरिया अलगअलग हुने कुरालाई नकार्न सकिन्न।
यही परिप्रेक्ष्यमा हेर्दा पुस्तकको आवरणसहित गुदीका भौतिक साजसज्जा त्यति मनमोहक र आकर्षक नभएको हो कि भन्ने बोध भएको छ। किनभने कृतिको आवरणले नियात्रा बुझाउँछ। आख्यान बुझाउँदैन। कम्प्युटर सेटिङमा पनि सौन्दर्यलाई ख्याल गरिएको जस्तो पटक्कै लाग्दैन। सर्जकको आफ्नै पनि दुई शीर्षकको पातो छ। कृति पढिरहँदा आम मान्छेमा झैँ कृतिकारमा पनि राजनीतिक तथा समाजप्रति कुण्ठा, आक्रोश देखिन्छ। साहित्यको धर्म,कुण्ठा / आक्रोशभन्दा शालीनता हो। कला हो।सर्जकलाई भन्न मन लागेको कुरा कत्ति नधकाइ, नडराइ भन्ने हो, तर भन्ने शैली साहित्यिक हुनपर्ने यथार्थलाई पनि साथै लैजान पर्ने हुन्छ।
लघुकथामा विद्यार्थीले शिक्षकको मूल्याङ्कन गर्ने हो भन्दै शिक्षकले स्वाभिमान जोगाउन राजीनामा दिएको छ (स्वाभीमान ३३)। प्रश्न उठाउन सकिन्छ के विद्यार्थीले कस्तो खाले शिक्षक हो भनी शिक्षकको मूल्याङ्कन गर्न नपाउनु? शिक्षामा अत्यधिक विकास गर्ने देशमा त विद्यार्थीले शिक्षकको मूल्याङ्कन नै गर्नुपर्छ। कथानकले बोकेको यो मान्यता एकदम पुरानो हो। गुरुकुलीय हो, जहाँ तथ्यले भन्दा दण्डले विद्यार्थीलाई अनुशासित बनाइन्छ।
कतिपय लघुकथामा विवरणात्मक शैली देखिन्छ (औपचारिकता ४२)। धान दिवसबारे बयानात्मक शैली अपनाएर लघुकथाको विनिर्माण गरिएको छ। विवरण या बयान शैली लघुकथाको बाधा हो।
यसैगरी लघुकथामा शब्द सामर्थ्य व्यञ्जना तथा लक्षणा भयो भने सुन्दर मानिन्छ। प्रस्तुत लघुकथामा कतिपय लघुकथा अभिधा शब्द सामर्थ्यमा छन् (कोसी ५३)। कोसीको बाढीले बगायो दुःख हिउँदमा हराभरा बनायो सुख। सुख कि दुःख भन्ने कथानक छ। यो कथानकलाई व्यञ्जना अर्थ बनाएर जीवनको अर्को पाटोसँग कोसीका कहर जोड्न पाएको भए झन् सुन्दर हुन्थ्यो।
यसैगरी कतिपय लघुकथामा तथ्यको पुनरावृत्ति भएको देखिन्छ। कतै कथानकमा पुनरावृत्ति, कतै एउटै लघुकथामा समानअर्थी हरफको प्रयोग भएको पाइन्छ ‘अपमान (६२)’। यसैगरी असार पन्ध्र (६४) र औपचारिकता (४२) लघुकथाको कथानक प्रयोजन एकै रहेको छ।
अन्धविश्वासी थिममा पनि लघुकथा लेखिएको छ। (साइत ७४) लघुकथाको सन्देश रुढिवादी कुराले पनि कहिलेकाहीं राम्रै पो हुँदो रहेछ’ भन्ने सन्देश प्रवाह गरेको छ।
यसैगरी लघुकथामा परम्परावादी थिमको उपस्थिति देखिन्छ। ‘आग्रह (७६)’ लघुकथामा ‘हजुरहरूले सुन्नुहोस्। बाबा! हजुरले आमाभन्दा राम्री अर्की श्रीमती पाउनुहोला। आमाले पनि बाबाभन्दा राम्रो श्रीमान् पक्कै पाउनु होला। मेरो चाहिं आग्रह, रगतपसिना गरेर मलाई यस्तो बनाउने आमाबाबा म त पाउन्न नि? कि मलाई पनि यस्तै आमाबाबा खोजिदिनु, कि बरु हजुरहरू साना मतभेद बिर्सिएर एकापसमा मिलेर बसिदिनुहोस्’ यो थिममा अनेक अलग विचार राख्न सकिन्छ। पूर्वीय मान्यतामा यो कुरा सहज भए पनि श्रीमान् र श्रीमती बिचमा सधैँ कलह मनमुटाव भएर बस्नुभन्दा अलग हुनु नै राम्रो हो भन्ने कुरा आएको भए अग्रगम्य विचार स्थापित हुन्थ्यो।
हरेक पक्षमा सुधार वाञ्नीय कुरा हो। सुधार गरिनु भनेको कमजोरी होइन। सुधार निरन्तर चलिरहने प्रक्रिया हो। कृतिभित्र गवेषण गरिसकेपछि सुधारकाे केही पक्ष प्रस्तुत गरेको छु।
आख्यान सर्जकले आफ्ना सिजर्नामा विचार पक्षमा अझै विचार गर्नुपर्ने हो कि भनेझैँ लाग्छ। किनभने घटना मात्र भन्नु कथा हो। कथामा विचार पक्ष पनि मिश्रण भएमा लघुकथा सुन्दर बन्छ।
यसैगरी कथ्य प्रयोजनमा सन्देह सिद्धान्त (थियोरी अफ डाउट) का आधारमा कथावस्तु हेर्न सकियो भने यथार्थको नजिक पुग्न सकिन्छ। किनभने फितलो कथानक, परम्परागत चिन्तन र आदर्शवादी मान्यता लघुकथा लेखनको बाधा हो। कृतिमा समाजलाई हेर्ने साँचो पूर्वीय सभ्यताको ढाँचामा छ। यसो भए पनि वर्तमान विश्व साँघुरो भएको सन्दर्भमा पनि हेर्नुपर्छ। यसको अर्थ संसारभरिका समाजको भौतिक यात्रा गर्नुपर्छ भनिएको होइन। त्यो सम्भव कुरा पनि होइन।
विश्वसमाज बुझ्न प्रविधि नै काफी छ। विश्वसमाज पूर्वीय ढाँचामा मात्र चलेको छैन। पाश्चात्य सभ्यताको ढाँचामा पनि चलेको छैन। प्रविधिको युगमा आइपुगेपछि विश्वका समग्र समाज नै सिर्जनाको गवेषणका विषय भएका छन्। सभ्यताका मूल्य र मान्यतामा परिवर्तन भएका छन्। उदाहरण दिऊँ-पूर्वीय सभ्यताको आधारस्तम्भ संस्कृत विश्वविद्यालयले अङ्ग्रेजी सोच्नुपर्छ। सोचिरहेको छ। अङ्ग्रेजी विश्वविद्यालयले संस्कृत सोच्नुपर्छ अनि मात्र ज्ञान प्रदान गर्ने विश्वविद्यालय हुन्छ।
अब पुछारमा आइपुगेको छु। कृतिभित्र प्रशस्त श्री छन्। फेरि पनि पाठकका मनमा प्रश्न उठ्छ कि श्री पोखरेलको यो ‘श्रीधर’ कस्तो कृति हो? यसलाई यसरी भन्ने जमर्को गरेको छ।
श्री पोखरेलको यो पहिलो कृति हो। कृति जन्मिनु आफैँमा ज्यादै महत्त्वपूर्ण र सारयुक्त कुरा हो। पहिलो कृतिको रूपमा भन्ने हो भने यो कृतिले नेपाली लघुकथाको क्षेत्रमा छक्का हानेको छ। हिज्जे प्रणाली धेरै हदसम्म शुद्ध छ। एकाध राहाँटा नरहेको भने होइन। कृतिको प्रमुख अभिध्येय समाजका विविध खाले विसङ्गति र विकृतिमाथि प्रहार गर्ने र समाजलाई अग्रगम्यतामा लैजाने रहेको छ। यसमा कत्ति पनि अलमल छैन। जहाँसम्म श्रीधर पात्रको प्रयोग छ, त्यसमा श्रीधर नाम एकै भए पनि पात्र एउटै होइन। किनकि श्रीधरको उमेर, चिन्तन, परिवेश फरकफरक छन्। श्रीधर पात्रको विकास क्रमका आधारमा लघुकथाको विनिर्माण भएको होइन।
कृतिभित्र अत्यन्त बान्की मिलेका परख पुगेका मानक लघुकथाको पनि उपस्थिति छ। विभेदमाथि प्रचुर प्रहार गर्ने (छोइछिटो १०), ईश्वर ठूलो कि मान्छे भन्ने वैचारिक लघुकथा (भ्रम २२), मान्छेको जीवनमा सुखदुःखको परिभाषा गर्ने (प्रवृत्ति ४९), विद्रोहको अवस्था उजागर गर्ने र ‘बुद्धलाई शान्ति खोज्न शुद्धोदनले पठाएका थिए र’ भन्ने विद्रोहको विचार वाक्य प्रदान गर्ने (सल्लाह ७०) लगायत अन्य धेरै विचार प्रधान लघुकथा पनि प्रस्तुत भएका छन्।
अबचाहिँ साँच्चि अन्त्यमा आइपुगेको छु। ‘श्रीधर’ लघुकथाकृति साँच्चि पठनीय भएको छ। लघुकथाको रूपविधान लघुत्व, संक्षिप्तता, सूत्रता, आकस्मिकता, तीव्रता, कौतूहलता, प्रतिध्वन्यात्मकताका लागि पनि तथा कथानकको विशिष्ट अग्रगम्य पहिचानका लागि पनि यो कृति पढ्नुपर्छ नै। कृतिकारका हकमा अर्को लघुकथाकृति अझै परिपाक पुगेको आओस् भन्ने आस गरेको छ। शुभकामना अर्पण गर्दछु।
प्रकाशित: २४ मंसिर २०८१ १२:२६ सोमबार