विद्याको महिमा शास्त्रहरूमा पर्याप्त छ। ‘कामधेनुगुणा विद्या ह्यकाले फलदायिनी, प्रवासे मातृसदृशी विद्या गुप्तं धनं स्मृतम्।’ (चाणक्य नीति) विद्या कामधेनु सरह फलदायी रहन्छ। यसले जहाँ रहँदा पनि आमासमान हित गर्छ। विद्या भनेको मानिसका लागि आन्तरिक सामर्थ्य बढाउने अदृश्य वा गोप्य सम्पत्ति हो। कवितांश सार यही हो।
पढ्ने पढाउने परम्परा पौराणिक कालसँग जोडिएको छ। रामायणअनुसार त्रेतायुगमा दशरथ पुत्रहरूका गुरुहरू वशिष्ट, विश्वामित्र आदि थिए। यस्तै, द्वापरयुगीन पौराणिक वृत्तान्त महाभारतअनुसार पाण्डु र धृतराष्ट्रका पुत्रहरू पाण्डव र कौरवका गुरु द्रोणाचार्य थिए। गुरु आश्रममा पढ्ने पढाउने चलन राजखलक र क्षेत्रीय कूलमा सीमित देखिन्छ।
महाभारतमा सुतपुत्र भनिएका कर्णलाई चेलाका रूपमा गुरु आश्रममा राखेर शिक्षा दिन अस्वीकार गरेको वर्णन छ। यद्यपि शिक्षा प्राप्त गर्न गुरुलाई साक्षी राख्नुपर्ने मान्यताअनुसार गुरु द्रोणाचार्यको प्रतीक स्थापना गरी कर्णले धनुर्विद्यामा आफूलाई पारङ्गत गराएका थिए।
वर्तमानमा शिक्षाको अर्थ बदलिएको छ। जीविकोपयोगी शिक्षा वर्तमानको आवश्यकता भएको छ। पहिला मानिसको अन्तर्सामथ्र्य, प्रतिभालाई प्रकाशन गर्नका निम्ति शिक्षा दिइन्थ्यो। अहिले अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउनेभन्दा सिप, कौशल बढाउने तालिममुखी शिक्षामा जोड दिने गरिएको छ।
समयअनुसारको शिक्षा नपाएको मानिस बेरोजगार भएर जीविका कठिन भएकाले रोजगारमुखी शिक्षालाई अपरिहार्य सम्झन थालिएको हो। शिक्षा प्राप्त गर्ने क्रममा एउटा निश्चित ग्रेड, तह वा डिग्री प्राप्त गरेपछि त्यसकै आधारमा जागिर खोज्ने क्रम सुरु हुन्छ। औपचारिक शैक्षिक स्तर अनुसारको रोजगारी प्राप्त गर्नेलाई ठिकै भयो। नपाउनेको संख्या दशौं गुणा बढी हुन्छ। अनि रोजगारी खोज्दै बिदेसिनुको विकल्प रहँदैन।
नेपालका शिक्षण संस्थाहरू अधिकांशतः बेरोजगार उत्पादन केन्द्र बन्दै आएका छन्। तुलनात्मक रूपमा गुणस्तरीय शिक्षा दिने संस्थाका उत्पादकहरूकै भविष्य अन्यौलमा छ भने झन्डै नब्बे प्रतिशत सरकारी शिक्षण संस्थाहरूको शैक्षिक गुणस्तरीयता न्यूनतम पनि छैन। संस्थागत विद्यालयका विद्यार्थीले प्राप्त गरेको ‘रोजगारमुखी शिक्षा’ तुलनात्मक रूपमा केही स्तरीयजस्तो देखिए पनि रोजगारीमा उनीहरूलाई पनि उस्तै हन्डर छ। अनि १२ पास गरेपछि उनीहरू उच्च शिक्षा र रोजगारी खोज्दै बिदेसिन्छन्।
सरकारी विद्यालयका उत्पादन अधिकांशतः वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीमा लामबद्ध हुन पुग्छन्। सामान्य नेपालीका छोराछोरीले रोजगारमुखी होइन बेरोजगारमुखी शिक्षा पाइरहेका छन्। सबैभन्दा सोचनीय त यो छ कि शिक्षा आर्जन गर्नु वा पढ्नु भनेको मात्र जागिर खान योग्य बन्नु वा बनाउनु हो भन्ने भाष्य निर्माण भएको छ।
यस्तै मानसिकताका कारण विद्यालयस्तरीय शिक्षामा हुनुपर्ने नैतिक ज्ञान, संस्कार निर्माण, सामाजिक–सांस्कृतिक सहसम्बन्ध, पारस्परिक सहकार्य–सहभागिता, अनुसन्धानमुखी वा नवप्रवर्तनात्मक जिज्ञासा आदि शिक्षार्जनका आधारभूत आयामबाट वर्तमानको नेपाली शिक्षा क्षेत्र झन्डै रित्तिँदै र टाढिँदै गएको प्रस्ट आभास हुन थालेको छ।
आधुनिक शिक्षाले रोजगारीको अवसर दिलाउन सक्छ भन्नेमा सिद्धान्ततः सहमत भए पनि यसलाई जीविकासँग मात्र जोडेर, शैक्षिक प्रणाली सञ्चालन हुँदै आउनु मुलुककै लागि अभिशाप बन्दै आएको छ।
लक्ष्मीप्रसाद देवकोटा महाकविका रूपमा बढी विख्यात भए पनि उनी शिक्षक, प्राध्यापक एवं शिक्षाविद्समेत थिए। उनले आफ्नो समयमै शिक्षा जीवनका लागि नभएर जिजीविषाका लागि मात्र हुँदै गएको सन्दर्भमा ‘शिक्षा’ निबन्धमा लेखेका छन्, ‘शिक्षा जन्जिर नहोस्, सिक्री नहोस्, नहोस् ऐंठन, होस् प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय। साङ्ग्रो गराओस् तर हठसिद्धान्ती नबनोस् र चारैतिर देखाओस्। अकाट्य अनन्त नियमहरूको होस् दिलाओस् तर सङ्कुचित बन्धनले नजेलोस्।’ (लक्ष्मी निबन्ध सङ्ग्रह)
शिक्षाले मानिसलाई पूर्णतातिर अग्रसर गराउँछ। शिक्षाले प्रथमतः आफैंलाई नियाल्न सामथ्र्य प्रदान गर्न सक्नुपर्छ। रेखागणितीय शिक्षाले मानिसलाई एकोहोरो बनाउँछ। शिक्षाले मानिसको अन्तःचक्षुलाई चारैतिर देख्न सक्ने तुल्याउनुपर्छ। संसार एक विशाल पाठशाला हो। पढेर कहिल्यै नसिद्धिने, नरित्तिने ज्ञानालय हो यो जगत्। यो आफैंमा पूर्ण छ। सानो वा ठुलो सबै कुरा पूर्ण छ। एउटैभित्र जगत् छ। एउटा अणुभित्र विश्वको लघुरूप छ।
देवकोटाको चिन्तनले शिक्षाको आदर्श एवं दार्शनिक महत्त्वमाथि यथेष्ट प्रकाश पार्ने मात्र नभई यसको व्यावहारिक पक्षलाई पनि निर्देश गरेको छ। शिक्षाले कोरा सैद्धान्तिक सङ्कुचनमा अड्काएर मात्र मानिसको प्राकृत आत्माले खोजिरहेको सन्तुष्टि प्राप्त हुन सक्दैन। आत्मचैतन्यको प्रकाशद्वारा मानिसलाई ऊध्र्वगामी बनाउँदै लैजान शिक्षाले मार्ग निर्देश गर्नुपर्ने चिन्तन देवकोटाले गरेका छन्, ‘भित्रबाट प्रकाशका निमित्त ठाउँ खोजिरहेका शक्तिहरूलाई यसले प्राकृत मार्ग दिन सकोस्।’
वर्तमान शिक्षा यसको ठिक उल्टो देखिन्छ। नेपालको शिक्षा नीति, प्रणाली र समग्र सामाजिक चिन्तन नै बाह्य पुँजीवादी र भौतिकवादी चिन्तनद्वारा प्रेरित देखिन्छ। मुलुकको समग्र शैक्षिक उपलब्धि एवं सामथ्र्यमा क्षयीकरण हुँदै जाने मूल कारण यसैलाई मान्न सकिन्छ।
अध्यात्म भनेको अस्तित्व र सम्भाव्यताको प्राञ्जल दृष्टिकोण पनि हो। यसले व्यक्तिलाई विस्तारित गर्छ। आध्यात्मिक शिक्षाले मानव जीवनका हरेक क्षेत्र र कर्मलाई उत्तम बाटोतर्फ लाग्न अभिमुखीकरण गराउँछ। जीवनको प्रारम्भदेखिकै संस्कारपूर्ण कर्म र विचारहरूको सामञ्जस्यपूर्ण गतिशीलताबाट आध्यात्मिक जीवनको उच्चतम सामथ्र्य प्राप्त गर्न सकिने कुरा कैयौं विचारक र विद्वान्हरूले बताउँदै आएका छन्।
नेपालका लब्धप्रतिष्ठित कूटनीतिज्ञ एवं विशिष्ट विद्वान् प्राध्यापक यदुनाथ खनालले नेपालको शिक्षा प्रणाली दिशाहीन एवं लक्ष्यहीन तवरले निर्धारण गरिएको उल्लेख गरेका छन्। उनले शैक्षिक क्षेत्रका नीति निर्माता, प्रशासनिक क्षेत्र, शिक्षाविद्लगायत यसको सैद्धान्तिक व्यावहारिक व्यवस्थापन पक्षले शिक्षालाई मानविकी, प्राविधिक वा प्रायोगिक विज्ञान आदिभित्र अलगअलग पारेर परिसिमन नगरी त्यस्ता सबै विषयहरू अन्तर्सम्बन्धित रहेको बुझ्नुपर्ने बताएका छन्।
विश्व विद्यालय तहमा पठनपाठन गर्ने गराइने सन्दर्भमा मात्रै नभएर नेपालको समग्र शिक्षा प्रणालीकै सन्दर्भमा गहन चिन्तन विमर्शको आवश्यकता औंल्याउँदै खनालले शिक्षाका प्राथमिकताबारे सम्बन्धित पक्षलाई घोत्लिन पनि आह्वान गरेका छन्, ‘सबैभन्दा चिन्ताको कुरो त के छ भने आज हामीहरूमा शिक्षाको परिभाषा नै हराएजस्तो छ। शिक्षा भनेको के हो? शिक्षा भनेको मानविकी हो कि प्रविधि हो? यो आधारभूत विज्ञान हो कि प्रायोगिक विज्ञान हो? शिक्षा भनेको विषयवस्तु हो कि भाषा हो? शिक्षा केका लागि हो– उत्कर्षका लागि वा जीविकाका लागि? शिक्षाका यी र यस्ता तत्त्वहरू एक अर्काका निवारक तत्त्व होइनन्। ती त एक अर्कासित सम्बद्ध छन्।
तर हाम्रो शैक्षिक व्यवस्था यदि त्यो व्यवस्था हो भने शिक्षाका अत्यावश्यक तत्त्वहरूको प्राथमिकताबारे अभिज्ञ हुनु जरुरी छ र त्यसमा ती तत्वहरूबीच तर्कसंगत सम्बन्धको ज्ञान हुनु आवश्यक छ।’ (यदुनाथ खनाल, जीवनी र विचार, ले. जयराज आचार्य) खनालले नेपालको उच्चशिक्षाको गुणस्तरीयका सन्दर्भमा लिखित एक लामो मन्तव्य (त्रिवि दीक्षान्त समारोहमा सम्बोधित) मा जागिर या जीविकाका लागि शिक्षा हुन गयो भने त्यसबाट विकृतिले जन्म लिने उल्लेख गरेका हुन्।
उनले २०५० सालको दशकतिर अनुशीलन गरेको नेपालको शैक्षिक गुणस्तरीयतामा झन्डै तीन दशकयता वर्तमानसम्ममा पनि सुधार हुन सकेको अनुभव हुँदैन। बरु शिक्षालाई जागिर वा जीविकाका माध्यममा मात्र साँघु¥याइएको छ।
औपचारिक शिक्षा क्षेत्रका विज्ञहरू वा शिक्षा वास्तुकारहरूमा शिक्षाका माध्यमबाट मुलुकको सामथ्र्य कसरी बढाउन सकिन्छ भन्ने चिन्तन र अभिज्ञताको न्यूनता छ। बरु अनभिज्ञता चाहिँ बढी देखिन्छ। शिक्षाको अन्तर्यका वास्तुकारहरूमा प्रतीत हुँदै आएको अभिज्ञताको शूष्कपनकै कारण जीवनका लागि शिक्षा किनारीकृत र लुप्तप्रायः हुँदै आएको महसुस खनालले गरेका हुन्।
जुनसुकै विषयको अध्ययन–अध्यापन गर्दा पनि ब्रह्मा (नैतिकता) लाई उद्बोधन गर्न सक्नु नै शिक्षाको सारतत्त्व रहेको कुरा खनालको भनाइबाट महसुस गर्न सकिन्छ। खनालको ब्रह्मभित्र सामाजिक, सांस्कृतिक, आध्यात्मिक मूल्यमान्यताका जीवनवादी तत्त्वहरू अन्तर्निहित छन्। शिक्षाले जीवन र जीविका दुवैका लागि समन्वयात्मक निर्देश गर्नसक्नु पर्ने आशय उनको रहेको बुझ्न सकिन्छ। सँगसँगै शिक्षाको चुरोका रूपमा रहेको नैतिक पक्ष शिक्षा प्रणालीमा रहने नभई ग्रहण गरिने विषयवस्तुको परिष्करणमा रहेको हुन्छ। शिक्षा मूलतः सारतत्त्व वा आत्माबाट टाढिएको त छँदैछ, राजनीतिज्ञ, शिक्षक, विद्यार्थी, अभिभावक सबै यसबाट टाढिन पुगेको कुरा खनालले औंल्याएका छन्।
वर्तमान समयमा शिक्षालाई प्रविधिबाट छुट्याएर अघि बढाउन सकिँदैन, शिक्षा र प्रविधिलाई आपसमा एकीकृत गरेर प्राविधिक शिक्षाको समयानुकूल मार्गचित्र तयार गर्न सकिन्छ। प्राविधिक शिक्षा रोजगारीका अवसर प्राप्त गर्ने आधार बन्दछ। नेपालमा अहिले सरकारी र गैरसरकारी शैक्षिक निकायहरूले यसैमा जोड दिँदै आएका हुन्।
मुलुकको राज्य व्यवस्थाको उद्देश्य पनि शिक्षा प्राप्त गरेपछि रोजगारी प्राप्त गर्न सजिलो होस् भन्ने नै हो। शिक्षाको उपयोगिता/उपादेयताको यो एउटा आयाम हो। रोजगारमुखी शिक्षा प्राप्त गरेर कतिले रोजगारी पाएका छन् र मुलुकलाई आर्थिक तवरले धनी बनाउन भूमिका खेल्दै आएका छन्।
वास्तविक शिक्षाको ध्येय रोजगारीको आकाङ्क्षासँग मात्र सम्बन्धित छैन। शिक्षाले व्यक्तिलाई सबल÷सामथ्र्यवान् बनाउने ध्येय राख्नु अझ बढी जरुरी छ। प्राविधिक शिक्षाले मात्र योग्य व्यक्ति मुलुकको सामर्थ्य बुझ्न सक्षम हुन्छ भन्ने हुँदैन। उसको योग्यता बढी प्राविधिक पक्षीय मात्र हुने सम्भावना रहिरहन्छ। व्यवहारमा यस्तै देखिँदै आएको छ। व्यक्ति, समाज र मुलुकलाई चिन्न चिनाउन उपयोगी हुने मानविकी संकाय अन्तरगतका विषय शिक्षण संस्था र विभागहरूलाई अझ सबल बनाउनु जरुरी छ।
मुलुकका लागि सक्षम प्राविधिक शिक्षितहरूको जति खाँचो छ उति नै मुलुकको स्वाभिमान, मर्यादा र गौरवलाई चिन्न चिनाउन सक्ने नागरिकहरूको आवश्यकता परिरहन्छ। देवकोटा र खनालका शिक्षा चिन्तनअनुसार जिजीविषामुखी शिक्षाले व्यक्तिलाई बाँच्ने उपाय, सिप, कौशल, स्वावलम्बन सिकाउँछ तर जीवनवादी शिक्षाले व्यक्तिलाई दैनिक बाँच्नुमा मात्र सीमित, नराखी समाज र राष्ट्रको अन्तर्य, गरिमा, सामथ्र्यलाई चिन्दै स्वयंलाई अझ बढी सामथ्र्यवान् र चैतन्यवान् बनाउन अभिप्रेरणासमेत प्रदान गर्छ। शिक्षाविद्, चिन्तक र राजनीतिज्ञहरूले यी दुवै आयामलाई अवलम्बन गर्दै जानुपर्ने देखिन्छ।
प्रकाशित: ८ फाल्गुन २०८१ ०९:०९ बिहीबार