प्रकाशित मिति : भाद्र ७, २०८२ आईतबार
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शिकागोमा सैनिक पठाउने योजना अघि सारेका छन्। उनको यो योजनाको इलिनोइस राज्यका डेमोक्र्याट गभर्नर जे.बी. प्रिट्जकरले “सत्ताको दुरुपयोग” भन्दै कडा विरोध गरेका छन्।
“इलिनोइसमा नेशनल गार्ड पठाउनुपर्ने कुनै आपत्कालीन अवस्था छैन। राष्ट्रपति आफैँले एउटा कृत्रिम संकट सिर्जना गर्ने प्रयास गरिरहेका छन्,” उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।
यसअघि, राष्ट्रपति ट्रम्पले अपराध नियन्त्रण गर्ने नाममा विपक्षी डेमोक्र्याटहरूले सञ्चालन गरेको राजधानी वाशिंगटन डीसीमा करिब २ हजार सैनिक तैनाथ गरिसकेका छन्। उनले शिकागो र न्युयोर्कजस्ता दुई ठूला डेमोक्र्याट-नियन्त्रित सहरमा पनि यो नीति लागू गर्ने बताएका थिए।
शिकागोका मेयर ब्रान्डन जोन्सनले पनि यस योजनाबारे प्रतिक्रिया दिँदै आफूलाई सैनिक परिचालनबारे कुनै जानकारी नआएको बताए।
जोन्सनका अनुसार, यस्तो “अवैध परिचालन” ले स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीचको सम्बन्धमा तनाव बढाउने मात्र नभई अपराध नियन्त्रणमा सहरले हासिल गरेको प्रगतिका लागि पनि खतरा उत्पन्न गराउन सक्छ।
यसैबीच, अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले वाशिंगटन डीसीमा गस्ती गरिरहेका नेशनल गार्डका सैनिकलाई हतियारसहित तैनाथ गर्न आदेश दिएका छन्।
यो कदम ट्रम्प प्रशासनले सहरको अपराधलाई “नियन्त्रण बाहिर” भनेर चित्रण गर्दै सुरु गरेको अभियानको एक हिस्सा हो। गत हप्ता मात्र पेन्टागन र अमेरिकी सेनाले तैनाथ गरिएका करिब २ हजार सैनिकले हतियार नबोक्ने बताएका थिए।


