घटना नं. १
केही दिन अगाडि नातेदारको मृत्युपछि दाहसंस्कारको लागि शव पशुपति आर्यघाटमा लग्यौं। मैले काउन्टरमा गएर एक नम्बर घाट बुक गरें। बुकिङ काउन्टरको झ्यालनेर बसेको एक युवकले मेरो हात समात्दै म यहाँको सहयोगी हो, दाहसंस्कारको लागि आवश्यक सामग्री मिलाएर पाउने पसलमा लैजान्छु भन्दै ताने।
उनैको पछि पछि लाग्दै पसल पुगियो। साहुजीले आवश्यक सामग्रीको सबै लिष्ट हामीसँग छ, सबै सामान र मूल्य मिलाएर हामी पठाइदिन्छौं, तपाईं जाँदै गर्नुहोस् भनेपछि म फर्किएँ।
आफन्तसँग कुराकानी गरेपछि घाट सजाउने निचोडमा साहुजीलाई फोन गरें र एकसय माला घाट सजाउनका लागि मगाएँ।
शव करिब–करिब जलिसक्दै थियो। म बिल तिर्न पसलतिर लागें। तिर्नुपर्ने रकम २२ हजार पुगेको रहेछ। बिल मागें र सामानको संख्या र मूल्य हेर्दै जाँदा १०० वटा माला मगाएकोमा बिलमा १५० लेखिएको रहेछ। मैले साहुजीलाई प्रश्न गरें, जम्मा १०० माला मगाएकोमा बिलमा १५० वटा लेखिएको रहेछ किन?
केही झस्किएको अनुहारमा साहुजीले बाहिरबाट १५० वटा माला मगाएको थिएँ जसमध्ये १०० वटा तपाईंलाई र ५० वटा फिर्ता ल्याउनु भनेको। त्यो भाइले सबै त्यहीं दिएछ भने।
मैले प्रतिप्रश्न गरें, ‘घाटमा १०० वटा माला मात्र गएको छ, नमगाएको मालाको पैसा मैले किन तिर्ने?‘
यति भनेपछि साहुजीले डराएको अनुहार बनाएर भने, ‘मलाई घाटा परे परोस्, भैगो छोड्दिनुहोस् तपाईंलाई तिराउँदिनँ।‘
५० वटा मालाको मूल्य घटाएर पैसा तिरें। अरु कति समान पठाए वा पठाएनन् केही हिसाब राखिएको थिएन तर बिल सबैको तिरियो। त्यसपछि म घाटतिरै फर्किएँ, शव जलाइसकिएको रहेछ। शव जलाउने व्यक्ति उमेरले करिब ५५ वर्षका वुबालाई धन्यवाद दिंदै उहाँले गर्नुभएको श्रमका लागि १५०० रुपैयाँ उहाँको हातमा राखिदिएँ। तर रिसाउँदै यति पैसाले के हुन्छ आजकल, यो पैसा तपाईं नै राख्नुहोस्, मलाई चाहिएन भन्दै मेरो हातमा फालिदिए।
पछि मैले १५०० थपेर ३००० दिएपछि बेखुसी मनले लिए। त्यसपछि मलाई घाट बुकिङ काउन्टरबाट पसल चिनाउने लैजाने युवापछि लाग्दै समान ओसारपसार गरे बापतको रकम मागे। आफन्तको मृत्युको पीडाले गलेको म केही नबोली एकहजार रुपैयाँ दिएँ। त्यसपछि घाट सफा गर्ने दुई युवाहरू आएर हामीलाई पनि पैसा दिनुपर्यो भने। उनीहरूलाई पनि मैले ५०० को दरले दिएँ। शवको दाहसंस्कार गर्दा पनि ठाउँ–ठाउँमा ठगिनुपर्ने रहेछ।
घटना नं. २
भान्जाको स्वास्थ्यमा समस्या आएपछि पोखराको सरकारी अस्पतालमा चेकजाँच गरियो। परीक्षण गरेपछि डाक्टरसापले एम्बोलाइजेशन गर्नुपर्ने सल्लाह दिनुभयो। काठमाडौंका अस्पतालहरूमा विज्ञ डाक्टरसापहरू उपलब्ध हुने र छिटो पनि हुने परामर्श पनि दिनुभयो। केही डाक्टरसापहरूको नाम लिनुभयो।
उहाँले उच्चारण गरेका डा.सापहरू खोज्यौं र भेट्न थाल्यौं। एउटै रोग छ तर उपचारको खर्च फरक फरक पायौं। राम्रा कहलिएका निजी अस्पतालमा पनि उही रोगको उपचारमा लाखको फरक। अन्तत: एम्बोलाइजेशनको लागि अस्पतालमा भर्ना गर्यौं। उही वार्डकी नर्सले आवश्यक उपकरण र औषधिका लागि एजेन्टको नाम र नम्बर दिनुभयो।
सुरुमा हामी आफैंले त्रिपुरेश्वरदेखि वीर अस्पताल हुँदै टिचिङ अस्पतालसम्मका प्रायः औषधि पसलहरूमा औषधि खोज्यौं तर पाउन सकिएन। अन्तत: उही एजेन्टलाई सम्पर्क गर्यौं। दिएको लोकेसन अनुसार उक्त ठाउँमा पुग्यौं। हामीलाई दिएको सूची अनुसारको उपकरण र औषधि सबै त्यहीं रहेछ। झन्डै एक लाख पचास हजार रुपैयाँ मागियो।
मैले बिल मागें। तर एजेन्टले केही उपकरण र औषधिहरू डीडीएमा दर्ता नभएकाले अवैधानिक बाटोबाट ल्याएको र बिल दिन नमिल्ने सुनाए। त्यसपश्चात् अनलाइनमा मूल्य हेर्दा भारु ४००० हजार पर्ने उक्त औषधिलाई ३४ हजार रुपैयाँ तिर्न बाध्य भयौं।
भ्रष्टाचारको निगरानी र नियन्त्रणका लागि स्थापना गरिएका संस्थाहरूमा राजनीतिक भागबन्डाले राजनैतिक भ्रष्टाचारलाई वैधानिकता दिएको छ। राजनीतिक रूपमा कुनै समूह वा नेताप्रति बढी बफादार, उक्त दलका कार्यकर्ता र भ्रष्टाचारलाई बचाउने व्यक्ति नै नियुक्तिका लागि मापदण्ड बनेको छ
उपचारमा अत्यावश्यक उपकरण र औषधिहरू किन डीडीएमा दर्ता गरिएन भनी सम्बन्धित केही व्यक्तिहरूसँग कुरा गर्दा कमिसनको कारण मुख्य रहेको सुनाए।
करिब वर्षमा ४ अर्बको औषधि अवैधानिक रूपमा आयात हुने र धेरै प्रतिशत नाफा बच्ने हुँदा ठूलै गिरोहको चलखेलले डीडीएमा दर्ता नगरिएको बुझियो।
घटना नं. ३
विज्ञको रूपमा नेपाल सरकारले शिक्षा क्षेत्रमा सञ्चालन गरेका केही कार्यक्रमको मूल्याङ्कनमा खटिएको थिएँ। यही सन्दर्भमा विद्यालय भ्रमणको अनुभव सुनाउँछु।
नेपाल सरकारले बालविकासदेखि कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसबाट करिब ३२ लाख बालबालिका प्रत्यक्ष लाभान्वित छन्। नेपाल सरकारले १८० दिनलाई आधार मानेर प्रति विद्यार्थी रु.१५ का दरले स्थानीय सरकारलाई पठाउँछ। तर वास्तविक विद्यार्थी संख्याभन्दा धेरै विद्यार्थी देखाएर प्रधानाध्यापक, स्रोत व्यक्ति, विद्यालय निरीक्षकदेखि शिक्षा अधिकारीसम्मको मिलेमतोमा विद्यार्थीको खाजा रकम भ्रष्टाचार भइरहेको भेटियो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तय गरेको दिवा खाजाको मेनु विपरित पत्रु खाजाहरू वितरण गरिएको छ। विद्यालय १८० दिन नखुलेको भएतापनि कागजपत्र मिलाएर रकम बुझिएको छ।
अर्कोतर्फ स्यानिटरी प्याड वितरणमा पनि चरम भ्रष्टाचार देखियो। स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ विपरीत मिलेमतोमा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेको अभियोगमा धेरै स्थानीय तहका कर्मचारीहरू अनुसन्धान र कारबाहीमा परेका छन्। जति उजुरी र कारबाही गरे पनि विद्यार्थीले पाउने खाजा र स्यानिटरी प्याडमा भ्रष्टाचार रोकिएको छैन।
माथि तीन घटनाको निष्कर्ष राजनीति, सार्वजनिक पद, पेशा र सामाजिक क्रियाकलापमा सक्रिय सबैले गर्ने, तर गरेको छु भन्न नचाहने कर्म भ्रष्टाचार बनेको छ।
नेपाली समाज उपभोगवादी चिन्तनको सिकार भएको छ। अस्वस्थ प्रतिस्पर्धा र कुसंस्कार मौलाएको छ। जसरी हुन्छ मनग्ये पैसा कमाएर विलासी जीवन जिउने सपना अधिकांश नागरिकको छ।
यसैले कामको प्रकृति भन्दा पनि सहज र छिटो समयमा पैसा कमाएर छोटो समयमा धनी बन्न प्रतिस्पर्धा चल्यो। परिवार र समाजमा शक्ति, पैसा र पहुँचलाई पुज्ने संस्कार बस्यो । विलासी जीवनयापनलाई जीवनको सम्पन्नतासँग जोडियो। जीवनको सफलता भनेकै आर्थिक सबलता बनाइयो। कस्तो जीवनलाई सफल मान्ने र कस्तोलाई असफल ? यसको एउटै उत्तर आउँछ, धन–सम्पत्ति प्रशस्त कमाउनु।
शव जलाउनदेखि सास दिने संस्थाहरू हामी ठगिने र भ्रष्ट र तस्करहरूले ठग्ने ठाउँ बनेका छन्
हामी परिवार वा नातेदार कसैले पनि छोटो समयमा मनग्ये धनसम्पत्ति कमायो भने ‘पैसा कहाँबाट’ भनेर प्रश्न गरिंदैन उल्टै ‘ठूलो प्रगति गरेछ’ भनेर नमूनाको रूपमा प्रस्तुत गर्छौं । उसको काम र आर्जनप्रति कुनै चासो राख्दैनौं। मात्र समय र आर्जनको हिसाब गर्छौं।
यसको अर्थ जसरी हुन्छ पैसा आर्जन गर्नु हो। परिवार र समाजले शिक्षा भन्दा धनको सम्पन्नतालाई पुरस्कृत गरेको छ। व्यक्ति अपराधी वा तस्कर जे भए पनि उसले दिने चन्दा समाजका लागि महत्वपूर्ण बनेको छ।
उदाहरणका लागि समाजको कुनै सांस्कृतिक या सार्वजनिक कार्यक्रममा जसले बढी पैसा दिएको छ उसैलाई प्रमुख अतिथि मान्छौं र सम्मान गर्छौं। यसको अर्थ व्यक्तिको कामभन्दा पनि उसको धनलाई समाजले महत्व दिएको बुझिन्छ।
अर्कोतर्फ हामी आफ्ना छोराछोरीलाई आफैं गरिखान सक्ने बनाउनभन्दा दुःखै नगरी खान पाओस् भनेर जसरी हुन्छ सन्ततिको लागि सम्पत्ति जोड्नतिर लाग्छौं। यसले सन्तानलाई परनिर्भर र भ्रष्टाचारलाई प्रश्रय दिएको छ।
समाजको आदर्शलाई भ्रष्टाचार र गुन्डाराजबाट धन आर्जन गरेका व्यक्तिको सफलताले छोपिएको छ। हाम्रो परिवार, आफन्त र समाजको मान र प्रतिष्ठा धन आर्जनले निर्धारण गरेको छ। परिवार र समाज दुवै भ्रष्टाचार जन्माउन उत्प्रेरणा दिने स्रोत बनेका छन्।
देखासिकी र आडम्बरी शैली अवलम्बन गर्ने जस्ता हाम्रा सामाजिक मूल्य, मान्यता र परम्पराका कारण न भ्रष्टाचार मौलाएको हो। न त परिवारले नैतिकता सिकाउँछ न समाजले। यहाँ जसरी हुन्छ जे गरेर हुन्छ धन कमाउन परिवार र समाजले नै प्रेरणा थपेको छ।
राजनैतिक दलहरूमा कार्यकर्ताको दर्जा पैसाले किनियो। राजनैतिक नियुक्तिका पदहरू पैसाले किनियो, बेचियो। अपराध र तस्करलाई पैसाले चोख्याइयो। विश्वविद्यालयका डिग्री किन्नेदेखि समाजको अपराध चोख्याउने शक्ति पैसा बनाइयो। अतः समाज पूरै पैसामा किनिएको छ, बेचिएको छ।
नत्र मानव तस्करीको अरोपमा पूर्व मन्त्रीदेखि सचिवसम्म तानिंदा कारबाहीको लागि किन बोल्दैन समाज? सुन तस्करी र सहकारीको रकम हिनामिनामा ठूला नेताहरू मुछिंदा किन कारबाही गर्न सक्दैन सरकार ? किन बोल्दैनन् राजनैतिक दलहरू ? किन बोल्दैनन् नागरिक अगुवा ?
यसको अर्थ कुनै न कुनै सम्बन्धले भ्रष्टाचारमा हामी जोडिएका छौं, यसकारण चुपचाप छौं। भ्रष्टाचारको विरोध गर्दा आफू पनि फस्ने डरले कोही बोल्ने आँट गर्दैनौं। यसैले भ्रष्टाचारले सामाजिक संरक्षण पाएको छ। समाजको वंशज गुण भ्रष्टाचार बनेको छ।
धन र सत्ताको मदमा समाज र राजनैतिक दलहरू लहसिएका छन्, बहकिएका छन्। धनप्रतिको लोभले विकृतिका छालहरू उछालिएका छन्, न्याय बेचिएको छ। धनले अपराधीको अपराधले न्याय पाएको छ। भ्रष्टाचार र तस्करी चोखिएको छ। यसैले अपराध र तस्करी बढ्दो छ।
हाम्रो समाजको चरित्रले सदाचारिताको आदर्शमाथि धावा बोलेको छ। भ्रष्टाचार र तस्करीले समाजलाई किनिसकेको छ। यसर्थ समाजले नै भ्रष्टाचारलाई आत्मसात् गरेको छ।
अर्कोतर्फ राज्य नागरिकका आवश्यकता र नागरिकलाई भविष्यप्रति सुनिश्चित गराउन सक्ने गरी सामाजिक सुरक्षाको प्रबन्धलाई व्यवस्थित गर्न चुकेको छ। नागरिकको आर्थिक गतिविधिलाई निगरानी र नियन्त्रणमा राख्ने पद्धति संस्थागत छैन। राजनीतिक नेतृत्व र दलहरूमा भ्रष्टाचार नियन्त्रण गर्ने इच्छाशक्ति, प्रतिबद्धता र व्यावहारिक अवलम्बन सहितको इमानदारीको कमी छ।
भ्रष्टाचारको निगरानी र नियन्त्रणका लागि स्थापना गरिएका संस्थाहरूमा राजनीतिक भागबन्डाले राजनैतिक भ्रष्टाचारलाई वैधानिकता दिएको छ। राजनीतिक रूपमा कुनै समूह वा नेताप्रति बढी बफादार, उक्त दलका कार्यकर्ता र भ्रष्टाचारलाई बचाउने व्यक्ति नै नियुक्तिका लागि मापदण्ड बनेको छ।
यसले गर्दा निगरानी र कारबाही गर्ने सरकारी निकाय उल्टै भ्रष्टाचारी र तस्करहरूलाई संरक्षण गर्ने वैधानिक संस्था बनेका छन्। भ्रष्टाचार नियन्त्रण गर्न बनाइएको शक्तिशाली निकायले उत्तरदायित्व, नियन्त्रण र सन्तुलनरहित अवस्थाको फाइदा उठाउँदै आग्रह-पूर्वाग्रहबाट परिचालित देखिन्छन्। राजनैतिक दलहरू भ्रष्ट र तस्करहरूलाई संरक्षण दिने वैधानिक संस्था बनेका छन्।
यसैले शव जलाउनदेखि सास दिने संस्थाहरू हामी ठगिने र भ्रष्ट र तस्करहरूले ठग्ने ठाउँ बनेका छन्।
लेखक त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत छन् ।