धेरैलाई भिटामिन र क्याल्सियमको बारेमा केही थाहा हुन्छ । पोटासियम र म्याग्नेसियम पनि हाम्रो स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण छन् भन्नेमा भने धेरै व्यक्ति अनभिज्ञ हुन्छन् ।
पोटासियम
पोटासियम एक खनिज हो जुन शरीरको सामान्य कार्यका लागि आवश्यक हुन्छ । यसले मांसपेशीहरूको सहज कार्यमा मद्दत गर्छ । यसले कोषिकाहरुलाई पोषक तत्त्व प्राप्त गर्न मद्दत गर्छ, जसले उच्च रक्तचाप नियन्त्रण गर्छ । शरीरमा पोटासियमको स्तर कायम राख्नु मुटुका कोषिकाहरुका लागि धेरै महत्त्वपूर्ण छ ।
शरीरमा पोटासियमको कमी हुनुलाई हाइपोक्यालेमिया भनिन्छ ।
हाइपोक्यालेमियाका लक्षण
पोटासियमको कमीलाई हाइपोक्यालेमिया भनिन्छ । सामान्यतया सन्तुलित आहार खाँदा पोटासियमको कमी हुने सम्भावना हुँदैन । पोटासियमको अस्थायी कमीका कारण कुनै लक्षण नदेखिन सक्छ । तर लामो समय यसको कमी भयो भने थकान, कमजोरी, क्र्याम्प, मांसपेशी दुखाइ, कब्जियत, एरिथ्मिया (असामान्य मुटुको धड्कन) लगायत समस्या देखिन सक्छन् ।
हाइपोक्लेमियाको कारण
जब पाचन प्रणालीबाट धेरै पोटासियम बाहिर निस्कन्छ, यसको कमीले हाइपोक्यालेमिया हुन्छ । जस्तै- पखाला, बान्ता, मिर्गौला वा एड्रेनल ग्रन्थीहरूले राम्रोसँग काम नगर्ने र केही औषधिहरू खाएपछि, अत्यधिक पसिना आउनु, पिसाब बढी आउनु (डाईयुरेटिक्सको सेवनले), फोलिक एसिडको कमी, केही एन्टीबायोटिक), दमको औषधि, कब्जियतको औषधि, रगतमा किटोन्स (शरीरले ग्लुकोज उपलब्ध नभएको बेला ऊर्जाको रुपमा प्रयोग गर्नु) ।
जब शरीरमा किटोनको स्तर उच्च हुन्छ, यो अवस्थालाई किटोसिस भनिन्छ । किटोसिसको बेला शरीरले अत्यधिक पिसाब उत्पादन गर्छ जसले अतिरिक्त किटोनहरू बाहिर निकाल्न मद्दत गर्छ । पिसाबको मात्रा बढ्दा इलेक्ट्रोलाइटहरू, विशेषगरी पोटासियम र म्याग्नेसियम पनि पिसाबमार्फत शरीरबाट बाहिर निस्किन्छन् ।
निदान वा परीक्षण
सामान्यतया शरीरमा पोटासियमको स्तर जाँच गर्न रगत परीक्षण गर्नुपर्छ । रगतमा सेरम पोटासियम ३.५–५.२ मिलि मोल प्रतिलिटर सामान्य मानिन्छ । यदि यो ३.५ भन्दा कम छ भने यसलाई हाइपोक्यालेमिया भनिन्छ र २.५ मिलि मोल प्रतिलिटर भन्दा कम घातक मानिन्छ ।
पिसाबको माध्यमबाट शरीरबाट कति पोटासियम बाहिर निस्किरहेको छ भनेर पत्ता लगाउन पिसाब परीक्षण पनि गर्न सकिन्छ । पखाला वा बान्ताको समस्या छ कि छैन भनेर हेर्न चिकित्सकले मेडिकल इतिहासको बारेमा सोध्छन् । पोटासियमले रक्तचापलाई पनि असर गर्छ, जसले हृदयको चालमा गम्भीर असर गर्छ । त्यसैले ईसीजी पनि गर्नुपर्ने हुनसक्छ ।
उपचार
हाइपोक्यालेमियाको उपचार गर्न चिकित्सकले पोटासियम सप्लिमेन्टहरू लिन सिफारिस गर्छन्, जुन सामान्यतया ट्याब्लेटको रूपमा आउँछ । पोटासियमको अत्यधिक कमी भएमा ट्याब्लेटले हाइपोक्लेमियामा सुधार नभएमा वा हाइपोक्यालेमियाका कारण मुटुको चाल असामान्य भएमा त्यसका लागि सुई लगाउनुपर्ने पनि हुनसक्छ । रगतमा पोटासियमको स्तरमा ध्यान दिइन्छ किनभने यसको अधिकताले हाइपोक्लेमिया निम्त्याउँछ, जुन अझ खतरनाक हुनसक्छ ।
कति पोटासियम आवश्यक हुन्छ ?
– ६ महिनासम्म बच्चाका लागि ४०० मिलिग्राम
– ७-१२ महिनासम्मका बच्चाका लागि ८६० मिलिग्राम
– १-३ वर्षसम्मका बच्चाका लागि २००० मिलिग्राम
– ४–८ वर्ष उमेरका बालबालिकाका लागि २३०० मिलिग्राम
– ९-१३ वर्ष उमेरका बालबालिकाका लागि २५०० मिलिग्राम (पुरुष) २३०० मिलिग्राम (महिला)
– १४-१८ वर्षका मानिसलाई प्रतिदिन ३००० मिलिग्राम (पुरुष) २६०० मिलिग्राम (महिला)
– १९ वर्ष र माथिका व्यक्तिलाई प्रतिदिन ३४०० मिलिग्राम (पुरुष) २६०० मिलिग्राम महिला)
– स्तनपान गराउने महिलालाई प्रतिदिन २८०० मिलिग्राम पोटासियम चाहिन्छ । पुरुषको तुलनामा महिलालाई हाइपोक्यालेमिया हुने सम्भावना बढी हुन्छ ।
पोटासियमका स्रोतहरू
पोटासियम प्राकृतिक रूपमा हाम्रो खानामा पाइन्छ । जस्तै केरा, आलु, एभोकाडो, तर्बुजा, सूर्यमुखीको दाना, पालक, किसमिस, टमाटर, सुन्तलाको रस आदि ।
हाइपोक्लेमियाको जोखिम
अमेरिकाको नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनका वरिष्ठ वैज्ञानिक डा. केल्ड केल्डसेनका अनुसार विश्वमा हरेक वर्ष करिब ३० लाख मानिस मुटु रोगबाट मर्छन् । यी मध्ये धेरै मानिस तत्काल ट्रिगरको परिणामको रूपमा मर्छन् । हृदयको कोषिकाहरुमा गडबडी र असामान्य पोटासियम स्तरले पनि यो ट्रिगरको कारण निम्ताउँछ । ७-१७ प्रतिशत मुटु रोगीमा हाइपोक्लेमिया देखिएको छ । मुटुरोग र उच्च रक्तचापका लागि अस्पताल भर्ना भएका २० प्रतिशत र रक्तचापको औषधि सेवन गर्ने ४० प्रतिशत बिरामीमा पोटासियमको कमी देखिएको छ । जसकारण मुटुको लय बिग्रिन्छ । हाइपोक्लेमियामा अचानक हृदयघात हुने सम्भावना १० गुणा बढी हुन्छ । यस बाहेक पोटासियमको कमीले उच्च रक्तचाप, बीएमआईमा कमी, पखाला, मांसपेशी दुख्ने र मिर्गौला रोग लाग्न सक्छ ।
शरीरमा पोटासियमको मात्रा बढी भएमा
हाइपरकेलेमिया : शरीरमा पोटासियमको मात्रा बढी हुनुलाई हाइपरक्यालेमिया भनिन्छ । यसका कारण मुटुको लयमा प्रतिकूल असर परेको छ र यो घातक पनि हुनसक्छ । यस बाहेक वाकवाकी लाग्ने वा बान्ता हुने, मांसपेशी कमजोर हुने, स्नायुसम्बन्धी रोग र सास फेर्न गाह्रो हुने जस्ता समस्या हुनसक्छ ।
कारण
सामान्यतया हाम्रो मिर्गौलाले राम्रोसँग काम गरेमा शरीरबाट अतिरिक्त पोटासियम पिसाबको माध्यमबाट बाहिर फाल्छ । तर मिर्गौलाले राम्रोसँग काम नगर्दा रगतमा पोटासियमको मात्रा बढ्छ र हाइपरकेलेमिया हुन्छ । एड्रेनल ग्रन्थीहरूमा एल्डेस्टेरोन नामक हर्मोन हुन्छ जसले मिर्गौलालाई पोटासियम हटाउन सङ्केत गर्छ । यसबाहेक खानामा पोटासियमको मात्रा बढी हुँदा हाइपरक्यालेमिया हुनसक्छ ।
हाइपरक्लेमियाका अन्य कारण
हेमोलाइसिस – रातो रक्तकोषिकाको विच्छेदन
रेब्डोमायोलिसिस – द्रुत रुपमा मांसपेशी तन्तुहरूको विच्छेदन
अनियन्त्रित मधुमेह – मधुमेह नियन्त्रणमा नहुँदा
एचआईभी – एचआईभी संक्रमण हुँदा
मिर्गौला र रक्तचापको केही औषधिहरू, केही एन्टिबायोटिक्स र हर्बल सप्लिमेन्टहरूले पनि पोटासियमको स्तर बढाउन सक्छ, जसले हाइपरक्यालेमिया निम्त्याउन सक्छ ।
लक्षण
मस्तिष्कका कोषिकालाई पनि पोटासियम चाहिन्छ । यस मार्फत मस्तिष्क कोषिकाहरु एकअर्कासँग र टाढाका कोषिकाहरुसँग पनि सञ्चार गर्छन् । पोटासियमको अनियन्त्रित स्तरले हर्मोन असन्तुलन हुने, पहिले नै लुपस, मिर्गौला रोग भएकाहरुलाई थप जटिलता निम्त्याउन सक्छ ।
निदान वा परीक्षण
सामान्यतया शरीरमा पोटासियमको स्तर जाँच गर्न रगत परीक्षण गरिन्छ । रगतमा पोटासियम ३.५–५.२ मिलिमोल प्रतिलिटर सामान्य मानिन्छ । यदि यो ५.५ मिलिमोल प्रतिलिटर भन्दा बढी छ भने यसलाई हाइपरक्यालेमिया भनिन्छ र ६.५ भन्दा बढी खतरनाक र घातक हुनसक्छ ।
चिकित्सकले पिसाबको माध्यमबाट शरीरबाट पोटासियम बाहिर निस्किरहेको छ कि छैन भनेर पत्ता लगाउन पिसाब परीक्षण पनि गर्न सक्छन् । मेडिकल इतिहासको बारेमा सोध्ने र मुटुको ताल जाँच गर्न सक्छन् । पोटासियमले रक्तचापलाई पनि असर गर्छ, जसले मुटुमा गम्भीर असर गर्न सक्छ । त्यसैले चिकित्सकले इसिजी गर्ने सल्लाह पनि दिन सक्छन् ।
उपचार
हाइपरक्लेमियाको उपचारमा कम पोटासियमयुक्त आहारको सल्लाह दिइन्छ । कुनै पनि औषधि बन्द गर्न वा औषधिमा केही परिवर्तन गर्न, (डाइयुरेटिक्स) दिन सक्छ ताकि अतिरिक्त पोटासियम पिसाबको माध्यमबाट हटाउन सकिन्छ । मिर्गौला उपचारको लागि औषधि वा डायलिसिसको सल्लाह, पोटासियम बाइन्डर औषधि दिन सकिन्छ । आकस्मिक अवस्थामा पोटासियमको मात्रा बढी भएमा सुई लगाएर औषधि दिन सकिन्छ ।
हाइपरक्लेमियामा जोखिम
हाइपरक्लेमियाका कारण मुटुको चालमा परिवर्तन हुन्छ । यसले चरम कमजोरी र पक्षाघात निम्त्याउन सक्छ ।
म्याग्नेसियम
हाम्रो शरीरलाई म्याग्नेसियम पनि पर्याप्त मात्रामा चाहिन्छ । यसले हाम्रो हड्डी बलियो बनाउँछ । यसबाहेक यो मुटु, मांसपेशी र नसाका लागि पनि महत्त्वपूर्ण हुन्छ । यसले शरीरको ऊर्जालाई नियन्त्रण गर्नुका साथै ब्लड सुगर, ब्लड प्रेसर आदिलाई पनि नियन्त्रण गर्छ । म्याग्नेसियम शरीरको लागि एक इलेक्ट्रोलाइट हो जसले रगतमा बसेर शरीरमा विद्युत् सञ्चालन गर्छ ।
सामान्यतया, सन्तुलित आहार खाँदा म्याग्नेसियमको कमी हुने सम्भावना हुँदैन । म्याग्नेसियमको अस्थायी कमीले कुनै लक्षण नदेख्न सकिन्छ तर लामो समयसम्म यसको कमीको भने लक्षण महसुस हुनसक्छ । यसको मात्रा कम वा धेरै हुनु दुवै हानिकारक हुन्छ ।
म्याग्नेसियमको कमी हुनुको कारण
स्वस्थ व्यक्तिको रगतमा म्याग्नेसियमको उचित मात्रा कायम रहन्छ । हाम्रो मिर्गौला र पाचन प्रणालीले खानाबाट कति म्याग्नेसियम राख्ने र पिसाबबाट कति निकाल्ने भन्ने निर्णय गर्छ । थाइराइडको समस्या, टाइप-२ मधुमेह, अत्यधिक मदिरा सेवन, मिर्गौला रोग, कब्जियतका लागि केही औषधिको प्रभाव आदि र दीर्घकालीन पाचन प्रणालीको रोगका कारण शरीरले म्याग्नेसियम सोस्न नसक्ने हुँदा यसको कमी हुनसक्छ ।
म्याग्नेसियम परीक्षण
म्याग्नेसियमको परीक्षण गर्न चिकित्सकले बिरामीको स्वास्थ्य इतिहास जान्न चाहन्छन् । जस्तै मधुमेह, थाइराइड वा गर्भावस्थामा समस्या आदि कम म्याग्नेसियमको लक्षण हुनसक्छ । यी बाहेक भर्खरको कुनै पनि शल्यक्रियाले पनि म्याग्नेसियमको कमी हुनसक्छ । म्याग्नेसियमको मात्रा बढ्ने सम्भावना कम हुन्छ । मिर्गौला फेल हुनु र केही औषधिको प्रयोगले पनि यस्तो हुनसक्छ । म्याग्नेसियमको कमीले हृदय विफलता हुनसक्छ ।
रगत र पिसाब परीक्षणबाट सामान्यतया म्याग्नेसियम स्तर जाँच गर्न गरिन्छ । रगतमा सामान्य सेरम म्याग्नेसियम एकाग्रता स्तर १.७-२.३ मिलिग्राम हुन्छ । १.२ मिलिग्राम भन्दा कम म्याग्नेसियमको स्तरले समस्या निम्ताउन सक्छ ।
म्याग्नेसियमको बारेमा सही जानकारी रगत परीक्षणबाट प्राप्त गर्न सकिंदैन, किनभने अधिकांश म्याग्नेसियम हड्डीहरूमा भण्डारण हुन्छ । त्यसैले रातो रक्तकोषिकामा म्याग्नेसियम परीक्षण, कोषिकामा म्याग्नेसियमको मात्रा परीक्षण, रगतमा म्याग्नेसियम दिने र पिसाबबाट निस्कने म्याग्नेसियम पत्ता लगाउने गरी पिसाब परीक्षण गरिन्छ ।
कम म्याग्नेसियमका लक्षण
खराब पाचन, अनिद्रा, वाकवाकी वा बान्ता र कमजोरी । अत्यधिक कमीले मांसपेशी दुख्ने, चोटपटक वा कम्पन (शरीरको अनियन्त्रित काँप्ने), टाउको दुख्ने, कमजोर हड्डीहरू, ओस्टियोपोरोसिस र हृदयघातको कारण अचानक मृत्यु हुनसक्छ । जसकारण पोटासियम र क्याल्सियमको कमी पनि हुनसक्छ ।
प्रतिदिन कति म्याग्नेसियम चाहिन्छ ?
– ६ महिनासम्मका बच्चालाई ३० मिलिग्राम
– ७–१२ महिनासम्मका बच्चालाई ७५ मिलिग्राम
– १–३ वर्षसम्मका बच्चालाई ८० मिलिग्राम
– ४–८ वर्ष उमेरका बालबालिकालाई १३० मिलिग्राम
– ९–१३ वर्ष उमेरका बालबालिकालाई २४० मिलिग्राम
– १४–१८ वर्षका मानिसलाई प्रतिदिन ४१० मिलिग्राम (पुरुष) ३१८ मिलिग्राम (महिला)
– १९-३० वर्षका मानिसलाई प्रतिदिन ४०० मिलिग्राम (पुरुष) ३१० मिलिग्राम (महिला)
– ३० वर्ष र माथिका मानिसलाई प्रतिदिन ४२० मिलिग्राम (पुरुष) ३२० मिलिग्राम (महिला)
– स्तनपान गराउने महिलालाई प्रतिदिन ३२० मिलिग्राम पोटासियम चाहिन्छ ।
हाइपोमाग्नेसिमिया वा कम म्याग्नेसियमको उपचार
कम म्याग्नेसियम प्राकृतिक खाद्यवस्तुहरू केरा, आलु, बदाम, काजु, नट, सिमी, पालुङ्गो, सम्पूर्ण अन्न, दूध, बोतलको पानी, माछा, बिहानको खाजा आदिबाट क्षतिपूर्ति गर्न सकिन्छ । म्याग्नेसियमको ओभरडोज पखाला, वाकवाकी, टाउको दुखाइ, कम रक्तचाप, मांसपेशी कमजोरी, थकान, पेट फुल्ने कारण हुनसक्छ । जसकारण हृदयघात, पक्षघात हुने सम्भावना रहन्छ ।
हाइपरमाग्नेसिमिया वा अतिरिक्त म्याग्नेसियमको उपचार
२.६ मिलिग्राम वा बढीको म्याग्नेसियमलाई हाइपरमाग्नेसिमिया मानिन्छ । यसको सम्भावना धेरै कम हुन्छ तर कहिलेकाहीं म्याग्नेसियमको ओभरडोज लिंदा यस्तो अवस्था आउन सक्छ । ७–१२ मिलिग्राम वा सोभन्दा बढी हुनु धेरै खतरनाक हुन्छ । यसले मुटु, फोक्सोमा क्षति र पक्षघात हुनसक्छ ।
यस्तो अवस्थामा श्वासप्रश्वास यन्त्रको मद्दत आवश्यक पर्न सक्छ, क्याल्सियम ग्लुकोनेट वा क्याल्सियम क्लोराइडको सुई, डायलिसिस वा पेट पम्पिङ (ग्यास्ट्रिक ल्याभेज) गर्न सकिन्छ । थोरै मात्रामा ओभर डोजको अवस्थामा कब्जियत र एसिडिटीको लागि औषधि र म्याग्नेसियम पूरकहरू लिएको छ भने बन्द गर्नुपर्छ ।
(भट्टराई पोषणविद् हुन् ।)