भर्खरै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चिनियाँहरूलाई एउटा कडा जवाफ दिएछन् । चिनियाँहरूले काठमाडौंको ठमेलको सडकमा चिनियाँ नयाँवर्ष मनाउने कार्यक्रम गर्न अनुमति मागेका रहेछन् । जवाफमा बालेन्द्रले निर्माणका क्रममा अलपत्र रहेको कलंकी बालाजु सडकमा नयाँवर्ष मनाउने सल्लाह दिएछन् । चिनियाँ ठेकेदारले सम्पन्न गर्नुपर्ने निर्माण कार्यलाई अलपत्र पारेकामा बालेनले व्यंग्य गरेर सो जवाफी पत्र लेखेको प्रतीत हुन्छ । तर, कुरो त्यत्तिकै सकिन्न । काठमाडौंको ठमेल ज्याठा क्षेत्रतिर घुम्ने हो भने त्यो इलाका चीनजस्तै नै लाग्छ । त्यस ठाउँलाई ‘चाइना टाउन’ नाम दिनुपर्ने गाइँगुइँ मागसमेत उठेको थियो । हुन पनि त्यस क्षेत्रमा घुम्दा चीनकै सडकतिर घुमिरहेको प्रतीत हुन्छ । चिनियाँ मानिस, चिनियाँ अक्षरका साइनबोर्ड, चिनियाँ पर्यटक र खाना परिकार अनि मुद्रा पनि चिनियाँ ! चीनको सांघाई वा बेइजिङको कुनै भित्री गल्लीतिर घुमिरहेको भान हुन्छ । त्यति भइसकेपछि चाइना टाउनको नामकरण हुनु र चिनियाँ नववर्षको कल्पना हुनु अस्वाभाविक नहोला ! समाजवाद उन्मुख धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्र नेपालमा यसो हुनु सम्भव छ । बालेन्द्र शाहसँग अनुमति माग्न गएछन् र पाएनछन् ! नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसपत्रसहित गएको भए तत्काल पाई पो हाल्थे कि ?
जति भनियो भनियो ! अब सकभर राजनीतिक टिप्पणी नगर्ने प्रयास गर्छु । नितान्त आफूलाई लागेको कुरा मात्र गर्छु । जहाँ जे लेखिएको भएता पनि नेपाल सनातन भूमि हो । सनातनीहरू कुनै न कुनै रूपमा प्रत्यक्ष वा परोक्ष रूपमा पाञ्चायन देवदेवीको आराधना गर्छन् र अन्त्यमा निरञ्जन निराकार परमात्मालाई सम्झिँदै ॐकारलाई पुज्छन् । सम्पूर्ण देवदेवीका साकार रूप अन्ततः निराकार परमात्माकहाँ पुग्ने पन्थ हो । नेपाल राष्ट्रको कुरा गर्ने हो भने यो सनातन राष्ट्र नै हो । सामान्यतया सबै सनातनी पाञ्चायन देवदेवी अर्थात् गणेश, शिव, विष्णु, सूर्य र दुर्गाको पूजा गर्छन् । सनातनमा विभिन्न पथ वा पन्थ छन् । जुनसुकै सम्प्रदाय वा पन्थको भए पनि सबै पाञ्चायन देवदेवीको सम्मान गर्ने प्रचलन छ । शैव, वैष्णव वा शाक्त जे भए पनि पाँचै देवदेवीको यथोचित पूजा आराधना गर्नु उत्तम मानिन्छ । आफू जुन पन्थ वा परम्पराको हो तदनुरूप सम्बन्धित देवदेवीलाई केन्द्रमा र अरू चारलाई चार कुनामा प्रतिष्ठापित गरेर यथोचित उपचारका साथ पूजा आराधना गरिन्छ । उदाहरणका लागि कोही शैव सम्प्रदायको छ भने भगवान् शिवलाई केन्द्र स्थानमा राखेर गणेश आदिलाई ’round राखिन्छ । सामान्यतया गणाधिपति गणेशको अग्रपूजा गरिन्छ ।
अब आउँ नेपाल राष्ट्रतर्फ । नेपाल मूलतः सनातनी राष्ट्र हो भन्ने त उल्लेख गरिसकिएको छ । सनातनीमध्ये पनि कुन मतावलम्बीहरूको बाहुल्यता छ त भनेर केलाउनुपर्ने हुन्छ । हुन त जुनकुनै मतावलम्बी भए पनि सबै देवदेवीको यथोचित सम्मान र आराधना हुन्छ नै । नेपालीहरूको कुरा गर्दा आममानिसलाई मैले कुन मतको अवलम्बन गर्दै छु भन्ने स्पष्ट ज्ञान नभएको समेत हुन सक्छ । तपाईं आफैंतर्फ हेर्नुस् त ! सत्यनारायणको पूजा गर्नुहुन्छ । यो वैष्णव मत भयो । गणेशजीलाई प्रमुखता दिएर पूजा गर्नुहुन्छ होला । गाणपत मत भयो । छठ पूजा गर्नु वा बिहान सूर्यलाई अघ्र्य दिनु सौर्य परम्परा । शिवरात्रिमा व्रत बस्नु वा धुनी ताप्नु र शिवलिंगको दर्शन गर्नु शैव मार्ग हो । अनि शक्तिपीठमा जानु र बलि इत्यादि चढाउनु शाक्त मतको अवलम्बन हो । के घरको पूजास्थलमा कुनै एउटालाई केन्द्रमा राखेर चारकुनामा अन्य चार देवदेवी स्थापित छन् र ? यस्तो बिरलै होला ! त्यसो भए तपाईं कुन मतावलम्बी त ? उत्तर दिन गाह्रो होला ! सायद यसरी उत्तर दिन गाह्रो हुनु आफैंमा सम्पूर्ण सनातनी हुनुको प्रमाण पो हो कि ?
पशुपतिनाथ प्रांगण परिसरभित्रको अघोर दक्षिण मुखको दक्षिणतर्फ रहेको कीर्तिमुख भैरवमा प्रत्येकजसो पूर्णिमामा बलि दिइन्छ भन्दा धेरैलाई आश्चर्य लाग्ला । वैष्णव परम्पराका महान् सन्त आदि शंकराचार्यले कृष्णयजुर्वेदी पूजा पद्धति बसालेको भए पनि पशुपति मूल मन्दिरमा पनि धेरै शैव शाक्त तन्त्रले ठाउँ पाएको छ
यस्तो परिस्थितिमा प्रधान रूपमा को कुन मतावलम्बी हो भनेर खुट्याउन त्यो व्यक्ति, परिवार वा समाजको आचार, व्यवहार, पद्धति र आहारजस्ता विषयलाई थोरै विश्लेषण गर्नुपर्ने हुन्छ । यसो गर्दा समग्रमा नेपाली जनता शाक्त मतावलम्बी रहेको देखिन्छ । शैवहरूमा समेत शिवलाई शक्तिसँग जोडेर तान्त्रिक पद्धति अपनाएको देखिन्छ । शैव वा शाक्त मतभित्र पनि तान्त्रिक पद्धतिले प्रमुखता पाएको देखिन्छ । नेपालको कुना कन्दरा वा टाकुरा अनि मैदान जताततै शक्ति स्वरूपिणी माता दुर्गाका विभिन्न स्वरूपलाई अत्यन्तै श्रद्धा गरेर पुज्ने गरिन्छ । सामान्यतः तराईमा वैष्णवहरू बढी छन् कि भन्ने अव्यक्त मान्यता पाइन्छ । तर, विष्णुको अवतार रामलाई अत्यन्तै मान्ने जनकपुरजस्तो सीता माताको जन्मभूमिमा समेत राजदेवी मन्दिरमा जुन ढंगले भीड लाग्छ र बलि इत्यादि चढ्छ त्यसले त्यहाँसमेत शाक्त मतले प्रधानता पाएको देखिन्छ । पहाडतिरको त प्रत्येक थुम्कामा देखिने माईको मन्दिर र कुलदेवी पूजा परम्पराले शाक्त मतको बाहुल्यता भएको झल्किन्छ । नवदुर्गा भवानीको पूजा आराधना गरिने नवरात्रि दसैंको व्यापकताले यही कुरालाई पुष्टि गर्छ ।
काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने त यो समग्र सनातन परम्पराको सर्वोच्च स्वरूपले व्याप्त अद्वितीय शाक्त तान्त्रिक थलो हो भन्दा फरक नपर्ला । वैष्णव परम्पराका अनेकन मन्दिर त यहाँ छन् नै । चांगु, इचंगु, विशंखु र शेषनारायणजस्ता चार नारायण र शेषशायी भगवान् बूढानीलकण्ठ यहीँ विराजमान छन् । कैयन् महादेव मन्दिरका अलावा शैवहरूका लागि सर्वोच्च श्रद्धा केन्द्र भगवान् पशुपतिनाथ यहीँ छन् । कार्यविनायक, जलविनायक, चन्द्रविनायक र सूर्यविनायकजस्ता चार विनायकले यो खाल्डो रक्षित छ भने बीचमा अशोक विनायक छन् । घरघरका प्रांगणमा सूर्यको प्रतीक सूर्यको मण्डप देख्न पाइन्छ । शिव, विष्णु, सूर्य र गणेशको यहाँ असीम श्रद्धाका साथ पूजा आराधना हुन्छ । तर, यस्ता देवताको आराधनामा समेत शाक्त तान्त्रिक पद्धति अपनाएको भेटिन्छ । गणेश, सरस्वती र लक्ष्मीजस्ता सात्विक मानिएका देवदेवीको प्रतिमामा पञ्च मकारको प्रतीक राखेर पूजा गरेको भेटिन्छ । पशुपतिनाथ प्रांगण परिसरभित्रको अघोर दक्षिण मुखको दक्षिणतर्फ रहेको कीर्तिमुख भैरवमा प्रत्येकजसो पूर्णिमामा बलि दिइन्छ भन्दा धेरैलाई आश्चर्य लाग्ला । वैष्णव परम्पराका महान् सन्त आदि शंकराचार्यले कृष्णयजुर्वेदी पूजा पद्धति बसालेको भए पनि पशुपति मूल मन्दिरमा पनि धेरै शैव शाक्त तन्त्रले ठाउँ पाएको छ । काठमाडौंका बौद्ध मानिने समूहले समेत तान्त्रिक शाक्त पद्धति अपनाएको देखिन्छ ।
काठमाडौं उपत्यका त्यो ठाउँ हो, जहाँ शक्ति स्वरूपिणी माता दुर्गा आफ्नो सम्पूर्ण रूप स्वरूपमा विराजमान छिन् । उपत्यकाका प्रत्येक तीन सहरमा तारा, कमला, मातंगी, भैरवी, बंगलामुखी र छिन्नमस्तालगायतका १० महाविद्या देवीहरू स्थापित छन् । ब्रह्मायणी, इन्द्रायणी, महालक्ष्मी र माहेश्वरी आदि अष्टमातृका मातृशक्ति त प्रत्येक सय पाइलामा भेटिन बेर छैन । साँच्चै भन्ने हो काठमाडौं उपत्यकाका प्रत्येक बस्तीका स्थानमा देवताका रूपमा प्रथम पुज्य गणपतिसँगै मातृशक्ति भगवती विराजमान छिन् भन्दा अत्युक्ति नहोला । तीनै सहरका तुलजा भवानी मन्दिरहरू त नवदुर्गामध्येको सर्वोन्नत कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको संयुक्त रूप मानिन्छन् ! तन्त्र विद्याका सर्वोच्च साधक भनेर बाबा गोरक्षनाथ अर्थात् गोरखनाथलाई मानिन्छ । बाबा गोरखनाथको तपस्थल पशुपतिस्थित मृगस्थली हो । गोरखनाथका पनि गुरु मच्छिन्द्रनाथको जात्रा र पूजाआजा भव्य तवरले यहीँ हुन्छ । सम्पूर्ण तान्त्रिक मन्त्रहरू शिवजीको अघोर मुखले माता कालीलाई सुनाएको मानिन्छ । तान्त्रिक आराधना पद्धतिमा शिव अंश भैरवको ठूलो महŒव छ । काठमाडौं उपत्यकामा जस्तो भैरवनाथको पूजाआजा र जात्रा हुने ठाउँ भारतलगायत अन्त कतै छैन भन्दा पनि फरक नपर्ला !
म यो सब गन्थन किन गर्दै छु त ? पुरै नेपाल र विशेषगरी काठमाडौं उपत्यका तन्त्रको भूमि हो र सबैखाले सनातनी देवदेवीलाई मान्ने थलो हुँदाहुँदै पनि मूलतः शाक्त मतावलम्बीहरूको थलो हो । यहाँका तान्त्रिक शक्तिले यहाँको प्रत्येक कणकण जागृत छ । यी शक्तिशाली तान्त्रिक शक्ति क्रुद्ध हुने अवस्थामा जे जस्तो उत्पात पनि हुन सक्छ । अब पुनः चिनियाँ नववर्ष मनाउने प्रसंगमै फर्कौं । उपत्यकामा आध्यात्मिक तान्त्रिक शक्ति नै सर्वोच्च हो । यो प्रत्येक बासिन्दाको श्वासमा समाहित छ । शाक्त तान्त्रिक शक्तिलाई महादेवको गलामा रहने नाग स्वीकार्य होला, चिनियाँ अजिंगररूपी ड्र्यागन पाच्य हुन्न !
(Visited 15 times, 1 visits today)