शक्तिको भक्ति


अहिलेको भूराजनीतिक उथलपुथल विशेष गरी गाजा, अमेरिका, इजरायल–इरान युद्ध र भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मदुरोको अमेरिकी अपहरण, युएनको भूमिका एवं विश्वशक्तिको अवस्थाको सन्दर्भमा यी शास्त्रीय शब्दहरू नयाँ र कडा राजनीतिक अर्थमा व्यक्त भइरहेका छन्। शक्ति सन्तुलन खजमजिएको बेला शब्दकोशको परिभाषाभन्दा पनि ‘जसको शक्ति उसको भक्ति’ भन्ने उखान चरितार्थ गर्दै ‘सामाजिक डार्बिनिज्म’ मैमत्त भएको छ। शब्द पनि अब भाषाशास्त्री वा भाषा विज्ञानभन्दा शक्ति–नियन्त्रित शासनको अधीनमा पुगेको छ। अब केही शब्दका पारम्परिक अर्थ र अहिले भ्रष्टीकरण भएका मर्म एवं तिनका कारणको संक्षिप्त चर्चा गरौं :

ओपन कन्सन्ट्रेसन क्याम्प : परम्परागत रूपमा यसले हिटलरको समयको जेललाई बुझाउँथ्यो, जसलाई नाजी सरकारले गोप्य राख्थ्यो। तर आजको सन्दर्भमा गाजालाई विश्वकै सबैभन्दा ठुलो खुल्ला कारागार भएको अमेरिकी,  इजरायली सत्ता खुलमखुला स्विकार्छ, जहाँ लाखौं मानिस घेराबन्दीमा छन्। उनीहरूको आवतजावत, खाद्यान्न र औषधिमा बाह्य शक्तिको नियन्त्रण छ।

होलोकास्ट : यो शब्दले ऐतिहासिक रूपमा यहुदीहरूको नरसंहारलाई जनाउँछ। तर अहिले यो शब्द राजनीतिक हतियार बनेको छ। एक पक्षले यसलाई आफ्नो ऐतिहासिक पीडा र सुरक्षाको आधार बनाउँछ भने अर्को पक्षले गाजा र इरानमा भइरहेको विनाशलाई ‘आधुनिक होलोकास्ट’को संज्ञा दिइरहेका छन्।

फाइनल सोलुसन : नाजी कालमा यो यहुदी जातिलाई सखाप पार्ने योजना थियो। आज यसको राजनीतिक अर्थ पूर्ण सैन्य विजय वा कुनै पनि समस्याको जडलाई (मानवीय मूल्यको परवाह नगरी) पूर्ण रूपमा नामेट पार्ने रणनीति बनेको छ। कतिपय व्याख्याताले यसलाई स्यामुएल हन्टिङ्टनको ‘सभ्यताको टकराहट’का रूपमा एकातर्फ यहुदी–ख्रिस्तान र अर्कातर्फ इस्लामका रूपमा पनि लिन थालेका छन्।

शब्दको शक्ति समयसँगै नाश हुँदैन, बरु हस्तान्तरण हुन्छ। शक्तिशालीले शब्दको अर्थ फेर्छ तर समय र चेतनाले त्यसको मर्म फर्काउन सक्छ। अहिलेको अमेरिका, इजरायल–इरान वा गाजा प्रसंगमा हामीले देखिरहेको कुरा शब्दको मर्मको मृत्यु होइन, शब्दमाथि शक्तिशालीको एकाधिकार हो।

डि–ह्युमनाइजेसन : युद्धको बेला विपक्षीलाई मान्छे नभई जनावर वा राक्षसका रूपमा चित्रण गर्नु नै ‘डि–ह्युमनाइजेसन’ हो। जब मानिसलाई मान्छे स्वीकार गरिँदैन, तब उनीहरूमाथि गरिने हिंसालाई जायज ठहर्याउन सजिलो हुन्छ।

सार्वभौमसत्ता : सिद्धान्तमा यो देशको स्वतन्त्र अधिकार हो। तर व्यवहारमा भेनेजुएला वा इरानजस्ता देशमाथि थोपरिएको युद्ध, लगाइने प्रतिबन्ध वा बाह्य हस्तक्षेपले सार्वभौमसत्ता अब शक्तिशालीको अनुमतिमा मात्र निर्भर रहने वस्तु बनेको छ। यो देशको आर्थिक र सामरिक शक्तिका आधारमा मात्र तय हुन थालेको छ।  राजनीतिक नक्साले मात्र यसलाई थाम्न सक्दैन। संसारमा झन्डै १९३ देश छन् तर तिनीहरूका पासपोर्टको हैसियत एकै हुँदैन।

आक्रामक शक्ति : आफ्नो सिमानाभन्दा बाहिर गएर अर्को देशमाथि हमला गर्ने वा प्रभाव जमाउने शक्ति। अहिले अमेरिका, इजरायल र इरानबिचको युद्धलाई दुवै पक्षले एकअर्का विरुद्ध ‘आक्रामक शक्ति’का रूपमा परिभाषित गरिरहेका छन्। तर आक्रमण कसले सुरु गर्यो भन्ने प्रश्न निरुत्तर छ। किन लडाइँ चल्यो भन्ने पत्यारिलो उत्तर अझै आउन सकेको छैन, केवल आफ्नै आग्रहको पक्षधरताले धारणाहरू बनिरहेका छन्।

ह्युमन सिल्ड : युद्धमा सर्वसाधारणलाई ढाल बनाउनु। यो शब्द अहिले प्रोपोगान्डाको ठुलो माध्यम बनेको छ। सैन्य कारबाहीमा सर्वसाधारण मारिँदा त्यसको दोष पन्छाउन ‘उनीहरूले ह्युमन सिल्ड प्रयोग गरे’ भन्ने तर्क दिने गरिन्छ।

महाशक्ति : विश्व राजनीति र अर्थतन्त्रलाई आफ्नो औंलाको इसारामा नचाउन सक्ने शक्ति। अमेरिकाको सन्दर्भमा महाशक्ति हुनु भनेको अरूको युद्धमा हतियार र कूटनीतिक संरक्षण दुवै दिनु हो। तर इरान युद्धले रणनीतिको व्याकरण फेरिदियो। पेन्टागनको एक सय घण्टामा मिसन पूरा गर्ने योजना तीन हप्ता बित्दा पनि पूरा हुन सकेन। अभेद्य किल्लाहरू ध्वस्त हुँदा महाशक्ति अमेरिकाका पारम्परिक साझेदार नाटो, जी–७, आई–फाइभ र क्वाडको पनि अमेरिकाले उल्लेख्य सहयोग पाउन सकेन, बरु विरोध झेल्नुपरिरहेको छ।

राष्ट्रसंघ र सुरक्षा परिषद् : यसको नयाँ अर्थ ‘असहाय दर्शक’ वा ‘भिटो पावरको खेलमैदान’ बनेको छ। गाजा, इरान र भेनेजुएलालगायत अन्य थोपरिएको युद्धथलोको मानवीय रक्षाका  प्रस्तावहरू पारित नहुनु वा कार्यान्वयन नहुनुले यसको सान्दर्भिकतामाथि प्रश्न उठेका छन्। के अझै संयुक्त राष्ट्रसंघ त छ?

धर्म : धर्म अहिले आध्यात्मिक आस्था मात्र रहेन, यो राजनीतिक गोलबन्दी र युद्धलाई वैधानिकता दिने माध्यम बनेको छ। अहिले विश्वभर र विशेष गरी पश्चिम एसियामा धर्मलाई ‘मिसन’ र ‘प्रतिशोध’ दुवैका रूपमा प्रयोग गरिँदै छ। इजरायलले सन् १९६७ को ६ दिने  अरबयुद्ध पछि अर्थात् झन्डै ५९ वर्षपछि पहिलो पटक अल–अक्सा मस्जिदलाई पूर्ण रूपमा बन्द गरी यसपटकको इदको नमाज अदा गर्न रोक लगाएको छ।

प्रजातन्त्र : अहिले प्रजातन्त्रको अर्थ आफ्नो पक्षको सरकार हुनु हो। भेनेजुएला वा कतै अमेरिका–विरोधी सरकार चुनिएर आएमा त्यसलाई ‘अलोकतान्त्रिक’ मान्ने र आफ्नो पक्षको भए ‘प्रजातन्त्र’ मान्ने शक्तिको दोहोरो मापदण्ड देखिन्छ।

एन्टी–सेमिटिज्म : यो यहुदी–विरोधी भावना हो। तर वर्तमान राजनीतिमा इजरायलको सरकारी नीतिको आलोचना गर्नेलाई पनि ‘एन्टी–सेमिटिक’को बिल्ला भिराएर चुप लगाउने प्रयास गरिन्छ। जसले गर्दा यसको मूल अर्थ र राजनीतिक प्रयोगबिच द्वन्द्व छ।

राष्ट्रियता : यो अब आफ्नो देशको माया मात्र रहेन, बरु अर्को देश वा जातिप्रतिको घृणामा फेरिँदै छ। चरम राष्ट्रवादले युद्धलाई जनताको समर्थन दिलाउने काम गरिरहेको छ।

यी मर्म फेरिएका शब्दहरूले देखाउँछन् कि युद्धको समयमा भाषा पनि एउटा हतियार हो। अब प्रश्न उठ्छ– के शक्तिको चरित्रसँगै शब्दले अर्थ, महत्वव, सन्देश र भावना गुमाउँछन् र ‘न्यारेटिभ कन्ट्रोल’को हतियार बन्छन्?

यसको जवाफ हुन्छ– हो। जब शक्ति र राजनीतिले शब्दलाई आफ्नो कब्जामा लिन्छ, तब शब्दकोशको प्राज्ञिक अर्थ मरेर रणनीतिक अर्थको जन्म हुन्छ। शक्तिको चरित्रले शब्दलाई तीन मुख्य तरिकाले परिवर्तन गर्छ :  

१. अर्थको क्षयीकरण : शक्तिशाली पक्षले आफ्नो अपराध लुकाउन वा विपक्षीको अस्तित्व मेटाउन शब्दको अर्थलाई निस्क्रिय बनाइदिन्छ। गाजा वा अन्य युद्ध क्षेत्रमा ‘कोल्याटरल ड्यामेज’ शब्द प्रयोग गरिन्छ, जसको अर्थ प्राविधिक रूपमा ‘अन्जानमा भएको क्षति’ हो। तर यसले त्यहाँ मारिएका निर्दोष बालबालिका र नागरिकको भावना र महत्ववलाई शून्य बनाइदिन्छ। यहाँ शब्दले आफ्नो मानवीय समवेदना गुमाउँछ।

विश्व राजनीति र अर्थतन्त्रलाई आफ्नो औंलाको इसारामा नचाउन सक्ने शक्ति हो–महाशक्ति। अमेरिकाको सन्दर्भमा महाशक्ति हुनु भनेको अरूको युद्धमा हतियार र कूटनीतिक संरक्षण दुवै दिनु हो। तर इरान युद्धले रणनीतिको व्याकरण फेरिदियो। पेन्टागनको एक सय घण्टामा मिसन पूरा गर्ने योजना तीन हप्ता बित्दा पनि पूरा हुन सकेन।

२. सन्देशको भ्रष्टीकरण : शक्तिले शब्दलाई चलाउन थालेपछि सन्देश उल्टो हुन पुग्छ। शक्तिशाली राष्ट्रका लागि ‘शान्ति’ को अर्थ विपक्षीको पूर्ण आत्मसमर्पण हुन्छ। ‘सुरक्षा’ भन्नाले अर्को देशमाथि हमला गर्ने अधिकारजस्तो बुझिन थालियो। यहाँ सन्देश सुरक्षित रहने होइन, नियन्त्रण गर्नेमा फेरियो।

३. ‘न्यारेटिभ कन्ट्रोल’को हतियार : शक्तिले सधैं एउटा यस्तो कथा बनाउन चाहन्छ, जहाँ उनीहरू नायक र विरोधी खलनायक देखियून्। यसलाई ‘न्यारेटिभ कन्ट्रोल’ भनिन्छ। एउटै व्यक्तिलाई एक पक्षले ‘स्वतन्त्रता सेनानी’ भन्छ भने अर्को पक्षले ‘आतंककारी’। शब्द कुन प्रयोग गर्ने भन्ने कुरा कसको हातमा मिडिया र शक्ति छ भन्नेले तय गर्छ। शक्तिको चरित्र र शब्दको सम्बन्ध विचित्रको हुन्छ :

– मानवीय सहायता : जनमतको नाडी छाम्ने र युद्धविराम सैन्य रणनीति तय गर्न समय घर्काउने दाउ बन्छन्।

– प्रजातन्त्रको रक्षा : हस्तक्षेप वा ‘कू’ गरेर आफ्नो अनुकूलको शासक बसाल्ने खेल बन्छ।

– सत्य : ‘पोस्ट–ट्रुथ’ बनेर भावना र विश्वासका आधारमा झुटलाई स्थापित गर्ने योजनामा अर्थ्याइन्छ।

जब शब्दहरू शक्तिको भक्तिमा लाग्छन्, तिनीहरूले आफ्नो आत्मा गुमाउँछन्। शब्द संवादको माध्यम नभई आक्रमणको औजार बन्छ। यसले पीडितको पीडालाई ‘तथ्यांक’मा फेरिदिँदा आपराधिक हिंसालाई ‘आवश्यकता’मा व्याख्या गर्न थालिन्छ।

अहिलेको विश्वमा शब्दकोश भाषाविद्हरूले होइन, युद्धका रणनीतिकार र पिआर एजेन्सीहरूले लेखिरहेका छन्। तब ‘के भाषा र शब्दको शक्ति समयसँगै फेरिन्छ? के त्यो फेरिएको मर्म फर्केको तथ्य छ?’ भन्ने जिज्ञासा हुन्छन्। तब त्यसलाई हामी इतिहासमा खोज्न विवश हुन्छौं। भाष्यकारको पक्षधरताअनुसार शब्दको मर्म, सन्देश र संवेदना निर्धारित हुन्छन्।

इतिहास साक्षी छ कि हिजो जुन शब्द ‘क्रान्ति’ थियो, आज त्यो ‘आतंक’ हुन सक्छ। हिजोको मर्म आज केवल तथ्यांक वा प्रोपोगान्डामा फेरिन सक्छ। सन् १९४० को दशकमा ‘नरसंहार’ शब्दको रचना हुँदा यसको मर्म ‘फेरि कहिल्यै यस्तो नहोस्’ भन्ने थियो तर अहिले यो दाउपेच बन्न पुग्यो। शक्ति राष्ट्र र सहयोगीले गरेको हिंसालाई ‘आत्मरक्षा’ र विरोधीले गरेको सानो प्रतिरोधलाई पनि ‘नरसंहार’ भनिदिन्छन्। यहाँ शब्दको मर्म होइन, स्वार्थ फर्किएको छ।

१८ औं शताब्दीमा ‘साम्राज्यवाद’लाई सभ्यता विस्तारको रूपमा गर्वका साथ पश्चिमा शक्तिले प्रयोग गथ्र्यो, आज यो सबैभन्दा ठुलो गाली हो। प्रजातन्त्रलाई ग्रिक कालमा ‘भिडतन्त्र’ मानिन्थ्यो र नकारात्मक थियो, आज यो विश्वकै पवित्र शब्द मानिन्छ। तर विडम्बना, अहिले ‘प्रजातन्त्र ल्याउने’ नाममा गरिने बमबारीले यसको मर्मलाई क्षत–विक्षत पारेको छ। के शब्दको पुरानो मर्म फर्किन्छ? इतिहासले भन्छ– मर्म फर्किंदैन, बरु त्यसको व्याख्या गर्ने शक्ति हेरफेर मात्र हुन्छ। एउटा साम्राज्य ढलेर नयाँ शक्ति उदाउँदा पुराना शब्दहरूलाई नयाँ खोल ओढाइन्छ। ‘स्वतन्त्रता’ शब्दको मर्म अमेरिकी क्रान्तिको बेला एउटा थियो, शीतयुद्धको बेला अर्को भयो र आज ‘डाटा प्राइभेसी’ वा ‘डिजिटल सर्भिलेन्स’को युगमा अर्कै भएको छ। मर्म उही रहेन तर शब्दको आवरण भने उही रह्यो।

शब्दको मर्म फर्कनु भनेको मानवीय चेतनाको पुनर्जागरण हुनु हो। जब समाजले शब्दहरू आफूलाई झुक्याउन प्रयोग भइरहेको महसुस गर्छ, तब मानिसहरूले मौलिक अर्थ खोज्न थाल्छन्। भियतनाम युद्धको बेला अमेरिकी सरकारले प्रयोग गरेको ‘शान्ति’ शब्दको खोक्रोपनलाई संसारले चिन्यो र शब्दको मर्मलाई मानवतासँग जोडेर सडकमा उतार्यो। यो एउटा यस्तो तथ्य हो, जहाँ जनताले शक्तिको हातबाट शब्द खोसेर फेरि त्यसलाई मर्म दिएका थिए।

बिट मार्दै गर्दा, शब्दको शक्ति समयसँगै नाश हुँदैन, बरु हस्तान्तरण हुन्छ। शक्तिशालीले शब्दको अर्थ फेर्छ तर समय र चेतनाले त्यसको मर्म फर्काउन सक्छ। अहिलेको अमेरिका, इजरायल–इरान वा गाजा प्रसंगमा हामीले देखिरहेको कुरा शब्दको मर्मको मृत्यु होइन, शब्दमाथि शक्तिशालीको एकाधिकार हो। इतिहासको सन्देश भनेको शक्तिलाई काबुमा राखेर कज्याउने कुनै शक्ति नै रहेन, तर अन्धआत्माहरू इतिहास पढ्दैनन्।

प्रकाशित: १० चैत्र २०८२ ०९:३४ मंगलबार





Source link

Leave a Comment