पदमुक्त अमेरिकी गृह सुरक्षा मन्त्री नोएममाथि करदाताको पैसा दुरुपयोग गरेको आरोप



प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार

पदमुक्त अमेरिकी गृह सुरक्षा मन्त्री नोएममाथि करदाताको पैसा दुरुपयोग गरेको आरोप

अमेरिकी गृह सुरक्षा मन्त्री को पदबाट हालै बाहिरिएकी क्रिस्टी नोएममाथि करदाताको पैसा दुरुपयोग गरेको आरोप लागेको छ। नोएमले आफ्नो कपाल, मेकअप र एउटा घोडाका लागि मात्रै पनि करदाताको हजारौँ डलर खर्च गरेको खुलासा भएको हो।

नोएमलाई केन्द्रमा राखेर ‘माउन्ट रशमोर’ अगाडि खिचिएको एक विज्ञापनका लागि उक्त खर्च भएको कुरा सार्वजनिक बिलहरूबाट पुष्टि भएको छ।

 गृह सुरक्षा मन्त्रालय (डीएचएस) का लागि उक्त विज्ञापन निर्माण गर्ने ठेकेदार कम्पनी ‘स्ट्राटेजी ग्रुप’ लाई पठाइएका बिलहरू अनुसार, घोडा चालक (बारेल रेसर) का लागि २०,००० डलर र कपाल तथा मेकअप सेवाका लागि झण्डै ४,००० डलर खर्च गरिएको देखिन्छ। यी कागजातहरू सिनेटर पिटर वेल्च र रिचर्ड ब्लुमेन्थलको अग्रसरतामा बाहिर ल्याइएको हो।

नोएमले गत वर्ष मन्त्री बनेपछि सरकारी खर्चमा कटौती गर्ने प्रतिबद्धता जनाएकी थिइन्। उनले खर्च नियन्त्रण कडा पार्दै विपद् व्यवस्थापन एजेन्सीको बजेटमा पनि निगरानी बढाएकी थिइन्।

तर, सोही समयमा डीएचएस ले नोएमलाई मुख्य पात्रका रूपमा प्रस्तुत गर्ने गरी २०० मिलियन डलरभन्दा बढी लागतको विज्ञापन अभियान सञ्चालन गरेको थियो।

यही खर्चका कारण हालैका कंग्रेस सुनुवाइहरूमा सांसदहरूले उनलाई प्रश्न गरेका थिए। रिपब्लिकन सिनेटर जोन केनेडीको प्रश्नमा नोएमले उक्त खर्च राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृत गरेको बताएकी थिइन्, तर ट्रम्पले त्यसलाई अस्वीकार गरिदिए।

त्यसको केही समयपछि नै ट्रम्पले नोएमलाई महिनाको अन्त्यसम्ममा पदबाट राजीनामा दिन निर्देशन दिएका थिए। उनको स्थानमा ओक्लाहोमाका सिनेटर मार्कवेयन मुलिनलाई प्रस्ताव गरिएको छ र उनको अनुमोदन प्रक्रिया छिट्टै हुने अपेक्षा गरिएको छ।

सिनेटर वेल्चले यसलाई “अपव्यय, ठगी र दुरुपयोग” को उदाहरण भन्दै आलोचना गरेका छन्। ६० सेकेन्डको उक्त विज्ञापन अक्टोबरमा खिचिएको थियो, जसमा नोएम घोडा चढेर काउबोय पोशाकमा माउन्ट रशमोर अगाडि देखिन्छिन्। उनले विज्ञापनमा अमेरिकाको स्वतन्त्रता र आप्रवासन सम्बन्धी सन्देश दिएकी छन्।





Source link

Leave a Comment