व्यासपीठको वजन: वाचक कि वचन?

व्यासपीठको वजन: वाचक कि वचन?


हामी सबैलाई थाहा छ, कथावाचकको काम भनेको कथा भन्नु हो। चाहे त्यो कथा रामको होस्, चाहे भागवत वास्वथानीकै कथा किन नहोस्। कथावाचकलाई आफूले वाचन गर्ने कथाबारे पूर्ण ज्ञान हुन जरुरी छ। रोचक तरिकाले धारा प्रवाह कथा भन्दा र अथ्र्याउन सक्दा कथा श्रवण गर्नेहरू आनन्दमा डुब्ने गर्छन्।

सञ्चार माध्यमका विधामध्ये कथा भन्नु पनि एक सशक्त विधा हो। विज्ञहरूका अनुसार कथावाचन सिकाइको महत्त्वपूर्ण अंग हो। कथाबाट मानिसले चाँडो कुरा सिक्न सक्छन्। नागरिकलाई शिक्षा, नैतिक मूल्यमान्यता र मनोरञ्जन दिने उद्देश्यले कथा भन्ने चलन धेरै पहिलेदेखि चल्दै आएको पाइन्छ।

सुन्दा अलि पुरानो ढर्राजस्तो लागे पनि कथा सुनिसकेपछि कथाले मानिसको जीवनमा प्रभाव पार्न सक्ने अपेक्षा राखिन्छ र नराम्रा आचरण छन् भने त्यसलाई त्याग गरी सत्मार्गमा लाग्न सक्छन् भन्ने मुख्य अभिप्राय रहन्छ। सिनेमा, नाटकलगायतका विधामा पनि कुनै न कुनै विषयमा कथा नै भनिएको हुन्छ।

पक्कै पनि प्राचीन युगमा अहिले जस्तो सूचना प्रवाह गर्न सञ्चारका धेरै साधन थिएनन्। मानिसहरू सामान्य संकेत र चिह्नको सहायताले सञ्चार गर्थे। अहिले सूचना समाजमा रूपान्तरण भइसकेको अवस्था छ। त्यस समयमा कथा भन्ने चलन, सूचना प्रवाहको एउटा बलियो माध्यम भएको हुनुपर्छ। अब अहिले, प्रविधिले हामीलाई सजिलो, छिटो र सुविधामुखी बनाएको छ तर पनि कथा भन्ने चलन उत्तिकै लोकप्रिय छ।

हामी सबैको आआफ्नै कथा छ। यसमा दुईमत रहेन। यद्यपि, अहिलेको नयाँ पिँढीले भगवान्को कथा सुन्नमा त्यति रुचि देखाउँदैनन्। धर्मकर्म भनेको बुढेसकालमा गर्ने हो भन्ने धारणा धेरैमा पाइन्छ। तर जीवन, संर्घष, प्रेम, युद्ध, यौन हरेक क्षेत्र र विषयका कथाहरू हाम्रा समाजमा छन् र कथाकारले लेख्ने र प्रत्युत्तर गर्ने पनि गरेका छन्।

हाम्रो जीवनका कथा रोचक तरिकाले प्रस्तुत गर्न माहिर स्टोरी टेलर अर्थात् कथावाचक साइग्रेस पोखरेल, युवा पिँढी माझ निकै नै रुचाइएका व्यक्ति हुन्। उनको कथा सुन्न युवा जमातको भिड लाग्ने गर्छ। उनले भन्ने कथा जीवनका आरोहअवरोहका हुन्, बाल्यकाल र प्रेम अनि अझ भनौं हाम्रै समाजमा हुने घटनाक्रमका हुन्। विषयवस्तुलाई बुझेर कविता भनेझैं गरी कथा भन्ने उनको स्टाइलले जोकोहीलाई आकर्षित गर्छ। समय बदलिँदै गर्दा कथा भन्ने तौरतरिकामा फरक आउन सक्छ, कथाका विषयवस्तु परिवर्तन हुन्छन् यद्यपि कथा, कथा नै हो।

संस्कृतको ‘कथ्’ धातुमा ‘आ’ प्रत्यय लागेर कथा शब्द बनेको हो। ‘कथ्’को अर्थ भन्नु हो। कथाको विकास मानव सभ्यताको विकाससँग जोडिन्छ। जसले कथा लेख्छ वा वाचन गर्छ, ती व्यक्ति कथावाचक हुन्। कथावाचकलाई अंग्रेजीमा ‘स्टोरी टेलर’ भनिन्छ।

अब कुरा गरौं कोटिहोममा वाचन गरिएका कथाबारे। भागवत कथा, शिव पुराण, राम र हनुमानका कथा लगायतका यस्तै थुप्रै कथावाचन गर्न यसपटक पशुपतिमा, अन्तर्राष्ट्रिय रूपमै नाम कमाइसकेका कथावाचकहरूको आगमन भयो। माता, विदुषी, देवीले व्यासपीठमा बसेर कथावाचन गर्नु हामी सबैका लागि निकै नै खुसीको कुरा हो किनभने अहिलेसम्म महिलाहरूले व्यासपीठमा बसेर कथा भन्ने मौका पाएका थिएनन्। पित्तृसत्तालाई तोड्दै महिला विदुषीहरूले कथा भन्नु भनेको आफ्नो प्रतिभा देखाउने एउटा सुनौलो अवसर हो।

विशेष गरी चतुर्मास सुरु भएसँगै एकादशीको दिन, शिवालय र नारायणका मठमन्दिरमा पूजाआजा सकिएपछि कथावाचन गर्ने चलन धेरै पुरानो नै हो। अहिले पनि कतिपय मठमन्दिरमा यो चलन कायमै छ।

अब रह्यो कथावाचन कसले गर्ने अथवा कसले नगर्ने। यससम्बन्धी कहीं केही उल्लेख छैन। कथावाचकको योग्यता पनि कहीं उल्लेख छैन। त्यसैले जो व्यक्ति अध्ययन गर्छ, सम्बन्धित विषयमा विज्ञता हासिल गर्छ, उसैले कथा वाचन गर्ने हो। यसको ज्वलन्त उदाहरण हो आचार्य कृष्ण दमाईं। व्यासपीठमा बसेर उसलाई कथा भन्न उनको जातले उनलाई छेकेन, मानिस विद्धान् उसको विद्धताले हुने गर्छ भन्ने कुरा उनले प्रस्टयाइसकेका छन्।

पहिले पहिले महिलालाई पढाउने चलन नै थिएन। त्यस अवस्थामा महिलाहरूले कसरी कथावाचन गर्न सक्थे र ? अहिले त महिलाले गर्न नसक्ने काम नै के पो छ होला भनी प्रश्न गर्नुपर्ने समय आएको छ। देवी चन्द्रकला सखीले विभिन्न सात भाषामा विभिन्न देश गएर कथावाचन गर्ने गरेको बताइसकेकी छन्।

कथावाचन गर्दा कथामा जे कुरा उल्लेख गरिएको छ, त्यही भन्नुपर्छ तर यस्तो गरिएको पाइएन। भागवत कथा वाचिका प्रतिभा पराजुलीले २१औं शताब्दीमा पनि आफ्ना पतिले जस्तोसुकै दुःखयातना दिए पनि पति पति नै हुने र पति जस्तोसुकै भए पनि पतिलाई सम्मान नै गर्नुपर्ने, डिभोर्स दिन नहुने अभिव्यक्ति दिएपछि आलोचना खेप्न प¥यो। जुन कुरा समाज सुहाँउदो थिएन।

यस्तै विदुषी डा. कान्ता भट्टराइले महिलाले घर रिझाएर खानुपर्ने सुझाव दिइन्। २१औं शताब्दीका आजका महिलाहरू आफ्नो पहिचानका लागि लडिरहेका छन्। महिलाहरूले आफै कमाएर आफ्नो जोहो आफैं गर्न सक्छन् भन्ने ज्ञानको अभाव उनीमा देखियो।

सासूससुरा घरपरिवार सबैलाई रिझाए मात्र महिलाले आफ्नो धर्म निर्वाह गरेको ठानिने अभिव्यक्ति दिइरहँदा बुहारीलाई माया गर्नुपर्छ, पढेलेखेका बुहारीलाई घरको काममा लगाउने होइन, बुहारी घरबाहिर काममा जाँदा घरका काम सासूले गरिदिनुपर्छ भनेर भन्न कन्जुस्याइँ गरिन्। के यस्तो विचार २१औं शताब्दीका महिलालाई पाच्य होला त ? यी कुरा कुनै कथामा उल्लेख गरिएका त होइनन्, कथावाचिकाले आफ्ना मनमा लागेका कुरा भनिदिँदा समाज सुहाउँदो अभिव्यक्ति हुँदैन।

 महिलाहरूलाई तह लगाउनुपर्छ, घरका सबै सदस्यको सेवा गर्नुपर्छ लगायतका घरको काम गरेर घर खाने अर्ती दिइरहँदा उनीहरू दासताबाट कहिल्यै उम्कन सक्दैनन्। यस्ता समाज नसुहाउँदा कुराहरू कथाको विषयवस्तुभन्दा बाहिर गएर गरिँदा उल्टो लोकप्रिय हुनुको साटो अलोकप्रिय बन्ने डर हुन्छ। त्यसैले कथावाचकले कथाकै कुरा गर्दा कथाको प्रसंग भनिसकेपछि अहिलेको अवस्थाको चित्रण गर्न सक्नुपर्छ। ‘स्टोरी टेलिङ’सम्बन्धी पुस्तकमा कथावाचकले समयानुकूल अभिव्यक्तिलाई कथासँग जोड्न सक्नुपर्छ भनेर उल्लेख गरिएको छ।

कथावाचक भनेको परिवर्तका वाहक पनि हुन्। मानिसको जीवनमा परिवर्तन ल्याउन सक्ने भएकाले कथावाचकले देशको अवस्था, हावापानी, सांस्कृतिक अवस्था र चालचलन बुझ्नु अति नै जरुरी छ।

डेनिस र म्याकवेललगायत विद्धान्का अनुसार सञ्चारका अवधारणामध्ये सन्देशलाई प्रमुख मान्ने गर्छन्। त्यसैले कथावाचकले कथाभन्दा सन्देश के दिन खोजेको हो, त्यस विषयवस्तुमा प्रस्ट हुनुपर्छ। कथा भन्दै जाँदा कथामा भनिएका कुराहरूलाई अहिलेको परिवेश र सन्दर्भमा मिलाएर लैजान सक्नु कथावाचकको चलाखी र खुबीभित्र पर्छ। होइन भने सत्ययुगमा लेखिएका कथाहरू पितृसत्तालाई नै बढावा दिएर लेखिएका छन्। अहिले आएर पनि महिला स्वतन्त्रताका कुरा गरिँदैन भने महिलाहरू अझै घरभित्रै दमन र शोषणबाट पिल्सिन सक्छन्।

अब प्रश्न उठ्न सक्छ, कथावाचकले भागवत कथामा भएका कुराहरूको मात्र व्याख्या गरे त ? पक्कै गरेका छैनन् भागवत कथावाचिका राधिका दासीले त व्यासपीठमै बसेर आफ्नै कथा सुनाएकी छिन्। आफूलाई श्रीमान्ले हिंसा गर्ने गरेको, चुरोटका ठेट्नाले हातमा पोलिदिएको कुरा रुँदै उनले सुनाएकी छिन्। थोरै भए पनि शान्ति र आनन्द मिलोस् भनेर कथा सुन्न पुगेका भक्तजनहरूलाई आफ्ना मनका कुण्ठा, पीर र व्यथा पोखेर भक्तजनलाई रुवाउनु पक्कै राम्रो होइन। यदि आफ्ना कुरा भन्न नै थियो भने अन्य फोरममा भन्न सकिन्थ्यो।

आचार्य कृष्ण दमाईंले समेत आफ्नै कथा सुनाए। हाम्रो समाजमा दमाईंले यसअघि कहिल्यै व्यासपीठमा बसेर प्रवचन दिने मौका पाएका थिएनन्। उनी पहिलोचोटि प्रस्तुत भएकाले धेरै भक्तजनालाई उनीबारे जान्ने चाहना थियो। त्यसैले उनको आफ्नै कथा भक्तजनहरूले सुने तर सधैंभरि यही तरिकालाई उनले अपनाए भने उनी अलोकप्रिय बन्ने देखिन्छ। ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने लक्ष्मीप्रसादको कथनलाई धेरै नेपालीले व्यवहारमा उतारिसकेका छन्। व्यासपीठमा बसेपछि आफूले कुन कथा भन्न थालेको हो, त्यसैमा केन्द्रित हुन जरुरी छ।

कथा सुनेर बस्दा जोकोहीलाई आनन्द लाग्छ। कथाले मनोरञ्जन, उत्प्रेरणा र अभिप्रेरणा दिने काम पनि गर्छ। अनुसन्धानले के देखाएको छ भने ससाना बालबालिकाहरूलाई कथा सुनाउँदा बालबालिकालाई राम्रो निद्रा लाग्ने, तनाव कम हुने, बालबालिकाको विकासमा सघाउ पुग्ने र दिनहुँ कथा सुन्दा उनीहरूको भाषामा पनि सुधार हुने गरेको छ।

यसैगरी बालबलिकाले सही र गलत छुट्याउन सक्छन्। आफ्नो धर्म–संस्कृति, मूल्य–मान्यता सिक्न सक्छन्। ठुला व्यक्तिहरू पनि कथा सुनिसकेपछि सुनेका कुराहरू व्यवहारमा लागु गर्न प्रयत्नशील देखिन्छन्। त्यसैले कथा लेख्दा जसरी लेखकले सबभन्दा पहिले बलियो विषयवस्तु खोज्छ अनि त्यसमा आधारित रहेर कथाको एउटा खाका बनाउँछ, विषय सुहाउँदो चरित्रको निर्माण प्रस्तुति र कथाले भन्न खोजेका कुराहरूलाई सिलसिलाबद्ध रूपमा तयार पारेको हुन्छ।

कथावाचकले पनि आफूले वाचन गर्ने कथालाई कसरी प्रस्तुत गर्ने भन्ने तयारी गरेर कथा भन्न गयो भने विषयवस्तुभन्दा बाहिर जाँदैन। यसले गर्दा प्रस्तुति भद्दा रहँदैन। कथावाचकले आफूले कुन कथा भन्न लागेको हो, त्यसैमा केन्द्रित रहनुपर्छ। रामकथा वाचन गर्न जाँदा राजनीति, अर्थशास्त्र, पर्यावरण अन्तर्राष्ट्रिय सम्बन्धलगायतका यावत कुराहरूमा आफ्ना विचार पोख्न आवश्यक छैन। समयलाई बुझ्न सक्ने कथा वाचकले कथामा उल्लेख गरिएका प्रसङ्ग र अहिलेको अवस्थालाई चित्रण गर्न सक्छ।

हाम्रा धेरै धर्मग्रन्थसम्बन्धी पुस्तकहरू संस्कृतमा पाइने भएकाले कथावाचकहरूले संस्कृतसम्बन्धि ज्ञान लिने र आफ्नो रुचीअनुसार संस्कृत साहित्य, श्रीमद्भागवत, वेद, शिवपुराण, रामकथासम्बन्धि थप ज्ञान लिनु आवश्यक छ। संस्कृतमा लेखिएका र श्लोकहरू बुझेर कण्ठ पार्नु अनि श्रोतादर्शकबिच प्रसङ्ग मिलाएर श्लोकलाई अथ्र्याउनु चानचुने कुरो होइन। त्यसैले हजारौंको भिडमा आफूले कथा भन्न जाँदा आफूलाई भन्ने कथामा कण्ठस्थ हुनैपर्छ।

सनातन धर्म वा हिन्दु धर्मअनुसार गुरुलाई सबैभन्दा माथिल्लो दर्जामा राखिएको छ। ‘गु’को अर्थ अन्धकार वा अज्ञान हुन्छ भने ‘रु’को अर्थ निरोधक वा प्रकाश भन्ने हुन्छ। त्यसैले अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी प्रकाश दिनेगर्छ। उनलाई गुरु भनेर सम्बोधन गरिन्छ। शास्त्रमा गुरुको स्थान भगवान्भन्दा माथि रहेको छ। संस्कृतमा भनिएको छ:

गुरुब्रह्म गुरुविष्णु गुरुदेर्वो महेश्वर,

गुरुर्साक्षात् परब्रह्म तस्मैश्री गुरुवे नमः।

गुरु नै ब्रह्म हुन्, गुरु नै विष्णु हुन्, गुरु महेश्वर पनि हुन्, गुरु परब्रह्मस्वरूप भएकाले गुरुलाई नमन गर्छु। गुरु मार्गदर्शक हुन्, उद्धारक हुन् अनि परिवर्तक पनि हुन्। गुरुले शिष्यको खराब पक्ष हटाएर सद्मार्गमा लगाउँछन्।

कथावाचक परिवर्तनवाहक हुन्। राम्रा कुरा सिकाउने भएकाले उनीहरूको स्थान गुरुकै समान हुन्छ र गुरुजत्तिकै मानसम्मान दिने गरिन्छ। कथावाचक–वाचिकाहरूले आफूले प्राप्त गरेको ख्यातिलाई जोगाउन उनीहरूले आफ्नो प्रस्तुतिमा सुधार र निखारपन ल्याउन जरुरी छ। होइन भने कसैको विचार सुन्न सधैंभरि भक्तजन जम्मा हुने छैनन्।

प्रकाशित: १ भाद्र २०८१ ०८:४२ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School