प्रकाशित मिति : १५ असार २०८३, सोमबार

फोटो :एपी/रासस
नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै मोरक्को फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो।
मेक्सिकोको मोन्टेरे स्टेडियममा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै मोरक्को अन्तिम १६ मा पुगेको हो। सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्कोले अब अन्तिम १६ मा सह–आयोजक क्यानडासँग खेल्नेछ।
खेलको ७२औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। उनले क्राईसेन्सियो समरभिलको पासमा गोल गरेका हुन्। तर, नेदरल्यान्ड्सले अन्तिम समयमा अग्रता जोगाउन नसक्दा मोरक्कोले इन्जुरी समयमा गोल फर्काएको थियो।
मोरक्कोका इसा डिओपले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याएका हुन्। उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो। यससँगै तीन पटकको उपविजेता नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको छ।
यसअघि सकिएको अर्को खेलमा चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे पनि जारी विश्वकपको अन्तिम १६ (प्रिक्वाटरफाइनल) मा प्रवेश गरेको थियो।
मंगलबार बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा पाराग्वे पेनाल्टी सुटआउटमा ४–३ ले विजयी भएको हो।
यो हारसँगै चार पटकको विश्वविजेता जर्मनीको यात्रा भने जारी विश्वकपको राउन्ड अफ ३२ बाटै टुङ्गिएको छ। त्यसअघि भएको खेलमा जापानलाई हराउँदै ब्राजिल पनि प्रिक्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।
