हर्मुज जलडमरु बन्द हुँदा विश्वले सिकेको सबैभन्दा चिन्ताजनक पाठ भनेको हामीले जोखिमबारे यसअघि कति थाहा पाएका थियौं र त्यसका लागि कति तयारी गरेका थियौं भन्ने हो। अहिले तनाव केही कम भए पनि सम्बद्ध देशहरूले अर्को झट्का आउनुअघि आफ्नो प्रतिरोधी क्षमता बलियो बनाउन यो अवसरको उपयोग गर्नुपर्छ।
हालै संयुक्त राज्य अमेरिका र इरानबिच भएको समझदारीपत्र (एमओयु) र पहिलो चरणको वार्तामा भएको सहमतिले हर्मुज जलडमरुमार्फत तेल, प्राकृतिक ग्यास, सल्फर र मलको आपूर्ति पुनः सुचारु हुने आशा जगाएको छ। यसले कृषि बजारमाथिको दबाब कम गर्दै विश्व खाद्य सुरक्षामा थप गहिरो संकट आउने जोखिम घटाउन सक्छ। तर, जलडमरु खुला नै रहने मानिए पनि यो सम्झौताले विगत चार महिनाले दिएको मुख्य पाठलाई मेटाउन सक्दैन, त्यो हो– कृषि क्षेत्र अझै पनि मल आपूर्ति शृंखलामा आउने अवरोधप्रति अत्यन्तै संवेदनशील छ।
त्यसो त, यो सम्झौताकै भविष्य अनिश्चित छ, इरानसँगको दीर्घकालीन सम्बन्ध पनि अस्पष्ट छ। त्यसैले तत्कालको दबाब केही कम भए पनि देशहरूले अर्को संकट आउनुअघि आफ्नो तयारी सुदृढ बनाउनुपर्छ। प्रश्न अर्को अवरोध आउँछ कि आउँदैन भन्ने होइन, त्यो बेला हामी अझ राम्रोसँग तयार हुन्छौं कि हुँदैनौं भन्ने हो।
पछिल्ला पाँच वर्षमा कृषि क्षेत्रले कोभिड–१९ महामारी, विभिन्न युद्ध र बारम्बार दोहोरिएका जलवायुजन्य विपत्तिहरूको सामना गरेको छ। प्रत्येक संकटले आपूर्ति शृंखला, ऊर्जा प्रणाली र कृषि उत्पादनका कमजोरीहरू उजागर गर्यो तर आगामी संकट आउनुअघि ती कमजोरी सुधार्ने यति स्पष्ट अवसर भने थोरैले मात्र दिएका थिए।
प्रतिरोधी क्षमता भनेको परिस्थिति अप्रत्याशित रूपमा बदलिँदा पनि विकल्पहरू जोगाइराख्नु हो। प्रारम्भिक चेतावनी प्रणाली, बजार अनुगमन, कृषि बिमा र पूर्वतयारीका कार्ययोजनाले संकट गम्भीर बन्नुअघि नै सरकारहरूलाई प्रतिक्रिया दिन सक्षम बनाउँछन्।
हर्मुज जलडमरु बन्द हुँदा देखिएको सबैभन्दा असहज सत्य भनेको जोखिमबारे जानकारी र तयारीबिचको खाडल थियो। मल आपूर्तिमा अवरोध आउँदा पर्ने असरबारे पर्याप्त जानकारी हुँदाहुँदै पनि विश्व कृषि क्षेत्र सीमित सुरक्षात्मक व्यवस्थासहित संकटमा प्रवेश गर्यो। अत्यावश्यक कृषि सामग्रीका लागि कुनै समन्वित अन्तर्राष्ट्रिय भण्डारण संयन्त्रसमेत थिएन।
विश्वव्यापी रूपमा कारोबार हुने मलको करिब २०–३० प्रतिशत र सल्फर निर्यातको झन्डै ५० प्रतिशत यही जलमार्गबाट ओसारपसार हुन्छ। फलस्वरूप यो एक मात्र मार्ग विश्वका विभिन्न महादेशका उत्पादकहरूका लागि कमजोर कडी बन्न पुगेको छ। आपूर्ति अवरुद्ध हुँदा बजार स्थिर राख्ने कुनै प्रभावकारी सुरक्षात्मक भण्डार थिएन, न त हराएको आपूर्ति ठुलो परिमाणमा पूर्ति गर्न सक्ने वैकल्पिक स्रोत नै थियो।
विश्वकै प्रमुख कृषि निर्यात क्षेत्रमध्ये एक ल्याटिन अमेरिकाको उत्पादन आयातित मलमा अत्यधिक निर्भर छ। अफ्रिकाका धेरै देशहरूमा मलको प्रयोग पहिलेदेखि नै न्यून भएकाले सामान्य अवरोधले पनि उत्पादनशीलतामा ठुलो क्षति पुर्याउन सक्छ। यो संकटले अत्यावश्यक कृषि सामग्रीको आपूर्ति शृंखला कति केन्द्रित र नाजुक भइसकेको छ भन्ने देखायो।
प्रतिरोधी क्षमता निर्माण गर्न व्यापार पुनःस्थापना मात्र पर्याप्त हुँदैन। भण्डारण क्षमता विस्तार, विविध व्यापारिक मार्ग र बलियो ढुवानी सञ्जालले यस्ता संवेदनशील अवरोधहरूबाट हुने जोखिम कम गर्न सक्छन्। विशेषगरी ऋणको बोझ र भुक्तानी सन्तुलनको दबाब झेलिरहेका देशहरूमा यस्ता लगानीका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्था र विकास बैंकहरूले सहयोग गर्नुपर्छ।
यो संकटले ऊर्जा र कृषि–खाद्य प्रणालीबिचको घनिष्ठ सम्बन्ध पनि उजागर गर्यो। धेरै विकासशील देशहरूमा सिँचाइ पम्प, यातायात सञ्जाल र कृषि मेसिनहरू अझै डिजेलमा निर्भर छन्। त्यसैले इन्धन बजारको अस्थिरता सिधै उत्पादन लागत वृद्धिमा परिणत हुन्छ। ग्रामीण विद्युतीकरण र नवीकरणीय ऊर्जामा लगानी गरेर कृषिलाई ऊर्जा झट्काबाट कम निर्भर बनाउन सकिन्छ, जसले दीर्घकालीन प्रतिस्पर्धात्मकता पनि बढाउँछ।
वास्तविक प्रतिरोधी क्षमता मलको आपूर्ति सुनिश्चित गर्नुभन्दा त्यसको प्रभावकारी प्रयोगमा निर्भर हुन्छ। सबैभन्दा सफल कृषि प्रणालीहरू ती होइनन्, जसले सबैभन्दा धेरै मल प्रयोग गर्छन, बरु ती हुन्, जसले सही समयमा, सही स्थानमा र सही मात्रामा आवश्यक पोषकतत्त्व प्रयोग गर्छन्।
यो संकटले अर्को महत्वपूर्ण पाठ पनि सिकाएको छ– मलको मूल्य घट्नु सधैं राम्रो संकेत नहुन सक्छ। हाल युरियाको मूल्य घट्नुको एउटा कारण किसानहरूले अनिश्चितता, नगद अभाव, आपूर्ति चिन्ता र कम नाफाको अपेक्षाका कारण खरिद ढिलाइ गर्नु वा प्रयोग घटाउनु हो। छोटो अवधिमा यसले मूल्य घटाउन सक्छ तर दीर्घकालमा उत्पादन घट्ने र खाद्य आपूर्ति झन् खुम्चिने जोखिम बढाउँछ।
त्यसैले भविष्यको मल सुरक्षा बढी मल प्रयोगमा होइन, जमिन मुनिको माटो बुझ्नमा निर्भर हुन सक्छ। माटो नक्सांकन, सटिक पोषक व्यवस्थापन र सुधारिएको कृषि अभ्यासमा लगानीले किसानलाई बाली र माटोको वास्तविक आवश्यकताअनुसार मल प्रयोग गर्न मद्दत गर्छ। यसले उत्पादन बढाउँछ, खेर जाने स्रोत घटाउँछ र अस्थिर अन्तर्राष्ट्रिय बजारमाथिको निर्भरता कम गर्छ।
सूचनालाई पनि कृषि पूर्वाधारकै रूपमा लिनुपर्छ। सरकार र निजी क्षेत्रले साझा मापदण्ड र प्लेटफर्म विकास गरी माटोसम्बन्धी तथ्यांकलाई विश्वव्यापी सार्वजनिक सम्पत्तिमा रूपान्तरण गर्नुपर्छ।
संकटले प्रायः एउटै समाधान खोज्ने प्रलोभन पैदा गर्छ तर कृषिमा प्रायः एउटै समाधान हुँदैन। हरित अमोनिया र सम्बन्धित प्रविधिहरूले भविष्यमा मल उत्पादनलाई विविधीकरण गर्न र जीवाश्म इन्धनमाथिको निर्भरता घटाउन सक्छन् तर यसको लागत अझै परम्परागत अमोनियाभन्दा धेरै उच्च छ र ठुलो स्तरमा प्रयोग हुन वर्षौं लाग्नेछ।
त्यसैले अनुसन्धान र नवप्रवर्तन कोषहरूले वैकल्पिक मल, जैव–उत्तेजक पदार्थ, लाभदायी सूक्ष्मजीव, सुधारिएका बाली प्रजाति तथा पोषकतत्व उपयोग दक्षता र माटो स्वास्थ्य सुधार गर्ने प्रविधिलाई समर्थन गर्नुपर्छ। प्रभावकारी मल रणनीति विज्ञानमा आधारित, स्थानीय आवश्यकताअनुकूल र रासायनिक मलसँगै माटो व्यवस्थापन तथा जैविक समाधानको संयोजनमा आधारित हुनुपर्छ।
अन्ततः प्रतिरोधी क्षमता भनेको परिस्थिति अप्रत्याशित रूपमा बदलिँदा पनि विकल्पहरू जोगाइराख्नु हो। प्रारम्भिक चेतावनी प्रणाली, बजार अनुगमन, कृषि बिमा र पूर्वतयारीका कार्ययोजनाले संकट गम्भीर बन्नुअघि नै सरकारहरूलाई प्रतिक्रिया दिन सक्षम बनाउँछन्। भूराजनीति, जलवायु परिवर्तन वा ऊर्जा बजारबाट अर्को झट्का जहाँसुकैबाट आए पनि यस्ता लगानी उपयोगी हुन्छन्।
अमेरिका–इरान सम्झौताको अन्तिम परिणाम जे भए पनि हर्मुज जलडमरुमा आएको अवरोधका आर्थिक प्रभावहरू जहाज मार्ग सामान्य बनेपछि पनि कृषि प्रणालीमा लामो समयसम्म देखिनेछन्। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को विश्लेषणअनुसार उत्पादन लागत वृद्धि र उत्पादन समायोजनका प्रभाव बजारमा फैलिँदै जाँदा सन् २०२६ भरि धेरै उत्पादकहरूले कम नाफा र आम्दानी घाटाको सामना गर्नुपर्नेछ।
त्यसैले सरकारहरू, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू र विकास बैंकहरूले यो अवसरलाई अत्यावश्यक पूर्वाधार सुदृढ बनाउन, कृषि सूचनामा पहुँच विस्तार गर्न, आपूर्ति शृंखला विविधीकरण गर्न र थप प्रतिरोधी मल प्रणाली निर्माण गर्न उपयोग गर्नुपर्छ। यस संकटले उजागर गरेका कमजोरीहरू संकट सुरु हुनुअघि नै ज्ञात थिए। संकट समाप्त भएपछि पनि ती समाधानविहीन रहनुहुँदैन।
–टोरेरो संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका प्रमुख अर्थशास्त्री हुन्।
(प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: १६ असार २०८३ १०:१६ मंगलबार
