विश्वकप फुटबल: नर्वे प्रिक्वाटरफाइनलमा, अब ब्राजिलसँग भिड्ने



प्रकाशित मिति : १६ असार २०८३, मंगलबार

विश्वकप फुटबल: नर्वे प्रिक्वाटरफाइनलमा, अब ब्राजिलसँग भिड्ने

फोटो :रासस

नर्वे फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलासस्थित रङ्गशालामा सम्पन्न रोमान्चक खेलमा नर्वेले आइभरी कोस्टमाथि २–१ गोलअन्तरको जित निकालेको हो।

नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका अमाद डियाल्लोले गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो।

खेल सकिन केही मिनेट मात्र बाँकी छँदा ८६औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हल्याण्डले निर्णायक गोल गर्दै नर्वेलाई २–१ को महत्त्वपूर्ण जित दिलाए।

चालू विश्वकपमा हल्याण्डको यो पाँचौँ गोल हो। उनी सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका अर्जेन्टिनाका लियोनल मेसीभन्दा मात्र १ गोलले पछाडि छन्।

समूह चरणका सुरुवाती दुई खेलमा २–२ गोल गरेका हल्याण्डलाई अन्तिम खेलमा भने बेन्चमा राखिएको थियो। यस गोलसँगै हल्याण्डले नर्वेका लागि लगातार १३औँ खेलमा गोल गर्ने कीर्तिमान समेत बनाएका छन्।

विश्वकप फुटबल: नर्वे प्रिक्वाटरफाइनलमा, अब ब्राजिलसँग भिड्ने

विश्वकपमा चौथो पटक सहभागिता जनाइरहेको नर्वे तेस्रो पटक प्रिक्वाटरफाइनलमा पुग्न सफल भएको हो। यसअघि नर्वे सन् १९३८ र १९९८ मा प्रिक्वाटरफाइनलसम्म पुगेर बाहिरिएको थियो भने सन् १९९४ मा समूह चरणबाटै बाहिरिएको थियो।

अन्तिम १६ मा पुगेको नर्वेले अब क्वार्टरफाइनल प्रवेशका लागि पाँच पटकको विश्वविजेता ब्राजिलको कडा चुनौती सामना गर्नेछ।





Source link

Leave a Comment