प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

अमेरिकाबाट डिर्पोट गरिएका पूर्व भुटानी शरणार्थीहरु नेपाल प्रवेश गर्न सक्ने संभावना देखिएकाले सीमा नाकामा कडाइ गरिएको छ । अमेरिकाले डिर्पोट गरेका पूर्व भुटानी शरणार्थीहरु झापाको बेलडाँगीबाट पक्राउ परेपछि सीमा नाका कडाइ गर्नुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले बेलडाँगी शिविरबाट अमेरिकामा यौन अपराधमा दोषी ठहर भएपछि ग्रिनकार्ड खोसेर देशनिकाला गरिएका ३६ वर्षीय रोशन तामाङ लगायत अन्य तीन जनालाई बेलडाँगी शिवरबाट प्रहरीले शनिबार पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले पक्राउ परेका तीनै जनालाई अध्यागमन कार्यालय काकडभिट्टा को जिम्मा लगाइएको खसोखासलाई बताउनु भयो ।
पक्राउ परेकाहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको र प्रहरीको अनुसन्धान सकिएपछिमात्र अध्यागमनले प्रकृया सुरु गर्ने नेपालका अध्यागमन अधिकारीले खसोखासलाई जानकारी दिएका छिन् । अमेरिकाबाट कुन पृष्ठभूमिबाट आएको, नेपालमा आएर अपराध गरे नगरेकोबारे प्रहरीले छानविन गरिरहेको र प्रहरीको अनुसन्धान नसकिएसम्म अध्यागमनबाट कुनै प्रकृया सुरु नगरिएको उनले जानकारी दिएका हुन् ।
शुक्रबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै उनीहरूलाई खानपिन गराएर भारतसँगको सीमावर्ति नाका फुन्सोलिङ ल्याएर भुटानी अधिकारीले छोडिदिएका थिए । त्यहाँबाट उनीहरू पानीट्यांकी नाका हुँदै नेपाल छिरेका देखिएको छ।
यसरी छिरेकामध्ये ३ जना भुटानी शरणार्थी शुक्रबार राति बेलडाँगी शिविर आइपुगेका हुन्। उनीहरु बेलडाँगी पुगेपछि स्थानीयले दिएको सुचनाका आधारमा प्रहरीले शनिबार पक्राउ गरेको हो । अमेरिकाले डिर्पोट गरेर भुटान पठाएको भएपनि भुटानले नागरिकको रुपमा स्वीकार नगरेपछि उनीहरु सिमा नाका हुँदै बेलडाँगी शिविरमा पुगिसकेको अवस्थामा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिनुभयो ।

अन्य ७ जनाको पनि खोजी
नेपालका लागि यो घटना नौलो रहेको प्रहरीको भनाई रहेको छ । अमेरिकाले डिर्पोट गरेका १० जना मध्ये ३ जना झापामा पक्राउ परेका हुन । अन्य ७ जना भुटानमा छन या नेपाल मै लुकेर बसेका छन भनेर अनुसन्धान प्रहरीले गरिरहेको बताएको छ ।
अमेरिकाले डिपोर्ट गरेर भुटान फर्काएपछि पनि भुटान सरकारले आफना नागरिकलाई अस्वीकार गर्नु विडम्वनापूर्ण रहेको अधिकारीहरुले बताएका छन ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार यो घटना नेपालका लागि नौलो भएकाले माथिल्ला निकाय र अध्यागमन कार्यालयसँग समन्वय गरेर अगाडी बढ्ने जानकारी दिनुभयो । उनीहरुलाई कस्तो अध्यागमन कारवाही हुने भन्नेबारे केही स्पष्ट छैन ।
अपराधका कारण ग्रिनकार्ड खोसिएकाहरु
उनीहरु तेस्रो मुलुक पुर्नवास कार्यक्रम अन्र्तगत राष्ट्रसंघीय मिसनबाट प्रमाणीकरण भएर शरणार्थीका रुपमा अमेरिका पुगेका थिए। तर अमेरिका आइसकेपछि विभिन्न अपराधमा संलग्न भएका कारण उनीहरुका ग्रिनकार्डहरु खारेज गरिएको थियो ।
नेपालमा पक्राउ परेकामध्येका एक रोशन तामाङलाई अमेरिकी अध्यागमनले गत मार्च ११ मा ओहायोको सिनसिनाटीबाट नियन्त्रणमा लिएको थियो । उनी यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर भएका थिए । तामाङलाई देश निकालाको अन्तिम आदेश दिइएपनि उनी अमेरिकामा नै बस्दै आएको आइसले जनाएको थियो ।

तामाङ गम्भीर यौन दुर्व्यवहार, पक्राउ गर्ने अधिकारीमाथि हस्तक्षेप, लागूऔषध सामग्री राखेको, आपराधिक दुराचार र आपराधिक घुसपैठको अभियोगमा दोषी ठहर भएका थिए । तामाङकोे यौन दुर्व्यवहारले समुदायमा गम्भीर खतरा निम्त्याएको आइसको इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेसन डेट्रोइट फिल्ड अफिसका निर्देशक रोबर्ट लिन्चले बताएका थिए ।
आइसका अधिकारीहरूले आपराधिक विदेशीहरू र आप्रवासन उल्लंघनकर्ताहरूलाई पक्राउ गरेर र देशनिकाला गरेर सार्वजनिक सुरक्षा प्रदान गर्न जारी राख्ने उनले बताएका छन् । उनलाई बटलर काउन्टी जेलमा राखिएकोमा मार्चको अन्तिम साता उनलाई भुटान डिपोर्ट गरिएको थियो । ३६ बर्षका तामाङ ५ फिट ६ इन्च उचाई भएका र १३० पाउण्ड तौल रहेको छन् ।
ग्रिनकार्ड खारेज गरेर विभिन्न समयमा देशनिकालाको आदेश भइसकेपनि अमेरिकाले उनीहरुलाई देशनिकाला गर्न सकेको भने थिएन । भुटानले अहिलेसम्म उनीहरुलाई स्वीकार नगरेका कारण अमेरिकाले देशनिकाला गर्न नसकेको हो । तर अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भुटानमाथि भिसा प्रतिबन्ध लगाउने धम्की दिएपछि भुटानले उनीहरुलाई अमेरिकाबाट स्वीकार गरेको थियो ।
भुटानको अनौठो चाल, नेपाल प्रहरीबाट अलर्ट जारी
अमेरिकाबाट स्वीकार गरेपनि भुटानले उनीहरुलाई भुटानमै राख्न भने अस्वीकार गरेको छ । यसरी अमेरिकालाई झुक्याएको भुटानले अमेरिकाबाट डिपार्ट भएकाहरुलाई भारतमा लगेर छाडेपछि उनीहरु पुन नेपालमा नै गएपछि नेपाली अधिकारीहरु अब उनीहरुलाई के गर्ने भन्नेबारे अन्यौलमा रहेका छन् ।
नेपालमा शिविरमा रहेका शरणार्थीहरुको अभिलेखिकरण रहेको भन्दै प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले अभिलेखिकरण नभएकाहरुलाई तत्काल पक्राउ गर्नेगरी अलर्ट जारी गरिएको बताउनु भयो ।
सुचना प्राप्त हुने वित्तिकै पक्राउ गरेर अनुसन्धान गर्ने भन्दै डिएसपी खड्काले नयाँ व्यक्ति शिविरमा पुग्न साथ प्रहरीलाई खबर गर्न आग्रह समेत गर्नुभएको छ । भारतले पनि भुटानी शरणार्थीहरुलाई आफनो देशमा बस्न नदिने बताएपछि त्यहाँ रहेको अन्य भुटानीहरु पनि नेपाल प्रवेश गर्न खोजिरहेको सुचना प्रहरीले प्राप्त गरेको डिएसपी खड्काले बताउनु भयो ।
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा दोस्रो कार्यकाल सुरु गरेपछि अमेरिकामा रहेका कागजातविहिन र विभिन्न अपराधिक कृयाकलापमा सम्लग्न आप्रवासिहरुलाई देश निकाला गरिरहेका छन ।
तर अमेरिकामा रहेका पूर्व भुटानी शरणार्थीहरुका अगुवाहरुले भने अमेरिकामा कुनै अपराध गरेका पूर्व भुटानी शरणार्थीहरुलाई अमेरिकामा नै आपराधिक कानून अनुशार सजाय दिएपनि देशनिकाला गर्न नहुने बताउँदै आएका छन् । उनीहरुलाई देशनिकाला गर्दा उनीहरु जाने ठाउँ कतै नभएको र राष्ट्रियताविहीन हुने भएकाले देशनिकाला गर्न नहुने उनीहरुको तर्क छ ।
३५ वर्ष पहिला नेपाली भाषी भुटानीलाई भुटानी सरकारले लखेटेपछि उनीहरु नेपाल आएर शरणार्थी जीवन विताउन बाध्य छन । नेपालले कुटनीतिक पहल मार्फत शरणार्थी समस्याको समाधान निकाल्न ढिलाई गर्ने हो भने समस्या थप बढेर जाने अधिकारकर्मीहरुले बताएका छन ।

सन १९९० देखि भुटानी शरणार्थीहरुको नेपालका पूर्वी जिल्लाहरु झापा र मोरङमा रहेका विभिन्न शिविरहरुमा बसोबास गर्दै आएका छन । उनीहरुबाट जबरजस्ती भुटानी नागरिकता खोसेर भुटानबाट लखेटिएको भन्ने शरणार्थीहरुले दावी गर्दै आएका छन ।
नेपाल र भुटानले स्वदेश फिर्ता सम्बन्धी सम्झौता कार्यान्वयन गर्न नसकेपछि अधिकांश भुटानी शरणार्थीहरु अमेरिका , ओशिनिया र युरोपमा पुनर्वास भएका छन । उनीहरुको रेखदेख संयुक्त राष्ट्रसंघिय शरणार्थी उच्चायुक्तको कार्यालयले गर्दै आएको छ ।
कस्तो अवस्थामा अमेरिकाबाट देशनिकाला?
अमेरिकामा रहेका भुटानी र अन्य शरणार्थीहरूले गम्भीर अपराध गर्ने वा शरणार्थी स्थिति गुमाउने जस्ता विशेष परिस्थितिहरूमा देश निकाला आदेशको सामना गर्न सक्छन्। यदि देश निकाला गरियो भने तिनीहरूलाई सामान्यतया उनीहरूको मूल देशमा फिर्ता पठाइन्छ । तर भुटानी शरणार्थीहरूको लागि, भुटानले उनीहरूलाई स्वीकार नगरेको कारणले यो जटिल छ ।

चोरी वा सुरक्षा जोखिम जस्ता गम्भीर अपराध गरेमा उनीहरुले देशनिकालाको सामना गर्नसक्छन् । विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिहरू अन्तर्गत विगतमा अपराधको पृष्ठभूमि भएका भुटानी शरणार्थीहरुले देशनिकालाको सामना गर्नसक्छन् ।
भुटानी शरणार्थी समुदायमा विगतमा आपराधिक पृष्ठभूमि भएकाहरुको संख्या उल्लेख्य रहेको छ । जसले गर्दा अहिले ट्रम्प प्रशासनले उनीहरुलाई पक्राउ गर्ने दर पनि तीब्र पारेको छ । जसमध्ये कतिपय विगतमा आपराधिक पृष्ठभूमि भएका कारण देशनिकालाको आदेश पाइसकेकाहरु समेत छन् ।
कति भुटानी पक्राउ?
पुनर्वास कार्यक्रममार्फत नेपालबाट अमेरिका आएका भएतापनि अमेरिकाले उनीहरुलाई अमेरिकी नागरिकता नलिंदासम्म भुटानी नागरिकका रुपमा नै बर्गिकरण गर्छ । ट्रम्प प्रशासन आइसकेपछि विभिन्न स्थानबाट २० जना भन्दा बढी भुटानीहरु अध्यागमन एजेन्सी आइसद्वारा पक्राउ परिसकेका रिपोर्टहरु आएका छन् । यद्यपी भुटानीहरु पक्राउ पर्ने क्रम बाइडेन प्रशासनमा समेत थियो ।
बाइडेन प्रशासनका ४ बर्षमा ५१ जना भुटानीहरुलाई आइसले पक्राउ गरेको थियो भने उनीहरुलाई आइसको हिराशतमा राखिएको थियो । तर उनीहरुलाई आइसले देशनिकाला भने गर्न सकेको थिएन । आर्थिक बर्ष २०२१ मा १५ जना, २०२२ मा १२ जना, २०२३ मा १२ जना र २०२४ मा १२ जनालाई आइसले पक्राउ गरेको थियो । तर आइसका अनुशार उनीहरुमध्ये कसैलाई पनि अमेरिकाबाट देशनिकाला भने गर्न सकिएको थिएन ।

आर्थिक बर्ष २०१८ र २०१९ मा एकएकजना भुटानीहरुलाई देशनिकाला गर्न आइस सफल भएको थियो । शरणार्थी बाहेक अन्य च्यानलबाट अमेरिका आएका भुटानीहरुसँग भुटानको म्यादसहितको पासपोर्ट भएको खण्डमा भने अमेरिकाले उनीहरुलाई देशनिकाला गरेर भुटान पठाउनसक्छ । तर २०१८ र २०१९ मा देशनिकाला गरिएकाहरु कुन श्रेणीका थिए भन्नेबारे भने प्रष्ट छैन ।
किन भुटान पठाउन सकेन?
सामान्यतया देशनिकालामा पर्नेहरुलाई उनीहरूको मूल देशमा पठाइन्छ । उदाहरणका लागि जोखिमको बाबजुद पनि इराकी शरणार्थीहरूलाई इराक फिर्ता पठाउने गरिएको छ । यद्यपि भुटानी शरणार्थीहरूका लागि थप जटिलता रहेको छ ।
अमेरिकासँग भुटानको औपचारिक कूटनीतिक सम्बन्धको अभाव र निष्कासित नागरिकहरूलाई स्वीकार गर्न ऐतिहासिक रुपमा भुटानको अस्वीकारको कारण उनीहरुलाई भुटान फिर्ता गर्न अप्ठ्यारो परेको हो । तर भुटानले यसपटक अमेरिकाबाट आफ्ना नागरिक स्वीकार गरेपनि भुटान पुगिसकेपछि भने भारतमा लगेर छाडेर अनौठो चाल चलेको छ ।
पासपोर्ट नभएकाहरुका लागि आइसले देशनिकालाका लागि ट्राभल डकुमेन्टको अनुरोध गर्ने भएकाले आइसको अनुरोधमा भुटानले ट्राभल डकुमेन्ट जारी गर्न अस्वीकार गर्दै आएकोमा यसपटक भने उनीहरुका लागि ट्राभल डकुमेन्ट जारी गरिदिएको थियो । तर उनलाई भुटानमा बस्न नदिएपछि अलपत्र परेका छन् ।

त्यसैले १९९० को दशकमा जातीय सफायाबाट भागेर अमेरिकामा पुनर्वास भएका भुटानी शरणार्थीहरूका लागि अमेरिकाबाट देश निकाला सामान्य छैन । झण्डै १ लाख भुटानी शरणार्थीहरु अमेरिका लगायत तेश्रो देशमा पुनर्वास भएका छन्, जसमा अमेरिकामामात्र पुनर्वास हुनेहरुको संख्या झण्डै ८५ हजार थियो । व्यापक पुनर्वास परियोजनाको बावजुद लगभग ७,००० भुटानी शरणार्थीहरू अझै नेपालमा नै रहेका छन् ।
भुटानमाथि यात्रा प्रतिबन्धको योजनामा ट्रम्प
कुटनीतिक सम्बन्धको अभाव र अमेरिकाबाट देशनिकालाको आदेश पाउने भुटानीहरुलाई भुटानले स्वीकार नगर्ने रेकर्डका कारण ट्रम्प प्रशासनले भुटानमाथि यात्रा प्रतिबन्ध लगाउने योजना बनाएको थियो । हालै सार्वजनिक ड्राफ्ट सूचिमा पूर्ण प्रतिबन्ध लगाइने ११ देशमा भुटान समेत रहेको छ । अन्य देशहरुमा अफगानिस्तान, क्युबा, इरान, लिबिया, नर्थ कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला यमन रहेका छन् ।
अमेरिकाबाट देश निकाला आदेश जारी गरियो अमेरिकी कानूनले सामान्यतया व्यक्तिलाई उसको मूल देशमा देश निकाला गर्ने आदेश दिन्छ । देश निकाला सरकारी खर्चमा हवाई मार्गबाट गरिन्छ, व्यक्तिहरूलाई उनीहरूको मूल देशमा फिर्ता पठाइन्छ। तर भुटान पठाउन विगतमा सम्भव नभएकाले ट्रम्प प्रशासनले भुटानमाथि कारवाहीको चेतावनी दिएर दवाव श्रृजना गरेको थियो । ट्रम्पको कारवाहीबाट बच्न भुटानले पनि अहिले अमेरिकाबाट आफ्ना नागरिक स्वीकार गरेपनि भुटानमा भने बस्न नदिनेगरी यस्तो अनौठो चाल चलेको हो ।

नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले भुटानको कन्सुलर मामिलाहरू सम्हाल्छ, तर अमेरिकामा कुनै भुटानी दूतावास दूतावास छैन, जसले गर्दा स्वदेश फिर्ती अझ जटिल रहेको छ । यद्यपी न्युयोर्कमा भुटानको कन्सुलेट जनरल भने रहेको छ । हालै अमेरिकाले ३ जना नेपालीलाई पनामा देशनिकाला गरेको थियो ।
भुटानको नयाँ चालका कारण यही प्रकृयाबाट भुटानीहरुलाई पनि ट्रम्प प्रशासनले अन्य देशमा पठाउने खतरा भने रहेको छ । आप्रवासीहरूलाई मूल देशको पर्वाह नगरी मध्य अमेरिकी देशहरुमा देश निकाला गर्ने अमेरिकी सुरु भएकाले यसले सम्भावित रूपमा भुटानी शरणार्थीहरूलाई असर गर्न सक्छ।
न्युयोर्कबाट किशोर पन्थी र काठमाडौंबाट दिपेन्द्र ढुंगानाको थप रिपोटिङ । कभर फोटोमा बेलगाडी शरणार्थी शिविर र पक्राउ परेकाहरु । बेलगाडी शरणार्थी शिविरको फोटो क्याट्रिन सिप्पली