प्रकाशित मिति : ४ असार २०८३, बिहिबार

विवाह गरी अमेरिका लैजान्छु भनेर १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार स्याङ्जा घर भई काठमाडौँको माछापोखरी बस्ने सञ्जीव नेपाली र उनकी श्रीमती अनुष्का भनिने सरिता पराजुलीलाई पक्राउ गरिएको हो।
पीडितले दिएको उजुरीका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरी ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा सञ्जीवले ‘प्रिन्स तामाङ’ र उनकी श्रीमती सरिताले ‘सरगम तामाङ’ बनेर पीडितसँग कुराकानी गर्ने गरेको खुलेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
सञ्जीवले आफू अमेरिकामा रहेको र नेपाली बोल्न नआउने भन्दै अङ्ग्रेजी भाषामा कुरा गर्ने गरेका थिए। उनले ‘प्रिन्स तामाङ’ नामको टिकटक आईडीबाट आफ्नो अनुहार नदेखाई पीडितलाई विवाह गरेर अमेरिका लैजाने प्रलोभन देखाएका थिए।
त्यसपछि आफ्नी श्रीमतीलाई बहिनी ‘सरगम तामाङ’ बनाएर ह्वाट्सएपमा कुराकानी गर्न लगाई पटक-पटक गरी १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको ब्युरोले जनाएको छ।
पक्राउ परेका उनीहरूविरुद्ध विद्युतीय माध्यमसम्बद्ध ठगी अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रहरीले बताएको छ।
वैदेशिक रोजगारीका साथै अमेरिका, बेलायत लगायतका मुलुकमा लैजाने प्रलोभन देखाएर ठगी गर्ने गिरोहहरू सक्रिय रहेकाले सतर्कता अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ।
