आजदेखि थप ४६ चिया उद्योग बन्द हुँदै, लाखौंको हरियो पत्ती नष्ट हुने अवस्थामा


विश्वमै उच्च गुणस्तरको चिया उत्पादन गर्ने देशमा प्रमाणित भइसकेको नेपालको चिया क्षेत्र गम्भीर संकटमा फसेको छ। लामो समयदेखि तयारी चिया निकासीमा अवरोध भइरहने गरेकामा यसपटक भने हजारौं किसान र श्रमिकको चुलासम्म त्यसको सोझो असर देखिन थालेको छ। पछिल्लो संकटले उद्योगी–व्यवसायी हतोत्साही हुने र सिंगो चिया क्षेत्र धराशयी हुने अवस्थामा पुर्‍याउँदैछ।

भारतले आयातमा कडाइ गरेपछि लाखौं किलो नेपाली तयारी चिया भारतका गोदाम र इलामका उद्योगहरूमा थन्किएको छ। तयारी चियाको भण्डारण जति लामो समय हुँदै जान्छ, यसको गुणस्तर घटिरहेको हुन्छ। बेलैमा समस्या समाधान नगरिए इलाम र झापाका सवा लाख चिया श्रमिक–किसानको हातमुख जोर्ने मेलो हराउँदैछ।

भारतीय चिया बोर्डले दुई महिनायता नेपाली चियामा कडाइ गरेको हो। बर्सेनि नेपालबाट सवा ४ करोडको निर्यात हुने तयारी चियाको करिब ९० प्रतिशत बजार भारत नै हो। तर, विभिन्न मापदण्ड र गुणस्तरलाई कारण देखाएर भारतले नेपाली चिया आयात रोक्ने ‘नियत’ राखेको उद्योगीले बताएका छन्। ‘हामीले युरोप, अमेरिकाका दर्जनौं देशमा बेचिरहेको चियालाई भारतले गुणस्तर परीक्षणका नाममा निरुत्साहित गरेको छ,’ उद्योगी उदय चापागाईं भन्छन्, ‘त्यही चिया जर्मनीमा जुनसुकै परीक्षणमा पास हुने, भारतमा चाहिँ फेल हुने हुन्छ? यो सरासर नेपाली चिया रोक्ने भारतीय उच्च तहकै नियत हो। विश्वकै दर्जनौं परीक्षणमा नेपाली चिया सर्वाेत्कृष्ट गुणस्तरको प्रमाणित नै छ।’

आन्दोलनमा व्यवसायी, थप ४६ उद्योग आजदेखि बन्द

चिया बिक्रीमा भारतीय पक्षको अवरोध खुलाउन सरकारले चासो नदिएको भन्दै इलामको सूर्याेदय अर्थाेडक्स टि प्रोड्युसर्स एसोसिएसनले असार १ देखि ५३ उद्योग बन्द गर्‍यो।

एसोसिएसनको आन्दोलनमा समर्थन जनाउँदै टि एलाइन्स अफ् नेपाल (टान)ले असार ४ देखि १६ उद्योग बन्द गरेका छन्। टानमा इलाम, पाँचथर, भोजपुर र कास्कीका चिया उद्योग आबद्ध छन्। आन्दोलनमा समर्थन जनाउँदै झापाका व्यवसायीले पनि असार ४ देखि नै थप ३० उद्योग बन्दको घोषणा गरिसकेका छन्। झापाका यी ३० उद्योगले बर्सेनि २ करोड किलो तयारी चिया उत्पादन गर्नेगरेका छन् भने त्यसको आधा हिस्सा भारतमै बिक्री हुने गरेको छ।

सूर्याेदयका चिया व्यवसायी र उद्योगीले बुधबार फिक्कल बजारमा विरोध प्रदर्शन गरे। उनीहरूले सरकारले आफ्ना माग पूरा नगरेको र बेवास्ता गरेको भन्दै र्‍याली र कोणसभा गरेका थिए। उनीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदैछन्। एसोसिएसन महासचिव गोपाल कट्टेलले सरकारलाई काठमाडौं नै पुगेर अनुरोध गर्दासमेत आफूहरूको माग बेवास्ता गरेको बताए। ‘हामीले अब कि जीवनभर चिया उद्यम नगर्ने गरी उद्योग बन्द गर्नुपर्छ कि आन्दोनल गर्नुको विकल्प रहेन,’ उनले भने, ‘सरकार यतिसम्म लाचार भइदिएको छ कि लाखौं किसान र श्रमिकको रोजीरोटी खोसिन खतरा हुँदासमेत चासो दिएको छैन।’

विभिन्न संस्थाको समर्थन

मुख्य रूपमा चिया खेती रहेको सूर्याेदय नगरपालिकाले भारतीय पक्षबाट अघोषित रूपमा भएको चियाको गैरभन्सार अवरोधले चिया क्षेत्रमा आबद्ध हजारौंको रोजिरोटी खोसिने अवस्था आएको जनाएको छ। नगरका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले विज्ञप्ति जारी गर्दै यसअघि पनि नगरले परराष्ट्र तथा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयलाई पत्राचार गरी चिया निकासीको अवरोध खुलाउन आग्रह गरिएको स्मरण गराएका छन्।

‘अन्तर्राष्ट्रिय व्यापार र दुई देशबीचको कुटनीतिक विषय प्रत्यक्ष रूपमा संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने विषय हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको नेपाली चिया क्षेत्रलाई धराशायी हुनबाट जोगाउन र हजारौंको रोजगारी गुम्न नदिन संघीय सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक संवाद गर्नुपर्छ।’

उद्योगीको आन्दोलनलाई अन्य व्यवसायीले समेत साथ दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश समितिले सरकारले चिया निकासी समस्या समाधान गर्न तत्काल उच्चस्तस्तरीय कूटनीतिक पहल गर्नुपर्ने जनाएको छ। महासंघ अध्यक्ष राजेन्द्र राउतले विज्ञप्ति जारी गरी २० हजारभन्दा धेरैको प्रत्यक्ष रोजगारी गाँसिएको चिया क्षेत्र यतिबेला गम्भीर संकटमा परेको उल्लेख गरेका छन्। ‘भारतको अवरोधले चिया उद्योगमा मौज्दात बढेको छ, नगद प्रवाहमा गम्भीर समस्या देखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हजारौं, किसान, श्रमिक र उद्योगी मारमा परेका छन्।’

टि एसोसिएसन अफ् नेपाल टानले पछिल्लो भारतीय नीतिले नेपाली चिया क्षेत्रमा गम्भीर असर पुगेको जनाएको छ। टानले विज्ञप्ति जारी गर्दै निर्यात प्रक्रियामा हुने ढिलाइ, दोहोरो परीक्षण, उच्च लागत र भण्डारणको समस्यालगायत कारणले चियाको बजार अनिश्चित हुनुका साथै किसान, श्रमिक, उद्योगी सबैलाई असर पुगेको जनाएको छ। ‘टानले गुणस्तर परीक्षण र खाद्य सुरक्षाको आवश्यकता स्वीकार गर्छ तर यस्ता प्रक्रिया वैज्ञानिक, व्यावहारिक, जोखिम मूल्यांकनमा आधारित र व्यापारमैत्री हुन आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसको दीगो समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्छ।’ टानले नेपाली तयारी चिया निर्यातलाई सीमित बजारमा नभई युरोप, अमेरिका, चीन, जापान, कोरिया, मध्यपूर्वलगायत सम्भावित अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न दीर्घकालीन कूटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गरेको छ।

केन्द्रीय चिया सहकारी संघले ३१ जिल्लामा उत्पादन भइरहेको नेपाली चियामा निकासी अवरोध हुँदा ६० हजारभन्दा धेरै प्रत्यक्ष रोजगारी गुम्ने अवस्था आएको जनाएको छ। अरू सबै बाली मासेर चिया खेती गरेका किसानको हातमुख जोर्ने संकट आउने तर्फ सचेत गर्दै संघले लामो समयदेखि चिया निकासीमा देखिनेगरेको अवरोध कूटनीतिक पहलमार्फत् हटाएर समाधान खोज्न सरकारसँग माग गरेको छ। संघले चियालाई कुनै देशमा मात्रै सीमित नगरी तेस्रो मुलुकमा निर्यात गर्ने सहज बाटो बनाउन पनि माग गरेको छ।

सूर्याेदयका ५३ उद्योग असार १ देखि बन्द रहँदा दिनहुँ ११ लाख किलो हाराहारी हरियोपत्ती नष्ट भइरहेको एसोसिएसन महासचिव गोपाल कट्टेलले बताए। सूर्याेदयका २ हजार ९ सय ९५ चिया किसानले ती उद्योगमा हरियोपत्ती प्रशोधनका लागि ल्याउनेगरेका छन्। तर, उद्योग बन्द भएपछि ७–७ दिनमा टिप्नुपर्ने हरियोपत्ती नष्ट भएर गइरहेको छ। ‘हरियो पत्ती टिप्न १ दिन ढिलो हुँदा त्यसको गुणस्तर घट्छ,’ चिया किसान डम्बर कटवालले सुनाए, ‘पत्ती टिप्न ढिलो भयो भने अर्काे पटक पत्ती पलाउन पनि त्यत्तिकै ढिलो भएर किसानलाई सोझो घाटा हुन्छ, यो संवेदनशील अवस्था कसैले बुझिदिएनन्।’

समस्या के हो?

१ मे २०२६ मा भारतीय चिया बोर्डले नेपालबाट आयात गरिने चियामा स्टेन्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) लागू गरेको छ। यो अवधारणाअनुसार प्रत्येक गाडीमा लगिएको चियाको गुणस्तर परीक्षण अनिवार्य गरिएको छ। एसओपी लागू गरिएपछि यसको रिपोर्ट आउन २० दिनभन्दा बढी लाग्ने, रिपोर्ट नआउञ्जेल बेच्न नपाइने, रिपोर्ट राम्रो आए बेच्न पाउने नत्र त्यही नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता नेपाली चियालाई छ। एक पटक नमुना परीक्षणमा फेल भए पुनः तीन साताभन्दा बढी समय गाडी त्यहीं रोकेर, दोस्रो पटक त्यति नै शुल्क लिएर मात्र गुणस्तर परीक्षण गर्नेगरी कडाइ गरिएको उनको भनाइ छ।

भारतीय बोर्डको अवरोधपछि उद्योगी गत वैशाख २७ मा काठमाडौं नै पुगेर प्रधानमन्त्रीको कार्यालय र परराष्ट्र मन्त्राालयसँग कूटनीतिक पहलका लागि आग्रह गरेका थिए। त्यसपछि भारतीय चिया बोर्डले १९ मे २०२६ मा दोस्रो विज्ञप्ति जारी गरी भारतीय घरेलु बजारमा नेपाली चिया विक्री गर्न पाइने व्यवस्थाको जानकारी गरायो। त्यसपछि केही उद्योगले यहाँको चिया विक्री पनि गरेका थिए। तर, पुनः भारतीय बोर्ड आफैँले १९ मेको विज्ञप्ति आधिकारिक नभएको भन्दै १ मेकै प्रावधानमा कडाइ गरेपनि उद्योगी चिन्तित भएका हुन्।

गुणस्तर जाँच गर्ने बहानामा भारतीय पक्षले तयारी नेपाली चिया बोकेर कोलकाता पुगेका गाडी महिनादिनसम्म अड्काइदिने गरेको उद्योगीको भनाइ छ। उद्योगीका अनुसार अहिले नेपाल–भारत सीमा कटेर भारतीय बजारमा पुगेको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा उतै अलपत्र छ। यता उद्योगमा प्रशोधन भइसकेको ७ लाख किलोभन्दा धेरै स्टक छ।

दिनहुँ चिया प्रशोधन गर्दा उद्योगहरूको भण्डारण नै भरिएर राख्ने ठाउँ पनि नभएको उद्योगीले बताए।  ‘किसानबाट हरियोपत्ती किनेर प्रशोधन गरिएको तयारी चिया न बिक्छ, न भण्डारण गर्ने ठाउँ नै खाली छ,’ उद्योगी डिल्ली श्रेष्ठले भने। चैत र वैशाख सबैभन्दा धेरै गुणस्तर र मूल्यको चिया उत्पादन हुने सिजन (फस्र्ट फ्लस) हो। त्यसबाट प्रशोधित उच्च मूल्यको तयारी चिया बेच्ने सिजन यही हो। तर, यहीबेला भारतले गुणस्तर परीक्षणमा निकै झन्झटिलो नियम लागु गरेको उद्योगीले जनाएका छन्।

विश्वमा अब्बल नेपाली चिया

इलामको फाकफोकथुम गाउँपालिका–६ स्थित तीनजुरे चिया उद्योगले उत्पादन गरेको तयारी चियाले २०७९ सालमा विश्वविजेता (ग्रान्ड गोल्ड मेडल) अवार्ड पाएको थियो। चियाको गुणस्तरमा विश्वमै नामी र ‘ब्रान्ड’ बनिसकेका देशलाई समेत उछिन्दै तीनजुरेले नेपाली चियाको गुणस्तरको चर्चालाई विश्वभर फैलाइदिएको थियो।

टी मार्केटिङ एसोसिएसन अफ् चाइनाले चीनमै आयोजना गरेको प्रतियोगितामा तीनजुरेको पर्ल गोल्डेन टी पहिलो नम्बरमा आएको थियो। चिया उत्पादनमा मुख्य मानिने केन्या, श्रीलंका, चीन र भारतका गुणस्तरलाई उछिनेर तीनजुरेको चिया सर्वाेत्कृष्ट भएको थियो। त्यही प्रतियोगितामा तीनजुरेकै नर्मल गोल्डेनले पनि सिल्भर मेडल पाएको थियो। त्यसबेला नेपालका विभिन्न उद्योगका १० खाले चियाले विश्वको सर्वाेत्कृष्टसहित उत्कृष्ट स्थान पाए। एउटा नमुनाले ग्रान्ड गोल्ड मेडल, ५ वटाले गोल्ड मेडल र ४ नमुनाले सिल्भर मेडल पाएका थिए।

त्यसको अघि र पछि पनि नेपाली चियाले विश्वस्तरका प्रतियोगितामा गुणस्तरी चियाको अवार्ड पाइरहेकै छ। तर, पछिल्लो समय भारतले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा अवरोध गर्नु सामान्य अवस्थ नरहेको चिया क्षेत्रका जानकार बताउँछन्।

गुणस्तरीय चिया उत्पादन गर्नुपर्छ भन्नेमा सबै पक्ष सहमत देखिन्छन्। सूर्याेदय नगरपालिकाले नेपाली चियाको उच्च गुणस्तर कायम गर्नेगरी २०७५ सालमा चियाको न्यूनतम् समर्थन मूल्य तथा गुणस्तर कार्यान्वयन कार्यविधिसमेत जारी गरेको थियो।

‘यहाँको चिया तेस्रो मुलुकमा बिक्री हुने उच्च सम्भावना रहेकाले पनि हामीले परिमाणभन्दा गुणस्तरलाई ध्यान दिनेगरी कानुन बनाएका थियौं,’ सूर्याेदयका पूर्वमेयर रणबहादुर राईले भने, ‘अहिले चियामा गम्भीर संकट आइलागेको छ, यो नयाँ होइन, बारम्बार भइरहेको छ तर सरकारले यथाशीघ्र उद्योगी–किसान–श्रमिकको आवाज सुनोस्, समस्या समाधानको चाँडो पहल गरियोस्।’ उनले अहिले पनि किसान, उद्योगी सबैजना चियाको गुणस्तरका लागि सचेत रहेको जनाए।

प्रकाशित: ४ असार २०८३ ११:०६ बिहीबार





Source link

Leave a Comment