१३ चैत, काठमाडौं । विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख ताराप्रसाद सापकोटासहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चीनबाट आयात गरिएको सामान जाँचपासका क्रममा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी कानुन बमोजिम लिनुपर्ने राजस्व नलिएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले विराटनगरका तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासँगै भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टरनेशनलका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेन्ट शरणकुमार खरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
देव इन्टरनेशनलले ल्याएको सामानको जाँचपास गर्ने क्रममा न्यून बिजकीकरण गरी, गुणस्तर फरक पारी कानुन अनुसार लिनुपर्ने राजस्व नलिने र छोड्ने कोशिस गरेको अख्तियारले जनाएको छ । तर पछि भन्सार विभागबाट नियमित ताकेता र निगरानी भएपछि आसिकुडा सिस्टममा दर्ता भएको प्रज्ञापनपत्र डिलिट गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
भन्सार विभाग र अर्थ मनलयबाट लगातार फलोअप र छानबिन समिति गठन गरेपछि तत्कालीन भन्सार प्रमुख सापकोटासमेतले पुनः उक्त कम्पनीसँग थप राजस्व रकम लिएको पाइएको अख्तियारको दाबी छ ।
उनीहरुले बनाएको प्रज्ञापनपत्र अनुसार राजस्व निर्धारण भएको भए सरकारलाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सान पर्ने भन्दै अख्तियारले त्यति नै रकम बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।