विपना थापा: १४ वर्षमै अभिनय यात्रा, पहिलो पारिश्रमिक ५ हजार


‘नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका अभिनेत्री विपना थापाका बाबु आफ्नी राम्री छोरीलाई पनि मनिषा कोइराला जस्तै नायिका बनाउँछु’, भन्ने गर्थे। सायद राजनीतिक विरासत बोकेको परिवारमा जन्मिएकी अभिनेत्री मनिषाको छायाँ उनले आफ्नी छोरीमा पनि देखेको हुनुपर्छ।

भारतको बलिउड नगरीमा एउटी नेपाली छोरीको ओजपूर्ण चर्चाले उनमा त्यो सोच आएको हुनुपर्छ। तर विडम्बना थापाका बाबुले छोरीलाई नायिकाका रुपमा सिनेमाको पर्दामा कहिल्यै देख्न पाएनन्। विपना छ वर्षको हुँदा उनी दिवंगत भए। उनलाई बुबाको त्यतिधेरै सम्झना पनि छैन।

आफ्ना बाबुको सपना सुनेकी अभिनेत्री विपना सानै उमेरदेखि नाच्नमा पारगङ्त थिइन्। काठमाडौँ स्युचाटारमा जन्मिएकी विपनासँग स्कुले जीवनमा के हुने र के गर्ने कुनै लक्ष्य थिएन। चर्चित नृत्याङ्गना विमला श्रेष्ठ उनको छिमेकी थिइन्। नाच्न सिपालु विपना विमलालाई हेर्दै आफूलाई त्यस्तै बनाउने कल्पना गर्थिन् र आफैँलाई भन्थिन्, “कुनै दिन म यी विमला फुपूजस्तै नाच्ने हुन्छु।”

नभन्दै विपना नाच्नमा यति सिपालु थिइन् कि कक्षा ९ मा पढ्दै गर्दा नै स्कुलको वार्षिकोत्सवका लागि अरूलाई नृत्य सिकाउँथिइन्। आफ्ना बाबुको मनिषाजस्तै बनाउने सपना र अर्कोतर्फ विमला फूपु झैँ नृत्यङ्गना हुने चाहनाका बीच १३ वर्षको उमेरमा नै उनका लागि अभिनयको ढोका खुल्यो। त्यो मौका उनलाई निर्देशक रेशराज आचार्यले दिएका थिए।

उनी बाल कलाकारका रुपमा भएको अभिनय यात्रा यसरी सम्झना गर्छिन्। “उहाँ मेरो बाबाको साथी हो। उहाँले मलाई ‘आमा’ भन्ने टेलिशृङ्खलामा छोरीको भूमिकामा पहिलोपटक अभिनय गराउनुभएको थियो। मेरो अभिनय यात्रा सोही टेलिशृङ्खलाबाट बाल कलाकारका रुपमा भएको हो। त्यो टेलिशृङ्खलाको सुटिङ सकिँदासम्म म १४ वर्षको भइसकेकी थिएँ। त्यो टेलिशृङ्खला छायाङ्कन भए पनि कहिले पनि ‘रिलिज’ भने हुन पाएन।” टेलिशृङ्खला प्रसारणमा नआए पनि यसले उनको अभिनयको लामो यात्रा कोरिदिने काम भने गर्‍यो।

यो २०५१ सालतिरको कुरा हो। आचार्यले त्योसँगै विपनालाई शक्ति साबुनको विज्ञापनमा समेत अभिनय गराइन्। ‘आमा’ टेलिशृङ्खलाको सुटिङका दौरानमा कलाकार तथा निर्देशक मोहन निरौला सुटिङस्थल पुगेकी थिइन्। दुवै जनाको पुरानै मित्रताको चिनाजानी थियो। उनले सुटिङमा विपनालाई सिनेमा गर्ने प्रस्ताव राखिन्। त्यतिबेला मोहन एउटा सिनेमा निर्देशनको तयारी गरिरहेका थिए। भर्खर १४ वर्ष लागेकी विपनाले टेलिशृङ्खलालाई नै सिनेमा मानेकी थिइन् र अबोध शैलीमा मोहनको प्रस्तावमा ‘मैले त खेलिसकेँ’ भन्ने जवाफ दिइन्।

निरौलाले विपनालाई पुनः ‘ठूलो पर्दाको फिल्म खेल्ने हो’ भनेर सोध्नुभएपछि भने विपनाले ‘मेरो घरमा आएर सोध्नुस्’, भन्ने जवाफ दिइन्। त्यसपछि निर्माता छविराज ओझा, राजकुमार शर्मा, निरौलालगायतका विपनाको घरमै पुगे र परिवारसँग कुरा राखे। “एसएलसी दिएको पर्सिपल्टको कुरा हो यो”, उनले भनिन्। परिवारले विपना थापालाई सिनेमा गर्ने अनुमति दियो। यसरी ‘जन्मभूमि’ उनको डेब्यू सिनेमा हुनपुग्यो।

नायिका हुने पक्का भएको दिन उनले आफ्नो पिताजीले भनेको कुरा स्मरण गरिन् र यस्तो सोचिन्, ‘ओहो ! म त कत्रो ठूलो के-के भइछु लागेको थियो किनभने मैले अभिनेत्री भनेर चिनेको-सुनेको नाम मनिषा कोइराला थियो। उहाँ राजनीतिक परिवारमा जन्मिएकी र हुर्केकी मान्छे। अनि मेरो बुबाले पनि यसलाई त मनिषाजस्तो नायिका बनाउनुपर्छ भन्नुहुन्थ्यो सानैदेखि। नायिका हुने पक्का हुनेबित्तिकै मैले मनिषा म आफू नै हो कि भनेर अनुभव गरिरहेकी थिएँ। म पनि त्यस्तै बन्ने भएँ भन्ने लागेको थियो।”

विपनाले आफ्नो पहिलो सिनेमाका लागि पारिश्रमिक पाँच हजार रुपैयाँ र मुट्ठीभरि त्यतिबेलाको लोकप्रिय ह्वाइट र्‍याबिट चक्लेट पाइन्। पाँच हजार पैसाले धेरै खुसी हुनुभयो या एक मुट्ठी चकलेटले भन्ने प्रश्नमा उनी हाँसिन्। ‘ओहो ! पाँच हजार रुपैयाँ भयो। त्यो पनि आजभन्दा करिब २८-२९ वर्ष अगाडि, आजको पाँच लाख सरहको पैसा होला त्यो सायद।’

पाँच हजारमा पहिलो सिनेमा खेलेकी विपनालाई त्यस वर्ष सिनेमाको ओइरो नै लाग्यो। त्यो वर्ष डेब्यू सिनेमा ‘जन्मभूमि’ सहित सात वटा सिनेमामा काम गरिन्। पाँच हजार र एक मुठ्ठी ह्वाइट र्‍याबिट चक्लेटबाट सुरु भएको उनको पारिश्रमिक बाँकी छ सिनेमामा कुनैमा २० त कुनैमा २५ हजार रुपैयाँ पारिश्रमिक लिइन्। ठ्याक्कै सम्झना नभए पनि उनले सोही वर्ष ३५ हजारसम्म पैसा पाएको सम्झना छ।

सिनेमा उद्योगबाट बिदा नहुँदासम्म अधिकतम पाँच लाख रुपैयाँ बुझिन्। यो रकम लिँदा नेपाली रजतपट वृत्तमा ठूलै हल्लाखल्ला भएको विपना बताउँछिन्। ‘त्यो बेलामा राजेश हमाल-विपना थापाले त एउटै सिनेमाको पाँच लाख रुपैयाँ लिन्छन् भनेर ठूलै हल्लाखल्ला भएको याद छ। यो पैसा मैले ‘वरमाला’ र ‘बहादुर’ भन्ने दुई वटाका लागि मात्र लिएकी थिएँ”, थापाले सम्झिइन्। २०५१ सालमा सुरु भएको त्यो अभिनय यात्रा २०६५ सालसम्म करिब १५ वर्ष लगातार व्यस्ततामै बित्यो।

उनी आफूलाई अभिनेत्रीका हिसाबले डेब्यू सिनेमा ‘जन्मभूमि’ ले नै परिपक्व बनाएको बताउँछिन् । यसो हुनुको पछाडि उनीसँग सो सिनेमामा सँगै काम गरेका त्यतिबेलाका चर्चित र प्रतिभाशाली कलाकारलाई दिन्छिन्। त्यो सिनेमामा त्यतिबेलाका चर्चित अनुहारहरु सरोज खनाल, शिव श्रेष्ठ, मौसमी मल्ल, गीताञ्जलि तथा सुनिल थापालगायतका कलाकारको पल्टन नै थियो।

“चर्चित कलाकारहरुको भीडमा म १४ वर्षकी सानी केटी पहिलोपटक सिनेमा खेल्दै थिएँ। उहाँहरुबीच म पहिलोपटक ठूलो पर्दाको सिनेमा खेल्दै गरेकी केटीलाई अभिनय सिकाउने प्रतिस्पर्धाजस्तो हुन्थ्यो”, भनिन्, “सरोज दाइसँग सिन पर्दा बसुन्धरा भुसाल दिदी आएर सरोजले आफ्नो मात्र अनुहार देखाउला नि नानी भन्नुहुन्थ्यो, मौसमी दिदीले त्यस्तै भनेर गाइड गर्ने, सरोज दाइले त्यस्तै भन्ने। सब मेरो गुरुजस्तो हुनुभयो र सिकाउनुभयो।”

विपनाका अनुसार दिग्गज कलाकारहरुको मार्गदर्शन र सिकाइले सिनेमाको लाइट, क्यामरासँग कसरी साक्षात्कार गर्ने भनेर उनलाई दोस्रो सिनेमाको अनुभव आवश्यक परेन।

त्यो वर्ष लगातार सात सिनेमामा अभिनय गरेकी विपनाले डेब्यू वर्षमा नै सर्वोत्कृष्ट नवअभिनेत्री अवार्ड उचाल्न सफल भइन्। “यो वर्ष डेब्यू सिनेमा ‘जन्मभूमि’ सँगै, गोठालो, अपहरण, चुनौती गरी सात सिनेमा खेलेँ। त्यो वर्ष मैले सर्वोत्कृष्ट नवअभिनेत्री तथा व्यस्त अभिनेत्रीको अवार्ड जितेँ”, उनले सुनाइन्।

त्यो समयमा यो त्यो भूमिका कथा विषयवस्तु नभनी सिनेमाहरु गर्ने गरेको उनी बताउँछिन्। उनी प्रस्ताव आएका र समयले भ्याएसम्मका सिनेमा गरेको सम्झिन्छिन्। ‘हामी यो त्यो सिनेमा गर्दैनथ्याैं । प्रस्ताव आएका सबै सिनेमा गथ्र्यौं। समय मिलायो काम गर्‍यो, अब अहिलेजस्तो परिपक्व भएर पनि आइएको हुँदैनथ्यो। हामी निर्देशकले जे भन्यो त्यो गथ्यौँ। यो गर्छु, त्यो गर्दिन, यस्तो खाँदिन भन्ने पनि हुन्नथ्यो। एउटा पारिवारिक माहोलमा काम गथ्र्थौंं।”

पर्दामा उनको कुशल नृत्यकौशल र अभिनय क्षमताबाट नै दर्शकमाझ लोकप्रिय बन्न सफल भइन्। उनी आधुनिक युवती, बुहारीलगायतका सबै भूमिकामा फिट लाग्थिन्। सबैभन्दा बढी एउटा मेहनती कलाकारको परिचय उनले बनाएकी थिइन्।

करिब एक सय १४ वटा सिनेमामा अभिनय गरेको बताउने विपनाले धेरै सिनेमा उस्तै खालको भूमिका गरे पनि ‘तँ त साह्रै नै बिग्रिस नि बद्री !’ सिनेमामा निर्वाह गरेको चरित्रलाई कहिल्यै बिर्सन्नन्। सुरुमा उनलाई नायिकाको सकारात्मक भूमिकामा काम गराउने सहमति भए पनि परिस्थितिवश नकारात्मक भूमिका गर्नुपर्ने बाध्यता आइपर्‍यो। उनले त्यो भूमिकालाई खुबै टार्न खोजिन्। सो भूमिका नगराइयोस् भनेर सिनेमाका निर्माता-निर्देशकसँग समेत रोइन्।

त्यो समयमा सकारात्मक भूमिका गर्दै आएको अभिनेत्रीले नकारात्मक भूमिका गर्नु ‘करियर’ कै लागि ठीक नहुने सोचिन्थ्यो र कलाकारहरु पनि सोही कुरामा विश्वास मान्थे। विपनाले सो सिनेमा खेल्नुअघि नायिकाका रुपमा सकारात्मक भूमिकामा देखिँदै आइरहेकी थिइन्। यो सिनेमामा नकारात्मक भूमिका खेल्दा भोलिका दिनमा आफूलाई असर गर्नसक्ने उनको बुझाइ थियो। पछि बिहेमा कन्यादानसमेत दिएका निर्माता किरण केसीले सम्झाएपछि मात्र मनले नमानीनमानी अभिनय गरिन्।

सो सिनेमाको ‘ह्विस्की’ नामको पात्र आजसम्म पनि उनलाई मन पर्दैन। ‘अर्काको श्रीमानसँग लाग्ने र घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती पनि बनाउन खोज्ने मान्छे मलाई पहिलोदेखि नै मन नपर्ने। मेरो पात्र ठ्याक्कै त्यस्तै सिनेमामा। त्यो पात्र मलाई पटक्कै गर्न मन लागेको थिएन। तर हरिवंश आचार्य र किरण केसीले यो एउटा चरित्र हो, कलाकार भएपछि हरेक किसिमको भूमिका गर्नुपर्छ, यसले तिम्रो फिल्मी ‘करियर’ मा कुनै पनि नकारात्मक असर गर्दैन भनेर कर गरेपछि मैले गरेँ।’

सिनेमा ‘रिलिज’ भएपछि उनले जे सोचेर डर मानेकी थिइन्, ती कुनै पनि कुराले उनलाई असर गरेन। उनी त्यसपछि पनि सकारात्मक भूमिकाको रोजाइमा परी नै रहिन्।

विपना थापाको रुपमा आज पाइरहेको परिचयका लागि नेपाली सिनेमा उद्योगलाई आफूले सधैँ सम्झिराख्ने उनको भनाइ छ। नेपाली सिनेमामा नआएको भए आजकी विपना अर्को कुन संसारमा हुन्थेँ भन्ने जवाफ आफूसँग नभएको बताउँछिन्।

‘१४ वर्षबाट सुरु मेरो सिनेमा यात्राका सक्रिय वर्षहरु हरेकवर्ष पाँच/सातवटा सिनेमा खेल्दैमा बिते। अन्तिम सिनेमा गर्दासम्म म व्यस्त नै थिएँ। १४-१५ वर्षको त्यो उमेरमै सिनेमामा नभए कता हुन्थे भनेर कहिले सोच्ने फुर्सद नै भएन।’

आफ्ना जीवनका व्यस्त दैनिकीमा उनले लगातार ३६ घण्टासम्म लखतरान भएर ढल्ने गरीसम्म काम गरेको सम्झिन्छिन्। ‘मलाई याद छ। मैले नसुतीनसुती लगातार ३६ घण्टा सिनेमाको सुटिङ गरेको छु। अर्जुन भन्ने सिनेमामा धिरन शाक्यसँग बालाजुको बाइसधारा सिनेमामा त्यसरी काम गरेको थिएँ। त्यो बेला सुटिङ गर्दागर्दै बाइसधारा माथिबाट सिधै भुइँमा लडेँ। धिरेन दाइले नसमात्नुभएको भए आज विपना जीवित हुँदैन थिएँ होला। लगातार ३६ घण्टा काम गर्दा म निकै कमजोर भएको थिएँ।

त्यस्तो व्यस्तालाई चट्टै छोडेर घरजममा लागेकी विपना १७ वर्ष पछाडि ‘ह्रस्वदीर्घ’ सिनेमामार्फत पुनः नेपाली रङ्गीन दुनियाँमा फर्किंदै छिन्। यो आफ्ना पति र छोराका कारण सम्भव भएको उनी बताउँछिन्। अहिले सिनेमामा फर्किनुको कारण मेरो छोरा र श्रीमान् हो। बाबुछोराले नै काम गर्न मन लागेको छ भने गर्नु भनेपछि फर्किएकी हुँ।”

विपनाका श्रीमान्ले “यो जीवन भनेको तिम्रो आफ्नो रोजाइको जीवन हो भनेर हौस्याए भने छोराले पनि म आफूलाई हेर्नसक्छु तपाईं काम गर्नुस् भने। त्यसो त सासू पनि बुहारीको इच्छा मार्ने पक्षमा थिइनन् तर विवाहपछि छोराको जन्म र अन्य घरायसी परिस्थितिले विपना सिनेमामा फर्कन पाइनन्।

“मेरो सासूलाई मेरो सुटिङ हेर्ने असाध्यै रहर थियो। विवाह लगत्तै एक/डेढ वर्षमै म गर्भवती भएँ। सन्तानका कारण काम गर्ने कुरा भएन, त्यसपछि मेरो सासूलाई क्यान्सर भयो। घरको जेठी बुहारी भएपछि उहाँलाई हेर्नुपर्‍यो”, उनले भनिन्। “त्यसपछि ससुरा बिरामी पर्न थाल्नुभयो, फेरि उहाँको हेरविचार गर्नुपर्‍यो। यस्ता कुराले चाहेर पनि परिवारको समर्थन हुँदाहुँदै पनि मैले आफूलाई निरन्तरता दिन सकेकी थिइन। अहिले जिम्मेवारी कम छ, कामका लागि समय छ।”

यस बीचमा सामाजिक सञ्जालमा पोस्टहरु हाल्दा उनलाई सिनेमामा फर्किनुपर्ने सुझावहरु प्रशस्तै आए। यसले पनि सिने क्षेत्रमा फर्किन हौस्यायो। अहिले उनको हातमा तीन-चारवटा सिनेमा छन्।

वर्षौंपछि ‘सुटिङसेट’ मा पुग्दा उनी भावुक हुन पुगिन्। विछोडिएको बछेडीले आमा भेटेजस्तो। “वर्षौंदेखि मन परेको मान्छेलाई भेट्दा कति रुन मन लाग्छ, मलाई त्यस्तै भयो। त्यो सम्झिदा अहिले पनि मेरो आँखा भरिन्छन्। पुराना पत्रकार साथीहरुलाई भेट्दा पनि मलाई भावुक बनायो।’

यही कात्तिक ३० गते उनी अभिनित ‘हस्व दीर्घ’ रिलिज हुँदैछ।

प्रकाशित: २८ कार्तिक २०८१ २०:३४ बुधबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School