रक्षा बम जेनजी प्रतिनिधिहरूबिच नौलो नाम नभए पनि आम मानिसका निम्ति उनी गुमनाम जस्तै हुन्। उनी जेन – आन्दोलनमा के के नगर्ने भन्दै भिडलाई मार्गदर्शन गर्दै गरेको भिडियो सामग्रीसँग आम जानकारीमा आइन्। अझ उनले लोकतन्त्रका पक्षमा सशक्त आवाज उठाउँदै यसलाई अरू फराकिलो बनाउनुपर्ने धारणा राखेपछि सुझबुझको पनि चर्चा हुन थालेको छ। उनले राजावादीहरूलाई आन्दोलनको सरोकारवाला मानेर वार्ता गर्ने कुराको पनि विपक्षमा आफूलाई राखिन्। भदौ २३ र २४ को सेरोफेरोसँगै त्यसयता विकसित घटनाक्रमबारे उनले नागरिक फ्रन्टलाइनको बुधबारको अंकमा प्रधान सम्पादक गुणराज लुइँटेलसँग खुलेर आफ्ना धारणा राखेकी छन्। प्रस्तुत छ – जेनजी प्रतिनिधि बमसँगको संवादको सम्पादित अंश।
जेनजी युवाले आन्दोलनमार्फत राजनीतिक परिवर्तन ल्याएको दुई हप्ता भयो। विगत १५ दिन तपाईंका लागि व्यक्तिगत रूपमा र सामूहिक रूपमा जेनजीहरूका लागि कस्ता रह्यो?
यो दुई हप्ता दुई दशक बितेको जस्तो महसुस भएको छ। यो दुई हप्तामा धेरै कुराहरू सिक्यौं, धेरै कुराहरू बुझ्यौं। यो दुई दशकमा बुझ्नुपर्ने कुराहरू हामीले दुई हप्तामै बुझ्ने प्रयास गर्याैं। दुई हप्तामा धेरै नै उथलपुथलहरू भएका छन्। व्यक्तिगत, राजनीतिक र सामाजिक रूपमा पनि ‘रोलर कोस्टर राइड’ (पिङ खेल्या जस्तो, एकैचोटि तलबाट माथि गए जस्तो) भएको छ।
यो दुई सातामा के फरक महसुस गर्नुभयो? तपाईंहरूप्रतिको जनताको हेराइमा फरक पाउनुभयो कि? जिम्मेवारीबोध भएको पाउनुभयो वा जिम्मेवारीको भारी?
आन्दोलनभन्दा अगाडिका दिनहरू एकदमै सामान्य चलिरहेका थिए। हामी आआफ्नो काममा थियौं । केही मुद्दा आए भने सडकमा आन्दोलन गरिरहेका हुन्थ्यौं। चित्त नबुझेका कुरामा प्रश्न गरिरहेकै हुन्थ्यौं। तर आन्दोलनपछि धेरै कुरा परिवर्तन भए। मन भारी पनि भयो। हामी दोहोरो पीडामा पर्याैं। आन्दोलनका क्रममा साथीहरू गुमायौं। हाम्रो भौतिक संरचनादेखि हाम्रो निजी सम्पत्तिहरू गुमायौं। विभिन्न महत्त्वपूर्ण डकुमेन्टहरू गुमाएका छौं। दोहोरो मार र दोहोरो पीडामा परेका छौं। सडकमा बसेर प्रश्न गर्ने स्थानबाट निर्णय गर्ने अवस्थामा पुग्दा पक्कै पनि धेरै ठुलो फरक हामीले भेटेका छौं।
नागरिक सरकार बनाउने मागसँगै त्यो ठाउँमा पनि पुगियो। त्यस क्रममा जुन अभ्यासहरू भए, त्यसको अनुभव कस्तो रह्यो?
त्यो धेरै फरक रहेछ। प्रणालीभित्रै बसेर हामीले काम गरे एकदमै सहज हुँदो रहेछ। बाहिरबाट हेर्दा प्रणालीमा बसेर काम गर्दा केही पनि नभएजस्तो देखिने रहेछ तर इमानदारीपूर्वक प्रणालीमै बसेर काम गरे सहज हुँदो रहेछ। किनभने प्रणालीले लगाम पनि लगाउँदो रहेछ र बाटो पनि खुला गरिदिँदो रहेछ।
आन्दोलन अगाडि तपाईंको योजना र सोच के थियो? अहिलेको परिस्थितिबारे परिकल्पना गर्नुभएको थियो? अथवा यो आन्दोलन यति छिटै सफल हुन्छ भन्ने ठान्नुभएको थियो?
यीमध्ये केही पनि ठानेका थिएनौं। आन्दोलनअगाडि यति ठुलो परिवर्तनको हिस्सेदार हुन्छौं भन्ने सोचेका पनि थिएनौं। हाम्रा त सामान्य दुई माग थिए – सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्ने र भ्रष्टाचार मुक्त राष्ट्र बनाउने। यी माग लिएर हामी सडकमा उत्रेका थियौं। माग सम्बोधन गर्नुको साटो हामीलाई राज्यले आतंककारीका जस्तो व्यवहार गर्यो।
एकै दिनमा हाम्रा १८/१९ साथीलाई मारियो। टाउको र छातीमा गोली चलाइयो। मकै भुटे जसरी मान्छेलाई गोली हानियो। त्यो हामीलाई असह्य भयो। दोस्रो दिनको आन्दोलनमा अघिल्लो दिनको आक्रोश मिसिएको थियो। हामी सबै आक्रोषित थियौं। हाम्रो प्रश्न थियो– शान्तिपूर्ण आन्दोलन गर्छु भनेर आएका हामी विद्यार्थीहरूलाई गोली हान्नुपर्ने स्थिति कसरी सिर्जना भयो? किन गोली हानियो?
यति ठुलो सहादत र क्षतिका बाबजुद अहिले आन्दोलन सफल भयो। सफलतामा पुग्यौं र संसारलाई प्रेरणा पनि भयौं भन्ने लाग्छ कि लाग्दैन?
पूर्ण सफलभन्दा पनि पहिलो चरणको सफलता भन्छु। अब दोस्रो, तेस्रो चरणहरू पनि होलान्। त्यतिबेलाका संसद्हरू वा तत्कालीन सरकारले हामीमाथि गरेको दमन हामीलाई चित्त बुझेन। त्यसकारण हामी चुप लागेर बसेनौं। र सडकबाट नागरिक सरकार चुन्ने जनताको म्यान्डेट थियो । त्यही अनुसार हामीले सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्न अनुरोध गर्यौं। अहिले उहाँ हाम्रो प्रधानमन्त्री हुनुहुन्छ। यसलाई पहिलो चरणको सफलता भन्छु। तर, बाकी चरणहरू त अझै बाँकी नै छन्।
सरकारी तथा निजी सम्पत्तिमा ठुलो क्षति भएको छ। आगजनी र तोडफोड गर्ने तपाईंको योजना थियो वा कसले गरेको ठन्नुहुन्छ?
शान्तिपूर्ण आन्दोलन गर्नेमा हामी स्पष्ट नै थियौं। आगजनी र तोडफोड नगर्ने भन्ने नै भन्ने मानसिकता थियो। तर त्यो दिन स्थिति बिग्रियो र हामीले एकै दिन धेरै जनाको ज्यान गुमायौं।
कसले बिगार्यो भन्ने लाग्छ? सरकारबाटै घुसपेट भयो वा जेनजीको आन्दोलनलाई उपयोग गर्दै दुरुपयोग गर्नुपर्छ भन्नेहरूबाट भयो?
यसलाई यकिनसाथ भन्न सकिँदैन। यसका लागि अहिले जाचबुझ आयोग पनि गठन भएको छ। म के यकिनसाथ भन्न सक्छु भने जेनजीको भावना हाम्रै संरचनाहरू जलाउनु, भत्काउनु थिएन। भविष्यका दिनमा हामीलाई समेत काम लाग्ने कुराहरू हामी किन भत्काउछौं?
अर्को कुरा, अर्थमन्त्री, प्रधानमन्त्री को हो? भन्दा जवाफ दिन नसक्ने पुस्ता हो हाम्रो। यो आरोप हाम्रो पुस्तालाई लाग्दै आएको छ। जेनजीले व्यक्तिगत सम्पत्ति जलायो भन्ने आरोप लगाइएको छ। ती नेताका नाम समेत पत्ता लगाउन नसक्ने हाम्रो पुस्ताले नेताहरूको घर कसरी पत्ता लाउन सक्छन्? गल्ली गल्ली कसरी पत्ता लगाउन सक्छन्?
तपाईंहरूले प्रयोग गर्ने डिस्कोर्ड वा अन्य सामाजिक सञ्जालबाट केही मान्छेले निर्देशन दिएको भन्ने कुरा पनि छ?
डिस्कर्डमा त्यस्तो थिएन। डिस्कर्ड भन्ने एपमा विशुद्ध जेनजीहरूको संलग्नता छ। त्यहाँको ग्रुपमा यस्ता किसिमका कुराहरू भएका थिएनन्। अन्य ग्रुपहरूमा हो भने मलाई थाहा छैन। छानबिन गरेर कानुनी कारबाहीको माग गर्छौं। त्यसको कानुनी उपचार हुनै पर्छ। यसका साथै भदौ २३ गते भएको घटनाको पनि उचित छानबिन हुनुपर्छ। त्यो हाम्रो माग हो।
– नेताको नाम समेत पत्ता लगाउन नसक्ने हाम्रो पुस्ताले नेताका घर कसरी पत्ता लगाउन सक्छन्? गल्ली गल्ली कसरी पत्ता लगाउन सक्छन्?
– त्यतिबेलाका संसद्हरू वा तत्कालीन सरकारले हामीमाथि गरेको दमन हामीलाई चित्त बुझेन। त्यसकारण हामी चुप लागेर बसेनौं।
– सडकबाट नागरिक सरकार चुन्ने जनताको म्यान्डेट थियो। त्यहीअनुसार हामीले सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्न अनुरोध गर्यौं।
– आफ्नै साथी पूरा रगतमा लतपत भई भुइँमा ढलेको देखेपछि त्यो मास चुप बस्छ?
– एकजनालाई गोली लाग्यो, अब हामी पनि खान्छौं भन्ने मनसायले सबैजना अगाडि बढे।
– शान्तिपूर्ण आन्दोलन गर्नेमा हामी स्पष्ट नै थियौं। आगजनी र तोडफोड नगर्ने भन्ने नै हाम्रो मानसिकता थियो। तर त्यो दिन स्थिति बिग्रियो र हामीले एकै दिन धेरै जनाको ज्यान गुमायौं।
– आन्दोलन जेनजीको मात्र हो भन्दै गर्दा देश जेनजीको मात्र हो भन्न मिल्दैन।
– केपी ओलीको राजीनामाले मात्र पुग्ने अवस्था थिएन। किनभने हामीले धेरै साथी गुमाइसकेका थियौं।
– संसद् भवनमै गोली चलिरहेको थियो। त्यो दिन त्यो गोलीको लक्ष्य हाम्रो टाउको पनि हुन सक्थ्यो।
– हामीले तिरेको करको पैसा कहाँ छ? भन्ने प्रश्न महसुस गरेको हो । यही प्रश्नका कारण हामी सडकमा आउनुपरेको हो।
अघिल्लो पुस्ताले जेनजी पुस्तालाई राजनीति नबुझेको आरोप लगाउँदै आएको थियो। के कुराले तपाईंको पुस्तालाई राजनीति सिकाइराखेको थियो? के कुराले त्यसमा प्रेरित गरिरहेको थियो?
हामीभन्दा अगाडिको पुस्ताले भोगेको समस्यामा मौन रहिदिनुभयो। त्यसकारणले हामी सडकमा आउनुपरेको हो। अर्को कुरा, हाम्रो पुस्ताले आफ्नो प्रश्न महसुस गर्यौं। प्रश्न भनेको हामीले तिरेको करको पैसा कहाँ छ? सामान्य प्रश्न हो। हामीले तिरेको करको पैसा कहाँ छ? भन्ने प्रश्न महसुस गरेको हो। यही प्रश्नका कारण हामी सडकमा आउनुपरेको हो।
यो प्रश्न सोच्ने प्रेरणा कहाँबाट पाउनुभयो? त्यो तहको सक्षमता लोकतन्त्रले दियो कि? स्वतन्त्रता, खुला समाजले दियो कि वा अरू के कुराले आर्जन गर्नुभयो?
व्यक्तिगत रूपमा मेरा आफ्नै सिकाइ प्रक्रिया थिए। म सुदूरपश्चिमबाट आएकी हुँ। मैले टीकापुरमा २०७२ को थरुहट आन्दोलन देखेकी थिएँ। यस्ता घटनाले मेरो राजनीतिक सचेतना बढाएको थियो। हाम्रो सामूहिक चेतनाको कुरा गर्दा सोसल मिडिया हो। सामाजिक चेतना हाम्रो पुस्ताको डिजिटल स्पेस हो। हामीले त्यहाँबाट सिकिरहेका थियौं।
हामीले नेताहरू र तिनका परिवारका सदस्यको गतिविधि पनि हेरिरहेका थियौं। नेपो बेबीवाला ट्रेन्ड पनि सामाजिक सञ्जालमै चलेको हो। नेता र उनका छोराछोरीको जीवनशैली, सुविधा र जनताका जीवनशैली र उनीहरूका छोराछोरीले पाएको असुविधा फरक थिए। त्यसमा असमानताको ठुलो खाडल भेट्यौं। एउटै देशका नागरिकहरूमा यत्रो असामान्यता कसरी हुन सक्छ? भन्ने प्रश्न पनि आयो। त्यही सोसल मिडियाबाटै मान्छेमा चेतना जाग्यो जस्तो लाग्छ।
अन्यत्र चलेका जेनजी मुमेन्टहरूले पनि तपाईंहरूलाई केही प्रेरित गर्यो?
हो, त्यतिबेलासम्म इन्डोनेसियामा चलेको थियो। फिलिपिन्समा छ, पेरुमा सुरु भइसक्यो। अहिले इन्डियामा पनि ठाउँ ठाउँमा हुन थालेको छ। विश्वको जनसंख्या नै युवामय छ नि।
भदौ २३ गतेको आन्दोलन सफल भयो, घर फर्कौं भनिसकेपछि यो घटना भएको भन्ने पनि सुनिनमा आएको छ। खास कुरा के हो? यसको पनि समीक्षा गर्नुभएको होला नि?
हामीले कार्यक्रम सक्न पाएनौं। बिचमै हामीमाथि दमन भएको थियो। हामी अगाडि नै थियौं। म एउटा भ्यान जस्तो गाडीमा बसेर हेरिरहेकी थिएँ। साथीहरू मानव साग्लो बनाएर भिड नियन्त्रणमा हुनुहुन्थ्यो। हाम्रो योजना एभरेस्ट होटलसम्म पुग्ने र फर्किने बेला आफूले फोहोर गरेका सामानहरू उठाउने थियो। अनि माइतीघरबाट छुट्टिने योजना थियो। त्यसपछि के गर्ने हामीले सोचिसकेका थिएनौं। माग पूरा नभए फेरि पनि शान्तिपूर्ण प्रदर्शन गर्छौं भन्ने एक किसिमको आन्तरिक छलफल भएको थियो। तर कहिले गर्ने भन्ने कुरा निश्चित भइसकेको थिएन।
त्यो दिन पनि हामी एभरेस्ट होटलसम्म पुग्यौं। यहाँ हाम्रो भिडलाई सम्हाल्न सक्नेजति प्रहरी त्यहाँ थिएनन्। सरकारले पनि हाम्रो मागलाई कम आँक्यो। हामीले टिकटक हेर्ने बेलामा हरेक दशवटा भिडिओमा नौवटा हाम्रो आन्दोलनको आइरहेको हुन्थ्यो। हाम्रो आन्दोलनमाथिको समर्थनबारे यसबाट पनि आँकलन गर्न सकिन्छ।
भिड आउँछ भन्ने आँकलन थियो। प्रहरीबाट त्योे तहको सुरक्षा र तयारी नपुगेको जस्तो देखिरहेका थियौं। त्यतिबेलासम्म लगभग १२ देखि १५ हजार जस्तो मास जम्मा भइसकेका थियौं। त्यत्रो भिड रोक्न एभरेस्टनजिकै प्रहरीले सिंगल लेयर ब्यारिकेड मात्रै राखेको थियो। त्यो पनि मासनजिक पुगेपछि मात्रै लगाएको थियो। अगाडि केही पनि थिएन त्यहाँ।
सामान्यतया आन्दोलनको अनुमति लिने निश्चित नेताहरूले मासलाई नियन्त्रण गर्छन् तर यहाँ भिडलाई आफ्नो नियन्त्रण र नेतृत्वमा लिएर जान नसकेको देखियो?
१२/१५ हजारभन्दा पनि पाँच हजारसम्मको मास आउने हाम्रो आँकलन थियो। त्यो आँकलनमा हाम्रो कमजोरी भयो। अर्को कुरा हामी स्वतःस्फूर्त रूपमा आएका हौं। कोही पनि नेता होइनौं भनेर आएका हौं। प्रदर्शनमा गएका थियौं। आआफ्नो प्रश्न सोध्न गएका थियौं। त्योबाहेक केही गर्दैनौं भन्ने थियो। त्यहाँ नेतृत्व गर्ने व्यक्ति कोही थिएनन्। हामी एभरेस्ट होटलसम्म मानव साङ्लो बनाएर हाम्रा साथीहरूले भिडलाई सम्झाइरहेको थियो। अनि हामी पनि तल ओर्लियौं।
त्यसबेला प्रहरीका तर्फबाट हामीलाई झन् उक्साएको जस्तो पनि लाग्यो। किनभने त्यहाँ प्रहरीले ब्यारिकेड खोलेका कारण आधा भिड अगाडि जान दिएर, आधा भिडलाई रोकेर अश्रुग्यास प्रहार गरेको थियो। त्यसको पाँच मिनेटमै गोली चलाएको थियो। संसद् भवनतर्फ नजाँदै एभरेस्ट होटल पुगेको लगभग १० मिनेटभित्र प्रहरीले फायर गर्न थाल्यो। लम्किँदै थियौं। प्रहरीसँग त आफ्नो सुरक्षाका लागि अश्रु ग्यास, वाटर क्यानन पनि थियो। त्यसका बाबजुद सिधै गोली हान्नुभयो। गोली हान्न थालेपछि हाम्रो साथीहरू ढल्न थालेको देख्यौं।आफ्नै साथी पूरा रगतमा लतपत भई भुइँमा ढलेको देखेपछि त्यो मास चुप बस्छ त? बस्दैन नि। कसले मारेको हो, उसलाई खोज्न जाने हो। हामीलाई कम आँकेर एकजनालाई गोलीले घाइते बनाए भाग्छन् भन्ने सोच होला उहाँहरूको तर त्यस्तो भएन। एकजनालाई गोली लाग्यो, अब हामी पनि खान्छौं भन्ने मनसायले सबजना अगाडि बढे।
त्यो दिनको घटनाले सबै नेपालीको दिल दुख्यो। भोलिपल्ट जुन हिसाबमा तोडफोड र आगजनी हुन थाल्यो, त्यतिबेला तपाईंहरूको ग्रुपका बिचमा कुराकानी भयो?
भयो। हामीले सोसल मिडियाबाटै सबै जनासँग सम्पर्कमा थियौं। त्यहींबाट आगजनी र तोडफोड नगर्न आह्वान गरेका थियौं। हाम्रो आह्वानपछि हाम्रा साथीहरू रोकियौं। फिल्डमै गएर पनि रोक्ने कोसिस गर्यौं। हामी सिंहदरबारसम्म पुगेका थियौं। संसद् भवनमै गोली चलिरहेको थियो। त्यो दिन त्यो गोलीको लक्ष्य हाम्रो टाउको पनि हुन सक्थ्यो।
त्यो दिन आक्रोशमै थियौं। हामी बानेश्वरमा नारा लगाउँदै सांकेतिक रूपमा यो संसद् चाहिँदैन भनिरहेका थियौं। केपी ओलीको राजीनामाले मात्र पुग्ने अवस्था थिएन। किनभने हामीले धेरै साथी गुमाइसकेका थियौं। हामीलाई अब उनीहरूको अनुहारै हेर्नु नपरोेस् भन्ने भइसकेको थियो।
सांकेतिक रूपमा संसद् भवन घेराउ गर्नु भनेर त्यहाँभित्रका प्रतिनिधिले हाम्रो आवाज बोलेनन्। यी अब चाहिँदैन। सडकबाटै सरकार बन्छ भन्ने कुराले त्यहाँसम्म सहयोग गरेको थियो। त्यसपछि संसद् भवनभित्र तोडफोड जसरी भयो, त्यो जेनजी स्पिरिट थिएन। हाम्रो आधा मास त्यहाँबाट फर्कियाे। त्यहाँबाट सिंहदरबारतिर जाँदै थियो। सिंहदरबारभित्र महत्त्वपूर्ण कागजपत्रहरू छन्, त्यो रोक्न सके हुन्थ्यो भन्ने थियो। किनभने त्यहाँ निकै ठुलो भिड थियो।
त्यहाँ धेरै हरेक पुस्ताका मान्छे थिए। हामीले कसलाई चिन्ने कलाई नचिन्ने? २४ गते जेनजीको मात्र आन्दोलन भइदिएन। सिंहदरबारमा पुगिसकेपछि नगरौं भनेर धेरैलाई भन्यौं। केपी ओलीको राजीनामा पनि आइसक्या थियो। हामीले धेरैलाई भन्यौं। माहोल एकदम बिग्रिँदै गएपछि हामी त्यहाँबाट निस्क्यौं। अरू साथीहरूलाई पनि स्थिति नियन्त्रणबाहिर भइसक्यो, निस्कौं भनेका थियौं। त्यसपछि सेनाले नियन्त्रणमा लियो। १० बजे कफ्र्यु लाग्यो।
तपाईंहरू सेनाको सम्पर्कमा कहिलेबाट जानुभयो? र कसरी जानुभयो?
त्यही दिन गयौं। हामीलाई संवादका लागि बोलाइएको थियो। हामीमध्ये एकजना साथीलाई फोन आएको थियो। विभिन्न जेनजी ग्रुपका साथीहरूलाई खोज्यौं। दश जनाको टोली बनाएर हामी सैनिक मुख्यालय गएका थियौं। त्यहाँ प्रधान सेनापतिलाई भेट्यौं।
त्यहाँ राजावादी समूह वा दुर्गा प्रसार्इंलाई पनि भेट्नुभयो?
भेटेको छैन। पहिलो दिन उहाँ देखिनुभएन । चिफसापले हाम्रो कुरा बुझ्न बोलाउनुभएको थियो। हामीले यसलाई वार्ताको नाम नदिऊँ किनभने हामी अझै पनि लोकतन्त्र र संविधानले मानेर अगाडि बढिरहेका छौं। हामी वार्ता राष्ट्रपतिसँग नै गर्छौ भनेका थियौं।
हामीलाई तीन दिनको समय दिनुस् किनभने हामी विभिन्न जिल्लाका छौं, विभिन्न जिल्लामा आन्दोलनहरू भएका थिए, सबैको मागलाई एउटै पेपरमा ल्याएर तपाईंलाई बुझाउँछौं भनेर उहाँसँग एकदम राम्रो कुरा भयो। राष्ट्रपतिसँग भेटाउन सहजीकरण पनि गरिदिन्छु भन्नुभयो। २५ गते दिउँसो एक बजेसम्म हामीले उहाँसँग कुरा गर्यौं।
बिचमा राजा फर्काउने कुराहरू पनि आयो। त्यसबिचमा तपाईंहरूसँग पनि कसैले राजा ल्याऊँ भनेर भने कि?
उच्च अधिकारीले भन्नुभएको होइन। जनताको तहबाट यस्ता कुराहरू आउँछन्। हामीलाई राजा चाहिएको छैन। हामी लोकतान्त्रिक देशमा बसिरहेका छौं। लोकतन्त्रमा सास फेरिरहेका छौं। राजतन्त्रमा सास फेर्ने हामीलाई कुनै पनि इच्छा छैन। हाम्रो त्यो किसिमको माग पनि होइन। हामी यही संविधान र लोकतन्त्रलाई जोगाएरै यहाँसम्म पुगेका हौं।
मैले दुई दिन चिफसाफसँग भेटेको थिएँ। दोस्रो दिन उहाँले एकदम सहजतासाथ ‘दुर्गा प्रसाई र रास्वपाको समूहलाई डाकेको छु, उहाँहरू पनि सरोकारवाला (स्टेकहोल्डर) हो, उहाँहरूसँग संवाद त गर्नुस्, तपाईंहरू संवाद नै नगरेर अगाडि कसरी बढ्नुहुन्छ? कसरी समाधान आउँछ?’ भन्नुभएको थियो।
हामीले हुँदै हुन्न भन्यौं। उहाँसँग संवाद नै गर्दैनौं भन्यौं। हामी उहाँहरूसँग सँगै टेबलमा बस्दैनौं भनेका हौं। राजतन्त्रवादी कुनै पनि कुरालाई समर्थन गर्दैनौं भन्यौं।
सेनासँग कुरा हुँदाहुँदै जेनजीहरूकै बिचमा कुटाकुट के कारणले भयो?
हामी दुई जना साथी वार्ता छोडेर निस्क्यौं। किनभने हामी उहाँसँग बस्दैनौं भनेका थियौं। अरूले त्यहीं बसेर छलफल गर्नुभयो। हामी निस्किसकेपछि त्यहाँ जेनजीहरूबिच कुटाकुट भएको समाचार हामीले पनि देख्यौं। भित्र कुटाकुट भएको होइन। बाहिर गेटमा विभिन्न समूहका जेनजीहरू थिए भन्ने सुनेँ। कसैले एमाले भन्थे, कसैले कांग्रेस भन्थे, आएर भाँड्न खोज्ने भन्थे।
कति जति समूहसम्म तलिकाबद्ध गर्नुभएको छ?
जेनजी भनेको कुनै संघसंस्था वा राजनीतिक पार्टी होइन। यो पुस्ताको नाम हो। यो पुस्ताभित्र अटाएका नामहरू सबै जेनजी हुन्। त्यसमा सबैले समर्थन गरे।
यो सरकार गठनमा राष्ट्रपतिको भूमिका कस्तो रह्यो? प्रधानमन्त्रीमा सुशीला कार्कीको नाम कसरी आयो?
वार्ता छोडेर आइसकेपछि हामीलाई स्थिति बिग्रिँदै गइरहेको भान भयो। सरोकार नै नभएको मान्छे सैनिक मुख्यालयमा किन उपस्थित छ? भन्ने लाग्यो। उहाँकै मुद्दाअनुसारको राजतन्त्र पो फर्किने हो कि? वा सेनाले ‘कु’ पो गर्ने हो कि? भन्ने पिर पर्यो। त्यो अवस्थामा आन्दोलन जेनजीको मात्र हो भन्दै गर्दा देश जेनजीको मात्र हो भन्न पनि मिलेन।
देश नै दुर्घटनामा जाने जस्तो भइसक्यो। यो जिम्मेवारी अब हामीले पनि लिनुपर्ने बेला भयो भन्ने भयो। त्यसपछि हामीले वैकल्पिक पाटो खोज्नैपर्ने थियो। देशलाई दुर्घटना, संकटकालतर्फ जान दिनु हुँदैन भनेर विभिन्न नागरिक समाजका व्यक्ति, स्वतन्त्र शक्तिहरू, समाजमा प्रभाव पारेका व्यक्तिहरूसँग कुरा गर्यौं। सोध्यौं, के गर्दा उपयुक्त हुन्छ? अन्तरिम सरकार गठन भएपछि कसलाई बनाउने त प्रधानमन्त्रीभन्दा प्रायः ले सुशीला कार्कीको नाम दिनुभयो।
हामीले पनि उहाँलाई पहिलेदेखि हेरिरहेका थियौं। उहाँ भ्रष्टाचारका मुद्दादेखि देशमा सुशासनका कुराहरूमा पैरवी गर्ने व्यक्ति हुनुहुन्छ। यसकारण सुशीला कार्कीले हाम्रो जनादेश बुझ्नुहुन्छ जस्तो लाग्यो। अनि डिस्कर्डमा यो कुराहरू चल्न थाल्यो। सामाजिक सञ्जालमा भोटिङ पनि गर्यौं। सोसल मिडियाबाहिर पनि हामीले सबैको विचार सुनेर निर्णयमा पग्यौं।
अधिवक्ता ओम प्रकाश सर (अर्याल)ले पनि पहिलेदेखि हामीलाई धेरै सहयोग गरिरहनुभएका कारण २४ गतेको दिन हामीले नै आर्मी हेडक्वार्टर लिएर गएका थियौं। उहाँले सडकमै पनि विभिन्न मुद्दामा सहजीकरण गरिदिनुभएको थियो, सरकार पक्षसँग र पीडित पक्षसँग पनि। त्यहाँबाट उहाँसँग राम्रो चिनजान भएको थियो। उहाँलाई अनुरोध गर्यौं र आर्मी हेडक्वार्टर सँगै लिएर गयौं। कानुनी रूपमा पनि उहाँले एकदम ठुलो भूमिका खेलिदिनुभएको थियो। सुशीला म्यामलाई सहमत गराउनेदेखि यसका कानुनी कुराहरूमा हामीलाई आन्तरिक रूपमा हामीलाई सहजीकरण गर्नुभएको थियो।
यो सरकारमार्फत तपाईंहरूका माग कसरी कार्यान्वयन हुँदैछ? कति सकारात्मक हिसाबमा गइरहेको छ?
हाम्रो आन्दोलनको जनादेशले नै अहिलेको सरकार गठन भएको छ। सडकबाट नागरिक सरकार बनेको छ। त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा भयो। भ्रष्टाचारमुक्त देश भन्ने हाम्रो मागमा अहिले काम पनि सुरु भइसकेको छ। तत्कालीन केपी ओली सरकार हुँदाखेरि भएका विभिन्न राजनीतिक नियुक्तिहरू बदर भएका छन्। हाम्रो अर्को महत्त्वपूर्ण माग आन्दोलनका दिन र दोस्रो दिन भएको घटनाको जाँचबुझ आयोग बनेको छ। हाम्रै मागअनुसार धेरै नियुक्ति र सरुवा पनि भएका छन्।
आन्दोलनका उपलब्धि के हुन्?
एउटा वैकल्पिक बाटो पाएका छौं। युवाहरूले आफ्नो प्रश्न चिनेका छन्। चुनाव आउँदैछ। चुनावमा युवा अगाडि आउनुपर्यो। पार्टीमै लागेका साथीहरू पनि आफ्नै पार्टीभित्रको नेतृत्वलाई प्रश्न गर्नुपर्यो? सुध्रेर/सुधारेर आउनुपर्यो। हामी सबैका लागि एउटा वैकल्पिक बाटो छ । हामी सबै जनाले स्वामित्व लिनुपर्यो भन्ने लाग्छ।
जेनजी आन्दोलनको पछाडि को छ? कसैले कुनै देशतर्फ इंगित गरिराखेका छन्। कसैले कुनै संस्थातर्फ इंगित गरिराखेका छन्। को छ त पछाडि?
खै मेरो पछाडि त कोही छैन। हाम्रो पछाडि पनि कोही छैन जस्तो लाग्छ। मेरा आँखाले देख्न नसकेका कुराहरू पनि होलान्। म त्यति सबै कुरा जान्दछु पनि भन्दिनँ। तर हामी स्वतःस्फूर्त रूपमा एकदमै निःस्वार्थ ढंगले भ्रष्टाचार भयो, अब यसको अन्त्य गर्नुपर्छ भन्ने मुद्दा लिएर सडकमा आएका थियौं। बिचमा धेरै षड्यन्त्रका सिद्धान्त आइरहने रहेछन्। यसले हामीलाई केही फरक पर्दैन। जसरी निःस्वार्थ ढंगले हामी आएका थियौं, त्यो मुद्दामा हामी अडिग रहन्छौं।
सुदन गुरुङजीका बारेमा पनि विभिन्न कुरा आइरहेका छन्। उहाँ पनि तपाईंहरूकै समूहको हो कि सहयोगी हो?
उहाँ आन्दोलनको दिन स्वयंसेवक भएर आउनुभएको थियो। ‘हामी नेपाल’ भन्ने उहाँको संस्था रहेछ। स्वयंसेवीका रूपमा पानी वितरण गरिरहनुभएको थियो। त्यसपछि उहाँ हामीसँग दोस्रो दिन आर्मी हेडक्वार्टरमा हुनुहुन्थ्यो। हामीले आर्मी हेडक्वार्टर छोडेर आइसकेपछि पनि उहाँहरू त्यहीं नै हुनुहुन्थ्यो। त्यसपछि जेजे घटना भए, उहाँहरू सँगसँगै हुनुहुन्छ। उहाँसँग धेरै कुरामा वैचारिक मतभेदहरू छन्। तर आन्दोलनको न्यूनतम सर्त एउटै हो। केही हदसम्म हाम्रा माग, हाम्रा मुद्दा पनि सरकारसमक्ष हामीले राखिसकेका छौं। केही हदसम्म पूरा भइसकेका पनि छन्।
यो उपलब्धि हातबाट नउम्कियोस् भन्नका लागि के गरिराख्नुभएको छ?
एउटा त सडक नै हो। सडकको ठुलो खाडल पूरा गर्ने जिम्मेवारी हो। त्यहाबाट निरन्तर खबरदारी गर्ने नै हो। अर्को सरकारलाई सहयोग गर्ने हो। प्रस्ताव आए सरकारमा जान तयार छौं।
प्रकाशित: ११ आश्विन २०८२ ०७:२५ शनिबार
