कल्पनाको लागि सबै शक्ति भन्ने मूल नाराले १९६० को दशकको उत्तरार्धमा फ्रान्सका कारखाना र सडकका भित्ताहरू ढाकिएका थिए। यी नाराहरू मुख्यतया वामपन्थी विद्यार्थीहरूले उठाएका थिए, पछि लगभग देशको जनसंख्याको १/५ औं भागले पूँजीवाद, उपभोक्तावाद र परम्परागत संस्थाहरूको विरुद्धमा आवाज बुलन्द गरेका थिए। सन् १९६८ तिर पोल्यान्ड, जर्मनी, स्पेनहुँदै विश्वभरिका विद्यार्थी साम्राज्यवाद र अधिनायकवादको विरोधमा उत्रिएका थिए।
हाम्रो देशको इतिहास पल्टाएर हेर्ने हो भने त झन् सन् १९३८ को दशकतिरै जहानियाँ राणाशासनको विरूद्धमा शासकहरूको नाकैमुनि रहेको त्रिचन्द्र कलेजमा खुलेआम राणा शासनका विरुद्ध भाषण गरी चुनौती दिएका थिए, त्यसै क्याम्पसका विद्यार्थी गंगालाल श्रेष्ठले। गंगालाल श्रेष्ठको त्यो साहसिक कदमले नेपाली विद्यार्थी आन्दोलनले औपचारिक स्वरूप ग्रहण गरेको थियो।
राणाशासनका विरुद्ध सङ्गठित हुँदै २००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीले विभिन्न शैक्षिक मागहरू सहित ‘जयतु संस्कृतम्’ आन्दोलनको उद्घोष गरेका थिए। यो आन्दोलन पहिलो ऐतिहासिक महत्त्वपूर्ण सङ्गठित विद्यार्थी आन्दोलन हो। विभिन्न आन्दोलन पश्चात् २००७ मा राणाशासन फालेर प्रजातन्त्र स्थापना गर्न सफल भएका थिए भने २०१५ सालमा लोकतान्त्रिक पद्धतिबाट निर्वाचित सरकार बनाउन सफल भएका थिए।
जब राजा महेन्द्रले २०१७ सालमा सम्पूर्ण दलहरूलाई प्रतिबन्ध लगाएर पञ्चायत व्यवस्था लादे, त्यसविरुद्ध भित्र-भित्रै वामपन्थी विद्यार्थीहरू एकजुट भएर संयुक्त मोर्चा तयार पारे र विभिन्न आरोह–अवरोह पार गर्दै १ जेठ २०२२ मा अनेरास्ववियुको स्थापना भयो।
स्थापनाकालदेखि नै अनेरास्ववियु नेतृत्व तथा व्यक्तित्व विकास, क्षमता अभिवृद्धिका साथै जनवादी शिक्षा लागू गर्न सरकारलाई दबाब दिन थाल्यो। चाहे स्वास्थ्य, रोजगारी, मनोरञ्जनका सन्दर्भमा होस्, चाहे राष्ट्र, राष्ट्रियता, स्वाभिमान तथा सार्वभौम रक्षाका सन्दर्भमा होस्, अनेरास्ववियु सधैं अग्रपंक्तिमा रही महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
अनेरास्ववियु नेकपा (एमाले) को नेता मात्रै नभएर समाजका विभिन्न क्षेत्रका अगुवाहरु उत्पादन गर्ने नर्सरीको रूपमा समेत स्थापित भएको छ। समयसँगै अनेरास्ववियुको महत्व र भूमिका अझै फराकिलो भएको छ। अनेरास्ववियु जस्तै विद्यार्थीहरू विश्वभरि राजनीतिक परिवर्तनका सन्दर्भमा महत्वपूर्ण एजेन्टका रूपमा स्थापित भएका छन्। धेरै मामिलामा सरकारलाई खबरदारी गर्ने, सचेत तुल्याउने र सत्ताच्युत गर्न सक्ने शक्ति समेत विद्यार्थीमा छ।
नेपालमा राष्ट्रिय युवा नीति, २०७२ र राष्ट्रिय युवा परिषद् ऐन, २०७२ ले (१६-४०) वर्ष उमेर समूहलाई युवा मानेको छ। यो उमेर समूहका युवाहरू बढी जिज्ञासु, केही सिकुँ केही गरुँ भन्ने सोच भएका हुन्छन्।
युवा-विद्यार्थी जोस, जाँगर, त्याग, निष्ठा बलिदानको भाव भएका, नवप्रवर्तक, आलोचनात्मक विचार राख्ने तथा रूपान्तरणकारी भावनाद्वारा प्रतिबद्ध भएका राष्ट्रको उदीयमान शक्ति हुन्। युवाहरूसँग सम्झौता गर्ने प्रवृत्ति नहुने भएकोले उनीहरू स्वभावैले विद्रोही हुन्छन् र नसा–नसामा क्रान्तिकारी परिवर्तनको ऊर्जा सल्बलाइरहेको हुन्छ। त्यसैले न्याय, समानता, सामाजिक परिवर्तन, विकास लगायतमा एकदम बल पुग्ने र यथास्थितिबाट आफू र आफ्नो समाजलाई मुक्ति दिलाउने सामाजिक रूपान्तरणको महा-अभियानमा युवा वर्ग जुटिरहेको हुन्छन्।
सामान्यतया विश्वका विकसित देशलाई पहिल्याउने हो भने उदाहरणका लागि सन् १९५० को सिङ्गापुर, दोस्रो विश्वयुद्धताकाको जापान, १९८९ भन्दा अघिको चीन, दक्षिणकोरिया र यिनै देशहरूको वर्तमान अवस्थामा आकाश–जमिनको फरक छ। सृजनशील मस्तिष्क भएका ऊर्जाशील पौरखी युवाका कारण आज यी देशहरू विश्वका विकसित तथा शक्तिशाली देशको सूचीमा छन्, तर नेपालको सन्दर्भमा यही मानव पूँजी पलायनको अवस्था भयावह स्थितिमा छ।
रोजगारी गर्न, उद्यमशील बन्न इच्छुक युवाहरूको लगत तयार पारी तीन तहका सरकारलाई उनीहरूलाई जीवनोपयोगी सीपमूलक शिक्षा दिलाउने, सहुलियतपूर्ण कर्जा दिन सहयोग गर्ने र उनीहरूको नियमन गरी उद्यमका लागि उचित वातावरण प्रदान गर्न जरुरी छ
युवा जनशक्ति पलायनका कारण
१. हाम्रो जस्तो विकासशील देशमा शिक्षालाई महत्वका साथ हेरिए तापनि उच्च शिक्षामा गैरप्राविधिक क्षेत्रमा बढी लगानी भएको देखिएको छ। त्यसैले आम मानिसको शैक्षिक स्तर राम्रो भएको देखिए तापनि शैक्षिक उपलब्धि र रोजगारीको तादाम्यता नमिल्दा, अपेक्षाकृत अवसरहरू सिर्जना नहुँदा, विश्वविद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने थलोका रूपमा परिणत भएका छन् र युवा जनशक्ति पलायन हुन बाध्य छन्।
२. प्राविधिक शिक्षाको गुणस्तर र प्रभावले रोजगार सिर्जना भए पनि शिक्षामा भइरहेको व्यापारीकरणले आम विद्यार्थीको पहुँचमा नभएकाले अपेक्षाकृत नतिजा हासिल गर्न नसकिएको यथार्थ रहेको पाइन्छ।
३. राजनीतिक अस्थिरताका कारण देशमा औद्योगीकरणको विस्तार र पर्याप्त रोजगारी सिर्जना हुन नसक्नाले आर्थिक समृद्धिको मुख्य मेरुदण्ड मानिएका जनशक्ति मध्यपूर्व र अन्य देशहरूमा पलायन हुन विवश छन्।
४. शिक्षा, स्वास्थ्य, रोजगारी आदि जस्ता नागरिकका हकअधिकारहरू संविधानको मौलिक हकमा समेत उल्लेख गरिएको भएतापनि राज्यले कानुन बनाएर कार्यान्वयन गर्न सकेको छैन। भएका नीति पनि व्यक्तिपिच्छे फरक हुने, त्यस्तो असमञ्जसले गर्दा र विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा पनि राज्यको बारेमा, नीति र नेतृत्वको कार्यसम्पादनको बारेमा नकारात्मक टीकाटिप्पणी नै प्रस्तुत हुने भएकाले यो मुलुक बन्दैन भन्ने सोची युवाहरू निराश भएर विदेशिनुपर्ने बाध्यता छ।
५. वैदेशिक रोजगारीबाट समाजमा रहेका व्यक्तिहरूको उन्नति र प्रगति भएको कारण सामाजिक दबाब पैदा हुन्छ। साथै वैदेशिक रोजगारमा रहेका आफन्तहरूको सहयोग र सुझाव पनि विदेश आउनकै लागि हुने गर्छ।
वैदेशिक पलायनका अवसर
१. विदेशमा उच्च गुणस्तरको शिक्षा, विशेष तालिमहरु र अत्याधुनिक अनुसन्धानका अवसरहरूमा नेपालीहरुको पहुँच हुने गर्दछ। यसरी प्राप्त गरेको बहुमूल्य सीप, ज्ञान र अनुभव देशको शिक्षा, स्वास्थ्य, प्रविधि र उद्यमशीलता जस्ता प्रमुख क्षेत्रहरूमा मानव पूँजी विकास र क्षमता निर्माण गर्न महत्त्वपूर्ण हुन्छ।
२. देशको एउटा प्रमुख आयको स्रोत विप्रेषण (रेमिट्यान्स) आज कुल गार्हस्थ्य उत्पादनको प्रतिशतको रूपमा करिब २५ प्रतिशत रहेको छ। घरायसी आम्दानी बढाउन, गरिबी घटाउन र घरेलु अर्थतन्त्रमा उपभोग र लगानीलाई समर्थन गर्ने काम विप्रेषण (रेमिट्यान्स)ले गरिरहेको छ।
३. विदेशमा विविध भाषा, संस्कृति जान्ने-बुझ्ने मौका मिल्ने साथै आफ्नो देशको भाषा, संस्कृति, रहनसहन, भेषभुषा, पर्यटनको बारेमा विश्वभरि फैलाउने मौका प्राप्त हुन्छ। यसले व्यक्तिगत वृद्धि, अन्तर सांस्कृतिक घुलनमा सहयोग मिल्छ। जसले व्यक्तिको क्षितिज फराकिलो बनाउन, सामाजिक सञ्जाललाई विस्तार गर्न, जीवन अनुभवहरूलाई समृद्ध बनाउन मद्दत गर्नुका साथै नेटवर्क, स्रोत र सहकार्यका अवसरहरू प्रदान गर्दछ।
४. विदेशमा नयाँ व्यक्तिहरूसँग नेटवर्कहरू निर्माण हुने, विश्वभरिका साथी, पेशेवर र संस्थाहरूसँग पनि सहकार्य गर्न मद्दत गर्दछ। यसरी प्राप्त नेटवर्क मार्फत अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्बन्ध निर्माण गर्ने र विभिन्न मञ्च र संस्थाहरूमा नेपालको प्राथमिकताको वकालत गरेर नेपालको हित र छविलाई विश्वव्यापी मञ्चमा प्रवर्धन गर्न मद्दत गर्न सक्छ। यसले व्यक्ति र राष्ट्र दुवैको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका अवसरहरू प्रदान गर्न सक्दछ।
चुनौती
महोत्सवमा १०० भन्दा बढी विभिन्न स्कुल, विश्वविद्यालय, आविष्कार केन्द्र, स्टार्ट अप आदि रचनात्मक स्टलहरु रहनेछ भने १५ वटा विभिन्न विधामा प्रदर्शनी गरिनेछ। जसमा सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका विभिन्न जात जातिका झाँकी, सांस्कृतिक नृत्य आदिको प्रवर्धन तथा प्रदर्शन गरिनेछ
१. ‘ब्रेन ड्रेन’ का कारण आफ्नो समाज, राष्ट्रका लागि केही गरौं भन्ने सोच भएका ऊर्जाशील, दक्ष र विद्यार्थीहरू विदेशिंदा नेपालले आफ्नो मानव पूँजी र प्रतिभालाई गुमाइरहेको छ।
२. विप्रेषणले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको भए तापनि विप्रेषणमा रहेको निर्भरताले नेपाललाई विश्वव्यापीरूपमा बेलाबेलामा देखा पर्ने आर्थिक झट्का र उतारचढाव साथै गन्तव्य देशहरूको आप्रवासी नीतिमा हुने परिवर्तनले गर्दा जोखिममा पार्न सक्छ।
३. विद्यार्थीको विदेश पलायनले राष्ट्रिय विश्वविद्यालय र स्थानीय कलेजहरूमा विद्यार्थी संख्या न्यून हुने गरेको छ। जसको कारण धेरै कलेज बन्द हुने अवस्थामा पुग्दा शिक्षा प्रणालीमा तनाव निम्त्याएको र यहाँको शिक्षा र अनुसन्धानको गुणस्तर, योग्य शिक्षक र अनुसन्धान कर्ताहरूको उपलब्धतालाई असर गरेको छ।
४. दक्ष कामदारको बहिर्गमनले स्वास्थ्य, शिक्षा, इन्जिनियरिङ र प्रविधि लगायत नेपाली अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा श्रमिक अभाव सिर्जना हुनसक्ने अवस्था छँदैछ भने अर्कोतर्फ सामाजिक पूँजी गुमाउने, सामाजिक तथा सामूहिक कार्यको लागि देशको क्षमता घट्ने भएकाले यसले देशभित्रको सेवा प्रवाह, उत्पादकत्व र आर्थिक वृद्धिलाई असर गरेको छ।
५. मानव पूँजी पलायनका कारण स्थानीय क्षमता र स्रोतहरू घट्दै गएको कारण नेपालले आफ्नो विकास निर्माणका आवश्यकताहरू पूरा गर्न विदेशी विशेषज्ञता र सहयोगमा बढी निर्भर हुनुपर्ने सम्भावना बढेको छ। यसले राष्ट्रिय सार्वभौम सत्ता, निर्णय र विकास प्रक्रियामा आत्मनिर्भरतालाई कमजोर बनाउने काम गर्दछ।
६. विदेशिने क्रमले व्यक्तिहरू विदेशी समाजलाई आत्मसात् गर्ने वा आफ्नो मातृभूमिबाट टाढा हुने भएकाले यसले नेपालभित्रका पारिवारिक संरचना, सामुदायिक एकता र सामाजिक सञ्जालमा बाधा पुर्याउन सक्छ भने सांस्कृतिक मूल्यमान्यता, परम्परा र सामाजिक सम्बन्धमा हानि निम्त्याउन सक्छ।
पूँजी (मानव पूँजी सहित) पलायन कसरी रोक्ने ?
१. संविधानको मौलिक हकको धारा (३१) मा बालबालिकालाई अनिवार्य निःशुल्क शिक्षा, धारा (३३) मा प्रत्येक नागरिकलाई रोजगारीको हक, त्यसैगरी भाग (४) मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वमा समेत युवाको विकास एवं युवा परिचालनका बारेमा विशेष व्यवस्था उल्लेख गरिएको छ। तर यी सबै कागजमा मात्रै सीमित भएका छन्, यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ।
२. विश्व उत्तर औद्योगिक (विज्ञान प्रविधि)को युगमा प्रवेश गरिसकेको छ। आजका युवा आफूलाई अद्यावधिक राख्नुपर्ने र प्रतिस्पर्धामा अब्बल हुनुपर्ने दौडमा छन्। तसर्थ राज्यले युवाहरुलाई विश्व श्रमबजारमा प्रतिस्पर्धात्मक र स्वरोजगार बनाउनका लागि विज्ञान प्रविधिमैत्री सर्वसुलभ शिक्षा दिनुपर्ने आजको आवश्यकता छ।
३. रोजगारी गर्न, उद्यमशील बन्न इच्छुक युवाहरूको लगत तयार पारी तीन तहका सरकारलाई उनीहरूलाई जीवनोपयोगी सीपमूलक शिक्षा दिलाउने, सहुलियतपूर्ण कर्जा दिन सहयोग गर्ने र उनीहरूको नियमन गरी उद्यमका लागि उचित वातावरण प्रदान गर्न जरुरी छ।
४. नृत्य, गीत, सङ्गीत, खेलकुद आदि जस्ता विधामा आफूलाई अब्बल बनाएका युवाहरूले आफ्नो कलाबाट देशलाई चिनाउने काम गरेका छन्। यस्ता युवाहरूलाई प्रोत्साहन गर्ने, भविष्यको सुनिश्चितता प्रदान गर्ने काम हरेक तहका सरकारले गर्नुपर्ने आवश्यक छ।
५. राज्यले औद्योगीकरणलाई बढावा दिने, देशमै यथेष्ट रोजगारीको सृजना गर्ने, आन्तरिक उत्पादनलाई वृद्धि गर्ने, निर्यात प्रवर्धन र आयात प्रतिस्थापनमा जोड दिई देशलाई आत्मनिर्भर बनाई बलियो अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता छ।
६. भौगोलिक, धार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश बुद्धको, सीता माताको जन्मथलो हो। पशुपतिनाथ र मुक्तिनाथको भूमिको देश। हाम्रो उत्तरी छिमेकी चीन बौद्ध धर्मको र दक्षिण भारत हिन्दु धर्मको बाहुल्य भएका कारण हाम्रो देशलाई आध्यात्मिक केन्द्रका रूपमा स्थापित गरी यी दुई छिमेकीबाट पर्यटक आकर्षित गरी पर्यटनको माध्यमबाट देशमा रोजगारी सृजना गर्न सकिन्छ।
यसै सन्दर्भमा अनेरास्ववियुले ६०औं स्थापना दिवसको अवसरमा यही जेठ १-३ मा विद्यार्थी महोत्सवको आयोजना गरेको छ। यस महोत्सवमा १०० भन्दा बढी विभिन्न स्कुल, विश्वविद्यालय, आविष्कार केन्द्र, स्टार्ट अप आदि रचनात्मक स्टलहरु रहनेछ भने १५ वटा विभिन्न विधामा प्रदर्शनी गरिनेछ। जसमा सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका विभिन्न जात जातिका झाँकी, सांस्कृतिक नृत्य आदिको प्रवर्धन तथा प्रदर्शन गरिनेछ।
विभिन्न विषयमा प्राध्यापक, विषय विज्ञ, कूटनीतिज्ञ, विभिन्न राजनीतिक पार्टीका नेतृत्वहरूसँग छलफल चलाइनेछ। नेपालको पर्यटन प्रवर्धन सम्बन्धमा छलफल हुनेछ। नेपालका चर्चित एलिमेन्टस्, जेन एन्ड द लोकल, अनुप्रस्थ लगायत ब्यान्डबाट मनोरन्जन गराइनेछ। रोबोटिक्स, एरनट्स् इगेमिङ लगायत प्रतिस्पर्धा पनि हुनेछन्।
सामाजिक मुद्दामा चेतना जगाउने, विद्यार्थीको नेतृत्व विकास गर्ने, विद्यार्थीको प्रतिभा र रचनात्मकतालाई मञ्च दिने, उद्यमशीलता र नवीनताको प्रवर्धन गर्न, शैक्षिक र व्यावसायिक सीपलाई प्रोत्साहन गर्न, सृजनशील सोच भएका पौरखी युवालाई स्वदेशमै कसरी व्यवस्थापन गराउने योजना सहित अनेरास्ववियुले विद्यार्थी महोत्सवको आयोजना गरेको छ।
लेखक अनेरास्ववियु उपाध्यक्ष हुन्।