विदेशमा बढ्दो नेपाली : नेपालमा थपिंदो सुरक्षा चुनौती

विदेशमा बढ्दो नेपाली : नेपालमा थपिंदो सुरक्षा चुनौती


२२ असोज, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर घर भएकी २४ वर्षीय मीरा श्रेष्ठ चार वर्षअघि अध्ययनका लागि जापानको फुकुओका भन्ने ठाउँ गएकी थिइन् । उनी गएको दुई वर्षपछि बर्दियाकी श्रद्धाकुमारी दाहाल पनि सोही ठाउँ गइन् ।

उनीहरूको जापानमै चिनजान भयो र आउजाउ हुनथाल्यो ।

२०८१ वैशाख अन्तिम साता मीरा बिरामी भएको भनेर श्रद्धाको कोठामा पुगिन् । यो बीचमा श्रद्धाको कोठाका सामान पनि हराए । अर्को महत्वपूर्ण चिज उनको पासपोर्ट हरायो ।

योसँगै हराइन् उनकै साथी मीरा पनि । महत्वपूर्ण कागजात सहित मीरा हराएपछि श्रद्धाले नेपालमा रहेका आफ्ना बुबा दीपकप्रसाद दाहाललाई घटनाबारे जानकारी गराइन् ।

१८ नोभेम्बर २०२१ मा बर्दियाबाट जारी भएको राहदानी र परिचयपत्र लिएर त्यही नाम प्रयोग गरेर मीरा जापानबाट नेपाल आएको भेटियो । यसपछि बाबुले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए । ९ जेठमा अध्यागमन कार्यालयले समेत टेकुलाई पत्र काट्दै घटनाबारे अनुसन्धान गर्न भन्यो ।

अनुसन्धानको क्रममा उक्त राहदानी मीराले नै चोरी गरेर सोही राहदानी प्रयोग गरी श्रद्धा बनेर उनी काठमाडौं आएको रहस्य खुल्यो ।

‘नेपाली समाजको डायस्पोरा फराकिलो भएको छ । कुनै समस्या आउनासाथ विदेशदेखि नेपाल प्रहरीलाई नै खबर आउने गर्छ । त्यसपछि हामीले सम्बन्धित देशको प्रहरीसँग समन्वय गरेर त्यहीं कारबाही पनि गरेका छौं’ साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले भने ।

अध्ययनको क्रममा विना जानकारी मीरा एक हप्तासम्म कलेज नगएपछि कलेजले अध्यागमन विभागलाई पत्र लेखेर उनको भिसा अवधि रद्द गरेको भेटियो ।

त्यसपछि तनावमा रहेकी मीरा श्रद्धाको कोठामा पुगेकी थिइन् । ७ जेठमा श्रद्धाकै पासपोर्ट चोरी गरेर नेपाल फर्केको प्रहरी अनुसन्धानका क्रममा उनले स्वीकार गरेकी थिइन् । नेपाल फर्केर श्रद्धाको नामको उक्त पासपोर्ट उनले रक्षा पौडेल नाम गरेकी साथीको कोठामा च्यातेर चाउचाउको खोलमा प्याक गरेर डस्टबिनमा फालेको समेत प्रहरीले पत्ता लगायो ।

२९ जेठ २०८१ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालको इजलासले मीरालाई दोषी ठहर गरिसकेको छ । उनलाई राहदानीको कसुरमा २० दिन कैद र २ लाख ५ हजार रुपैयाँ जरिवना गर्ने फैसला गरेको छ । फैसलामा जरिवानाबाट श्रद्धालाई २० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

****

रौतहट देवाही गोनही नगरपालिका–५ टिकुलियाका २२ वर्षीय हरिहरप्रसाद यादव एक युवतीसँग प्रेम सम्बन्धमा थिए । उनीहरूको सम्बन्धमा दरार आयो । यही बीचमा उनी वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगे । मलेसियामा पुगेपछि आफू सुरक्षित ठानेका हरिहरले प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिर र भिडिओहरू ‘फेक’ फेसबुक अकाउन्ट खोलेर सार्वजनिक गरिदिए ।

घटना २०७९ को हो । पीडित युवतीले प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिइन् । त्यतिबेला ब्यूरोमा बसेर घटनाको अनुसन्धान गरेका एसपी पशुपति रायले उक्त तस्बिरहरू हरिहरले नै सार्वजनिक गरेको निष्कर्ष निकाले । उनी विरुद्ध अदालतबाट पक्राउ पुर्जी समेत लिइयो ।

५ फागुन २०७९ मा हरिहर यादव नेपाल फर्किए । विमानस्थलमा ओर्लिएर घर जान लागेका अवस्थामा उनी पक्राउ परे । अश्लील गाली गर्दै मलेसियाबाट एक युवतीको तस्बिर सार्वजनिक गरेको कसुरमा उनी विरुद्ध काठमाडौंबाट मुद्दा चल्यो ।

****

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको तथ्यांक अनुसार विदेशमा पुगेर अपराध गर्ने, विशेषतः साइबर अपराध गर्ने नेपालीको संख्या उत्तिकै छ । आर्थिक वर्ष २०८०/८१ मा विदेशमा बसेर साइबर अपराध गरेको आरोपमा ७ नेपाली विरुद्ध नेपालमा मुद्दा दायर भएको छ । चालु आर्थिक वर्षको अहिलेसम्म दुई जना विरुद्ध मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।

चालु आर्थिक वर्षको २१ साउनमा रोमानियामा बसेर साइबर अपराध गरेका एक युवक घर फर्केका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । साइबर ब्यूरोको टोलीले तनहुँ घिरिङ गाउँपालिका–१ का ३५ वर्षीय सन्दिप थापा मगरलाई पक्राउ गरेको थियो ।

उनले एक महिलाको फेसबुक ह्याक गरी श्रीमान्–श्रीमतीबीच भएका कुराकानी तथा तस्बिरहरू सार्वजनिक गरिदिएका थिए । उक्त कुराकानी तथा तस्बिर र भिडिओहरू नक्कली आईडी बनाएर उनीहरूका आफन्तलाई पठाउँदै ब्ल्याकमेलिङ गरेको पाइएपछि उनलाई पक्राउ गरेर साइबर ब्यूरोले कारबाही अघि बढाएको हो ।

भर्खरै यस्तै प्रकृतिको अर्को उदाहरण थपिएको छ । विदेशमा बसेर नेपाली महिलाको चरित्र हत्या गरेको आरोपमा सुर्खेत गुर्भाकोट नगरपालिका–५ घर भएका २९ वर्षीय खगेन्द्र यरी पक्राउ परेका छन् । १६ असोजमा मलेसियाबाट काठमाडौं आएका बेला उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

नेपाल रहँदा सामाजिक सञ्जाल मार्फत यरीको एक युवतीसँग चिनजान भएको थियो । भर्चुअल रूपमा निकै नजिक रहेका उनीहरूले सम्बन्ध राम्रो हुँदा एकअर्कासँग गोप्य तस्बिरहरू पनि साटासाट गरेका थिए ।

तर, सम्बन्धमा दरार आएपछि यरीले त्यसको बदला लिन फेरि सामाजिक सञ्जाल नै प्रयोग गरे । मलेसियामै रहेका बेला यरीले फेसबुक आईडी बनाई ती युवतीका अश्लील तस्बिर र भिडिओहरू सार्वजनिक गरिदिए ।

सम्बन्धमा रहँदा आदानप्रदान गरिएका तस्बिर र भिडिओहरू बदला लिन प्रयोग भए । अनि चरित्र हत्याको निवेदन बोकेर युवती २३ वैशाख २०७९ मा प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा न्याय खोज्न पुगिन् ।

प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाउँदा यरी मलेसियामै थिए । विद्युतीय कारोबार ऐन, २०६३ को कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले यरीलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया अघि बढायो ।

नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) मार्फत प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई पत्राचार गरेपछि यरी विरुद्ध रेड नोटिस पनि जारी भयो । मलेसियामै बसेर गरेको कसुर भए पनि अन्ततः उनी नेपालमा पक्राउ परे ।

र, अहिले कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाका प्रमुख तथा इन्स्पेक्टर नवीनप्रकाश चापागाईंका अनुसार उनलाई अहिले हिरासतमै राखेर अनुसन्धान भइरहेको छ ।

साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीका अनुसार विदेशमा बसेर नेपालमा साइबर अपराध गर्नेलाई पक्राउ गरेर नेपालमै कारबाही गर्ने र विदेशमै नेपालीले नेपालीमाथि साइबर अपराध गरे सम्बन्धित प्रहरीलाई जानकारी गराएर पनि कारबाही हुँदै आएको छ ।

‘नेपाली समाजको डायस्पोरा फराकिलो भएको छ । कुनै समस्या आउनासाथ विदेशदेखि नेपाल प्रहरीलाई नै खबर आउने गर्छ । त्यसपछि हामीले सम्बन्धित देशको प्रहरीसँग समन्वय गरेर त्यहीं कारबाही पनि गरेका छौं’ एसपी अवस्थीले भने, ‘यस्ता साइबर अपराधहरूको कारण चाहिं व्यक्तिगत रिसइबी मुख्य देखिन्छ ।’

‘विदेशमा बसोबास, नेपालमा सुरक्षा चुनौती’

दुई वर्षअघि सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकलाई मात्रै आधार मान्ने हो भने २१ लाख ९० हजार ५९२ जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् । यसमा देशभरका १५ लाख ५५ हजार ९६१ परिवारका सदस्य रहेका छन् । एकै परिवारका तीन जनासम्म विदेश गएको राष्ट्रिय तथ्यांक कार्यालयले उल्लेख गरेको छ ।

यसरी विदेशमा हुने मध्ये ८२.२ प्रतिशत पुरुष र १७.८ प्रतिशत महिला छन् । यो त वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको संख्या मात्रै हो ।

अझ यो संख्या पनि बढेको अनुमान गरिन्छ । विदेशी नागरिक नै बनेर बस्ने नेपालीहरूको संख्या पनि उल्लेख गरेको बताइन्छ ।

अध्यागमन विभागको रिपोर्ट अनुसार सन् २०२३ मा मात्रै ७० हजार ९१५ नेपाली स्थायी बसोबासको लागि विदेश गएका छन् । ८ माघ २०८१ मा अध्यागमनका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङले राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा उक्त डाटा प्रस्तुत गरेका थिए ।

उनका अनुसार पछिल्लो एक वर्षमा विदेश गएका मध्ये ३ लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेका छन् । यो अवधिमा अध्ययनको लागि १ लाख ८ हजार ५४२ जना, अस्थायी बसोबास भिसामा ९२ हजार ३४०, स्थायी बसोबास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेन्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएको अध्यागमनको रिपोर्टमा उल्लेख छ । पछिल्लो एक वर्षमा २ लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रूपमा विदेश बस्ने गरी गएको तामाङले बताएका थिए ।

स्थायी रूपमै नेपालीहरू विदेशमा बस्ने संख्या बढ्दै गए सँगसँगै चुनौती पनि उत्तिकै रूपमा थपिंदै गएका छन् । अहिले डिजिटल प्रविधियुक्त अपराध, आफन्त तथा नेपालीबाटै नेपालीहरूमाथि सुरक्षा चुनौती थपिंदै गएको विषय नकार्न नसकिने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।

‘पहिला नेपाली समाज देशभित्रै सीमित थियो भने अहिले ग्लोबल भिलेजको कन्सेप्टसँगै विश्वव्यायी रूपमा स्थायी रूपमै नेपालीहरू विभिन्न देशमा बस्दै आएका छन् । जसकारण विदेशमा रहेका नेपालीहरू विभिन्न कारण असुरक्षित छन्’, मल्ल ठकुरी भन्छन् ।

विदेशमा अपराध, नेपालमा अनुसन्धान

नेपाली सञ्जाल विदेशमा बढ्दै गएपछि नेपालीबाटै असुरक्षित हुने घटना पनि बढ्न थाले । नेपाली नागरिक नेपालीबाटै पीडित भएको घटनामा सम्बन्धित देशले दतारुकता देखाएर अनुसन्धान नगर्ने र पीडित व्यक्तिले न्याय नपाउने अवस्था थियो । अर्कोतर्फ विदेशमा कुनै अपराध गरी नेपाल आएर बसेको अवस्थामा समेत कारबाही गर्न सकिने कानूनी व्यवस्था थिएन ।

नेपाली समाज विदेशमा रहँदा पनि नेपालीबाट समेत असुरक्षित हुन थालेपछि यसलाई मध्यनजर गर्दै पहिलो पटक मुलुकी फौजदारी अपराध संहिता २०७४ मा बहिक्षेत्रीय अधिकार समेटियो । मुलुकी फौजदारी अपराध संहिताको परिच्छेद १ को दफा २ मा बहिक्षेत्रीय प्रयोगको बारेमा उल्लेख गरिएको छ ।

जस अनुसार, कसैले नेपाल बाहिर कुनै कसुर गरेमा नेपालभित्रै गरे सरह मानेर कारबाही गरिने उक्त दफामा उल्लेख गरिएको छ । दफा २ को उपदफा ३ मा यसको व्याख्या गरिएको छ ।

‘कुनै नेपाली नागरिकले नेपाल बाहिर रहेको कुनै नेपाली नागरिक विरुद्ध ज्यान लिए, ज्यान मार्ने उद्योग गरे, षड्यन्त्र गरे, अंगभंग गरे, अपहरण शरीर बन्धक तथा गैरकानूनी थुनामा राखे, बलात्कार गरेमा नेपालभित्रै गरे सरह मानेर कारबाही गरिने छ’ संहितामा उल्लेख गरिएको छ ।

यही बहिक्षेत्रीय अधिकार प्रयोग गरेर नेपाल प्रहरीले एक व्यक्तिमाथि मुद्दा समेत चलाइसकेको छ । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका झापा शिवसताक्षी नगरपालिका–३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या घटनामा प्रहरीले बहिक्षेत्रीय अधिकार प्रयोग गरेर अनुसन्धान गरेको थियो ।

मलेसियामा सँगै काम गर्ने अर्का नेपाली महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय अनिलकुमार साहले प्रधानको मलेसियामा हत्या गरेका थिए । एक कम्पनीमा ‘स्वीपर’को रूपमा साह काम गर्थे भने उनको ‘हाकिम’ प्रधान थिए ।

काम लगाउने जिम्मेवारीमा रहेका प्रधान र साहबीच कामको कुरामा विवाद हुने गरेको थियो । त्यही रिसइबीले साहले प्रधानलाई २ मंसिरमा हत्या गरेका थिए । हत्यापछि नेपाल आएका उनी ३० मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए । २६ पुसमा उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

यस घटनाको अनुसन्धान गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेल मुद्दा कसरी स्ट्याबलिस गरियो भन्ने बारे भन्छन्, ‘मलेसियन प्रहरीले उठाएको घटनास्थल मुचुल्का, पोस्टमार्टम रिपोर्ट, इन्टरपोलको सहयोग, साहसँगै काम गर्ने व्यक्ति र प्रत्यक्षदर्शीहरूसँग भिडिओ कन्फ्रेन्स मार्फत बयान लियौं, मलेसियन प्रहरीसँग पोस्टमार्टम रिपोर्ट मगायौं । र, आरोपितले समेत घटना स्वीकार्न बाध्य भए ।’

‘प्रहरी सहचारी’ को प्रस्ताव

यसका लागि उत्तम विकल्प भनेको प्रहरी सहचारीमा ध्यान दिनुपर्ने मल्लको बुझाइ छ । पूर्वडीआईजी मल्लले भने जस्तै विदेशमा नेपालीको चाप वर्षेनि बढ्दै जाने र नेपालीहरू नै असुरक्षित हुन थालेपछि प्रहरी सहचारी राख्नुपर्ने प्रस्ताव पनि प्रहरी प्रधान कार्यालयले गर्दै आएको छ ।

अहिले धेरै देशमा प्रहरी सहचारी राख्न नसकिए पनि मुख्यगरी अमेरिका, चीन, मलेसिया, युएई र स्पेनमा सहचारी राख्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको थियो । प्रस्तावमा युएई र मलेसियामा वैदेशिक रोजगारीका लागि गएका नेपालीको संख्या उल्लेख्य छ ।

उनीहरूलाई कुनै समस्या परे त्यहाँको प्रहरीसँग समन्वय गरेर सम्बोधन गर्न नेपाली दूतावासमा प्रहरी सहचारी राख्नुपर्ने प्रहरी हेडक्वाटरको प्रस्ताव छ ।

युरोपभर हेर्ने गरी स्पेनस्थित नेपाली दूतावास र न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा र चीनमा प्रहरी सहचारी राख्नुपर्ने प्रस्ताव प्रहरी हेडक्वाटरको छ । प्रहरी सहचारीको प्रस्ताव नेपालीहरूकै सुरक्षासँग जोडिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्की बताउँछन् ।

‘नेपालीको जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी माग गरिएको हो । त्यहाँ नेपालीहरू नै असुरक्षित हुने, विभिन्न समस्या आउने हुँदा नेपाल प्रहरी सहचारीको रूपमा खटिंदा समस्या समाधानदेखि उद्धारसम्म सहज हुने भएकाले प्रस्ताव गरेका हौं’, डीआईजी कार्कीले भने ।

पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहका विचारमा त विदेशमा रहेका नेपालीहरूलाई भोटिङ राइट दिंदा यो सँगसँगै उनीहरूको सुरक्षाको विषय पनि जोडिएर आउँछ । सुरक्षा जोखिमको विश्लेषण नगरी भोटिङ राइट दिंदा अर्को दुर्घटना हुन सक्छ ।

पूर्व प्रहरी प्रमुख सिंह भन्छन्, ‘हामीले पहिल्यैदेखि नेपालीहरूको जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी राख्न प्रस्ताव गर्दै आएका छौं । त्यो अहिलेसम्म लागू हुनसकेको छैन । प्रहरी सहचारीहरू राखेको अवस्थामा भोटिङ राइट दिंदा सुरक्षा चुनौती कम हुनसक्छ । यसतर्फ राज्यले सोच्नुपर्छ ।’

अहिले न्यूयोर्कमा प्रहरी सहचारी भएको अवस्थामा त्यहाँको प्रहरीसँग समन्वय गरेर भर्जिनियामा बेपत्ता ममता काफ्ले भट्टको अनुसन्धानमा सहयोग हुने, नेपालस्थित बुझ्नुपर्ने कुराहरूमा पनि अमेरिकाको प्रहरीलाई सहयोग हुने, अनुसन्धान पनि छिटो टुंगिन सक्ने नेपाली प्रहरी अधिकारीहरूको तर्क छ ।

उक्त प्रस्तावलाई ३० चैत २०८० को मन्त्रिपरिषद् बैठकले ‘ओएण्डएम’ गरेर ल्याउन भनेपछि प्रहरी प्रधान कार्यालयले ओएन्डएम गरेर गृहमा प्रहरी सहचारी राख्नुपर्ने प्रस्ताव पठाएको थियो । यही बीचमा सत्ता गठबन्धनमा फेरबदल भएपछि अहिले त्यो प्रस्ताव अलपत्र परेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School