विघटोन्मुख विद्यार्थी संगठनलाई औचित्य जोगाउने चुनौती


आजभोलि विद्यार्थी संगठनहरूलाई बेला–मौकामा सम्झिने गरिन्छ । यसरी ऐन–मौकामा मात्रै सम्झिनुपर्ने स्थिति यथावत् रह्यो भने छिट्टै नै विद्यार्थी संगठन र यसका नेताहरू इतिहासको सम्झनामा मात्रै बाँकी रहनेछौं । यो सम्भावना विद्यार्थी संगठन स्वयंका कारण सिर्जना भइरहेको छ । त्यसैले अबको विद्यार्थी आन्दोलन, त्यसलाई नेतृत्व गर्ने विद्यार्थी संगठन र त्यसमा आबद्ध रहने विद्यार्थी नेताहरू सबैमा सुधारको आवश्यकता देखिसक्यो । तर, वर्तमानमा विद्यार्थीका संगठन र विद्यार्थीका एजेन्डा दुवैमा कताकता तालमेल नमिलिरहेको देखिन्छ । यो विद्यार्थी आन्दोलनका लागि मात्रै नभएर शिक्षा क्षेत्रकै चुनौती हो । किनभने, विद्यार्थी संगठन सडकमा ढुंगा बर्साउनका लागि मात्रै चाहिने शक्ति होइन, यो सचेत राजनीतिमा विशिष्ट योगदान दिनसक्ने एउटा राजनीतिक नर्सरी पनि हो ।

सामान्यतः विद्यार्थी भनेको अध्ययन गर्ने वा जान्न उत्सुक व्यक्तिलाई जनाउने शब्द हो । जसलाई जान्न र बुझ्न उत्सुकता हुन्छ उसैले जान्ने हो । त्यसैले त्यो नै समाजमा तुलनात्मक हिसाबले बढी सचेत हुने नै भयो । सचेत हुनु एक हिसाबले प्रगतिशील हुनु हो । जसले भविष्यबारे चासो र चिन्ता गर्छ त्यसका लागि दृष्टिकोण सहित सचेत पहलकदमी लिन्छ । हाम्रो सन्दर्भमा हेर्ने हो भने समाज परिवर्तनको खातिर अग्रमोर्चामा रहेको विगत र वर्तमान सर्वविदितै छ ।

संस्कृत पठनपाठनमा सुधार र विद्यार्थीको हकअधिकारका लागि सुरु भएको जयतु संस्कृतम् आन्दोलनसँग नेपाली विद्यार्थी आन्दोलनको इतिहास जोडिन्छ । वर्तमानसम्म आइपुग्दा नेपालका हरेक परिवर्तनमा विद्यार्थी आन्दोलन सबैभन्दा अगाडि देखिन्छ, त्यो पनि निर्णायक भूमिका सहित ।

विगतमा यति गर्विलो इतिहास बोकेको विद्यार्थी आन्दोलन विज्ञान प्रविधिको यो समयमा कुहिरोमा हराएको काग जस्तै विलखबन्दमा परेको छ । विद्यार्थी संगठन कतै सुनिंदैन, कतै देखिंदैन । भेरी नदीमा प्रेम विकहरू मारिंदा होस् वा मिटरब्याजको दुष्चक्रमा परेर गरिब जनताले ज्यानको आहुति दिन बाध्य हुनुपर्दा विद्यार्थी आन्दोलन भेटिंदैन । दलाल नोकरशाही पूँजीवादले आक्रान्त देशको अर्थतन्त्र सुधारमा राष्ट्रिय पूँजीको निर्माण वा उत्पादनमा विद्यार्थी आन्दोलन भेटिन्छ भन्नु त धेरै परको सपना हुनेभयो ।

नयाँ शैक्षिक वर्ष सुरु हुँदा समयमा पुस्तक नपाउँदा त्यसको विरुद्ध आवाज उठाउने कुनै ऊर्जा विद्यार्थी आन्दोलनले देखाउँदैन । विद्यार्थीका नेताहरू जलवायु परिवर्तनले निम्त्याएको पर्यावरणीय संकट वा मानव जीवनमा देखा परेका नयाँ खालका संकट बारे पनि बेखबर छन् ।

कुनै समय पाकिस्तानी राष्ट्रपति जुल्फिकर अलि भुट्टोको फाँसी विरुद्ध आन्दोलनको हुरीले व्यवस्था परिवर्तन गर्ने नेपाली विद्यार्थी आन्दोलन आज रूस–युक्रेन र इजराइल–प्यालेस्टाइन युद्धमा हजारौं निहत्था नागरिकले ज्यान गुमाउन बाध्य पारिंदा मूर्झाएको छ ।

शिक्षा नाफाको लागि होइन । न त यो कुनै विशेषाधिकार नै हो । यो त राज्यका हरेक नागरिकको मौलिक अधिकार हो । तर आज पनि देहातदेखि दूरदराजसम्म हजारौं बालबालिकाले स्कुल देख्न नपाउँदा कहींकतै एजेन्डा बनाएर बोलेको सुनिंदैन ।

निजी कलेजमा शुल्क तिर्न नसकेकै कारण परीक्षा दिन वञ्चित विद्यार्थी अखबारको हेडलाइन बनेपछि मात्रै थाहा पाउने विद्यार्थी नेताहरूको जमात ठूलो छ । समग्रमा विद्यार्थी आन्दोलन विद्यार्थी र शिक्षाका एजेन्डाबाट टाढा पुगेको छ । विद्यार्थी आन्दोलनले अब नयाँ ढंगले आफूलाई राजनैतिक, सामाजिक जीवनमा नउभिने हो भने यसको विघटन सायदै कसैले रोक्न सक्नेछ ।

अबको कार्यभार

हरेक संकटसँगै अवसरको ढोका पनि खुल्छ । निःसन्देह आजको विद्यार्थी आन्दोलन संकटोन्मुख छ । तर आजको विश्व व्यवस्थामा तमाम संकटहरूकै बीचमा विद्यार्थी आन्दोलनले आफ्नो भविष्य खोज्नुपर्छ । विज्ञान र प्रविधिको क्षेत्रमा सिर्जना भएका नयाँ सम्भावना र देखिएका चुनौती दुवैलाई समाजको हितमा कसरी सदुपयोग गर्न सकिन्छ भन्नेमा सबैभन्दा बढी जानकार विद्यार्थी संगठन हुनुपर्छ ।

आजको शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्ति आधारभूत शिक्षा (१२ कक्षाको परीक्षा) उत्तीर्ण हुनेवित्तिकै विदेश जान तयारी गर्न थाल्छ । किनभने, उसले देशमा कुनै सम्भावना नै देख्न सक्दैन । राज्य र परिवारले ठूलो लगानी गरेर तयार पारेको जनशक्तिमा आफ्नो ऊर्जाशील समय देश निर्माणमा भन्दा पनि विदेशमा सेवा गर्ने सोच आउनुमा हाम्रो शिक्षा प्रणालीमा गम्भीर समस्या छ भन्ने हो ।

व्यावहारिक जीवनमा उपयोगी हुने शिक्षा प्रणाली निर्माणमा आजको विद्यार्थी आन्दोलनले भूमिका खेल्नुपर्ने हो । तर विद्यार्थी संगठनको नेतृत्व पछिल्लो समय यस्ता एजेन्डाबाट पूरापूर विमुख छ । लामो समयसम्म विश्वविद्यालयको चौरमा गफ चुटेर बसेको त्यो पुस्ता अहिले आएर एक प्रकारले बेकार जस्तो बन्न पुगेको छ । जसले न कुनै उपयोगी सीप सिकेको छ न त विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकास बारे नै कुनै जानकारी राखेको छ ।

जबकि आर्टिफिसियल इन्टेलिजेन्स लगायत विज्ञान, प्रविधिमा आएको नवीनतम परिवर्तनले ल्याउने अवसर र चुनौतीबारे विद्यार्थी आन्दोलन साइबर आर्मीको रूपमा परिचालित भएर समाजलाई सकारात्मक दिशानिर्देश गर्न सक्नुपर्ने हो ।

जलवायु परिवर्तनले गर्दा पृथ्वीको तापमान अहिलेसम्मकै उच्च अङ्क २०.९६ डिग्री पुगेको छ । उच्च तापमानले गर्दा हिउँ पग्लने क्रम तीव्र बनेको छ । जसले गर्दा हिमालहरू कालापहाडको रूपमा कुरूप देखिन थालेका छन् । समुद्रमा पानीको मात्रा बढेर टापुहरू डुब्ने क्रममा छन् । हिमपहिरोले गर्दा बस्तीहरू बाढीसँगै बगेका छन् र ठूलो पैमानामा धनजनको क्षति मानव समुदायले व्यहोर्न बाध्य छ ।

विभिन्न अध्ययनले वायु प्रदूषणका कारणले विश्वमा ११.६५ प्रतिशत मानवको मृत्यु हुने गरेको देखिन्छ । जलवायु परिवर्तनले निम्याएको यो संकट निप्ट्याउनका लागि क्लाइमेट एक्टिभिस्टको रूपमा विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेल्न सक्छ । आजको पूँजीवादी व्यवस्थाले निम्त्याएको असमानता, चरम उपभोक्तावादी मानसिकता, हामीभन्दा पहिला म भन्ने भावना समाजका लागि झनै डरलाग्दो बनिरहेको छ । यसलाई चिर्नका लागि विद्यार्थी संगठनहरूले सचेततापूर्वक पहलकदमी लिन सक्छन् ।

अखिल क्रान्तिकारीको जिम्मेवारी

माओवादी युद्धको आलोकमा गठन भएको अखिल क्रान्तिकारी यी सबैखाले समस्यालाई सम्बोधन गर्न सक्ने एक शक्तिशाली संगठनका रूपमा देखा परिरहेको छ । जसरी सदियौंदेखि देशको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक र शैक्षिक प्रणालीको समग्र परिवर्तनको लागि संघर्ष गर्‍यो, त्यसैगरी क्रान्तिकारीले बाँकी कार्यभार पनि पूरा गर्न सक्छ ।

यो देशमा समाजमा पिछडिएका वर्गको अधिकार र समानता प्राप्तिसँगै जातिवाद, वर्ग विभेद, लैंगिक भेदभाव जस्ता सामाजिक असमानतासँग जुध्ने एक मात्रै अग्रगामी संगठन अखिल क्रान्तिकारी हो । राजतन्त्रले लादेको अत्याचार र दमनका विरुद्ध युद्धमा सशक्त भूमिका निभाएर नेपाली जनताको स्वतन्त्रता, लोकतन्त्र र अधिकारको रक्षा गर्ने संगठन पनि अखिल क्रान्तिकारी नै हो ।

अखिल क्रान्तिकारी नै त्यो संगठन हो जसले शिक्षामा सबैको समान हक हुन्छ भनेर लड्यो । शिक्षा प्रमाणपत्र प्राप्त गर्नका लागि होइन, जीवनउपयोगी व्यावहारिक हुनुपर्छ भनेर लड्ने संगठन पनि अखिल क्रान्तिकारी नै हो ।

अहिलेको सन्दर्भमा विद्यार्थी संगठन भनेका मुख्य पार्टीका दासहरूको जमघट जस्तो भइरहेका बेला अखिल क्रान्तिकारीले चिर्ने काम गरेको छ । जसका कारण पार्टीबाट अलग नभएको सन्दर्भमा पनि वर्तमान शिक्षा प्रणालीका समस्या र चुनौतीको समाधान गर्न नयाँ विधि अपनाउने विद्यार्थी संगठन पनि अखिल क्रान्तिकारी बनेको छ ।

हामीले राजनीतिको विधि नै बन्न नसक्ने उमेरको हद लगाउने अभ्यास गर्नुका पछाडि नयाँ पुस्ताको शिक्षा प्रणाली र यसका आवश्यकता बोध नै मुख्य कारण हो । नयाँ पुस्ता, नयाँ सिर्जनासँग बढी परिचित हुन्छ । उसैले नयाँ खालका चुनौतीलाई पनि बुझिरहेको हुन्छ । त्यस्तो अवस्थामा त्यसको समाधान पनि नयाँ पुस्तालाई नै दिनसक्छ भनेर हामीले हाम्रो संगठनमा लामो समयदेखि भूमिका खेल्नुभएको उमेरले केही वरिष्ठलाई बिदाइ गर्ने साहस गरेका छौं ।

त्यो कुनै राजनीतिक स्वार्थ वा प्रतिशोधका कारण गरिएको होइन । अहिलेको विद्यार्थी आन्दोलनलाई आवश्यक नेतृत्व तयार गर्नका लागि गरिएको हो । अखिल क्रान्तिकारीको यही नेतृत्वले नेपालको विद्यार्थी आन्दोलनसँगै समाजका नयाँ आयामलाई पहिल्याएर परिवर्तनको अविच्छिन्न संवाहक बन्नेछ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School