प्रकाशित मिति : कार्तिक ७, २०८१ बुधबार
बुधबार ११ औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
समुन्द्री सतहबाट तीन हजारदेखि पाँच हजार पाँच सय मिटर उचाइँ बीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्ने हिउँ चितुवा ठूलो प्रजातीको विरालो हो । हिउँ चितुवाको उपस्थितिलाई स्वच्छ पर्यावरणको सूचकको लिइन्छ ।
हिउँ चितुवा स्वभाव र संरक्षणका कठिनाईबारे डब्लुडब्लुएफ नेपालका वाइडलाइफ बायोलोजिष्ट शंशाक पौडेलसँग गरिएको कुराकानीमा आधारित समाचार प्रस्तुत गर्दैछौं ।
‘हिउँ चितुवा एक्लै बस्न रुचाउँछ’
हिउँ चितुवा प्रायः एक्लै बस्न रुचाउँछ । हिउँ चितुवा लजालु प्रकृतिको भएकोले यसलाई देख्न एकदमै गाह्रो हुने डब्लुडब्लुएफ नेपालका वाइडलाइफ बायोलोजिष्ट शंशाक पौडेल बताउनुहुन्छ । हत्तपत्त मान्छे देखिन खोज्यो भने पनि हिउँ चितुवा तर्किन खोज्छ । हिउँ चितुवा उच्च भौगोलिक क्षेत्रमा पाइने भएकोले यसलाई देख्न गाह्रो हुने उहाँको बुझाइ छ ।
“हिउँ चितुवा एक्लै बस्न रुचाउने, यो एकदमै लजालु प्रकृतिको र देख्न एकदमै गाह्रो हुन्छ । यो पाउने भौगोलिक क्षेत्र पनि एकदमै अप्ठ्यारो छ ।”, उहाँ भन्नुहुन्छ, यो ठूलो स्वभावमा विचरण गर्ने एकदमै लजालू स्वभावको हुन्छ । हत्तपत्त मान्छे देखिन खोज्यो भने पनि तर्किन खोज्ने खालको हुन्छ ।”
हिउँ चितुवाले हिमाली क्षेत्रमा बस्ने मानिसहरुले पालेको घरपालुवालाई बढी आक्रमण गर्ने गर्छ । मानिसहरुले पालेका गोठमै पुगेर आक्रमण गर्ने पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हिउँ चितुवाले मानवीक्ष क्षति गरेको, मानिसलाई आक्रमण गरेको छैन् । बरु, यसले हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरुले पालेको वस्तुभाऊमा चाहीँ आक्रमण गर्ने गरेको छ । गोठमै पसेर वस्तुभाऊको क्षति गर्ने बढी समस्या छ ।”
यसबाहेक हिमाली क्षेत्रमा पाइने मृग, नाउर, झारल लगायतका पशुमाथि हिउँ चितुवाले शिकार गर्ने र आहाराको रुपमा खाने उहाँको भनाइ छ ।
हिउँ चितुवाको आनीबानी अरु ठूलो प्रकारको विरालोको जस्तै हुन्छ । हिउँ चितुवा १८ देखि २२ महिनासम्म माऊसँगै बस्छ । वयस्क भइसकेपछि माऊ छुट्टिएर आफै नयाँ स्थानमा जान्छ । यसको गर्भ धारण १०० दिनको आसपासमा हुने पौडेल बताउनुहुन्छ ।
संरक्षणका ४ कठिनाइ
हिउँ चितुवाको संरक्षणमा भने व्यापक चुनौती देखिएको छ ।
१. जलवायु परिवर्तन
जलवायु परिवर्तन हिउँ चितुवाको संरक्षणमा पहिलो चुनौतिको रुपमा देखा परेको छ । पृथ्वीको तापक्रम बदलिरहँदा यसको प्रभाव हिउँ चितुवाको बासस्थान र आहारमा देखिएको हो । मौसम परिवर्तन भइरहँदा खोेला नालाहरु कहिले घट्ने, कहिले बढ्ने लगायतका कारणले हिउँ चितुवालाई जोगाउन समस्या देखिएको उहाँ बताउनुहुन्छ ।
“जलवायु परिवर्तनले पृथ्वीको तापक्रम बदलिरहँदा पानी पर्ने चक्रहरु बिथोलिएकोे छ । मौसम परिवर्तन हुने चक्रहरु बिथोलिएको छ । खोेला नालाहरु कहिले घट्ने, कहिले बढ्ने भइरहेको छ ।”, उहाँ भन्नुहुन्छ, “त्यसले गर्दा खेरी हिउँ चितुवाको बासस्थान र आहार प्रजातीमा पनि असर पुर्याएको छ ।”
२. भौतिक पूर्वाधार निर्माण
वाइडलाइफ बायोलोजिष्ट पौडेलका अनुसार भौतिक पूर्वाधार निर्माणको कामहरुले समेत हिउँ चितुवाको बासस्थानलाई क्षयिकरण गरेको छ । मोटर बाटोहरु खन्ने लगायतका कामहरुले चितुवालाई एउटा बासस्थानदेखि अर्को बासस्थानमा जान समेत समस्या देखिएको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, “भौतिक पूर्वाधार निर्माणको कामहरुले पनि यसको बासस्थानमा क्षयिकरण भएको छ । बाटोहरु खन्ने लगायतका कामले हिउँ चितुवालाई एउटा बासस्थानदेखि अर्को बासस्थानमा जान समस्या देखिएको छ ।”
उहाँ भौतिक निर्माणका कामहरु गर्दा वन्यजन्तुलाई असर नपर्ने गरि गर्नुपर्नेमा जोड दिनुहुन्छ । मानिस र हिउँ चितुवा दुवैलाई फाइदा पुग्ने गरि काम गर्न सके दुबैको हित हुने उहाँ बताउनुहुन्छ ।
३. चोरी शिकारी
हिउँ चितुवाको छालाको लागि यसलाई मार्ने तथा छाला बेचबिखन गर्ने कामले पनि हिउँ चितुवाको संरक्षणमा चुनौती देखिएको उहाँको भनाइ छ । “चोरी शिकारीले पनि हिउँ चितुवालाई प्रत्यक्ष प्रभाव पारेको छ । हिउँ चितुवाको छालाको लागि यसलाई मार्ने, छालाको बेचबिखन गर्ने जस्तो खालको गतिविधिले हिउँ चितुवालाई जोगाउनै कठिन पर्ने गर्छ ।”, उहाँले भन्नुभयो ।
४. प्रतिशोध
मानिसहरुको प्रतिशोधले समेत हिउँ चितुवा जोगाउन कठिन परेको उहाँ बताउनुहुन्छ । घर पालुवा पशुलाई आक्रमण गरेको प्रतिशोधमा मानिसले पनि हिउँ चितुवालाई पासो थाप्ने लगायतका गतिविधिले यसको संरक्षणमा चुनौती बढेको छ । प्रतिशोधले कारण मरेको जनावरमा विष हालिँदिने, जाल थाप्ने लगायतका कारणले पनि हिउँ चितुवालाई जोगाउन कठिन परेको हो । पौडेल भन्नुहुन्छ, “घर पालुवा पशुलाई आक्रमण गरेको रिसले मान्छेले पासो थापिदिने, मारेको सिनोहरुमा विष हालिँदिने जस्ता गतिविधिले हिऊ चितुवालाई असर पुयाईरहेको छ ।”
संरक्षणमा एकजुट हुनु जरुरी
वाइडलाइफ बायोलोजिष्ट पौडेल हिउँ चितुवालाई दिगो रुपमा संरक्षण गर्न हिउँ चितुवा पाइने ठाउँहरुमा स्थानीय समूहहरुसँग मिलेर काम गर्नुपर्ने बताउनुहुन्छ । हिउँ चितुवा पाइने ठाउँ हेरेर र त्यहाँका समस्या पहिचान गरेर त्यसलाई समाधान सरकार, सरोकारवाला निकाय र स्थानीय समूह एकजुट हुनुपर्ने उहाँको बुझाइ छ ।