वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड


३० वैशाख, काठमाडौं । बायोकेमेस्ट्रीका नेपालकै पहिलो विद्यावारिधी तथा चल्तापुर्जा प्राध्यापक । अनि,  नेपालमै पहिलो अनुसन्धान बायोकेमेस्ट्रीको अनुसन्धान प्रयोगशाला पनि खोलेका ।

यत्तिको शैक्षिक योग्यता हासिल गरेको एउटा बाबुले आफ्नो छोरालाई भविष्यमा के बनाउने भनेर सोच्ला ?

स्वाभाविक रुपमा छोराले आफ्नो बिँडो थामोस् भन्ने उत्कट चाहना हुन्छ  । त्यही चाहना पूरा गर्न उनले छोरालाई बायोकेमेस्ट्री नै पढाउन अमेरिका पठाउने निधो गरे ।

छोरा आज्ञाकारी थिए, बाबुको आज्ञा शिरोपर गर्दै उनी अमेरिका गए र  बायोकेमेस्ट्री पढ्न थाले ।

दीलिप अग्रवाल ।

तर, बायोकेमेस्ट्री पढेका छोराले उनको बिँडो थामेनन् । बरु सूचना प्रविधि क्षेत्रका व्यवसाय शुरु गरे र नेपालकै ठूलो आईटी कम्पनी बनाए ।

अहिले जसका बारेमा चर्चा गरिँदैछ, त्यो बायोकेमिस्ट पिताका बायोकेमिस्ट छोराले नै बनाएको नामी कर्पोरेट ‘ब्रान्ड’ हो, जसले स्थापनाको तीन दशकमै सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा ठूलो ‘प्रोफाइल’ बनाउन सफल भएको छ ।

ब्रान्ड र मूल्यका हिसाबमा यो कम्पनी अहिले अर्बौंको बनिसकेको छ, जसलाई सुरु गर्दा एउटा मोडेम र कम्प्युटर मात्र सम्पत्तिका रूपमा थियो ।

हो, यो ‘वर्ल्डलिंक’ को जीवन्त कथा हो । बाबु प्राडा विश्वनाथप्रसाद अग्रवाल र उनका छोरा दीलिप अग्रवालको कथा ।

०००

दीलिप अमेरिका बसेर पढिरहेका थिए । नौलो ठाउँ, दुई–चार दिन त रमाइलै भयो । केही दिनपछि उनलाई घरपरिवारको यादले सताउन थाल्यो । नेपालमा रहेका बुबाआमासँग कुरा गर्न मन लाग्यो । तर, सजिलो माध्यम थिएन । टेलिफोन अत्यन्तै महँगो पथ्र्यो । त्यसो हुँदा महिनौंसम्म घरमा सम्पर्क हुँदैनथ्यो । यो उनका लागि ठूलो समस्या भइदियो ।

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड

यो सन् १९९० दशकको शुरुतिरको कुरा हो । त्यसबेला ईमेल तथा इन्टरनेट आविष्कार भए पनि अमेरिकामै यो दुर्लभ थियो । नेपालमा ईमेल तथा इन्टरनेट हुनु त महादुर्लभ नै थियो । विश्वविद्यालयहरूमा फाट्टफुट्ट यसको प्रयोग हुन्थ्यो ।

दीलिपका दाइ कम्प्युटर साइन्सका विद्यार्थी थिए अमेरिकामै । उनले ईमेलको एउटा सर्भर बनाएका थिए । दाइलाई उनले ‘नेपाल गएर ईमेल जडान गर्नुस्, ताकि घरमा सम्पर्क गर्न सजिलो होस्’ भनेर अनुरोध गरे ।

नेपालमा ईमेल सुरु गर्न पाए आफूजस्तै विदेशमा रहेका अरू धेरै नेपालीलाई सजिलो हुन्छ भन्ने उनलाई लाग्यो ।

तर, उनका दाइ नेपाल फर्किन तयार भएनन् । त्यसपछि त्यो ‘आइडिया’ मा काम गर्नुपर्छ भनेर दीलिप आफैं कम्मर कसेर अगाडि बढे ।

विश्वविद्यालयमा बायोकेमेस्ट्री पढिरहेका दीलिप त्यसपछि ईमेल र इन्टरनेटले कसरी काम गर्छ भन्ने अध्ययन गर्न थाले ।

विश्वविद्यालयमा उनी तेस्रो वर्षमा अध्ययन गरिरहेका थिए । पढाइ सकेपछि के गर्ने भन्ने खुल्दुली पनि थियो । त्यही क्रममा उनी नेपालमा ईमेल सेवा सुरु गर्ने निष्कर्षमा पुगे ।

उनले त्यसबेला बायोकेमेस्ट्री अनुसन्धान गरी ‘थेसिस’ लेख्न ३५ सय डलर (त्यसबेलाको विनिमयदर अनुसार १ लाख ७० हजार रुपैयाँ) ‘रिसर्च ग्रान्ट’ (अनुसन्धान अनुदान) पाएका थिए । त्यसबाट उनले बायोकेमेस्ट्री अनुसन्धान गर्नुपर्ने थियो ।

तर, उनले त्यो पैसाले एकेक थान कम्प्युटर र मोडेम किने । अनि, सिधै नेपाल हान्निए । र, सुरु गरे– ईमेल सेवा । यो सन् १९९५ को कुरा हो ।

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड

तर, दीलिपले ईमले सेवा सुरु गर्नुभन्दा एक वर्षअघि नै नेपालमा मर्कन्टाइल अफिस सिस्टमले इमेल सेवा सुरु गरिसकेको थियो । मर्कन्टाइलले सन् १९९३ मा नेपालमा पहिलोपटक इमेल शुरु गर्दा भारतको दिल्लीमा फोन गरेर इमेल पिकअप र ड्रप गर्ने गरिएको मर्कन्टाइलका संस्थापक सञ्जीव राजभण्डारी सम्झन्छन् ।

‘त्यसबेला नेपालको आफ्नै एनपी (np) डोमेन थिएन । शुरुमा भारत आईएन (in) को डोमेन चलायौँ । त्यसपछि केही समय अष्ट्रेलियाको एयू (au) डोमेन पनि चलायाैं,’ नेपालमा कसरी इमेल तथा इन्टरनेट सेवा शुरु भयो भन्नेबारे राजभण्डारी सम्झन्छन्, ‘हामीलाई सेवा दिइरहेको अष्ट्रेलियाली कम्पनीले तिमीहरुको देशको डोमेन रहेनछ । शुरु गर्ने भन्यो । हामीले त्यस विषयमा केही कुरा बुझेका थिएनौँ । तर हुन्छ भनेर एपी डोमेन शुरु गर्‍यौ ।’ त्यसपछि भने मर्कन्टाइलले mos.com.np मार्फत सन्  ईमेल सेवा दिइरहेको थियो ।

दीलिपले वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि नामको कम्पनी दर्ता गरे र wlink.com.np  मार्फत ईमेल सेवा दिन थाले । त्यसबेला न मानिसहरू ईमेलबारे जानकार थिए, न यस्तो व्यवसाय दर्ताको प्रबन्ध नै थियो । त्यसो हुँदा मर्कन्टाइल कम्युनिकेसन्स टेलिफोन बुथ (पीसीओ) का रूपमा दर्ता भएको थियो ।

त्यसबेला ईमेल चलाउन इन्टरनेट चाहिन्नथ्यो । टेलिफोन लाइनमा मोडेम जडान गरेर इमेल सेवा प्रयोग गर्न मिल्थ्यो । संसारभरि नै यही प्रविधि प्रयोगमा थियो ।

‘टेलिफोनको डायलअप मार्फत ‘किरकिर’ आवाज निकाल्दै डेटा ट्रान्सफर हुन्थ्यो,’ दीलिप सम्झिन्छन्, ‘त्यसले टेक्स्टलाई ध्वनिमा परिवर्तन गरेर पठाउँथ्यो र अमेरिकाको केन्द्रीय सर्भरमार्फत जसले पाउने हो, यसको ठेगानामा पुर्‍याउँथ्यो ।’

त्यतिबेला टेलिफोन लाइन लिन पनि अत्यन्तै गाह्रो थियो । त्यसमाथि एउटा लाइन लिन ३० हजार रुपैयाँ खर्च लाग्थ्यो । त्यति धेरै पैसा आफूसँग नभएकाले दीलिप ईमेलका लागि नयाँ लाइन लिनतिर लागेनन् । बुबाले ल्याबका लागि लिएको लाइनलाई उनले ईमेल सेवामा प्रयोग गरे ।

उनीहरू ईमेल जडान गरेको एउटा निश्चित शुल्क लिन्थे । त्यसपछि ईमेल आदान प्रदान गर्दाको शुल्क लिन्थे– डेटाका आधारमा ।

‘ईमेल पठाएको तथा पाएकोमा प्रतिकेबीपीएस १० रुपैयाँ लिन्थ्यौं,’ दीलिप भावुक हुन्छन्, ‘हामीभन्दा पहिले ने मर्कन्टाइलले यो दर निर्धारण गरिसकेको थियो । हामीले त्यही दरमा काम गर्‍यौं । त्यो अहिलेको तुलनामा दसौँ गुणा महँगो हो । तर, पनि मानिसहरूले मन पराए ।’

त्यसबेला हुलाक तथा फ्याक्स मार्फत मात्रै सूचना तथा चिठीपत्र आदान–प्रदान हुने गरेकोमा अब ईमेल आयो । र, यो चाँडै नै नेपालमा लोकप्रिय भयो । यो एक अत्यावश्यक सेवा बन्दै गयो ।

खासगरी, नेपालमा कार्यालय भएका अन्तर्राष्ट्रिय नियोग, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) तथा गैरसरकारी संस्था (एनजीओ), पर्यटन व्यवसायी र शिक्षण संस्थामा ईमेल प्रयोग निकै बढ्यो ।

मर्कन्टाइलको ईमेल जडान गर्न भने उसकै अफिसमा कम्प्युटर लगिदिनुपथ्र्यो । तर, दीलिपले भने ग्राहकको घर तथा कार्यालयमै गएर ईमेल जडान गरिदिन थाले । घर–कार्यालयमै सेवा पाएपछि मानिसहरूले वर्ल्डलिंकलाई मन पराए ।

तर, उनको पढाइ सकिएको थिएन । उनी ईमेलको त्यति काम गरेर फेरि अमेरिका फर्किए । नेपालमा दुई दाजुभाइलाई साझेदार बनाइ कम्पनी जिम्मा लगाएर दीलिप अमेरिका उडे । तर, उनीहरूमध्ये कसैलाई पनि यसको प्राविधिक विषयमा जानकारी दिएन । त्यसो हुँदा ईमेलमा केही समस्या आयो, ग्राहकको गुनासो आयो भने त्यो समाधान गर्न सक्दैनथे ।

त्यसो हुँदा दीलिप दिनभरि पढ्थे । रातभरि अमेरिकाबाटै नेपालको काम गर्थे । अमेरिकामा रात हुँदा नेपालमा दिन हुने भएकाले ‘रिमोट वर्किङ’ मार्फत वर्ल्डलिंकमा आउने समस्या समाधान गर्थे ।

एक वर्षको पढाइ सकिने बित्तिकै दीलिप एक दिन पनि अमेरिका बसेनन् । तुरुन्तै नेपाल फर्किए ।

उनी फर्किंदा वर्ल्डलिंकका ग्राहक ७–८ सय पुगिसकेका थिए । उनी आएपछि थप विस्तार भयो ।

उनले ईमेल सेवा थाल्दा ‘यो पनि व्यवसाय होला’ भन्ने एकरति सोचेका थिएनन् । दीलिपलाई सुरुवातदेखि नै मनोज अग्रवाल र विजय जलानले व्यावसायिक साथ दिँदै आएका थिए । वर्ल्डलिंकको विस्तारमा महत्वपूर्ण खम्बा यी दुई साझेदारमध्ये जलानको कोभिडका कारण निधन भयो ।

‘वास्तवमा मलाई व्यवसाय गर्नु नै थिएन । त्यो एउटा प्रयोग थियो । आफूले परिवारसँग सम्पर्क गर्न नपाएकाले यस्तो समस्या अरूले पनि भोगेका होलान्, उनीहरूलाई पनि मद्दत होला भन्ने थियो,’ दीलिपलाई पुराना दिन सम्झिँदा रमाइलो लाग्छ, ‘त्यसबेला ईमेल सेवासम्बन्धी कानुनी व्यवस्था नै थिएन, अनुमति लिन पान्थेन । तर, त्यो चलाउनु कानुनी रूपमा मिल्ने कुरा हो कि होइन भन्ने पनि थाहा थिएन । यो सबै थाहा पाएको भए यो काममा हात हाल्थिन होला ।’

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड

अनि, सुरु भयो वर्ल्डलिंक

उनको त्यही ‘अनजानपन’ वा ‘मुर्खता’ ले सुरु भएको वर्ल्डलिंक आज ३० अर्ब रुपैयाँभन्दा अधिक मूल्यको कम्पनीका रूपमा ठडिएको छ ।

तर, बिस्तारै ईमेल सेवाले व्यवसायको आकार ग्रहण गर्न लागेको थियो । त्यसबेला संसारभरि इन्टरनेट सेवा लोकप्रिय भइरहेको थियो । नेपालमा पनि यसको माग बिस्तारै बढ्न थाल्यो ।

पहिले ईमेल सेवा दिइरहेको मर्कन्टाइलले सन् १९९५ को जुलाइमा सिंगापुरसँग जोडेर पहिलो पटक नेपालमा इन्टरनेट सेवा शुरु गरेको राजभण्डारी सम्झन्छन् ।

प्रतिस्पर्धीले इन्टरनेट सुरु गरेपछि वर्ल्डलिंकलाई पनि त्यसमा जान दबाब बढ्यो । ‘इन्टरनेट सेवा सुरु गर्न ‘लिज लाइन’ लिनुपर्थ्यो, त्यो लिएर मर्कन्टाइलले पूर्ण इन्टरनेट सेवा सुरु गर्‍यो, त्यसपछि हाम्रा ग्राहकले पनि यसको माग गर्न थाले,’ उनी सम्झिन्छन् ।

लिज लाइन लिएर इन्टरनेट सुरु गर्न महिनाको ६ देखि ७ लाख रुपैयाँ खर्च हुन्थ्यो । त्यसमध्ये ४ लाख नेपाल टेलिकमले लिन्थ्यो, बाँकी विदेशी कम्पनीलाई भुक्तानी गर्नुपथ्र्यो ।

त्यसो हुँदा, त्यति ठूलो रकम लगानी गर्ने हिम्मत दीलिपले गर्न सकेनन् । तर, इन्टरनेट सेवा दिन सुरु नगरे आफ्ना ग्राहकलाई टिकाउन नसकिने अवस्था सिर्जना भयो ।

उनी आफूले काम गरिरहेको विदेशी कम्पनीसँग यसबारे कुरा गरे । उसले ६ महिनापछि भुक्तानी गर्ने गरी लिज लाइन दिन सहमत भयो । यता टेलिकमले पनि सेवा लिएको दुई–तीन महिनापछि बिल काट्थ्यो । त्यसो हुँदा उनीसँग ग्राहकसँग पैसा उठाएर टेलिकम तथा विदेशी सेवा प्रदायकलाई दिन सक्ने अवस्था बन्यो ।

र, त्यसपछि लगत्तै उनले लिज लाइन लिएर इन्टरनेट सेवा सुरु गरे, १९९७ जुनमा । ईमेलजस्तै इन्टरनेट सेवा पनि लोकप्रिय भयो ।

१९९८ सम्म नेपालमा दूरसञ्चार तथा इन्टरनेट सेवा नियमन थिएन । त्यसबेलासम्म ईमेल र इन्टरनेट सेवामा मर्कन्टाइल र वर्ल्डलिंक गरी दुइटा मात्रै कम्पनी थिए । उनीहरूलाई १९९७ मा सूचना तथा सञ्चार मन्त्रालयले अनुमतिपत्र दिएको थियो ।

१९९८ मा दूरसञ्चार प्राधिकरण स्थापना भएपछि उसले नियमन पनि सुरु गर्‍यो, लाइसेन्स पनि दियो । नेपालको इन्टरनेट र दूरसञ्चार क्षेत्रमा प्राधिकरण स्थापना एउटा कोसेढुङ्गा नै हो ।

त्यसलगत्तै प्राधिकरणले आईएसपीहरूलाई भिस्याट जडान गरी विदेशी सेवा प्रदायकबाट इन्टरनेट लिन सक्ने अनुमति पनि दिएको थियो । यो सेवा पनि शुरुमा मर्कन्टाइलले शुरु गर्‍यो । त्यसको केही समयपछि नै वर्ल्डलिंकले शुरु गरिहाल्यो ।

त्यसबेलासम्म डायलअपको युग थियो । त्यसो हुँदा इन्टरनेट कम्पनीहरूले नेटवर्कमा लगानी गर्नुपर्थेन । यस्ता कम्पनी टेलिकमको नेटवर्क प्रयोग गरेर सेवा दिइरहेका थिए । संसारभरि नै यस्तै चलिआएको थियो ।

तर, त्यो समय संसारका अन्य मुलुक डायलअप इन्टरनेटबाट अघि बढिसकेका थिए । आईएसडीएन, एडीएसएल लगायत अलि छिटो इन्टरनेट चल्ने प्रविधि आइसकेका थिए । त्यो कुरा नेपालका इन्टरनेट प्रयोगकर्ताले पनि मागिरहेका थिए ।

यसबीच अन्य आईएसपी समेत आए । नेपाल टेलिकम आफैंले सन् २००० मा इन्टरनेट सेवा थाल्यो । अर्थात्, आईएसपीहरूसँग टेलिकमकै प्रतिस्पर्धा हुन थाल्यो ।

त्यसपछि भने टेलिकमले आईएसपीहरूको काममा बाधा–अवरोध सिर्जना गर्न थालेको दीलिप सुनाउँछन् ।

‘त्यसबेला नेपाल टेलिकम शतप्रतिशत सरकारी लगानीको संस्थान नै थियो, कम्पनीमा रूपान्तरण भएको थिएन । त्यसो हुँदा स्वाभाविक रूपमा कामको गति सुस्त थियो,’ उनी भन्छन्, ‘तर, आफैंले इन्टरनेट सेवा सुरु गरेपछि भने लिज लाइन सेवा आपूर्ति नगर्ने, शुल्क अत्यधिक लिने, केही समस्या आयो भने समयमा समाधान नगर्ने आदि गर्न थाल्यो ।’

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड
दीलिप अग्रवाल ।

तीव्र गतिको इन्टरनेट नेटवर्क विस्तार गर्न एडीएसएल प्रविधि आएको थियो । त्यसबेला संसारभरि नै लोकप्रिय र प्रमाणित प्रविधि यो मात्रै थियो । वास्तवमा, त्यसबेला यो मात्रै एउटा विकल्प थियो तीव्र गतिको इन्टनरनेटको ।

‘त्यसका लागि नेपाल टेलिकमको तार प्रयोग गर्नुपथ्र्यो, तर उसले नदिने,’ दीलिप भन्छन्, ‘प्राधिकरणले शुल्क लिएर आईएसपीहरूलाई पनि त्यो तार प्रयोग गर्न दिनुपर्छ भन्ने निर्णय गर्दा पनि टेलिकमले दिएन ।’

ग्राहकसँग पुग्ने भरपर्दाे कुनै नेटवर्क भएनन् । त्यसपछि आईएसपीहरू आफैंले नेटवर्क विस्तार गर्न धेरै प्रयोग गरे । तर, ती कुनैमा पनि सफल भएनन् । ‘हामीले सडकमा तार बिछ्यायौं, घरघरमा ‘फिक्स्ड वायरलेस’ जडान गरिदियौं, तर ती कसैले काम गरेनन्,’ उनी थप्छन् ।

सन् २००६/०७ तिर संसारभरि ‘वाइम्याक्स’ भन्ने प्रविधि लोकप्रिय भयो । आईएसपीहरूले त्यो सेवा सञ्चालनका लागि फ्रिक्वेन्सी मागे, तर सरकारले दिएन ।

टेलिकमले वाइम्याक्सका लागि फ्रिक्वेन्सी पायो । तर, उसले त्यसलाई राम्रोसँग चलाउन सकेन ।

१९९८ मै अनुमति पाएको भिस्याट माध्यमबाट तीव्र गतिको इन्टरनेट सस्तोमा भित्र्याउन समस्या थिएन । अझै सन् २००७ मा वर्ल्डलिंक र मर्कन्टाइल दुवै सँगै मिलेर भारतको एअरटेलबाट फाइबर अप्टिकमा आधारित इन्टरनेट ल्याउन थालेका थिए ।

तर, त्यो तीव्र गतिको इन्टरनेट ग्राहककहाँ पुर्‍याउन भने निकै सकस बेहोर्नुपर्‍यो ।

‘वास्तवमा त्यो समय आईएसपीहरूका लागि निकै चुनौतीपूर्ण थियो । यही बेला हो, नेपालमा धेरै आईएसपीहरू बन्द भएका । नेपालमा मात्रै होइन, भारत र अन्य मुलुकमा पनि यही अवस्था थियो,’ दीलिप सम्झिन्छन् ।

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड

व्यवसायबाटै बाहिरिने सोच !

आईएसपीको व्यवसायले यति ठूलो चुनौती सामना गरिरहँदा दीलिपलाई पनि शुभचिन्तकहरूले अन्यत्रै लगानी गर्न सुझाव दिएका थिए । यति पैसा र मिहिनेत अन्त लगाएको भए धेरै ठूलो व्यवसाय हुन्थ्यो भन्ने उनलाई पनि लाग्थ्यो ।

त्यही बेला वर्ल्डलिंकले पछ्याउँदै आएको पायोनियर कम्पनी मर्कन्टाइलले पनि ग्राहकमा आधारित इन्टरनेट सेवा दिन बन्द गर्‍यो ।  र विशिष्टीकृत इन्टरनेट मात्रै दिन थाल्यो । इन्टरनेट सेवा चुस्त रुपमा सञ्चालन गर्न अप्ठ्यारो त थियो नै । ‘त्यसबेला इन्टरनेट सेवा प्रदायकले भीओआईपी चलाएर राज्यलाई घाटा पारे भन्ने हल्ला हुन्थ्यो । कुनै ग्राहकले हामीसँग इन्टरनेट लिएर भीओआईपी चलायो भने पनि हामीलाई नै दोष आउने हुन थालेपछि यो अपचसे काम नगरौँ भनेर हामीले बन्द गर्‍यौँ । तर, दीलिपले त्यस्तो अवस्थामा पनि डटेर अघि बढ्यो । इन्टरनेट सेवामा उसको प्रतिबद्धता प्रसंशायोग्य छ,’ राजभण्डारी भन्छन् ।

तर, ईमेल र इन्टरनेट सेवा दिने काम उनले व्यवसायका लागि भनेर सुरु गरेकै थिएनन् । यो उनको ‘प्यासन’ थियो, एक हिसाबले अम्मल नै बनिसकेको थियो । त्यसो हुँदा जस्तोसुकै कठिन परिस्थितिमा पनि उनले यो काम छाडेनन् ।

त्यसमा पनि सन् २०१२ मा राजस्व अनुसन्धान विभागले वर्ल्डलिंकमा करछली आरोपमा छापा मार्‍यो । त्यसबाट उनले थप हन्डर खानुपर्‍यो ।

विभागका तत्कालीन महानिर्देशकले रिसइबी साँध्न कम्पनीमाथि छापा मार्ने लगायत काम गरेको चर्चा त्यसबेला भएको थियो ।

‘त्यसबेला यस्तो परिस्थिति बन्यो कि कम्पनी बन्द गर्ने कि हिम्मत साथ सेवा स्तरोन्नति गर्नैपर्ने अवस्था आयो,’ उनी भन्छन् ।

त्यो बिन्दुमा दीलिपले निर्णय गरे– कम्पनीको सेवा अपग्रेड गरेर जाऔं एकपटक ।

त्यसअघि नै वर्ल्डलिंकले विभिन्न ठाउँमा तामाको तार बिछ्याएर इन्टरनेट पुर्‍याएको थियो, त्यसको अपग्रेड थालियो ।

‘कपर नेटवर्क अपग्रेड गरेर हामीले नेपालमा पहिलोपटक १० एमबीपीएसको इन्टरनेट दिन थाल्यौं, यो छोटो समयमा नै लोकप्रिय भयो,’ उनी भन्छन्, ‘तर, उनीहरूलाई थाहा थियो, यो पनि दीर्घकालीन रूपमा भरपर्दो समाधान होइन ।’

त्यसो हुँदा विश्वासिलो सेवा दिने हो भने विश्वस्तरीय नेटवर्क बनाउनुपर्छ भन्ने निष्कर्षमा दीलिपहरू पुगे । त्यसपछि २०१३ मा भैरहवामा फाइबर नेटवर्क परीक्षण सुरु गरे ।

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड

‘पाइलटिङका रुपमा सुरु गरिएको फाइबर नेटवर्क सफल भयो, राउटर लगायत महँगो थियो तर सेवा छिटो र भरपर्दो भयो,’ दीलिप भन्छन्, ‘त्यसपछि हामीले सम्पूर्ण नेटवर्कलाई फाइबरमा लैजाने निर्णय गर्‍यौं ।’ र, काठमाडौंमा उनीहरूले अप्टिकल फाइबर बिछ्याउन थाले ।

त्यसबेलासम्म कम्पनीले जति कमायो, त्यही रकम लगानी थप्दै उनीहरू अघि बढेका थिए । सन् २००४ तिर बैंकबाट सानो ऋण लिएका थिए । तर, देशभरि अप्टिकल फाइबर बिछ्याउन सानोतिनो लगानीले हुँदैनथ्यो । त्यसका लागि बैंकबाट १ अर्ब रुपैयाँ ऋण लिए ।

‘त्यति ठूलो ऋण ठूलै मुटु बनाएर लिएका थियौं, लगानी अनुसार व्यवसाय विस्तार नहुँदा कम्पनी टाट पल्टिएर हामी सडकमा पनि पुग्न सक्थ्यौं,’ दीलिप सम्झिन्छन्, ‘सफल हुँदा यो अर्बौंको व्यवसायमा पुर्‍याउन सकिन्थ्यो । त्यो एक हिसाबले ‘ग्याम्बलिङ’ नै थियो ।’

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड

उनको रणनीतिले काम गर्‍यो । इन्टरनेट सेवामा दुई दशकको उनको अनुभवले त्यसमा योगदान दियो । वर्ल्डलिंकको लोकप्रियता चुलियो, व्यवसाय आकासियो ।

‘जुनबेला नेपालीले डेटाको उपभोग बढाउँदै लगेका थिए, त्यही बेला हामी फाइबरमा गएछौं, त्यहीबेला भिडियोमा आधारित एपहरू, युटुब, टिकटक लगायतको लोकप्रियता पनि बढ्दै गयो,’ दीलिप भन्छन्, ‘त्यसका लागि तीव्र गतिको इन्टरनेट चाहिन्थ्यो ।’

वर्ल्डलिंकपछि अन्य आईएसपी पनि अप्टिकल फाइबरमा गए । तर, अब भने नेपाल टेलिकम ढिला भयो । एडीएसएलमै रमाइरहेको टेलिकम २०१५ बाट फाइबर सेवामा गयो । तर, विस्तार भने सुस्त भयो ।

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड

यसरी भित्र्याए लगानी

वर्ल्डलिंक विस्तारसँगै दीलिपलाई थप लगानी चाहियो । तर, उनले यसपटक ऋण होइन, लगानी भित्र्याए । सन् २०१९ मा बेलायतको सरकारी लगानीको ‘ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट’ (बीआईआई) ले वर्ल्डलिंकमा १ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेर १० प्रतिशत हिस्सा लियो ।

दोस्रो चरणमा बीआईआई र डोल्मा इम्प्याक्ट फन्डले २०२१ मा पुनः लगानी थपे । र, थप १ अर्ब ९८ करोड रुपैयाँ लगानी भएपछि कम्पनीको कुल विदेशी लगानी ३ अर्ब ३३ करोड रुपैयाँ पुग्यो । यी दुई विदेशी लगानीकर्तासँग हाल १६.१५ प्रतिशत सेयर छ ।

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड

र, बन्यो नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक

करिब तीन दशकको अथक मिहिनेतपछि आज वर्ल्डलिंक नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ ।

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड

‘फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट’ सेवाको २८ प्रतिशत बजार हिस्सा वर्ल्डलिंकको छ । नेपालको कुल इन्टरनेट ट्राफिकको ३५ प्रतिशत वर्ल्डलिंकसँग छ । देशका ७७ मध्ये ७३ जिल्लामा यसको नेटवर्क विस्तार भइसकेको छ ।

हाल वर्ल्डलिंकको फिक्स्ड ब्रोडब्यान्डका करिब ९ लाख लाइन जडान भएका छन्, वार्षिक आम्दानी साढे १० अर्ब पुगेको छ । ५ हजार ३ सय कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

कम्पनीको मूल्यांकन अहिले ३० अर्ब रुपैयाँबराबर छ । २०१६ मा सुरु गरिएको आईपीटीभी (नेटटिभी) का ग्राहक नै ४ लाख ८० हजार पुगेका छन् ।

‘आज पनि मलाई कति मूल्यको कम्पनी बन्यो, कति कारोबार पुग्यो भन्ने कुरा महत्त्वपूर्ण लाग्दैन,’ दीलिप उत्साहित हुँदै भन्छन्, ‘हाम्रो सेवाले एउटा ग्राहकको जीवनस्तरमा कति सघायो भन्ने महत्त्वपूर्ण लाग्छ ।’

स्कुल पढ्दा नै उनले महाभारत तीनपटक पढेका थिए, जसले उनलाई आस्तिक बनायो । भवगानले हरेक व्यक्तिलाई एउटा प्रयोजनका लागि पृथ्वीमा पठाउँछन् भन्ने विश्वास उनलाई लाग्छ ।

उनी भन्छन्, ‘नेपालको कुना–कुनामा द्रूत गतिको इन्टरनेट पुर्‍याउने मिसन दिएर भगवानले मलाई पठाउनुभएको जस्तो लाग्छ ।’

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड

उनलाई यो सेवामा डटिरहन भन्दा छाडेर जान सजिलो थियो । ‘तर हामी एकोहोरो भएर लागिरह्यौं, नाफा घाटा केही हेरेनौं,’ उनी भन्छन्, ‘त्यही त्यागले आज एउटा बिन्दुमा हामी पुगेका छौं ।’

आफूले धनी बन्न व्यवसाय नगरेको उनी बताउँछन् । ‘महाभारतले मलाई के सिकायो भने आफूले निर्वाह गर्ने कतव्य निर्वाह गर्नुपर्छ, बाँकी काम भगवानलाई छाडिदिनुपर्छ,’ उनी भन्छन्, ‘मैले धनी बन्न व्यवसाय गरेको होइन । तर, आफ्नो कर्तव्य पूरा गरिरहेकाले भगवानले केही पैसा पनि दिनुभयो जस्तो लाग्छ ।’

आफूसँगसँगै इन्टरनेट सेवामा निरन्तर लागेका दीलिप र उनका साझेदारहरु असाध्यै मेहनत गर्ने व्यवसायी भएको राजभण्डारी बताउँछन् । ‘उहाँहरु धेरै नै फोकस हुनुहुन्छ । उहाँहरुले प्राइमरी इन्टरनेटबाहेक केही गर्नुभएन, ३० वर्षदेखि यसैमा केन्द्रित हुनुभयो । यसलाई प्रसंशा गर्नुपर्छ,’ राजभण्डारीको मूल्यांकन छ । विभिन्न अवरोधका बाबजुद पनि कम्पनीले जसरी व्यवसाय विस्तार गर्‍यो त्यो अनुकरणीय रहेको राजभण्डारी बताउँछन् ।

तर, इन्टरनेट विस्तार गर्ने आफ्नो मिसन नसकिएको उनी बताउँछन् । वर्ल्डलिंकले अहिले कर्णालीमा फाइबर विस्तार गरिरहेको छ । ‘मलाई थाहा छ अहिले नै कर्णालीबाट पर्याप्त व्यवसाय आउँदैन, यो नाफामा जाँदैन । तर, अहिले जनताको सेवा गरेपछि भोलि व्यापार पनि होला भन्नेमा म विश्वस्त छु,’ उनी हौसिन्छन् ।

वर्ल्डलिंकको विस्तार अझै रोकिनेवाला छैन । कम्पनीले अझै लगानी थपेर सेवा विस्तार गर्दैछ । त्यसका लागि विदेशी लगानीकर्ताहरूसँग ३ देखि ५ करोड अमेरिकी डलर लगानी ल्याउने कुरा भइरहेको छ ।

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड

तर, नेपालको भौगोलिक अवस्थाका कारण फाइबर मार्फत मात्रै सबै ठाउँमा ब्रोडब्यान्ड पुर्‍याउन सकिन्न । त्यसो हुँदा आईएसपीहरूलाई पनि सरकारले रेडियो फ्रिक्वेन्सी दिनुपर्ने दीलिपको मत छ । तर, ‘स्पेक्ट्रम’ लिने प्रक्रिया स्पष्ट छैन ।

सरकारले यसमा बलियो निर्णय गर्नुपर्ने उनको मत छ । साथै, कम्पनीले डिजिटल पूर्वाधारमा पनि लगानी बढाउँदै लगेको छ । देशका विभिन्न ठाउँमा डेटा सेन्टर निर्माण गर्दैछ ।

‘सरकारले डिजिटल नेपाल बनाउने भनेको छ, त्यसको मेरुदण्ड इन्टरनेट हो, डिजिटल पूर्वाधार हुन् । हामी त्यो बनाउँछौं,’ दीलिप भन्छन्, ‘यसका लागि अन्य नीति र पूर्वाधार बनाउने काम सरकारको हो, अर्थतन्त्रका अन्य क्षेत्रको हो ।’

वर्ल्डलिंक : एउटा कम्प्युटरबाट सुरु, ३० वर्षमा ३० अर्बको ब्रान्ड

तस्वीर/भिडियो : शंकर गिरी       





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School