वन विनाश र अत्यधिक कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तनले मानव अस्तित्वलाई नै धरापमा पार्न लागेको सन्दर्भमा जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा नै राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्ष समेत रहने प्रधानमन्त्री ओलीले नेपालमा वनको क्षेत्रफल ३० प्रतिशतमा झार्नुपर्ने र बाघको संख्या घटाएर १५० वटामा सीमित गर्नुपर्ने अस्वाभाविक र अनौठो अभिव्यक्ति दिनुले वातावरण संरक्षणप्रति चासो राख्ने समुदायलाई चिन्तित तुल्याएको छ ।
जलवायु परिवर्तनका मुख्य कारक तत्त्वहरूमध्ये २० प्रतिशत वन जंगल विनाश र खस्कँदो वनको अवस्था हो । नेपाल जलवायु परिवर्तनको दृष्टिकोणबाट जोखिमपूर्ण देश भएकोले भूस्खलन वा पहिरो, बाढी, डुबान, अत्यधिक गर्मी, सुख्खा एवं खडेरी जस्ता जोखिमको सामना गर्नुपर्नेछ ।
त्यसैले यस्तो जोखिमलाई न्यूनीकरण गर्न तथा सुरक्षित हुन वन, वन्यजन्तु र जलाधार क्षेत्र संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बेलामा देशको नेतृत्व गर्ने नेता र दलको मुखियाले उल्टै वन विनाश र बाघको शिकारको कुरा गर्नुले ‘विनाशकाले विपरित बुद्धि’ भने झैं भएको छ ।
नेपालले जलवायु परिवर्तनका जोखिमबाट बच्नका लागि वातावरणमैत्री भौतिक संरचना, वातावरणमैत्री बस्ती, शहर, जैविक कृषि प्रणालीको विकास, हिमाली तथा पहाडी भागमा पशुपालन र जडीबुटी खेती, चुरेलाई अति संवेदनशील क्षेत्रको घोषणा, उपत्यका र तराईलाई कृषि, उद्योग, बस्तीका लागि छुट्याएर वैज्ञानिक भू–उपयोगिता प्रणाली लागू गर्दै व्यवस्थित गर्ने हो भने नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ जलवायु परिवर्तनको जटिल परिस्थितिबाट पनि जुध्न सक्ने क्षमता विकास गर्न सक्दछ ।
बहुचर्चित विदुर नीतिमा भनिएको छ-
न स्याद् वनमृते व्याघ्रान् व्याघ्रान् स्युरिते वनम् ।
वनम् रक्षति व्याघ्रान् व्याघ्रान् रक्षति काननम् ।।
अर्थात् बाघलाई वन चाहिन्छ र बाघ भए वन रहन्छ भन्ने हो । यो नीतिमा महात्मा विदुरले पाण्डवहरूलाई बाघको उपमा दिएर अन्धा राजा धृतराष्ट्रलाई नीति सिकाइएको विषय हो । महात्माको आशय थियो—पाण्डव भनेका बाघ हुन् उनीहरूलाई बस्ने कुनै ठाउँ उपलब्ध हुनुपर्दछ । उनीहरूले आफ्नो स्थान पाएनन् भने त्यसले संकट निम्त्याउँछ ।
चुरेको विनाश गरेका कारण तराईमा संकट आयो । पाण्डवको रूपमा बाघलाई धृतराष्ट्र र उनका भजनमण्डलीले स्थान नदिंदा महाभारतको भीषण युद्धमा सम्पूर्ण कौरवहरूको विनाश भयो ।
समुद्रमा जहाजको झण्डा देखिन छोड्यो भने त्यो जहाज डुब्यो भन्ने बुझिन्छ । प्राकृतिक सन्तुलनको सूचक वा झण्डा प्रजाति (फ्ल्यागसिप स्पेसिज्) तराई तथा चुरेमा बाघ, पहाडमा चितुवा र हिमाली क्षेत्रमा हिउँ चितुवा हराउनु भनेको त्यहाँको वातावरण असन्तुलनको संकेत र सन्देश हो ।
प्राकृतिक वातावरणमा बाघको संरक्षण र व्यवस्थापन भएन भने प्राकृतिक सन्तुलन कायम हुँदैन । जसको परिणामस्वरूप देशमा महाभारत युद्ध जस्तै बाढी, पहिरो, डुबान, नदी कटान, सुख्खा एवं खडेरी, अत्यधिक गर्मी, अनावृष्टि जस्ता भीषण संकट निम्तिन्छन् । यो देशका नेता तथा अभियन्ता होइनन् त्यसमा नासिने भनेको ‘को मर को मर नेपाली नागरिक मर’ हुन् ।
त्यस्तै नीति पद्यमा बताइएको छ-
अयं निजः परो वेती गणना लघुचेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।।
बाघ र मानिस मिलेर बस्ने वातावरण सृजना गर्नु हामी सबैको दायित्व हो । केही घटनाका आधारमा हामीले वन र बाघ संरक्षण जस्तो अहम् विषयमा निर्णय गर्दा ‘तातै खाउँ जल्दी मरौं गर्नुहुँदैन ।’
अर्थात् सानो चित्त भएका मानिसहरूले मात्रै यो मेरो भाइबन्धु, परिवार, गुट, इष्टमित्र हो अरू पराइ भन्ने सोच्दछन् । विशाल हृदय भएका व्यक्तिहरूले संसारका सम्पूर्ण मानिस, चराचर प्राणी र वनस्पतिलाई पनि आफ्नो मित्र वा बन्धुबान्धव हुन् भन्ने ठान्दछन् । प्रजायन्ते इति प्रजाः अर्थात् राज्यको भूगोलभित्र मानिस, प्राणी, वनस्पति जो जन्मछन् तिनीहरू सबै नागरिक सरह हुन् ।
श्रीमद्भागवतम् १.१२.४ मा बताइएको छ—सम्राट युधिष्ठिरले आफ्नो राज्य कालमा सबैमाथि उदारतापूर्वक शासन चलाउनुभयो भने उहाँ नागरिकका पिता तुल्य हुनुहुन्थ्यो । उहाँमा कुनै व्यक्तिगत चाहना वा आकांक्षाहरू थिएनन् । त्यस्तै श्रीमद्भगवद्गीता २.६९ मा भगवान् बताउनुहुन्छ— या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी अर्थात् जुन समय सर्वसाधारण मानिस निदाएको हुन्छ, त्यस बखत मुनि जागृत रहेको हुन्छ ।
मुनिले विचार गर्दछ—प्रकृतिको सन्तुलनको विषय भने सर्वसाधारणको सोच हुन्छ कि कसरी रूख काटेर आफ्नो आवश्यकता पूरा गरौँ, बाघ मारेर पैसा कमाऊ भनेर । तसर्थ, नेता र अभियन्ताहरू मुनि बन्ने कि सर्वसाधारण वा अन्धो धृतराष्ट्र जस्तो बन्ने यो विचार गर्नु पर्ने विषय हो ।
बाघ, बाँदर, रतुवा, चितुवा, प्रकृति, संस्कृति, मान्छेका लागि हो । बाघ बाघको लागि होइन । बाघ संरक्षण प्रकृति सन्तुलनको सूचक प्रजाति हो । प्रकृति संरक्षण मान्छेका लागि हो । हाम्रा भावी सन्ततिलाई बाघ देखाउन हो, संरक्षणमा हामीले विश्वमा नाम कमाएका छौं आदि तर्कको बाघ संरक्षणमा कुनै तुक छैन । बाघ संरक्षण मान्छेको लागि हो र मान्छे बाघको शिकार होइन ।
हाम्रा भावी सन्ततिको सुरक्षित भविष्यका लागि बाघ संरक्षण चाहिन्छ । यही तर्क नै वन, बाघ र प्रकृति संरक्षणको अचूक तर्क हो, सत्य हो । विश्वका मान्छेले हामीलाई के भन्छन् भन्ने तर्कको केही अर्थ छैन । हामीले विश्वलाई देखाउनका लागि बाघ संरक्षण गर्नु मूर्खता हो । बाघ हाम्रो समुन्नति, सुरक्षा, सुखी जीवन र भावी सन्ततिको सुन्दर भविष्यका लागि हो ।
वन, बाघ प्रकृतिले हामीलाई दिएका उपहार हुन् । हाम्रो जस्तो भू–बनोट भएको देशमा हिमालमा हिउँचितुवा, पहाडमा चितुवा (वेदमा भनिएझै चित्र व्याघ्रा अर्थात् थोप्ले बाघ) र तराई, भित्रीमधेश, दुनमा रहेको पाटेबाघ नै हाम्रो जीउधन, कृषिभूमि, भौतिक संरचना, गाउँबस्ती र शहरको सुरक्षाको रक्षाकवच हुन् । यसैको संरक्षणबाट हाम्रो भविष्य सुरक्षित र समुन्नत हुनेछ ।
प्रकृति विनाश भए मानव अस्तित्व संकटमा पर्छ भन्ने वैज्ञानिक तथ्य हुँदाहुँदै वन, बाघ, प्रकृति संरक्षण गर्नु ढुङ्गेयुगमा फर्कने कुरा गरेको होइन । बाघ प्रकृतिको उपज हो, प्रकृति सन्तुलनको सूचक हो । बाघ नहुँदा बाघलाई केही फरक पर्दैन । बागमतीमा माछा नहुँदा माछालाई केही फरक परेको छैन । काठमाडौंका बासिन्दालाई फरक परेको छ ।
बागमतीको माछा र धनुषाका बाघले मर्ने बेलामा कवि शिरोमणि लेखनाथको कविता चरीको विलापमा झैं ‘म मर्ने हूँ मर्छु तर तिमी नराम्रोसँग चुक्यौ’ भनेर गएका छन् । साँच्चै बागमती स्वच्छ भयो भने माछा पौड्ने दिन आउनेछ त्यो दिन काठमाडौं स्वच्छ भएको घोषणा माछाले गर्नेछ । धनुषा, सिरहा, झापा, इलाम, सर्लाही, महोत्तरी, रौतहट, सप्तरी जहाँ चुरे विनाशका कारण बाघ नहुँदा बाघलाई केही फरक परेको छैन ।
चुरेको तल्लोतटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई पिउनका लागि जलको अभाव, सिंचाइको अभावमा कृषि उत्पादन घट्दो क्रम रहेको छ । सुख्खा, खडेरी, डुबान, नदीको चौडाइ बढेर कृषि भूमि मरुभूमिकरण हुँदै गएको छ । पानीको अभावमा तराईका बासिन्दा काकाकुल भएका छन् ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको भूमिका अहम् रहँदै आएको छ । सन् २०१९ को अध्ययन अनुसार नेपालमा स्वदेशी तथा विदेशी समेत ४५ प्रतिशत र ६० प्रतिशत विदेशी पर्यटकले निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, नदी, जलाशय, वन–जंगलमा भ्रमण गर्दछन् । यसबाट १० लाख मानिसले रोजगारी पाएका छन् भने ८० प्रतिशत रोजगारी सुदूर ग्रामीण भेगका नागरिकले पाएका कारण उनीहरूको जीविकोपार्जनमा टेवा पुगेको छ ।
आर्थिक वर्ष २०७८/७९ देखि नेपालमा भुुक्तानी सन्तुलन देखिनुको मुख्य कारणमध्ये रेमिट्यान्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी र प्रत्यक्ष वैदेशिक लगानीमा भएका सुधार हुन् । ‘न रहे बाँस न बजे बासुरी’ भने जस्तै वन, वन्यजन्तु, वातावरण मासेर प्रकृतिमा निर्भर पर्या–पर्यटन उद्योग ध्वस्त भयो भने देशको विकास गर्छु भन्नेहरूले कताबाट गर्ने हो विकास ? ग्रामीण समुदायको आयआर्जनको मुख्य स्रोत पशुपालनका लागि चरन र आहारको मुख्य स्रोत पनि वन, जंगल र रूख–बिरुवा नै हुन् ।
श्रीमद्भगवद्गीता ९.१० मा भगवान् श्रीकृष्ण भन्नुहुन्छ-
मयाध्यक्षेण प्रकृतिः सुयते सचाराचरम् ।
हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते ।।१०।।
महाभारत युद्धको एउटा सिकाइ यो पनि हो, सह-अस्तित्वमा बाँचौं भन्ने सिद्धान्त विपरीत चल्ने धृतराष्ट्र जस्तो अन्धोको अनुकरण गरेर महाभारत युद्धमा जस्तै सर्वनाश हुने कि प्रकृति सन्तुलनको सबालमा चिन्ता गर्ने मुनि बन्ने यो भने हाम्रो आफ्नै हातमा छ
अर्थात् हे कुन्तीपुत्र ! यो भौतिक संसार मेरो निर्देशनअनुसार काम गर्ने मेरै एउटा शक्ति हो । त्यही शक्तिले गर्दा यी सम्पूर्ण चर–अचर प्राणीहरू उत्पन्न हुन्छन् र त्यसैका शासनमा रहेर यो जगत्को बारम्बार उत्पत्ति र विनाश हुन्छ । भगवान्द्वारा अध्यक्षता गरिएको प्रकृतिको विनाश गर्ने भनेको आसुरी विचार हो । जो भगवान्को सुरमा चल्दछ त्यो सुर र जो भगवान्को नियम विपरित हिंड्छ त्यो असुर हो ।
प्रकृतिको विनाशलाई रोक्ने कुरामा लाग्दैनन् भने धर्मको ठेक्का लिएकाहरू पनि आसुरी विचारमा समाहित भएको प्रष्ट हुन्छ । उनीहरू प्रकृति संरक्षणको पक्षमा उभिएको कहिल्यै देखिदैन, बरू प्रकृतिको अनधिकृत दोहन गर्न उद्यत भएका थुप्रै दृष्टान्त रहेका छन् ।
जोगी साधु बस्ने जंगलमै हो भन्ने तर्क गर्ने हो भने पनि त जंगल जोगाउने अभियानमा लाग्नुपर्दछ ।
गोलोक वृन्दावनधामवासीले सधैं जलका देवता इन्द्रदेवको पूजाआजा गर्दै आएकोमा बालगोपाल भगवान् श्रीकृष्णले आफ्ना पिता र सम्पूर्ण वृन्दावनवासीलाई इन्द्रदेवले पानी दिनु, सूर्यदेवले प्रकाश एवं ताप दिनु, चन्द्रदेवले प्रकाश तथा शीतलता दिनु, वायुदेवले पवित्र वायु दिनु उहाँहरूको कर्तव्य हो । गोवर्धन पर्वतले हामीलाई आवश्यक पर्ने काठ, दाउरा, जल, फल, जडीबुटी, तरकारी, पशुको आहार घाँसपात, स्याउलासोत्तर दिएकी छिन् त्यसैले हामीले उनको पो पूजा गर्नुपर्दछ भन्नुभयो ।
तसर्थ पनि कुनै पनि धार्मिक संघ–संस्था, साधु, सन्त, स्वामी, महन्त, ब्राह्मण, पण्डित, द्विज र आस्तिक व्यक्तिले भगवान्को उपदेश अनुसार गोवर्धन पर्वत रूपी हिमाल, पहाड र चुरेको संरक्षण गर्नुपर्दछ । सूर्यदेव, चन्द्रदेवको पूजाका लागि धुमधाम गर्ने तर गोवर्धन पर्वतलाई विनाश गर्ने कुचेष्टा निरन्तर चलिनैरहेको छ ।
विश्वमा सबैभन्दा बढी लोकप्रिय कुनै जनावर छ भने त्यो बाघ नै हो । यसको अलौकिक सुन्दरता, गठिलो शरीर, राजषी स्वाभाव, मै हूँ भन्नेलाई पनि ढाल्न सक्ने हिम्मत र साहसको प्रतीक साँच्चै बाघ जंगलको राजा हो । यदि बाघ मार्छु भन्यौ भने कतिपय विदेशी पर्यटक नेपालमा भ्रमण गर्न आउँदैनन् ।
श्रीमद्भागवतम् १२.२.८ मा भविष्यवाणी गरिएको छ-
प्रजा हि लुब्धै राजन्यैनिर्घृणैर्दस्युधर्मभिः ।
आच्छिन्नदारद्रविणा यास्यन्ति गिरिकाननम् ।।८।।
अर्थात् निर्दयी र धूर्तहरू शासकको भेषमा आएर नागरिकहरूलाई अति नै यातना दिने हुनाले मानिसहरू बाल–बच्चा, जग्गाजमिन, घर, धनसम्पत्ति र आफन्त त्यागेर पर्वत र जंगलतिर जानेछन् । भोट पाएर जितेका नेताहरू अधिकांश लुब्धै राजन्यैः अथवा लोभी सरकारी व्यक्ति हुनेछन् । यसको ज्वलन्त उदाहरण यो देशको राजनीति, अर्थनीति र प्रकृतिको विनाशका कारण रोजगारीको अभावमा मानिसहरू विस्तारै बाहिरी देशतर्फ पलायन हुँदै गइरहेका छन् ।
मान्छे खान पल्केको बाघलाई पक्रन वा मार्न सक्ने कानूनी व्यवस्था स्थानीय प्रशासन ऐन, २०२८ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ रहेको छ । समस्याग्रस्त देखिएमा तत्कालै त्यस्ता बाघ, चितुवाहरूलाई पक्रेर विगत २० वर्षदेखि नै खोरमा थुनेर राखिंदै आइएको छ । केही छिटपुट घटना बाहेक घटनास्थलको वस्तुगत एवं तथ्यगत अनुसन्धान गर्ने हो भने अधिकांश द्वन्द्वका घटना मानवीय त्रुटि, लापरबाही, बेवास्ता, कमजोरी र बाध्यताका कारण भएका छन् । तर बाघलाई बदनाम बनाइएको छ । पहाडमा मानव–चितुवा द्वन्द्व हुँदा पनि बाघकै नाम आउँछ । ‘बैतडीमा बाघ आयो बाघले बाखरी खायो ।’
विगत चार वर्षमा देशभरिमा ३८ जना मानिसको बाघको आक्रमणबाट मृत्यु भएको छ भने विगत पाँच वर्ष सडक दुर्घटनाबाट मात्रै १२ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । एउटै हवाई र सडक दुर्घटनामा दर्जनौं यात्रुको मृत्यु हुँदा हामीले हवाईमैदान बन्द गर्दैनौं भने सडक भत्काउँदैनौं । तर सुरक्षित र आरामदायी यात्राको प्रत्याभूति दिने उपाय अवलम्बन गर्दछौं । हत्या–हिंसा, बाढीपहिरो, डुबानबाट नागरिकको जीउधनको रक्षा गर्ने उपाय अवलम्बन गर्दछौं । बाघ र मानिस मिलेर बस्ने वातावरण सृजना गर्नु हामी सबैको दायित्व हो । केही घटनाका आधारमा हामीले वन र बाघ संरक्षण जस्तो अहम् विषयमा निर्णय गर्दा ‘तातै खाउँ जल्दी मरौं गर्नुहुँदैन ।’
बाघ विनाश गरे के हुन्छ ? तराई र मधेश प्रदेशको बेहाल हुन्छ । न पिउने पानी, डुबानले न बस्ने बास, न बाँच्ने आश रहन्छ । केहीले तर्क गर्दा रहेछन् चुरे बेचे के हुन्छ ? अहिलेको चुरेको दोहनले त तराईको हाल बेहाल छ भने त्यसको उत्खनन् गरे के होला ? चुरेका केही थुम्का भारतले किन्ला भन्ने लोभ होला, केही नेपालको भौतिक संरचना निर्माण गर्न प्रयोग गरेर देश विकास हुन्छ भन्ने सोच होला तर त्यसले पुर्याउने क्षतिले उर्वर कृषि भूमि र आधा जनसंख्या बसोबास गर्ने तराई सम्पूर्ण ध्वस्त एवं विनाश हुनेछ ।
चितवन जिल्लामा माडी उपत्यकाका दक्षिणको सोमेश्वर पहाड, माडी उत्तरको चुरे र चितवन उपत्यकाको उत्तरमा गरी तीन वटा तहमा चुरे फैलिएको छ । जहाँ–जहाँ बाघ पाइन्छ त्यहाँको चुरे सन्तुलित भएको हुँदा भूक्षय भूस्खलनमा न्यूनीकरण, तल्लोतटीय क्षेत्रमा नदी कटान, डुबान मरुभूमिकरण भएको छैन भने पानीको सञ्चिति बढेको कारण हिउँदमा पानीको सतत आपूर्ति भएको छ । तसर्थ चितवन राष्ट्रिय निकुञ्ज र यसको वरपर जम्मा १२८ बाघ रहेकोमा चितवनमा चुरेको वातावरणीय सन्तुलन कायम गर्ने हो भने चितवन जिल्लाको वन क्षेत्रमा मात्रै १५५ भन्दा धेरै बाघ संरक्षण गर्नुपर्दछ । यसका आधारमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका ३६ वटा प्रत्येक जिल्लामा १५५ को हाराहारीमा बाघको संख्या पुर्याउनुपर्दछ ।
श्रीमद्भागवतम् १.१७.१४ मा राजा परीक्षित भन्नुहुन्छ-
जनेऽनागस्यघं युञ्जन् सर्वतोऽस्य च मद्भयम् ।
साधूनां भद्रमेव स्यादसाधुदमने कृते ।।१४।।
अर्थात् यस संसारमा निरपराध जीवहरूलाई यदि कसैले कष्ट पुर्याउँदछ भने ऊ विश्वमा जहाँसुकै होस् प्रकृतिसँग डराउनुपर्दछ । प्रकृति नाश गर्ने दुष्टहरूको दमन गर्नाले निरपराध व्यक्तिलाई स्वतः लाभ हुने गर्दछ । अमेरिकाले समेत कावुमा ल्याउन नसक्ने सामथ्र्य प्रकृतिमा छ भन्ने कुरा हालैको अमेरिकाको वन डढेलोले प्रष्ट पारेकै छ । यो सम्पूर्ण जगत् र यहाँका सम्पूर्ण मानिस, प्राणी तथा वनस्पति प्रकृतिको अधीनमा छन् । भौतिक विकास मात्रै मानव अस्तित्व र हितका लागि पर्याप्त छैन ।
पुत्रमोह र राज्यसत्ताको लोभले नेत्रहीन धृतराष्ट्रलाई ज्ञानहीन बनाइदिए झैं प्रकृति सन्तुलनको गहन विषयलाई त्यागेर यो देशका प्रधानमन्त्री ओलीले पनि क्षणिक लोकप्रियताको लोभले उचित र अनुचितको विवेक गुमाउन पुगे । उनको त्यो विचारबाट प्रकृति संरक्षणमाथि अत्याचार हुनगयो । महाभारत युद्धको एउटा सिकाइ यो पनि हो, सह-अस्तित्वमा बाँचौं भन्ने सिद्धान्त विपरीत चल्ने धृतराष्ट्र जस्तो अन्धोको अनुकरण गरेर महाभारत युद्धमा जस्तै सर्वनाश हुने कि प्रकृति सन्तुलनको सबालमा चिन्ता गर्ने मुनि बन्ने यो भने हाम्रो आफ्नै हातमा छ ।
(कुँवर पूर्व संरक्षणकर्मी हुन् । कुँवरले रारा, सगरमाथा, चितवन र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयमा काम गरेका छन् ।)