‘ओ सिल्भिया, सिल्भिया,
तिमी एक्लै कसरी गयौं
मृत्युको त्यो गर्तमा,
जहाँ म पनि जान चाहिरहेकी थिएँ, धेरै लामो समयदेखि….’
‘सिल्भियाको मृत्यु’ शीर्षक दिएर कवि तथा लेखक एनी सेक्टनले कविता कोरेकी थिइन्, सिल्भिया वितेको केही दिनपछि। उक्त कवितालाई शोक गीतका रूपले पनि लिइने गरिन्छ। त्यस कवितामा सेक्टनले साथी तथा कवि सिल्भिया प्लाथको आत्महत्या र आफ्नो मृत्युप्रतिको लालसालाई केन्द्रबिन्दुमा राखेकी छिन्।
एउटै शहरमा बस्ने भए तापनि ‘सिल्भिया प्लाथ’ र ‘एनी सेक्टन’को भेट पहिलो पटक सन् १९५८ मा एउटा राइटिङ्ग प्रोग्राम मार्फत भएको थियो। उनीहरू अक्सर एकअर्कासँग आफ्ना मानसिक अवस्था तथा पीडाको बारेमा कुरा गर्थे। आत्महत्याको चाहना बारे कुरा गर्थे। आफूलाई जँचाइरहेका चिकित्सकका बारेमा कुरा गर्थे। मृत्युको बारेमा कुरा गर्थे। उनीहरू धेरै समय निराशा तथा उदासीको बारेमा कुरा गर्थे।
सिल्भिया आफ्नो पति तथा लेखक-कवि टेड ह्युजेजसँग छुट्टिएर बस्न थालेको ६ महिना भइसकेको थियो। सिल्भियाले थुप्रै पटक आफूलाई मार्ने प्रयास गरिन् तर सकिनन्। जब सन् १९६३ मा सिल्भियाले आफ्नो टाउकोलाई ओभनमा राखेर आत्महत्या गरिन्, एनी सेक्टन भयभीत भइन्। उनले ‘सिल्भिया’बाट आफूले धोका पाएको महसुस गरिन्। उनी भन्ने गर्थिन्, ‘हामी दुवै डिप्रेसनसँग लडिरहेका थियौं। मृत्यु भए पनि सँगै होस् भनी कामना गर्थौं। तर, उनी एक्लै गइन्। उनले मेरो मृत्युलाई पनि खोसेर गइन्।’ सिल्भियाले देहत्याग गरेको एघार वर्षपछि एनी सेक्टनले पनि मृत्युलाई रोजिन्, आत्महत्या गरेर।
नोवेल र पुलित्जर पुरस्कार विजेता लेखक अर्नेस्ट हेमिङ्वेलाई धेरैले आफ्नो शताब्दीको सबैभन्दा ठूला र महान् लेखक भनेर भन्ने गर्छन्। देख्नेलाई लाग्थ्यो, उनको जीवन पनि उनको प्रतिभा जत्तिकै महान् छ। उनले आत्महत्याको बाटो रोजे
सिल्भियाका पति टेड ह्युजेज अनुवादक तथा विज्ञापनकर्ता एसिया वेभिलसँग बस्न थालेका थिए। उनीहरूको एउटा छोरी पनि जन्मिएकी थिइन्- शूरा। मान्छेहरूले यस्तो पनि भन्ने गर्थे, त्यो समयमा एसिया वेभिल सिल्भियाको छायाँमा बाँचिरहेकी थिइन्। सिल्भिया मरेको ६ वर्षपछि एसिया वेभिलले पनि मृत्युवरण गरिन्, आत्महत्या गरेर। उनले आफूसँग चार वर्षीय छोरी शूरालाई पनि लिएर गइन्, मृत्युलोकमा। टेड ह्युजेज र सिल्भियाबाट दुई सन्तान भएका थिए। उनीहरूको कान्छा छोरा निकोलस ह्युजेजले पनि आफूलाई ४७ वर्षको उमेरमा झुण्ड्याएर मारे। उनी पनि लामो समयदेखि डिप्रेसनसँग जुधिरहेका थिए। सायद सिल्भियाले आफूसँग अभिशाप बोकेर आएकी थिइन्, जुन सबैतिर सर्दै थियो, विस्तारै।
भनिन्छ, लेखनी आफैंमा ‘सिजोफ्रेनिया’ (एक प्रकारको मानसिक रोग) को अर्को रूप हो। लेख्दा शारीरिक भन्दा मानसिक थकान ज्यादा हुन्छ। लेख्न समय लाग्दैन। तर, के लेख्ने भनेर सोच्न समय लाग्छ। लेख्दा आफ्नो वेदना बाहेक आफूले जन्माएका पात्रहरूको दशालाई पनि बोकेर बाँच्नुपर्छ। यसरी मानसिक भार थपिंदै जान्छ।
स्वीडेनका कारोलिन्स्का इन्स्टिच्युटका अनुसन्धानकर्ताका अनुसार, लेखकहरू अक्सर आफ्ना पात्रहरूलाई, ‘सिजोफ्रेनिया’, ‘डिप्रेसन’, ‘बाइपोलार डिसअर्डर’, ‘एन्जाइटी सिन्ड्रोम’ तथा अन्य मानसिक रोगहरूबाट ग्रसित भएको बनाउने गर्छन् अथवा त्यस्तो रूपमा प्रस्तुत गर्ने गर्छन्। साधारण मान्छेहरूको तुलनामा लेखकहरू दोब्बर रूपमा सुसाइडल हुने गर्छन्। अध्ययनले यो पनि भनेको छ, मानसिक तनाव तथा रोगसँग जुधिरहेकाहरूको निकट प्राय: रचनात्मक क्षेत्रमा काम गर्ने मान्छेहरू नै हुने गर्छन्।
आत्महत्याले सधैं ‘किन?’ भन्ने प्रश्न आफ्नो पछाडि छाडेर जान्छ। सतहलाई हेरेर त्यसले बोकेको गहिराइलाई हामी कहिल्यै नाप्न सक्दैनौं।
नोवेल र पुलित्जर पुरस्कार विजेता लेखक अर्नेस्ट हेमिङ्वेलाई धेरैले आफ्नो शताब्दीको सबैभन्दा ठूला र महान् लेखक भनेर भन्ने गर्छन्। देख्नेलाई लाग्थ्यो, उनको जीवन पनि उनको प्रतिभा जत्तिकै महान् छ। जब उनले आत्महत्याको बाटो रोजे, सबै स्तब्ध भए। आखिर किन ? प्राय: यस्ता प्रश्नहरूको जवाफले कहिल्यै निश्चितता प्रदान गर्न सक्दैनन्।
अर्नेस्ट हेमिङ्वे मानसिक र शारीरिक दुवै रूपमा कमजोर भइसकेका थिए। आफ्नो जीवनकालमा उनी मलेरिया, पेटको रोग, छालाको क्यान्सर, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल जस्ता व्यथाहरूको सामना गर्नुपरेको थियो। आत्महत्या गर्नुभन्दा केही वर्षअघि उनी दुईवटा छुट्टाछुट्टै विमान दुर्घटनामा परेका थिए, जसले उनको कलेजो, मिर्गौला, हातखुट्टा, काँध लगायत शरीरका विभिन्न भागमा चोट पुर्याएका थिए। ती दुर्घटनाहरूले उनको मस्तिष्कलाई ठूलो क्षति तथा आघात परेको थियो। मान्न सकिन्छ, उनी त्यो बेला भाग्यले बाँचेका थिए। त्यसपछि उनी मदिराको सहारा लिएर लामो समयसम्म पीडामा बाँचें।
भर्जिनिया वुल्फले पनि आफ्नो जीवन मानसिक तनावमा बिताइन्। उनलाई पनि कैयौंपटक मनोवैज्ञानिक उपचारका निम्ति अस्पतालमा भर्ना गरियो। आत्महत्याको दुईपटकसम्म कोसिस गरिन्। अन्त्यमा, कोटको गोजीभरि ढुङ्गाहरू राखेर आफूलाई खोलामा डुबाइन्।
हेमिङ्वे हेमोक्रोमेटोसिस (रगतमा आइरनको मात्रा बढ्नु) बाट पनि ग्रस्त थिए, जसले जोर्नी लगायत शरीरका अन्य नाजुक अंगहरूलाई असर गर्छ। त्यसले हृदय रोग, मधुमेह तथा डिप्रेसनलाई पनि निम्त्याउने गर्छ। हेमिङ्वेको परिवारमा पहिल्यैबाट हेमोक्रोमेटोसिस बगिरहेको थियो, जसले केही हदसम्म बयान पनि गर्छ, उनले किन आत्महत्या गरे भनेर। आत्महत्या अर्नेस्ट हेमिङ्वेले आफ्नो परिवारबाट पाएको भयानक विरासत हो भन्दा फरक पर्दैन। उनी सहित परिवारका अरू पाँच सदस्यले पनि आत्महत्या गरे; हजुरबुबा, बुबा, भाइ, बहिनी र नातिनी। लगभग सबै जना मधुमेह र डिप्रेसनसँग लडिरहेका थिए। केहीले त यो पनि भन्ने गर्छन्, उनको परिवारको पाँच जना नभएर सात सदस्यहरूले आत्महत्या गरेका हुन्।
मृत्यु हुनुभन्दा केही महिना अघिबाटै उनमा पागलपनका केही लक्षणहरू देखिन थालेका थिए। उनी उदास देखिन्थे। भ्रम मात्रै देख्थे। उनी लेख्न नसक्ने अवस्थामा पुगिसकेका थिए। सिल्भिया प्लाथ र एनी सेक्टनलाई झैं उनलाई पनि उपचारको लागि अस्पतालमा भर्ना गरियो। तर, उनको अवस्था झन् झन् बिग्रिंदै गइरहेको थियो। त्यसअघि उनले पनि थुप्रै पटक आत्महत्या गर्ने प्रयास गरेका थिए। अस्पतालबाट घर फर्किएको केही दिनमै हेमिङ्वेले आफ्नो टाउकोमा गोली हाने, हजुरबुबा, बुबा र भाइले जस्तै।
‘साइन्टिफिक अमेरिकिन’ले गरेको अध्ययनले कलाकार तथा लेखकहरू बाइपोलार डिसअर्डर (मेनियाक डिप्रेसिभ रोग) बाट पीडित हुने सम्भावना अरूभन्दा २० गुणा बढी रहेको बताएको छ। विगत तीस वर्षमा गरिएका सात विभिन्न अध्ययनहरूले ५ देखि ४० प्रतिशत लेखक तथा कलाकारहरूमा ‘बाइपोलार डिसअर्डर’ फेला पारिएको छ। तर, ‘युनिपोलार डिप्रेसन’ अथवा ‘मेजर डिप्रेसन’ भने उनीहरूमा १५ देखि ५० प्रतिशत रहेको पाइएको छ। यी दुवै अवस्थाहरू आत्महत्यासँग जोडिएका छन्।
सबैभन्दा डरलाग्दो तथ्य के हो भने, कलाकार तथा लेखकहरूमा साधारण जनसंख्याको तुलनामा १८ गुणा बढी आत्महत्या गर्ने सम्भावना रहने अध्ययनहरुले देखाएका छन्। आफ्नो कला अथवा सिर्जनालाई सिद्ध बनाउन जो-कोही मस्तिष्कको गर्तमा पुग्ने गर्छन्। त्यसैले हरेक रचनात्मक व्यक्तिहरूले आफ्नो जीवनकालमा डिप्रेसनको अनुभव गर्ने मानिन्छ। अध्ययनले यो पनि भन्छ, निराश अथवा उदासी अवस्थामा उनीहरूले आफ्ना रचना या विषयवस्तुलाई राम्रोसँग पहिल्याउन, संशोधन अथवा सम्पादन झन् छिटो र रचनात्मक तरिकाले गर्न सक्छन्। त्यो बेला उनीहरूको मस्तिष्क झनै केन्द्रित तथा एकीकृत हुने गर्छन्।
उदाहरूणको रूपमा महान् ब्रिटिश लेखक भर्जिनिया वुल्फलाई लिंदा पनि हुन्छ। उनले पनि आफ्नो जीवन मानसिक तनावमा बिताइन्। त्यही बीच हामीलाई केही सुन्दर र अद्भुत कृतिहरू पनि दिइन्। उनलाई पनि कैयौं पटक मनोवैज्ञानिक उपचारका निम्ति अस्पतालमा भर्ना गरियो। आत्महत्याको दुईपटकसम्म कोसिस गरिन्। अन्त्यमा, कोटको गोजीभरि ढुङ्गाहरू राखेर आफूलाई खोलामा डुबाइन्।
परिवारको इतिहास र विगतमा भएका दर्दनाक अनुभवहरू सिधै बाइपोलार डिसअर्डरसँग सम्बन्धित हुने गर्छन्। बाल्यकालका आघातहरूले मान्छेहरूलाई त्यो अवस्थासम्म ल्याउने गर्छन्, जसले गर्दा उनीहरू सुसाइडल बन्न पुग्छन्। भर्जिनिया वुल्फ पनि बाइपोलार डिसअर्डरबाट पीडित थिइन्। उनको मानसिक अवस्था सिधै परिवारसँग गएर जोडिन्छ। सानो छँदा उनलाई सौतेनी भाइहरूले नौ वर्षसम्म यौन दुर्व्यवहार गरेका थिए।
भर्जिनियाको परिवारलाई पछ्याउने हो भने, मानसिक रोगले उनको हजुरबुबाको समयबाट नै शिकार गर्दै आएको देखिन्छ। उनको हजुरबुबाको मृत्यु मानसिक अस्पतालमा भएको थियो। वुल्फका आमाबाबु दुवै मानसिक रोगबाट ग्रस्त थिए। उनको सौतेनी बहिनीले पनि आफ्नो जीवनको अधिकांश समय मानसिक अस्पतालमा बिताइन्। उनका तीन भाइहरूले पनि आफूसँग डिप्रेसनलाई लिएर हिंडिरहेका थिए। भर्जिनियाले पनि हेमिङ्वेले जस्तै मानसिक समस्या विरासतमा पाएकी थिइन्। तर ६ वर्षको कलिलै उमेरमा उनले यौन दुर्व्यवहार नभोगेको भए सायद उनी त्यो अवस्थासम्म पुग्ने थिइनन्। उनलाई अतीतको आघातले पछिसम्मै पछ्याइरह्यो, जसलाई उनले लेखनको माध्यमबाट मेटाउने प्रयास गरिरहिन्।
उनले आफ्ना अनुभव तथा त्यस्ता केही मुद्दाहरू उपन्यास ‘द वाइज भर्जिन्स’मा पनि लेखेकी छिन्। भर्जिनियाका डाक्टरहरूले उनलाई मानसिक स्वास्थ्य समस्याहरूको कारणले गर्दा आमा नहुन सल्लाह दिएका थिए। त्यसले उनलाई झनै विक्षुब्ध बनाएको थियो। उनले पहिलो आत्महत्याको प्रयास २२ वर्षकी हुँदा गरेकी थिइन्, बुबाको मृत्युपछि। उनको घरको झ्यालबाट हाम फालेकी थिइन्। ३१ वर्षको उमेरमा दोस्रोपटक आत्महत्याको कोसिस गरिन्। सन् १९१० देखि १९१३ सम्म उनी थुप्रैपटक अस्पताल भर्ना भइन्, आत्महत्या प्रयास गर्दा पाएको चोटका कारण। आत्महत्या नगरून्जेलसम्म उनले थुप्रै गम्भीर डिप्रेसन तथा पीडाहरूसँग बाँच्नु पर्यो।
लेखकहरू प्राय: आफ्ना गहिरा सम्झना तथा अतीतमा घोत्लिने गर्छन्। कहिलेकाहीं ती तत्वहरू उल्टै उनीहरूमाथि हाबी भइदिने गर्छन्; जसको परिणामस्वरूप उनीहरू आफ्ना कुरूप स्मृतिले बोकेका आघातमा फस्न पुग्छन्।
अमेरिकन लेखक तथा पत्रकार हन्टर एस थम्पसनले पनि आफूलाई गोली हानेर आत्महत्या गरे। उनी लामो समयदेखि शारीरिक पीडामा थिए। तर, उनले आत्महत्याको कारण उनको शारीरिक अवस्था नभएको उनकी पत्नीले बताउँछिन्। अर्का चर्चित अमेरिकन लेखक डिभिड फस्टर वालेसले पनि आफूलाई झुण्ड्याएर मारे, ४६ वर्षको उमेरमा। मर्नुअघि उनले पत्नीलाई दुई पृष्ठको लामो सुसाइड नोट र ‘द पेल किंग’को पाण्डुलिपि छाडेका थिए, जुन किताब पछि गएर पुलित्जर पुरस्कारका लागि छानिएको थियो। ‘इनफाइनेट जेस्ट’लाई उनको चर्चित किताब मानिन्छ। वालेस डिप्रेसन बाहेक मद्यपान र लागूपदार्थको लतसँग पनि संघर्ष गरिरहेका थिए। उनलाई पनि केही पटक मनोचिकित्सकको हेरचाहमा अस्पतालमा राखिएको थियो।
त्यस्तै लेखकहरू पिटर टायरेल, ह्यारी थर्स्टन पेक, होलिस्टर नोबल, एमिलियो साल्गारी, जर्ज स्टर्लिङ, जोन मुल्गन, एलिस कोवेन, ह्यारी एम. काउडिल, एडगर मित्तेलहोल्जर, जेन एकेन होज, डोरोथी उहनाक, स्टिग डेगरम्यान, ड्रेक सेथर, रिचर्ड ब्राउटिगनले आत्महत्यालाई रोजे। उनीहरू अधिकांश मानसिक तनाव तथा पीडामा थिए। यसरी सूची निकाल्ने हो भने अझै थुप्रै निस्किन्छन्।
सायद अन्य कलाकारहरू भन्दा लेखकहरू आफ्ना जीवनलाई नियन्त्रण गर्न आत्महत्यातिर पुग्छन्। लेखकहरूले आत्महत्यालाई शक्तिशाली मेटाफोरको रूपमा प्रस्तुत गर्ने गर्छन्। सिल्भिया र सेक्स्टन दुवै मान्थे, ‘महान् कलाकारको जीवन मृत्युमा समाप्त हुनुपर्छ। थप खराब कुराहरू लेख्नु अघि नै आफूलाई रोक्नुपर्छ।’ सेक्स्टनले हेमिङ्वेको आत्महत्याको प्रशंसा पनि गरेका थिए। लेखकहरूले अक्सर कुनै विन्दु अथवा चरणमा पुगेपछि ‘राइटर्स ब्लक’को सामना गर्नुपर्छ। त्यो समय लेखकहरू लामो अवधिसम्म चिन्तनमा रहन्छन्। विचरणमा रहन्छन्। केही उम्किन्छन्, केही फस्छन्। ‘राइटर्स ब्लक’लाई सिधै मानसिक समस्यासँग जोड्न मिल्दैन तर, त्यसले त्यहाँसम्म पुग्ने बाटो भने खन्न सक्छ। ‘राइटर्स ब्लक’ तथा आफूमा आएको रचनात्मक अभाव र संघर्षका कारणहरूले पनि केही लेखकहरूले आत्महत्यालाई अंगालेका छन्।
‘रसोमोन’ र ‘इन ए ग्रोभ’ सहित केही छोटो कथाहरूका लागि प्रख्यात जापानी लेखक र्युनोसुके अकुतागावा, जसलाई जापानी लघुकथाका पिता भनेर पनि चिनिन्छ; उनी पनि ‘राइटर्स ब्लक’सँग संघर्ष गरिरहेका थिए। त्यसलाई पछ्याउँदै उनी चिन्ता र डिप्रेसनमा डुबेका थिए। उनी जन्मिएको केही समयपछि उनकी आमा पागल भएकी थिइन्। उक्त घटनाले उनलाई जीवनभर पागलपनको डरले सताएको थियो। अन्तत: उनले ३५ वर्षको कलिलै उमेरमा आत्महत्या गरे। अर्का इटालियन लेखक गुइडो मोर्सेलीलाई भने निरन्तर रूपमा प्रकाशकहरूबाट आएको रिजेक्सनले आत्महत्याको दिशा देखायो। आफ्नो असफलतालाई स्वीकार्दै उनले आफूलाई झुण्ड्याए, आफ्नै लाइब्रेरीमा। मृत्युपश्चात् उनका नौ वटा कृति प्रकाशित भए। फ्रान्सेली लेखक एडवर्ड लेभले भने आत्महत्या शीर्षकको किताब प्रकाशित गरेको केही दिनपछि आत्महत्या गरे। जापानी लेखक ओसामा डाजैको उपन्यास ‘नो लङ्गर ह्युमेन’ले एक आत्म-विनाशकारी व्यक्तिको कथालाई कहन्छ, जसले अत्यधिक मात्रामा रक्सी पिउँछ। वेश्याहरूको संगत गर्छ र अन्त्यमा आफ्नो प्रेमीसँग सँगै आत्महत्या गर्छ। उपन्यासमा जस्तै ओसामा डाजैले पनि आफूलाई प्रेमीसँगै नहरमा डुबाएर मारे। अर्का चर्चित जापानी लेखक मिशिमाले पनि आत्महत्याको लामो समयदेखि योजना बनाएका थिए। धेरैले मान्छन्, उनको आत्महत्या विरोधको संकेत थियो। एडगर एलन पो देखि एचपी लभक्राफ्ट जस्ता लेखकहरूले भने कमजोर आर्थिक अवस्थाको कारणले आत्महत्या गरेको मानिन्छ। प्रख्यात नेपाली लेखक भैरव अर्याल र प्रसिद्ध भारतीय कवि एवं गीतकार शैलेन्द्रले पनि आत्महत्या गरेका थिए।
लेखकहरू प्राय: आफ्ना गहिरा सम्झना तथा अतीतमा घोत्लिने गर्छन्। कहिलेकाहीं ती तत्वहरू उल्टै उनीहरूमाथि हाबी भइदिने गर्छन्; जसको परिणामस्वरूप उनीहरू आफ्ना कुरूप स्मृतिले बोकेका आघातमा फस्न पुग्छन्। लेखन नितान्त एकान्तिक कार्य हो। एकान्तमा गएर एकान्तिक भएर लेख्नु लेखकको खतरनाक प्रवृत्ति पनि हो, जहाँ उनीहरू लामो समयसम्म आफ्ना विचार र भावनाहरूसँग मात्र बिताउने गर्छन्। यसरी समाजबाट धेरै समयसम्म टाढा रहेर कतै बस्नुले कहिलेकाहीं वास्तविकतादेखि विमुख बनाइदिन्छ।
लेखकहरू संवेदनशील हुन्छन्। उनीहरू हरेक कणहरूमा अर्थ खोज्छन्, भर्छन्। उनीहरू ज्यादा प्रकृति र मानवीय संवेदनाहरूसँग जोडिएका हुन्छन् अथवा जोडिन खोज्छन्। तिनीहरूलाई गहिरोसँग महसुस गर्न खोज्छन्। यी सबै प्रकारका भावनाहरूले उनीहरूलाई वास्तविकता र वर्तमानलाई छुट्याउन गाह्रो बनाउँदै लिएर जान्छन्, जसले आत्मघाती विचारहरूलाई निम्त्याउने काम गर्छन्।
केही लेखकहरू स्वीकार्छन्, एकान्त र उदास हुनु रचनात्मकताको स्रोत हो। नन्-फिक्शनभन्दा फिक्शन लेखकहरू ज्यादा सुसाइडल हुन्छन् भन्ने गरिन्छ। फिक्शन लेखकहरू खाली कोठामा घण्टौं बस्छन्, नभएका मानिसहरूलाई कल्पना गर्दै, उनीहरूसँग अन्तरक्रिया गर्दै। उनीहरू हरेक दिन घण्टौं वास्तविक दुनियाँबाट अलग रहेर, अस्तित्वमा नभएको दुनियाँ र त्यहाँ रहेका पात्रहरूसँग समय बिताउँछन्। एकान्त डिप्रेसनको बीउ हो। तर, नन्-फिक्शन लेखकहरू भने खाली कोठामा बस्छन्, तथ्य र तथ्याङ्कहरू खोज्दै, पुस्तकहरू पढ्दै। समाज डुल्दै, मान्छेहरूसँग घुल्दै।
हामी लेखकहरूलाई उनीहरूको सिर्जना मार्फत चिन्दछौं। उनीहरूको रचना पढेरै हामी उनीहरूको जीवनशैलीलाई कल्पिन्छौं। सोच्छौं पनि, उनीहरू जसरी बाँच्न पाए अथवा उनीहरू जस्तै हुन पाए। हामीलाई लाग्छ, उनीहरूको जीवनमा कुनै दु:ख छैन। तर बिर्सिन्छौं, दु:ख नहुने हृदय कसैका हुँदैनन्। सायद दु:ख भएरै उनीहरूले दु:खलाई मारे। दु:ख भएरै सिर्जना गरे। दु:ख भएरै हामीले पढ्यौं। रूचायौं। तर, दु:ख भएरै कोही सफल र चर्चित हुन्छन् भन्नु कुतर्क हो, मूर्खता हो।