लु भो, चाहिएन बंगलादेश


अस्ति भर्खरै कता हो, नेपाललाई बंगलादेश श्रीलंका बनाउने कुरो सुनिएको । तीनकुनेमा राजावादीका नाममा जे जे विध्वंशको निरीह साक्षी बनियो, त्यसले मलाई आज बिहान एक सञ्चारकर्मी मित्रले फेसबुकमा लेख्नुभएको स्टाटस सम्झायो, ‘आन्दोलन भनेपछि मेरो शरीरको रोम–रोम हर्षित हुन्छ । राजावादीको होस् वा गणतन्त्रवादीको सडकमा मानिसको भेल बगी राख्नु पर्छ, अनि बल्ल समाज गतिशील हुन्छ ।’

धेरैखाले संघर्षहरूमा धेरैपल्ट मानिसको भेल देखेर, अनि ती प्रत्येक भेलले उसैगरी समाज गतिशील बनाउँछन् भन्ने ग्यारेन्टी नपाएर होला– हिजोआज यो पंक्तिकारलाई सडकका हजारौं मानिसलाई दुःख दिएर केही मानिसहरू खुसी हुने क्षणिक वैचारिक चरम सुखले खासै उत्साहित गर्दैन ।

आम नागरिकलाई प्रताडित गरेर केही चनाखा व्यक्तिले लिने त्यस्तो चरम सुखको शीघ्रपतन अनिवार्य हुन्छ । मित्रलाई फेसबुक कमेन्टमार्फत् ज्ञान बाँड्न त मन लागेन (यसै पनि सन्जालमा सबैजना ज्ञानी छन्), तर हामी झुक्किएर पनि बंगलादेश वा श्रीलंका बन्न किन हुँदैन भनेर सोच्न भने बाध्य गरायो ।

र, त्यो सोचाइको धागोलाई ‘नवीन समझदारी’ लागि ज्यान दिन तयार ‘शाहवंशको पुरुष जेठो छोरोवादी’ बंगलादेशगामीहरूको मृगतृष्णाको कुरूप रिहर्सलले अत्यासलाग्दोगरी विस्तार गरिदियो । ज्ञानेन्द्रलाई पहिलेदेखि नै शुक्रबार मन पर्थ्यो । यो संयोग नै भनौं, काठमाडौंका सडकमा मच्चाइएको हिंसा, उद्दण्डता, (पाशविकता भनेर म निरीह पशुहरूको अपमान गर्न चाहन्नँ) शुक्रबार तीनकुने क्षेत्रमा राजावादीहरूको उद्दण्डताले निर्ममताका सबै सीमा पार गरेको थियो ।

यसले ०६१ भदौ १६ को झल्को दिएको थियो, जहाँ व्यक्तिका घर, पसल लगायत निजी सम्पत्ति सखाप पारिए । रिपोर्टिङ गर्न र दृश्य खिच्न गएका एभिन्युजका पत्रकार सुरेश रजक जिउँदै आगोमा जलेर मारिएका थिए ।

पारस शाह बिर्साउने गरी दुर्गा प्रसाईंले अनियन्त्रित गाडी कुदाएर झन्डै प्रहरी मारेका थिए । कान्तिपुर, अन्नपूर्ण पोस्टका कार्यालयमा आक्रमण गरिएको थियो । र, रिपोर्टिङ गर्न गएका अनलाइनखबरकर्मी दिनेश गौतम घाइते भएका थिए ।

पार्टी कार्यालयहरूमा आक्रमण गर्ने, सवारी साधन जलाउने, व्यक्तिमाथि कुटपिट गर्ने यो निन्दनीय आपराधिक हर्कत पनि शुक्रबारै घटित थियो । सुशासनका रसिदमा हस्ताक्षर गर्दागर्दा थकित रवि लामिछानेले राजावादीका बारेमा नरम हुन र अहिलेको समग्र परिस्थितिबारे ‘ग्रे जोन’ मा बस्न पार्टीपंक्तिलाई निर्देशन दिए पनि राजावादीले उनको नरमनीतिलाई अनुमोदन गरेनन्, बरु रास्वपाका प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाइदिए । यी सबै घटना शुक्रबारै त घटित थिए ।

ज्ञानेन्द्रमा कतिपय हर्कत बुझ्न हामीलाई रवीन्द्र मिश्रका गलत प्रस्थापनामा आधारित बोझिल विश्लेषण होइन, ६० सेकेन्डका भिडियो नै काफी हुने थिए । (मिश्र विचारभन्दा माथि देश भन्छन् । मेरो मनमा प्रश्न उठिरहन्छ– उनमा विचार चाहिँ कहाँ थियो ?)

ज्ञानेन्द्र र शुक्रबारको बीच केकस्तो सम्बन्ध थियो भन्ने जान्न हल्का इतिहास त पढ्नै पर्छ । ‘जेन–जी’ पुस्तालाई म इतिहासका किताबहरू पल्टाउन, केही विकेन्डमा हुने खर्च कटाएर इतिहासका किताबहरू किन्न अपिल गर्छु ।

अब रिल्स, स्टोरिज् र ‘रोलिङ अन् द फ्लोर लाफिङ’ इमोजीहरू केही समय रोकेर आफ्नो अन्तर्चेतनातर्फ ध्यान दिउँ । आइजनआवरले महेन्द्र शाहलाई अमेरिकी एयरपोर्टमा स्वागत गरेको रिल्स हेरेर गणतन्त्रका नेतालाई गाली गर्नुअघि बीपी कोइरालाको आत्मवृत्तान्त कम्तिमा पढौं, जहाँ वृद्ध राष्ट्रपतिलाई एयरपोर्टमा देख्नैपर्ने राजाको चाहनाले उनमा अझै स्वास्थ्य जटिलता थपिदिएका थियो । केही महिनापछि त आइजनआवर बितेका थिए । साठी सेकेन्डका भिडियोमा यत्रो पृष्ठभूमि कसरी भन्न सक्नु !

त्यसैले नयाँ पुस्तालाई यो अपिल किनभने, अन्तिम शाह राजा ज्ञानेन्द्रले सैन्यबलको सहारामा निर्वाचित प्रधानमन्त्री थुनेको, मिडिया हाउसमा सेनाका जर्नेललाई सुपर सम्पादक बनाएको, इन्टरनेट काटेको र सिंगो जनजीवन अस्तव्यस्त बनाएका कहालीलाग्दा दिनहरूमा टिकटक, फेसबुक वा कम्तिमा स्मार्टफोनको प्रयोग हुन थालेको हुन्थ्यो भने इतिहास बुझ्न नयाँ पुस्तालाई अझ सजिलो हुने थियो ।

ज्ञानेन्द्रमा कतिपय हर्कत बुझ्न हामीलाई रवीन्द्र मिश्रका गलत प्रस्थापनामा आधारित बोझिल विश्लेषण होइन, ६० सेकेन्डका भिडियो नै काफी हुने थिए । (मिश्र विचारभन्दा माथि देश भन्छन् । मेरो मनमा प्रश्न उठिरहन्छ– उनमा विचार चाहिँ कहाँ थियो ?)

मिश्रले हिजै धम्की दिएका रहेछन्, ‘राजसंस्था पुनर्स्थापित गर्न नवीनसमझदारीमा जाने भए जाऊँ, नत्र परिणाम भोगौँ। बङ्गलादेश, सिरिया र श्रीलङ्कामा के भयो, याद गरौँ।’

नयाँ पुस्तामा इतिहास जान्ने हुटहुटी घटेको छ त म भन्दिनँ, तर भिजुअल कल्चरमा लठ्ठिएका हामीलाई ज्ञानेन्द्रले मच्चाएको उपद्रोको दृश्य–स्वरूप अझै ग्राह्य हुने थियो । गणतन्त्र घोषणायताका १६ वर्षमा दोहोरिइरहेका प्रचण्ड–देउवा–ओलीका काम हेर्दा ‘नो नट अगेन’ भन्न सकिएला, ज्ञानेन्द्रलाई त ‘नेभर अगेन’ नै भन्नुपर्ने हुन्छ । (यो ज्ञानांश पंक्तिकारले सामाजिक सन्जालबाट टिपेको हो ।)

प्रधानमन्त्री केपी शर्मा ओलीको क्षमतामा प्रश्न उठाउन सकिएला, शेरबहादुर देउवाको बुद्धिमतामा पनि । प्रचण्डको अडानमा त प्रश्नका शृंखला नै खडा गर्न सकिएला । कहिलेकाहिँ त राजालाई नै बिर्साउनेगरी दलभित्र अतिशक्ति केन्द्रीकरण गर्ने तिनको लगाव, अनि त्यसविरुद्ध प्रश्न उठाउनै डराउने कार्यकर्ता, जसले रैती बिर्साउँछन् । तर ज्ञानेन्द्रको मुर्खता, कुण्ठा र औसतभन्दा मुनिको शासकीय क्षमताको बारेमा बुझ्न भने यिनको दृष्टान्त चाहिँदैन, अनि निकट–विगतभन्दा धेरै पर जानैपर्दैन ।

अझै पनि नवराज सुवेदी, भेषबहादुर थापा, कमल थापा, केशरबहादुर विष्ट, विनोद चौधरी आदिसँग अनौपचारिक संवादमा बसियो भने खुल्दैजान्छ । यीमध्ये सुवेदी र भेषबहादुर थापाले त ज्ञानेन्द्र कतिसम्म अदूरदर्शी र आत्मकेन्द्रित संकीर्ण व्यक्ति हुन् भनेर पुस्तकमै खुलाएका छन् । सुवेदीको किताबमा उल्लेख ‘ओमेगा’ घडी र थापाको किताबमा उल्लेख ‘पानीजहाज काण्ड’ को यहाँ सन्दर्भमात्रै उल्लेख गरौं ।

यस्ता कमजोर कार्यक्षमताका व्यक्तिलाई राष्ट्रको प्रथम व्यक्ति बनाउन जो–जो कस्सिएका छन्, तिनका नाममा करुणामात्रै राख्न मन लाग्छ । खासमा मलाई राजाको भन्दा पनि राजावादीको माया लाग्छ । अतिशय अतितमोहले तिनलाई वर्तमानमा चैनले बाँच्नै दिँदैन । वर्तमानमा बाँच्न नसक्ने मान्छेजति दुःखी कोही हुँदैन ।

लु भो, चाहिएन बंगलादेश

नेपालमा नास्तिकता फैलाउन आईएनजीओले खर्च गरे भनी अमेरिकी सिनेटरले बोल्दा यहाँका राजावादी खुसी हुन्छन् । एउटै दुःख के छ भने, ती दक्षिणपन्थी सिनेटर पनि पार्टीगत हिसाबले ‘रिपब्लिकन्’ अर्थात् गणतन्त्रवादी हुन् । राजावादीलाई खुसी हुन ठूलो र वास्तविक कारण चाहिँदैन भन्नलाई यो एउटा दृष्टान्त हो ।

हिंसा र विध्वंशको इतिहासमा उभिएका उत्तरप्रदेशका कट्टरपन्थी भाजपा मुख्यमन्त्री आदित्यनाथ (जसका अगाडि योगी शब्द लेखिन्छ, जो म उल्लेख गर्न मन पराउँदिनँ) को बाह्य हस्तक्षेप, अनि कतिपय इतर–नेपालीहरूको आशिर्वादमा ज्ञानेन्द्र हौसिएका छन् । आधारभूत सूचनाको अभाव र वास्तविकताको अध्ययनबेगर व्यर्थै हौसिँदा नेपालका सडकमा बंगलादेश रचना हुन्न, किन्तु आफैं हास्यास्पद रूपमा वामदेव गौतम–२ मात्रै बनिन्छ ।

त्यसैले प्रत्येक आन्दोलनको उग्रता र रोमान्चकतावादले इतिहासमा सान्दर्भिकता गुमाउँदै गएका एक–दुई व्यक्तिलाई चर्चाको केन्द्रमा त ल्याइदेला, तर धेरैको रोजीरोटी खोस्छ । परीक्षा बिथोल्छ । यात्रा अवरुद्ध गर्छ । मिडिया वा सोसल मिडियामा चर्चै नहुने गुमनाम नागरिकहरूलाई केही दिन्नँ, अश्रुग्यास, सास्ती र अनन्तः भुक्तमानबाहेक ।

जतिवटा शुक्रबार उफ्रिए पनि, दुर्गा प्रसाईंजस्ता सर्वत्र त्याज्य र उपयोगिता निख्रिएका व्यक्तित्वहीन, चरित्रहीन पात्रलाई बोकेर नेपाल अब बंगलादेश बन्दैन ।

आन्दोलनले कति चेतना बिस्तार गर्‍यो भन्नेमात्रै होइन, विवेकको आँखामा अन्धताको पट्टी कतिसम्म बाँधिदियो र कसैलाई क्रान्तिकारी हिरो बनाउने नाममा बंगलादेशमा सिर्जित तहसनहसको शृंखला रच्यो भन्ने वस्तुगत भएर हेर्नुपर्छ । वास्तविक एजेन्डावादी बनौं, भ्रामक आन्दोलनवादी नबनौं ।

अन्तिममा, कुनै पनि क्रान्ति वा आन्दोलनपछि समाज सङ्लिन कति समय लाग्छ भनी बुझ्नलाई चिनुआ अचेबेको कथा सिभिल पिस पढे काफी हुन्छ । नाइजेरियाको गृहयुद्धपछि सामान्य जीवनमा फर्कन चाहेको नागरिकलाई कसरी राज्य र विद्रोही (क्रान्तिकारी) समेतले दुःख दिइरहन्छन् भन्ने कथा हो त्यो । रोमान्चकतावादमा फस्दै जाँदा हामी उल्टापुल्टा विचारहरूको प्रयोगशालामात्रै बन्छौं ।

नेपाललाई बंगलादेश नबनाउने हो भने अहिलेको प्रणालीमा पर्याप्त सुधार गरौं । यसलाई गतिशील बनाउन व्यक्तिदेखि विचारसम्म कुन पुर्जा कहाँ चलाउने हो चलाउँ, तर अर्को गाडीमा चढेपछि मात्रै यात्रा सार्थक हुन्छ भन्ने भ्रममा नपरौं । ७५ वर्षको उमेरमा पनि ओली, अनि ८० वर्षको उमेरमा देउवा किन छुट्टी लिँदैनन् भन्ने प्रश्न साँच्चिकै जन्मेको हो भने यो मान्न तयार बनौं, राजा त नमरुन्जेलसम्म हट्दैनन् ।

लु भो, चाहिएन बंगलादेश

श्रवण मुकारुङको कविता छ, सबैभन्दा पुरानो मानिसलाई मार्न सबैभन्दा नयाँ विचार चाहिन्छ । त्यो नयाँ विचारको परीक्षण हामीले ०६३ को परिवर्तनमार्फत गरिसक्यौं । ज्ञानेन्द्र त धन्य हुन्, जसले काण्डैकाण्ड रचेर पनि स्वदेशमै सम्मानपूर्व हिँडडुल गर्न पाएका छन् ।

गणतन्त्र आखिर ज्ञानेन्द्रको पनि हो, जसले उनलाई ऊर्जावान् उमेरमै छुट्टी दियो । उनले बाँकी जीवन छोराछोरी, नातिनातिनामा ध्यान दिन सक्छन् । पत्नी कोमललाई लिएर कतै यात्रामा गाडी चलाउँदै जान सक्छन् । एकबार पाइने जीवन, अनि बुढो ज्यानलाई अब थप नगिजोलौं ज्ञानेन्द्रजी । गणतन्त्रले दिएको सम्मानको मानहानि गर्दा तपाईं र तपाईंकै रैतीहरूको मात्रै खति हुन्छ ।

जतिवटा शुक्रबार उफ्रिए पनि, दुर्गा प्रसाईंजस्ता सर्वत्र त्याज्य र उपयोगिता निख्रिएका व्यक्तित्वहीन, चरित्रहीन पात्रलाई बोकेर नेपाल अब बंगलादेश बन्दैन । बन्नु पनि हुँदैन ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School